जेलबाट भागेपछि – २
पहिलो दिन: पहाडमा बास
भोलिपल्ट बिहान, घरपतिले चार बजे नै गणेशमानसिंहलाई उठाइदिए। जेलको सपनाबाट तर्सेर ब्युँझिएका गणेशमान निस्किन लाग्दा उनलाई आफूसँग पैसा नभएको याद आयो। हिच्किचाउँदै, सिंहले घरपतिलाई आफूसँग सय-सयका नोट मात्र छन् भन्दै १० रुपियाँ मागे। घरपतिसँग पनि पैसा थिएन, र हिजै आउने भनेका शम्भूराम आउन्जेल पर्खन नहुने ठानेर सिंहले बिदा मागे।
बाटोमा उनलाई मान्छेले कता जान लाग्नुभएको भनी सोध्थे। उनी माईस्थान (मनकामना मन्दिर) भनेर उत्तर दिन्थे। “यस्तो असारमा माईस्थान?” सबैले अचम्म मान्दै सोध्थे। उनी आफ्नी आमाको भाकल पुऱ्याउन हिँडेको कथा सुनाउँथे र बाटो लाग्थे।
त्यो रात एउटा पुलमा बिताउने विचार गर्दैगर्दा एक वृद्ध व्यक्ति आएर उनीसँग कुराकानी गर्न थाले। आमाको भाकलको कथा सुनेपछि उनले गणेशमानलाई आफ्नो घरमा बास बस्नआउन आग्रह गरे। सिंहले उनको नरम स्वभाव देखेर स्वीकारे।
दुईजना ती वृद्धको घरभन्दा अलि अघि एक आँपको बगैँचामा आइपुगे। दिनभरि भोको पेट भएका गणेशमान आँप हेरेको हेरै भए। बगैँचा ती वृद्धकै रहेछ। गणेशमानको कुरा बुझेर, ती वृद्धले आँप गणेशमानका लागि झारिदिए। उनले त्यस दिन दर्जन आँप खाएको कुरा गर्वका साथ उनी माथवर सिंहलाई सुनाउँछन्।
घरमा ती वृद्धको बुहारी मात्र रहिछन् रवृद्धले आफ्नी बुहारीलाई सिंहका लागि पनि खाना पकाउन लगाए। सिंह र वृद्ध फलैँचामा बसेर गफ गर्न थाले। तल, त्रिशुली बगेको सुनिन्थ्यो जुन गणेशमानको भोलिको गन्तव्य थियो।
कुरै कुरामा वृद्धले उनको छोराका बारे सुनाउन थाले।“छोरो लाहुर पसेको एक वर्ष भयो, अहिले त चिठी पनि आउँदैन।”
लाहुर बारे सिंहको विचार उनी पछि माथवर सिंहलाई सुनाउँछन्।
“बूढाको त्यो अवस्था र बुहारीको विधवासरहको जीवनको कारण दोस्रो विश्वयुद्ध थियो। त्यो विश्वयुद्धमा नेपालले अंग्रेजहरूको साथ दिएकाले नेपाली सेनालाई गोर्खा पल्टनमा भर्ना लिइन्थ्यो। भारतको लाहोर (अहिले पाकिस्तान)मा अंग्रेजहरूको ठूलो छाउनी थियो। पहाडका ठिटाहरूलाई लाहोर लैजान गल्लावाल (रिक्रुटर एजेन्ट) गाउँगाउँ घुमिरहन्थे।” ‘लाहुर जाने’ भन्ने उक्ति त्यहिँबाट सुरु भएको हो।
सिंह सम्झन्छन् कि यो सब सोचेर उनको मन खिन्न भएको थियो। “यदि मेरो ती बूढासँग भेट नभएको भए, युद्धले त्यो अनकन्टारका प्राणीहरू कसरी प्रभावित भएका छन् र तिनको जीवन कसरी पीडित र दु:खी भएको छ भन्ने मैले बोध गर्ने अवसर पाउने थिइँन।”
दोश्रो दिन: माझीसँगको रात:
निद्रा पुगेपछि, बिहान सिंहले पहाडका घरपतिलाई बिदा मागे। दिनभरी हिँडेर साँझ त्रिशुली खोलाको बेनी बगर पुगेका गणेशमान भोक र थकानले चुर भएका थिए।
खोला तर्न टन्नै मान्छे डुंगा पर्खेर बसिरहेको देखेर अन्तिममा जाउँला भनेर सिंह एकैछिन आराम गर्न पल्टिए। एकैछिन सुस्ताएर ब्युँझदा त माझी पल्लो किनारमा डुंगा बाँध्न लागिसकेको रहेछ।
“ए दाइ, म बाँकी छु, मलाई तारिनदिने?” सिंह चिच्याए।
“आउनुपर्नेले अघि नै बस्नुपर्थ्यो। कसरी तार्ने तिमी एक्लैलाई?” माझीले पारिबाटै भन्यो।
माझीले नलाने जस्तो देखेपछि, सिंह पोका टाउकोमा राखेर खोला तर्ने सुर कस्न थाले।
सिंह पौडिन तयार भएको देखेर, मुर्मुरिँदै माझीले उनलाई तारिदिए। आफूलाई सूर्यबहादुर भारद्वाजले दिएका दौरा-सुरुवाल गणेशमानले ती माझीलाई धन्यवाद स्वरूप दिए।
खोला तरेपछि सिंह नजिकैको माझीगाउँ पुगे जहाँ गाउँका बासिन्दाको गरिबी देखेर उनी निकै भावुक भएको सम्झन्छन्। “त्यहाँ घरहरू नाङ्गो थिए र खानाको अनिकाल थियो। खानेकुराको नाममा केवल भुटेको मकै थियो, तर दुई घान मकै भएका घरमा आधा दर्जन केटाकेटी थिए।”
भाग्यबस्, सिंहको भेट एक दयावान् बूढी महिलासँग भयो। ती आमाले उनलाई आफ्नो भागबाट अलिकता मकै र गुन्द्रुक खान दिइन् र बास पनि त्यहिँ बस्न दिइन्। भोक नमरेपनि पानी पिएर गणेशमानले सुत्ने प्रयास गरे। तर उनी भोकले निदाउन सकेनन्।
यतिकैमा बूढी आमाको घरमा कोहि आइपुग्यो। अध्याँरोमै कुरा गरेपछि उनी अघिको माझी रहेछन् भन्ने गणेशमानलाइ थाह भयो। माझीले सालको टपरीमा तारेको माछा बोकेर ल्याएका रहेछन्।
“तिमीले कपडा दिएर त्यत्रो गुण लगायौ। यी यो अलिकता माछा तारेर ल्याइदिएको छु, यो खाएर सुत है नानी?”, माझीले त्यति भनेर निस्किए।
बूढी आमा, उनका छोरा र सिंहले सँगै माछा र अझै मकै खाए।
“माछा र मकैले पेट भरियो, अनि सास पनि आयो”, गणेशमान माथवर सिंहलाई बताउँछन्।
तेस्रो दिन –बाटोमा जातिय प्रथा:
भोलिपल्टको यात्राबारे सिंहलाई माझीगाउँको परिवारले सावधानी गराएको थियो। ठाडो उकालो, गाउँ र बास कतै बीचमा नभएको, र अर्को गाउँ नपुग्दासम्म एक थोपा पानी पनि पाइँदैनथ्यो।
घाम छल्नलाई सिंह चार बजे उठेर हिँडे। तर फेदीसम्म पुग्न मात्र उनलाई चार घन्टा लाग्यो। टन्टलापुर घाममा, गणेशमान फुङ्ग उडेको डाँडो बिस्तारै चढ्न थाले। बाटोमा केहि स्यालबाहेक अरू केहि भेटिएन।
मध्यान्हतिर उनी घस्रिँदै-पस्रिँदै बल्लबल्लएउटा चौतारीमा पुगे। थकाइले चुर भएर उनी केहि बेर त्यहिँ पल्टिएका थिए, त्यहिबेला घाँसको भारी बोकेर दुई केटीहरू त्यहि चौतारीमा आइपुगे।
“भोकले पल्टेको होला बिचरा”, एउटीले भनी।
“मसँग मकै छ”, अर्कीले भनी।
“हत्, हामी दमिनी ऊ को होला, पाप लाग्छ”, पहिलो केटीले भनी।
“नभनौँ न! भोकले त्यस्तो भएको होला”, दोश्रो केटीले भनी।
उनीहरूको कुरा सबै सुनिरहेका सिंहले केटीहरूलाई बरू पानी छ भने दिनुहोस् भन्दै मागे।
तर उनीहरूले पानी ल्याउन भने भुलेका रहेछन्। भाग्यबस्, त्यहिबेला जोडले पानी पर्न थाल्यो। गर्मी कम हुनाले तिर्खा सहेरै उनी हिँडे। बास बस्ने गाउँ पुग्नुभन्दा अघि कामीगाउँ आइपुग्ने रहेछ।
प्यासले भुतुक्कै हुन लागेका उनले एउटा घरमा गएर पानी मागे। घरपतिले पानी ख्वाउन अस्वीकार गरिदिए।
“यो त कामी गाउँ, तिमीलाई पानी ख्वाएर हामी जेल किन जानु?”, घरपतिले भने।
त्यहाँ पानी पाउने संकेत नदेखेर उनी अघि बढिहाले। बास बस्ने फुजेलपौवा भन्ने गाउँ आइपुगेपछि, उनले गाउँको पहिलो पसलको अघि राखेको भरि करुवा देखे। कसैले केहि भन्नै नपाउँदै उनी करुवा उठाएर कलकलकल पानी पिउन थाले। पिउँदा पिउँदै उनलाई रिङटा चल्न थाल्यो र उनी भुईंमा लम्पसार परे।
होस आएपछि, त्यहाँका पसलेले उनलाई केहि खाएर मात्र पानी खानुपर्ने भन्दै सम्झाए।
“त्यसो भए एक मोहरको नरिवल र मिश्री दिनुहोस् न”, गणेशमानले अनुरोध गरे।
मिश्री र नरिवल दिँदै पसलेले उनलाई अलि पर गएर पानी पिउन आग्रह गरे।
“किन?” गणेशमानले प्रश्न गरे।
“हामी कसाई क्या”, पसलेले भने।
“के भो त! दुई पटक जात जाँदैन क्यारे”, हातमा भएको मिश्री र नरिवल खाँदै उनले फेरि पानी पिए।
प्रगाढ अनुभवहरू
यी तीन अनुभवहरू: युवालाई अरूको युद्ध लड्न परदेश पठाउने बाध्यता, माझीगाउँको गरिबी, र पहाडमा गढेर बसेको जातीय व्यवस्थाको अनुभवले गणेशमानको मनमा गहिरो छाप छोड्यो। काठमाण्डौदेखि भारतको यात्रा गर्दा उनले काठमाण्डौ बाहिरका जनताको जीवन देख्न पाए र उनले कैयौँ नेपालीको दिनचर्या र संघर्षहरू बुझ्ने मौका पाए।
यी अनुभवहरूसँगै उनी काठमाण्डौ फर्केपछिका केहि अरू अनुभवहरू उनको जीवनका सबैभन्दा प्रगाढ अनुभवहरूमध्य केहि थिए। यसले उनको राजनीतिक विचारहरूमा ठूलो प्रभाव पाऱ्यो र नेपालमा परिवर्तनका लागि लड्न उनलाई थप प्रोत्साहन गऱ्यो।