२०४६ साल फागुन ७ गते: बिहान
सगरमाथा आरोहणका निम्ति वर्षौँवर्ष लगाएर गरेको अभ्यासपछि सगरमाथाको चुचुरो चुम्न अन्तिम पढाव पुग्दा आरोहीलाई जुन प्रकारको उत्साह, उमङ्ग र चुनौती हुन्छ, २०४६ साल फागुन ७ गते गणेशमान त्यस्तै मनोदशामा थिए।
जनआन्दोलनको आरम्भ हुनुभन्दा एक दिन अगाडिबाट गणेशमान सिंहलाई आफ्नै निवासमा नजरबन्द गरिएको थियो तर त्यसले उनको उत्साह घटाउन सकेन। नजरबन्दकै अवस्थाबाट उनले जनताकै नाममा एउटा मार्मिक सन्देश प्रेषित गरे।
गणेशमानका अनुसार आन्दोलन भनेको सरकारलाई असहयोग गरेर जनअसन्तोषको अभिव्यक्ति गर्नु थियो।
“यो जनआन्दोलन हो। त्यसैले प्रत्येक नागरिकले आ-आफ्नो ठाउँबाट सरकारलाई असहयोग गर्ने तर हिंसाको कहीँ कतै सहारा कदापि नलिने”, जनआन्दोलनमा के गर्नेबारे उनले बताए।
“जनअसन्तोषको अभिव्यक्ति र जनताको असहयोगको माध्यमबाट सरकारलाई बेकम्मा बनाइदिने र शासकलाई त्यसमार्फत बताउने कि देश र पूरै विश्वको जनमत तिम्रो शासनव्यवस्था, पद्धति र सिद्धान्त विपरीत छ।“
“यस ऐतिहासिक अवस्थामा मलगायत अरू साथीहरू स्वयं सडकमा उपस्थित हुने चाहना नजरबन्दीले पूरा हुन सकेन। तर यस्तो दमनचक्रले जनआन्दोलनको वेगलाई शिथिल वा कमजोर पार्न सक्नेछैन। इतिहास निर्माणको यस्तो सुवर्ण मौकामा सबैले जीउज्यानले सघाउनेछन् भन्ने मेरो विश्वास छ।“
२०४६ साल फागुन ७ गते: अपरान्ह
२००७ सालकोफागुन ७ गते नेपालमा पहिलोपटक प्रजातन्त्र स्थापित गरिएको थियो। तर पञ्चायती व्यवस्था लादिएपछि पनि सरकारी स्तरमा हरेक वर्ष यस दिनमा प्रजातन्त्र दिवस मनाउने चलन थियो। श्री ५ त्रिभुवन जयन्तीका रूपमा समेत मनाइने यस दिन दशरथ रङ्गशालामा कार्यक्रम आयोजना गरिएको थियो। यसैगरि, यही दिनमा राजाबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको नयाँ टर्मिनल भवनको उद्घाटन भइरहेको थियो।
पञ्चायतका समर्थकहरू यिनै कार्यक्रमहरूमा सहभागी हुँदै गर्दा प्रजातन्त्रका लागि निस्केका आन्दोलनकारीहरूले विभिन्न ठाउँबाट जुलूस निकाल्न थाले। हजारौँको जुलूस राजधानीको मुटु न्यु रोडको सडकमा निस्किएको थियो। विभिन्न चोकहरूमा नारा लगाउँदै हिँडेको भीड र प्रहरीबीच मुठभेड भइरह्यो। कतै जुलूस प्रहरीमाथि हावी भएको थियो भने कतै प्रहरीले जुलूसलाई तितरबितर पार्न सफल भएको थियो। यही क्रममा वामपन्थी नेता मनमोहन अधिकारी रत्नपार्कमा गिरफ्तार भए।
साँझसम्म जनताको भीड यति धेरै भयो कि प्रहारी र पञ्चायत समर्थकहरू भाग्नुपर्ने अवस्था भयो।
२०४६ साल फागुन ७ गते: साँझ
सरकारी पक्षलाई पराजित गर्न सकेको उत्साहले काठमाडौँवासीहरूको जोश र उत्साहको सीमा रहेन। साँझ अबेरसम्म राजधानीका विभिन्न भागबाट साना-ठूला जुलूसहरू निस्किरहे र प्रजातन्त्रको नारा लगाइरहे।
त्यस दिन काठमाडौँमा धेरै पछि हजारौँ जनता सरकारको डर नमानी एकताको विजय देखिरहेका, मनाइरहेका थिए।
राजधानी बाहिरका प्रमुख शहरमा पनि प्रदर्शनको कार्यक्रम सफल भयो। नारायणगढ, चितवनमा दशौँ हजारको जुलूसमा प्रहरीले गोली बर्सायो र दुई जनाको हत्या गऱ्यो। विराटनगरको जुलूसमा प्रहरीले भीडलाई तितरबितर गराउन दर्जनौँ पल्ट अश्रुग्याँसको प्रहार गऱ्यो। पोखरामा जुलूसको प्रहरीसँग ठूलो मुठभेड भयो। सबै ठाउँको खबर बुझेपछि पाँच जना आन्दोलनकारी र एक प्रहरीको मृत्यु भएको जानकारी आयो।
देशभरबाट करीब ३५०० जनालाई प्रहरीले गिरफ्तार गऱ्यो।