हिन्दुस्तानको सरहद पुग्दा र एयरफोर्समा भर्ती

हिन्दुस्तानको सरहद पुग्दा:

पैसा र लुगाको बन्दोबस्त मिलाइसकेपछि ज्यानकाजी र गणेशमान सिंह बसस्टपतिर लागे। तिनताका नेपालमा दुई स्थानमा मात्र बस चल्थ्यो, र त्यसमा एक भैरहवा – खस्यौली पनि थियो। बाटो कच्ची थियो र गाडी हिँड्दा बुङबुङती धुलो उडाउँथ्यो।

यो सडक खड्का शम्सेरले बनाएका थिए। वीरशम्शेरले श्री ३ महाराजको पदका निम्ति हुन सक्ने षड्यन्त्र पन्छाउन उनलाई पाल्पा धपाएका थिए। पाल्पामा आफ्नो मन बहालाउन वरपर घुम्ने क्रममा यो सडकको विकास हुन पुगेको हो। यहि समयताका उनले लुम्बिनीमा ऐतिहासिक शिलालेखको खोज गराउन स्वीकृती पनि लिएका थिए।

सिंहको सीमासम्मको यात्रा खासै रोमाञ्चक नभएपनि, गणेशमानलाई बस चढाएर फर्कंदा ज्यानकाजीले आर्मीका धेरै सिपाहीहरू जम्मा भएको देखे। तीमध्ये एकजना अफिसरलाई उनले सोधे, “किन आज एकाएक, के भो?”

“अँ एउटा मसहुर डाँका नेपालको जेलबाट भागेको रहेछ। गोरखापत्रमा उसको फोटो पनि छापिएको रहेछ, त्यो यताबाट आउला भनेर एलर्ट भएको”, अफिसरले ज्यानकाजीलाई उत्तर दिए।

गोरखापत्रको इस्तिहार:

“गणेशमान श्रेष्ठ यटखाके पुर्जी उप्रान्त तिमीलाई राजकाज मुद्दाको बात लागी सदर जङ्गीजेलमा कैदपरी रहेकोमा जेलबाट भागी गएको हुनाले पक्राउ गर्ने प्रबन्ध गरिबक्सेकाले तिमी उम्कने छैनौ, आजका १५ दिनभित्र तिमी आफैँ हाजिर हुन आउने काम गर। सो म्यादभित्र हाजिर हुन नआए पछि जुनबखत पक्राउ होला उसबखत तिम्रो ज्यान सजाय हुनेछ। तिमीलाई ज्यानको माया भए म्यादभित्र हाजिर हुन आउने काम गर। इति सम्बत् २००१ साल आषाढ १५ गरते रोज ४ शुभम्।“

ज्यानकाजी डरले थररर कामे। फर्केर हेर्दा धुलो उडाउँदै हिँडेको बस मोडबाट पार भइसकेको हुनाले उनी ढुक्क भए।

एयरफोर्समा भर्ती:

भारतमा सिंहले कलकत्ता जाने रेल चढ्ने निधो गरे। दोश्रो विश्वयुद्ध विश्वभर व्यापक भएकाले, रेलका धेरैजसो डिब्बाहरू आर्मीका लागि छुट्टाइएका हुन्थे। सिट पाउन लगभग असम्भव थियो। धेरै प्रयासपछि, सिंह बहाना बनाएर एक नेपाली गोर्खा पल्टनको डिब्बामा छिरे र कलकत्ता पुगे।

कलकत्तामा युद्धका कारण अवस्था परिवर्तन भइसकेको थियो। सिंह एउटा राजनीतिक पार्टी खोल्न चाहन्थे तर आफ्ना साथीहरू सबै एयरफोर्समा भर्ना भएको थाहा पाएपछि उनले आफ्नो योजना बदल्नुपऱ्यो।

त्यसबेला अंग्रेज आर्मीले आफ्नो वायुसेना भारतमा पनि स्थापित गरेका थिए र नयाँ सदस्यहरू लिँदै थिए। गणेशमानका धेरैजसो साथीहरू लाहोर (अहिले पाकिस्तान)को ऐयरफिल्डमा कार्यरत थिए। उनी पनि भर्ती हुने निर्णय लिए र चार दिन लगाएर लाहोर पुगे।

लाहोरमा सिंहको विभिन्न परीक्षाहरू लिइयो, र उनी सबैमा उतीर्ण भए। तर उनको उचाइ पुगेन। हार मानेर, उनी लाहोरबाट निस्किन लागेका थिए। तर एउटा पुरानो साथीलाई भेटेपछि उनले सिंहलाई ऐयरम्यान्समा संगीतबादक भएर छिर्ने सुझाव दिए।

उनको साथीले डा. गफूर भन्ने आर्मी डक्टरसँग भेटको बन्दोबस्त मिलाए। लखनाउका डा. गफूर निकै अधिकार सम्पन्न थिए। उनको सिफारिसमा सिंह अंग्रेज वायुसेनामा एयरम्यान भए।

फारम भर्दा अनेक शर्तमध्ये एक शर्त यो थियो कि यदि कुनै राज्यको जेलबाट भागेको व्यक्ति हो भने उसले पहिले नै बताउनुपर्छ। यदि यो जानकारी झुठो भएमा, जुन राज्यबाट भागेको, सोहि राज्यलाई सुम्पिइनेछ।

सिंहले डा. गफूरलाई आफू जेलबाट आएको कुरा भन्न नमिलेर आफू सन् १९४२ को आन्दोलनमा सहभागी भएको कुरा बताए, जुन गर्न नहुने आफैँमा पनि फारमको एक शर्त थियो।

डा. गफूर एक राष्ट्रवादी थिए र कसैलाई आफूले भाग लिएको कुरा नभन्न भने। “कदाचित् पत्ता लाग्यो भने बिरामी लेखाएर अस्पताल आउनू, म भर्ना गरिदिउँला, अनि जे परिआउँछ, त्यो गरूँला।” ढुक्क सिंह त्यस्पछि, लाहोरको वाल्टन एयरफिल्डको १७औँ फ़्लाइट बटालियनको एयरम्यान बने।

एयरफोर्स छोडेर कालिम्पोङ्ग पुग्दा:

एयरफोर्समा एक पल्टनको जाँच अर्को पल्टनका कर्पोरलले लिने चलन हुन्थ्यो। एकपटक यस्तै जाँचमा, कर्पोरल एम. वाइफरले गणेशमानको पल्टनको निरीक्षण गरिरहेका थिए। उनले परेडलाई हल्ट गर्ने आदेश दिँदा पछाडि भएका गणेशमानको पाइला दुई अंगुल पछि पऱ्यो। एकछिनपछि कर्पोरलले अर्को हल्टको आदेश दिँदा, सिंह फेरि पनि अझै पछि परे र तेस्रो पटक पनि त्यस्तै भयो।

कर्पोरलले सिंहलाई जानाजान परेड बिगारेको भन्दै गाली गर्न थाले र रिसको झोँकमा सिंहले ती कर्पोरललाई एक दनक दिए, र कर्पोरल लडेपछि फेरि लात्ती पनि थपे। कर्पोरल उठ्न नपाउँदै गणेशमानलाई समाउने आदेश दिए।

सिंह एयरफोर्सबाट निकालिन्थे तर कर्णेलको अनुपस्थितिका कारण, डा. गफूरले उनलाई बचाउन सके।

“डा. गफूरको त्यो उपकार म कहिल्यै बिर्सन सक्तिनँ। मैले इश्वरका बारेमा गम्भीर चिन्तन गरेको छैन। मलाई लाग्छ, यदि कोहि ईश्वर भन्ने पृथ्वीमा हुन्छन् भने डा. गफूरभन्दा बेग्लै हुन सक्दैनन्”, गणेशमान पछि माथवर सिंहलाई बताउँछन्।

यस घटनापछि उनी पाइलट बन्ने आफ्नो ठूलो आकांक्षालाई पछ्याउन थाले। तर उनको उचाइले गर्दा उनलाई प्लेन चलाउन दिइएन।

“जापानीहरू पनि त हामी गोर्खालीभन्दा अग्ला छैनन् नि।” उनी अफिसरहरूसँग तर्क गर्थे।

“उनीहरूका निम्ति प्लेन नै विशेष प्रकारले बनाएको हुन्छ”, एक अंग्रेज अफिसरले उनलाई भनेका थिए।

सिंहलाई ‘गनर’मा जाने सुझाव दिइयो। गनर भन्नले जहाजको पछिल्तिर बसेर बन्दूक चलाउनेलाई भनिन्छ। उनको त्यसमा रुचि थिएन। बेंगलोरको अर्को एयरफिल्डमा प्रयास गरेर नभएपछि, गणेशमानले उड्ने सपना छाडिदिए।

त्यसपछि, सिंह सैनिक सेवा छाडेर बम्बई घुम्न गए र त्यहाँबाट आफ्ना भाइ शंकरमानलाई भेट्न बनारस गए। बनारसबाट उनी कलकत्ता पुग्दा चिनेका साथीहरूले बास दिन अप्ठेरो मान्न थाले। र त्यहाँबाट धर्मरत्न यमीको सुझावमा उनी कालिम्पोङ पुगे, डा. जगदीश बोसकहाँ।

बोस क्रान्तिकारी थिए र कलकत्ताबाट निष्काशित भएर कालिम्पोङमा बस्नुपर्ने सजाय पाएका थिए। तर उनलाई कालिम्पोङ यति मन पऱ्यो कि उनी सजायको म्याद सकिएपछि पनि त्यहिँ बसिरहे। डा. बोस कम्युनिष्ट थिए र उनीहरूबीचको रोचक राचनीतिक बहसका कथाहरू गणेशमान सम्झन्छन्।

“मलाई डा. बोसको तर्कले मार्क्सवादी पक्ष बुझ्न ठूलो मद्दत पुग्थ्यो भने प्रजातन्त्रवादीको पक्ष बुझ्न डा. बोसलाई पनि सजिलो भएको थियो”, गणेशमानले माथवरसिहंको गफमा सुनाउँछन्।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर