नेपाली काँग्रेस र वाममोर्चाको संयुक्त विज्ञप्ति

नेपाली काँग्रेस र वाममोर्चाको कार्यगत एकता सम्बन्धी आधार र समझदारीहरू पूरा भएपछि पहिलोपल्ट माघ २७ गते नेपाली काँग्रेसका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद भट्टराई र संयुक्त वाममोर्चाकी अध्यक्ष साहना प्रधानको संयुक्त हस्ताक्षर भएको अपील प्रकाशित गरियो जसमा जनआन्दोलनको आवश्यकता, लक्ष्य र उद्देश्यहरूको व्याख्या गर्नाका साथै आन्दोलनको प्रारम्भिक चरणका साझा कार्यक्रमहरूको घोषणा गरिएको थियो। उक्त अपीलको पूर्ण पाठ यसप्रकार छ –

“निरङ्कुश पञ्चायती व्यवस्था नेपाली जनतामाथि जबरजस्ती लादिएको २९ वर्ष भयो। नेपाली जनताको सम्पूर्ण अधिकार खोसिएको छ। मुख थुनिएको छ। विना हतियार भेला हुने, सभा गर्ने र जुलूस गर्नेसम्म राजनैतिक लगायत सबै प्रकारका अधिकार र स्वतन्त्र संस्थामाथि बन्देज लगाइएको छ। नेपाली जनता संयुक्त राष्ट्रसंघद्वारा निर्धारित सर्वमान्य मानव अधिकारबाट पनि वञ्चित छन्।

नेपाली जनताको आर्थिक जीवन झन् कहालीलाग्दो छ। महँगी आकासिएको छ। बेरोजगारीले जीवन अस्तव्यस्त छ। तस्करी र कमिशनतन्त्र यस व्यवस्थाको आर्थिक मेरुदण्ड भएको छ। मुठीभर धनीहरू र आमजनताबीचको आर्थिक खाडल दिनप्रतिदिन फराकिलो हुँदै गएको छ। साधारण जनताको जीवन आर्थिक रूपले जर्जर र हातमुख जोर्नलाई सम्म गाह्रो भएको छ।

यस जनविरोधी पञ्चायती व्यवस्थाले गर्दै आएको अन्याय, अत्याचार र शोषणका विरुद्ध नेपाली जनता अनवरत सङ्घर्षमा छन्। आज नेपाली जनता सजग र सचेत भइसकेका छन्। आफ्नो हकहितका लागि एक नेपालीले सम्मानपूर्वक बाँच्नका लागि सडकमा उत्रनु बाहेक अर्को विकल्प देखिँदैन। आज सम्पूर्ण देश नै आन्दोलित भएको छ। परिस्थिति उत्साहवर्द्धक छ। नेपाली जनताले एकै आवाजमा परिवर्तनको माग गरिरहेका छन्।

काँग्रेस, कम्युनिष्टका आआफ्ना अवधारणा र दर्शन भए तापनि आज कतिपय कुराहरूमा सहमतिका बिन्दुमा पुगी गोलबन्द भएका छन्। विभिन्न समूहमा विभाजित कम्युनिष्टहरूको संयुक्त मोर्चा गठनले भावी जनआन्दोलनमा निश्चय नै ठूलो बल पुऱ्याउनेछ।

इतर पक्षमा आज देखा परेको राजनैतिक मतैक्यको स्थिति आफैमा नौलो र ऐतिहासिक छ। यही नै आन्दोलनको सबभन्दा अनुकूल स्थिति हो। यस जनविरोधी व्यवस्थाले चलाइआएको विभाजनको राजनीति अब चल्नेवाला छैन। प्रतिपक्षहरूको बीचमा हिजोको स्थिति छैन। आज सबैको एउटै तात्कालिक राजनैतिक लक्ष्य छ, एउटै नारा छ – ‘निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको स्थापना।‘ तसर्थ शान्ति, प्रगति र प्रजातन्त्र चाहने देशका तमाम सङ्घर्षशील प्रजातन्त्रवादीहरू, वामपन्थीहरू, मजदूर, विद्यार्थी, युवा, किसान, कर्मचारी, शिक्षक, वकिल, पत्रकार, व्यापारी र महिलाहरूलाई यस आन्दोलनमा सहयोग पुऱ्याई सहभागी हुन आह्वान गर्दछौँ। हामी एकजुट भएमा कुनै पनि शक्तिले हामीलाई रोक्न सक्दैन। जनआन्दोलन जनताको आन्दोलन हो। हामी निर्भय भई आन्तोलनमा उत्री पञ्चायतरूपी निर्दलीय पासोलाई चुडाँलौँ। विजय सत्यको नै हुन्छ। सत्य जनताको शक्ति हो। निरङ्कुश पञ्चायती व्यवस्थाको दिन अस्ताउन थालिसकेको छ।

भोलिको दिन, भोलिको राजनीति हाम्रो हो। तसर्थ आउनुहोस्, हामी एक भई देशमा बहुदलीय प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न कम्मर कसी आन्दोलनमा उत्रौँ। परिवर्तन अवश्यम्भावी छ।

आगामी कार्यक्रम

हाम्रो आगामी कार्यक्रम यसप्रकार हुनेछ:

  • फागुन ७ गते: देशव्यापी रूपमा दुवैले आफ्नाआफ्ना दलका झन्डा लिएर जुलूस प्रदर्शन र आमसभा गरी पार्टीहरू उपर विगत २९ वर्षदेखि लागेको प्रतिबन्धलाई तोड्ने।
  • फागुन ८ गते: नेपाल बन्दको कार्यक्रम अन्तर्गत सम्पूर्ण यातायात, शिक्षण संस्था, व्यापार, कलकारखाना, उद्योगधन्दा र पसलहरू बन्द गर्ने।
  • फागुन १४ गते: सारा देशभरि वर्तमान पञ्चायती व्यवस्थाको विरोधमा कालो दिवस मनाउनका लागि कालो झन्डा, कालो पट्टी बाँधी प्रदर्शन र आमसभा गर्ने।
  • फागुन १९ गते: पुन: राष्ट्रव्यापी रूपमा बन्द गर्ने।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर