जेलबाट भागेपछि – ३: चार दिन बिरामी पर्दा, बुटवल पुग्दा, र ज्यानकाजीसँगको भेट

जेलबाट भागेपछि – ३: चार दिन बिरामी पर्दा

भागेको पाँच दिनमा, पहाड तल र माथि गरेकोपछि गणेशमानको शरीर धेरै दुख्न थालेको थियो। उनको गोडाको पाइतालामा ठूलो फोका उठेर टनक टनक दुख्ने भएको थियो। जति दुखे पनि, सहेर उनी अघि बढ्दै थिए।

सिंह एउटा पाटीमा आराम गर्न बसेको बेला एक् जोगी आएर उनको गन्तव्यबारे सोधे। “हुन त बुटवल जानुछ, तर यहाँसम्म आएपछि मनकामना माईस्थानको दर्शन पनि गरूँ भनेर यता लागेको”, सिंहले जवाफ दिए।

“तर तिमी त गोर्खा आइपुग्यौ नि त! माइस्थान यहाँबाट चारकोस छ,” जोगीले भने।

सिंह छक्क परेझैँ गरे र दरबार हेरेर माइस्थान फर्किने बताए। जोगीले उनलाई आफ्नो घरमा बास बस्न आग्रह गरे, र सिंहले खुसीसाथ स्वीकारे।

जोगी आफ्नी श्रीमती र बालबच्चासँग चुहिने झुपडीमा बस्ने रहेछन्। सिंहलाई बाहिर सुत्न मिल्ने तर पानी परेमा के गर्ने भन्ने ती जोगीलाई चिन्ता लागेको थियो। त्यसैले ती जोगीको काकाको छोरा आफ्नो घरको बाटो जाँदै गर्दा, जोगीले गणेशमानलाई उनैसँग पठाइदिए।

यी घरपतिको घर ठूलो र सफासुग्घर थियो। अघिका जोगीले एक थाल मकै मात्र खुवाउन सक्थे भने, यहाँ भात, च्याँख्ला र दही थियो। उनले थपेर मन भरुन्जेल खाए।

अर्को बिहान ८ बजे सिंह गोर्खा दरबार पुगे, तर दरबार ११ बजे मात्र खुल्ने रहेछ।

त्यहाँ कुर्नु अनावश्यक ठानेर, उनी त्यहाँबाट हिँडे। तर, धेरैबेर हिँड्न भने सकेनन्। उनका खुट्टा सुनिएर उनी हिँड्नै नसक्ने भए।

घस्रिँदै उनी एक पधेँरो नजिकै पुगे र एकैछिनमा त्यहाँ सफा लुगा लगाएकि एक महिला आइपुगिन्। उनको लवाइ देखेर सिंहले ठाने कि उनी दरबारमा काम गर्छिन्।

त्यसैबेला, उनकी साथी, एक क्षेत्री महिला पनि त्यहिँ आइपुगिन् र सिंहलाई बास दिने वचन गरिन्। सिंह हिँड्न नसक्ने भएकाले उनले सिंहलाई बोकेर लैजान मान्छे बोलाइन्। आधा घन्टापछि पाँचजना बूढाहरू आइपुगे किनकि सबै ठिटाहरू लाहुर लागेका थिए।

ती क्षेत्री महिलाको घरमा पुगेपछि, सिंहले आफ्नो घाउको उपचार पनि पाए। उनको गोडाका फोकाहरू निचरेर ती महिलाले पीप निकाल्दिइन्। एकछिन तोरीको फूल देखेजस्तो भएपनि, ती महिलाले घाउमा चुक हालेर बाँधिदिएपछि सिंहको जीउ हलुको भयो।

उनले त्यहाँ चार दिन आराम गरे। मजाले हिँड्न सक्ने भएपछि उनी बिदा मागेर त्यहाँबाट हिँडे।

बुटवल पुग्दा:

आफूलाई निकै खातिरदारी गरेकाले गणेशमानले घरका चार जना केटाकेटीलाई एक एक रुपियाँ दिएर निस्किएका थिए।

अलि पर पुगेपछि, चिनेको जस्तो आवाजले उन्लाई बोलाइरहेको रहेछ। पछाडि हेर्दा घरधनी बूढा रहेछन् र अचानक उनले गणेशमानलाई हप्काउन थाले।

“हामीलाई पाहुनासँग पैसा लिने ठान्यौ? लौ, यो पैसा लिऊ”, घरधनीले भने।

गणेशमानले पछि माथवर सिंहसँग कुरा गर्दा त्यो पैसा लिँदा मनमनै खुसी भएको कुरा व्यक्त गरेका छन्।

दिन ढल्कन लाग्दा, सिंह लेते खोला पुगे। असारको महिना भएर खोला बढेको थियो। लगभग २० जना महिला खोला थामिन पर्खेर बसेका थिए, तर खोला थामिएला जस्तो थिएऩ।

सिंहलाई देखेपछि ती महिलाहरूले उनलाई खोला तर्न सहयोग मागे। सिंहले हुन्छ भने र सबैलाई एक एक गर्दै खोला तारिदिए।

सबैलाई खोला तारिसकेपछि उनी आफ्नो बाटो लागे। दाँयाबायाँ लागेर हिँड्दा दिक्क भएर उनी मूल बाटो भएरै स्याङ्जा पुगे।

स्याङ्जाबाट, तान्सेन, पाल्पा हुँदै उनी बुटवलतिर लागे। बुटवल पुग्नुभन्दा अघि एउटा चेकपोस्ट छ भन्ने उनले सँगै हिँडिरहेका भरियाबाट थाहा पाए। सिंहले चेकपोस्टका लागि केहि योजना बनाउनुपर्ने भयो।

त्यो बाटोमापाल्पा, पोखरा, बाग्लुङ, थाक, गुल्मी र मुस्ताङ सामान लैजाने मुख्य नाका पर्थ्यो। त्यसैले उनले भरिया भएर जाने निधो गरे।

भरियाहरूसँगै सिंह चौकी आइपुगे। त्यहाँका खरदारले भने उनी भरिया हुन् भनेर पत्याएनन्।

सिंहलाई बोलाएर, खरिदारले प्रश्न गर्न थाले,

खरदार: कहाँ जाने?

सिंह: बुटवल।

खरदार: किन?

सिंह: बुटवलमा आमा खोज्न आएको। अस्ति घरमा मामुली ठाकठुक परेको थियो, आमा रिसाएर यहाँ मामाघरमा आउनुभएको होला भनेर लिन आएको।

खरदार: बुट्वलमा तेरो मामा को?

सिंह: कृष्णबहादुर।

खरदारले त्यहिँ भएको पुलिसलाई बुटवलमा कुनै कृष्णबहादुर चिनेको छ कि भनेर सोधे।

पुलिसले छक्क परेर बुटवलमा सयौँ कृष्णबहादुर हुन सक्ने र आफूलाई थाहा हुन असम्भव हुनेबताए।

कहानी पत्याएपछि खरदारले सिंहलाई जान दिए। चेक पोस्ट कट्नेबित्तिकै उनले भरियाहरूलाई कुर्न परेन र उनी एक्लै अघि लागे।

ज्यानकाजीसँगको भेट:

बुटवल पुगेपछि सिंहलाई उनको पुराना साथी ज्यानकाजी खोज्नु थियो।

आफ्ना हजुरबुबाले भनेका कुरा उनका कानमा गुन्जिरहेका थिए: “तेरा सबै साथी कबाब र शराबका साथी हुन्। ख्वाउन नसकेको दिन मुर्दालाई जुम्राले छोडेजस्तै छोडिदिन्छन्।”

“मेरो साथी परेको बेला काम लाग्ने हो कि होइन, त्यसको परीक्षा गर्ने दिन आज आइपुगेको छ”, सिंहले आफैँलाई भन्दै ज्यानकाजीको खोजी सुरु गरे।

बुटवल अस्तव्यस्त बजार थियो। हरेक मोडका हलुवाई पसलमा ताजा जलेबी चास्नीमा डुबाएर निकालिँदै थियो। त्यो देखेर उनको मुखभरि पानी आएपनि उनी पहिला आफ्नो साथी भेट्टाउनतिर लागे।

सिंहसँग एक अर्को साथी थिए जो स्याङ्जादेखि उनीसँगै आएका थिए। ती मान्छे बाछो किन्न बुटवलतिर हिँडेका रहेछन्। सिंहले उनलाई आफूसँग बुटवल गएर ज्यानकाजी खोज्न सहयोग गरे आफैँ बाछो किनिदिने बाचा गरेर उनलाई साथै लिएर आएका थिए।

त्यहि व्यक्तिको सहयोगले सिंहले ज्यानकाजी फेला पारे।

ज्यानकाजी साँच्चै सहयोगी साथी रहेछन्। उनले सिंहलाई आफ्नो घर लगेर खाना खुवाए। कुखुराको मासुसँग भात खाँदै गर्दा ज्यानकाजीले सुझाव दिए, “बस्न चाहिँ अन्तै बसौँ। केहि गरि काठमाण्डौबाट खबर आएको भए मलाई अवश्य शंका गर्छन्। मकहाँ बस्नुभन्दा खस्यौलीमा मामा हुनुहुन्छ, त्यहिँ गएर बसौँ न हुन्न? अनि तलाईं के चाहिन्छ रे?” आफ्नो श्रीमतीले सुन्लिन् भनेर यो सबै उनले साउती गर्दै भनेका थिए।

सिंहले भने कि उनलाई कलकत्तासम्म जाने खर्च, नेपाली ४०० रुपियाँ, र १००० कम्पनी नोट (भारतीय मुद्रा) चाहिन्छ। उनले आफ्नो स्याङ्जादेखि आएका साथीलाई रू. १०० र आफ्ना लागि व्यापारीजस्तै देखिने एक जोर कपडा पनि थप मागे।

ज्यानकाजीले सहजै माने।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर