निर्वासनमा रहेका राणाहरू:
कोइराला रिहा भएपछि, राष्ट्रिय कांग्रेसले भारतमा निष्कासित राणाहरू, विशेषत: सुवर्ण शम्शेर र महावीर शम्शेरसँग सम्पर्क गर्ने प्रयास गऱ्यो। निर्वासित राणा सदस्यहरू सरकारविरुद्ध हतियार उठाउन तयारी गरिरहेका थिए। उनीहरूलाई राष्ट्रिय कांग्रेसजस्तो आर्थिक समस्या नभएकाले योजना परिचालन गर्न निकै सजिलो थियो।
वी.पी. कोइरालाले सुवर्ण शम्शेरलाई भेटेर राष्ट्रिय कांग्रेसको सदस्य बन्ने प्रस्ताव राख्नुभयो, तर सुवर्ण शम्शेरले अस्वीकार गरे। यस बैठकको लगत्तै २००५ को पुषमा सुवर्ण शम्शेरको नेतृत्वमा नेपाल प्रजातन्त्र कांग्रेस नामको पार्टी स्थापना भयो। पार्टीको उद्देश्य थियो: राणाशासनलाई नेपालबाट हटाउने र नेपालमा प्रजातान्त्रिक व्यवस्था ल्याउने।
निष्कासित राणाहरूले आफ्नो उद्देश्यहेतु आफ्नो अर्थ परिचालन गरिहाले। सदस्यहरू थपिन थाले र पार्टीका अफिसहरू पनि बने। “हाम्रा पार्टीका सदस्य पनि प्रजातन्त्र कांग्रेसतिर लागेका थिए”, गणेशमान माथवर सिंहलाई बताउँछन्। “तर, आर्थिक अभावका बाबजुत, धेरै राष्ट्रिय कांग्रेससँगै पनि बसे”, उनी थप्छन्।
यसैबेला, भारतबाट अंग्रेज निस्किएपछि मोहन शम्शेरले अमेरिका, अस्ट्रेलिया, फ्रान्स र इटालीसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने प्रयास गर्न थाले। उनले नेपाललाई संयुक्त राष्ट्रसंघमा सदस्यता दिलाउने प्रयास गरे तर सोभियत रूसले उनको त्यो प्रयास सफल हुन दिएन।
यसैसँग सम्बन्धित प्रथम, दोस्रो र तृतीय विश्वको अवधारणा निकै रोचक छ। धेरैले बुझेभन्दा फरक, यो अवधारणा राज्यको विकाससँग सम्बन्धित छैनन्। प्रथम विश्वमा अमेरिका, पश्चिमी यूरोप र यिनका मित्रराष्ट्र थिए। दोश्रो विश्वमा कम्यूनिष्ट राष्ट्रहरू पर्थे: सोभियत संघ, चीन, क्युबा र यिनका मित्र राष्ट्रहरू। बाँकी सबै राष्ट्रहरूलाई तेस्रो विश्व भनियो। प्रथम र दोश्रो विश्वका राष्ट्रहरू निरन्तर तेस्रो विश्वका राष्ट्रलाई आफ्नोतर्फ तानिरहन प्रयास गर्थे।
अमेरिकासँग कूटनीतिक सम्बन्ध स्थापित गरिसकेको नेपालले संयुक्त राष्ट्रसंघमा सोभियत रूसविरुद्ध मत हाल्ने भएकाले रूसले त्यसबेला नेपाललाई सदस्य हुनबाट रोकेको हो।
मोहन शम्शेरको भारत भ्रमण:
२००६ साल फागुन महिनामा मोहन शम्शेर आफ्ना दलबलसहित भारतको सद्भावना भ्रमणनिम्ति प्रस्थान गरे। तिनताका नेपालमा विमान सेवाको कुनै प्रबन्ध नभएकाले प्रधानमन्त्री र उनको टोली भारत जाँदा चन्द्रागिरी उक्लेर भीमफेदीसम्म पैदल, भीमफेदीदेखि अम्लेखगञ्जसम्म मोटरमा र अम्लेखगञ्जदेखि रक्सौलसम्म र त्यहाँबाट नयाँ दिल्लीसम्म रेलको यात्रा गर्दै भारतको केन्द्रसम्म पुगेको थियो।
मोहनशम्शेरको सद्भावना भ्रमणको खबरको घोषणादेखि नै राष्ट्रिय कांग्रेसको उर्जा घटेको थियो। नेपाल र भारतबीच हुने सम्झौताले नेपालको प्रजातन्त्रिक लडाईंमा ठेस पुग्छ भन्ने उनीहरूको शंका थियो।
सुवर्ण शम्शेरको प्रजातन्त्र कांग्रेसको अवस्था भने ठ्याक्कै उल्टो थियो। उनको पार्टीले मोहनशम्शेरविरुद्ध आम आन्दोलनको तयारी गर्दै थियो, जसले गर्दा गणेशमान सिंह अझै झोंकिए किनकि उनको विचारमा राष्ट्रिय कांग्रेसले पनि यस्ता कार्यक्रम आयोजना गर्नुपर्ने थियो।
भारतीय अखबारहरूले नेपाल र भारतबीच विभिन्न सन्धिका अफवाहहरू फैलाइरहेका थिए, तर कुनै पनि साँचो थिएनन्।
मातृकाप्रसाद कोइरालाले राष्ट्रिय कांग्रेसको प्रतिनिधित्व गर्दै कुनै पनि हुन सक्ने सन्धिविरुद्ध एक वक्तव्य सार्वजनिक गरे। त्यसको एक अंश यस्तो थियो:
“नेपाल र भारतबीचको प्रस्तावित सन्धि, यदि नेपाली जनताको भलाईका लागि छैन भने हामीलाई स्वीकार्य हुनेछैन। हाल नेपालको प्रतिनिधित्व गरिरहेका महाराज, निरंकुश शासक हुन् जो केवल आफ्नो प्रतिनिधित्व गर्छन्। कैयौँ जेलहरूमा सडिरहेका वा देशनिकाला गरिएका सयौँ जनता हुँदा पनि नेपालमा प्रजातन्त्रको पूर्ण खण्डन भइरहेको हुँदा त्यहाँ प्रजातन्त्रको प्रश्न उठाउनु अपरिहार्य छ।”
मोहन शम्शेर र उनको टोलीलाई उत्साहपूर्वक स्वागत गरियो, र २१ तोपको सलामीले पनि सत्कार गरियो। सिंहका अनुसार “मोहन शम्शेरको भारत भ्रमणको कूटनीतिक महत्व राणाका लागि ठूलै थियो तर प्रत्यक्ष देखिने उपलब्धी भने केहि हात परेन।”
प्रजातन्त्रको विरोधमा कुनै प्रत्यक्ष सम्झौता नभएको भएर राष्ट्रिय कांग्रेसलाई सन्तोष भयो। मोहन शम्शेर फर्केलगत्तै गणेशमान सिंह पनि पटनाबाट रक्सौल फर्किए। मोहन शम्शेर भारत जाँदा भव्यरूपमा सजाइएको रक्सौल उनी काठमाडौं फर्केपछि सुनसान भएको थियो।
नेपाली कांग्रेसको जन्म:
एक दिन, सिंहलाई वी.पी कोइरालाको ‘तुरुन्त पटना आउनुहोला’ भनेर तार आयो। सिंहले आफ्नो यात्राको लागि र त्यहाँ भएका आफ्ना पार्टीका अरू सदस्यका लागि खर्च बन्दोबस्त गरेपछि रेल चढेर पटना लागे।
“रेलमा बस्ने ठाउँ पाउनु एउटा समस्या थियो र जाडो अर्को सम्स्या। त्यस रातको जाडो सम्झँदा अहिले पनि शरीरमा काँडा उम्रन्छ। मसँग ओड्न चादर नभएको भएर दुवै गोडा सिटमा उचालेर आफ्ना तिघ्रा दुई हातले च्याप्प समातेर घुँडामाथि च्यूँडो टेकाएर बसेको थिएँ”, सिंह झलझली सम्झन्छन्।
अर्को दिन, वी.पी. कोइरालासँग भेटेपछि सिंहले थाहा पाए कि सुवर्ण शम्शेरले राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेसलाई एउटै पार्टी बनाउने प्रस्ताव राखेका रहेछन्। त्यसको दुई दिनपछि, प्रजातन्त्र कांग्रेसको प्रतिनिधित्व गरेर महेन्द्रविक्रम र सूर्यप्रसाद उपध्याय पटना आइपुगे। दुई पार्टीको मेलको टुङ्गो गर्न मातृकाप्रसाद कोइराला पनि सोहि दिन पटना पुगे।
उपाध्यायले वार्ताको सुरूवात गरे, र थाहा भयो कि प्रजातन्त्र कांग्रेस कुनै पनि शर्तबिना मेल गर्न आएका रहेछन्।
“प्रजातन्त्र कांग्रेसका तर्फबाट कुनै शर्त नराख्ने प्रस्ताव आएकाले हाम्रा हात फुक्का भएको थियो र यहि कारणले हाम्रो उत्तरदायित्व पनि बढ्न गएको थियो”, सिंह बताउँछन्।
पार्टीको झण्डा राष्ट्रिय कांग्रेसकै कायम हुनुपर्छ भन्ने विषयमा सहमति भयो। त्यसपछि पार्टीको नाम राख्ने कुरा उठ्यो। राष्ट्रिय कांग्रेसले केहि राजनीतिक गतिविधिहरू पनि गरिसकेको र नेपाली जनता परिचित पनि भइसकेका हुनाले राष्ट्रिय कांग्रेस नाम नै कायम हुनुपर्छ भन्ने सिंहको तर्क थियो।
महेन्द्रविक्रम शाह सहमत भएनन्। “नेपाली राष्ट्रिय कांग्रेसको नाम जस्ताको तस्तै राख्ने हो भने दुई पार्टी मिलेको होइन, नेपाल प्रजातन्त्र कांग्रेस तपाईंहरूको पार्टीमा विलीन भएको देखिन्छ।”
शाहको अर्थपूर्ण तर्कमा सबै सहमत भए। बहस दुई नाममा आएर अड्कियो – नेपाल कांग्रेस कि नेपाली कांग्रेस। सिंहले नेपाली कांग्रेस भाषाको दृष्टिले शुद्ध हुन्छ भन्ने अडान लिए। अन्तत: सबैजना नेपाली कांग्रेसमा आएर सहमत भए।
नेपाली कांग्रेस अहिले नेपालको सबैभन्दा ठूलो पार्टीहरूमध्ये एक हो।