कालिम्पोङमा दुई नेपाली:
एक दिन कालिम्पोङमा दुई नेपाली गणेशमानलाई भेट्न आइपुगे।
“तपाईं गणेशमान सिंह होइन?” एकजनाले सोध्यो।
आफू पक्डिएँ भन्ने गणेशमान विश्वस्त थिए। “अब यिनीहरूले मलाई रिपोर्ट गर्नेछन्”, उनले सोचे।
तर ती दुई गणेशमानलाई पक्राउ गर्न आएका थिएनन्। उनीहरू त व्यापारी थिए, ल्हासाबाट कलकत्ता, कालिम्पोङ र काठमाण्डौमा व्यापार गर्थे र सिंहको बारे सुनिराखेकोले भेट गर्ने आएका थिए।
जेलबाट कसरी भाग्नुभयो भन्ने प्रश्नको उत्तरमा गणेशमानले भने, “बिना दक्षिणा कथा सुन्न पाइँदैन भाइ हो! यो कथा यति लामो छ कि यसरी एकै छिनमा भन्न सकिन्न। त्यसका लागि विशेष प्रकारको आयोजना गर्नुपर्छ।”
उनीहरूले प्रस्ताव स्वीकारे र भोलिपल्ट बेलुकी ९ बजे खाना खान भेट्ने कुरा तय भयो।
त्यस रात, सिंहलाई पक्का भयो कि उनको कथाले नेपाली जनतामा खुल्दुली पैदा गरेको छ।
“व्यक्तिगत रूपमा जति दु:ख पाए पनि, मैले के के नै गरेँ भन्ने भ्रम मात्र होइन रहेछ भन्ने मलाई लाग्यो”, सिंहले माथवर सिंहलाई पछि सुनाउँछन्।
“मैले भद्रगोल जेलको पर्खाल नाघे पनि चार भञ्ज्याङ काट्न सक्दैन भन्ने सरकारको विश्वास थियो। राणाहरूलाई आफ्नो प्रशासनमाथि गर्व थियो र म सबै छलेर आइपुगेँ। सायद त्यसैले मानिसहरू मप्रति जिज्ञासु थिए”, सिंह सम्झन्छन्।
अर्को दिन, ती दुई व्यापारी तय गरेको समयमै आइपुगे। अझै बन्दोबस्त गर्न नसकेकोमा माफी माग्दै उनीहरूले सिंहलाई आठ हजार रुपियाँ दिए।
“जेलबाट भागेको कथा मात्र सुन्नेले आठ हजार भारू दिन सक्छन् भन्ने मैले सपनामा पनि सोचेको थिइनँ”, गणेशमान माथवर सिंहलाई सुनाउँछन्।
त्यसपछि सिंहले आफ्नो कथा हरेक सुक्ष्म विवरण बताउँदै सुनाउन थाले। दुई व्यापारीहरू यति तन्मयका साथ सुनिरहेका थिए। कथा बल्ल पर्खालमा अंकुसे हाल्ने भागमा पुगेको बेला ४ बजिसकेको थियो।
अर्को कुनै दिन् फेरि बाँकि कथा सुनाउने शर्तमा त्यस दिन कथा टुंगो लाग्यो।
त्यसै रात, सिंहको कल्पनाको छाल एक कुना अर्को कुना गर्न थाल्यो। त्यस रकमले उनले पार्टी संगठन, हतियार किन्ने र क्रान्ति गर्न सक्थे।
यहि रात उनले क्रान्तिका लागि खर्च उठाउन आफ्नो कथा भन्ने सोच बनाउन थाले। दार्जीलिङमा भएका अरू नेपालीहरूलाई आफ्नो कथा सुनाउने निश्चय गरेर सिंह निदाउँछन्।
हौसिएका, राजनीतिले उत्साहित सिंह:
आफू जेलबाट भागेको कथा सुनाएर भारू ८००० पाएपछि हौसिएका गणेशमान् सिंहले आफ्नो कथा अरूलाई पनि सुनाउने निश्चय गरे। उनको लक्ष्य दार्जीलिङ, सिक्किम, आसाम, देह्रादुन र भाक्सुमा भएका नेपालीभाषी जनतालाई कथा सुनाएर राजनीतिक पार्टीका लागि खर्च जुटाउनु थियो।
उनले दार्जीलिङबाट सुरु गरे।
आफूले पाएको रू. ८००० बाट एक पैसा पनि व्यक्तिगत खर्चका लागि प्रयोग नगर्ने अठोट गरेर उनले दार्जीलिङका पुवा नेवालाई सम्पर्क गरे। पुवा नेवा वि.सं. १९९७ मा प्रजापरिषद्का सदस्यहरूसँगै क्रान्तिका बारे बोलेको आरोपमा पक्राउ परेका थिए। तर, उनलाई राणा सरकारले कृपा गरेर ५० रुपियाँ ४ पैसाको जरिवानामा रिहा गरिदिएको थियो। रिहाइपछि उनी नेपाल छाडेर दार्जीलिङ बस्न थाले। सिंह दार्जीलिङ हुन्जेल उनकैमा बसे।
दार्जीलिङमा सिंहले विद्यार्थीहरूलाई आफ्नो कथा सुनाए। धेरैजसो विद्यार्थीहरू नेपालबाट थिए र धेरैका परिवारहरू राणाहरूसँग सम्बन्धित थिए। कथा सुनाएको बापत गणेशमानले विद्यार्थीहरूले जम्मा गरेको रू. ८०० पाए।
प्रजापरिषद्लाई फेरि संगठित गरेर गणेशमान नेपालमा क्रान्ति ल्याउन चाहन्थे। तर आफूले भनेजस्तो कसरी गर्ने भन्ने प्रश्नहरू उनको मनमा आइरहन्थे। “मैले क्रान्तिको तयारी गर्ने आँट त गरेँ तर त्यसको तयारी कसरी गर्ने भन्नेबारे कुनै स्पष्ट तस्विर भने मेरो दिमागमा थिएन”, गणेशमान माथवर सिंहसँग खुलासा गर्छन्।
यहि सिलसिलामा, सिंह बनारस पनि पुगे। बनारसमा उनी देवशंकरलाल श्रेष्ठकहाँ बसे, र उनको परिचय बनारसमै अध्ययन गरिरहेका ईश्वर बरालसँग भयो। बनारसमा पढ्ने नेपाली विद्यार्थीहरूले नेपाल छात्र संघ गठन गरेको कुरा बरालले सिंहलाई बताए। त्यस संघको उपाध्यक्ष कृष्णप्रसाद भट्टराई थिए र महासचिव बराल स्वयं थिए। बरालले संघका विद्यार्थीहरूसँग गणेशमानको भेट मिलाएका थिए तर बनारसमा राणाका सी.आई.डी टन्नै भएकाले सिंहलाई कृष्णबहादुर प्रधान भनेर परिचय गराइने भयो।
भेटको अघिल्लो रात उनी निदाउन सकेनन्।
“राजनीतिको नाउँमा मैले बाउन्न घोच्चा त्रिपन्न ठक्कर खाए पनि राजनीतिक संस्कारको विकास ममा भएको थिएन। मेरो आफ्नो अंहकारको कारण जेलभन्दा अघि गंगालालले सिकाउन खोजेको राजनीति सिक्न सकिनँ अनि जेलमा पनि मेरो अंह चुलिएको कारण मैले थप पढ्ने वास्ता गरिनँ। विद्यार्थीहरूलाई के भन्ने? राणा शासनको विकल्पमा कस्तो शासन हुनुपर्छ भन्ने मेरो स्पष्ट दृष्टिकोण थिएन”, त्यतिबेला आफ्नो समस्या त्यहि भएको कुरा गणेशमान माथवर सिंहलाई बताउँछन्।
गणेशमानको पहिलो भाषण र उनको अहं:
जेजस्तो भए पनि उनले जम्मा भएका विद्यार्थीहरूलाई भाषण दिए।
“धेरै वर्ष भइसकेकोले त्यस घटनालाई ठ्याक्कै याद गर्न सम्भव छैन, तर मैले राणाहरूको शोषण, दमन र क्रान्तिको खाँचोका बारे बोलेको थिएँ। प्रजापरिषद् र धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्दको बलिदान खेर जानुहुन्न भनेर विद्यार्थीहरूलाई सम्झाएको याद छ”, सिंह माथवर सिंहलाई भन्छन्।
बेलाबेलामा भाषणमा कसैले टिप्पणी गरेर रोकेको पनि गणेशमानलाई स्मरण छ। त्यसबेला त्यो विद्यार्थी संघमा राजनीतिक भाषण गर्न नपाइने रहेछ जुन सिंहलाई थाहा थिएन। रोकावट भए पनि उनले आफ्नो जीवनको पहिलो भाषण पूरा गरे।
भाषणपछि, सिंह र कृष्णप्रसाद भट्टराईको वास्तविक परिचय भयो। गणेशमानले आफ्नो परिचय खुलाए र भट्टराईले उनलाई सहयोग गर्ने वचन दिए।
बनारस केहि दिन बसेपछि उनी कालिम्पोङ फर्किए। एक दिन बनारसबाट देवशंकरलालको चिठ्ठी आयो, र सँगै एउटा अखबारको पाना पनि थियो। त्यस अखबारको पानामा विश्वेश्वरप्रसाद कोइरालाले नेपालमा प्रजातन्त्रको स्थापना गर्न संगठन चाहिएको कारणले इच्छुकहरूलाई आह्वान गरेका थिए। चिठ्ठीमा देवशंकरले सिंहलाई बी.पी. कोइरालालाई भेट्न पटना जान सुझाव दिएका थिए।
त्यो पत्र पढेर सिंहलाई बडो रिस उठ्यो। उन्ले तत्कालै देवशंकरलाई झपार्दै जवाफ लेखे:
“तिमीले मलाई बेलाबेलामा मद्दत गरेको हुनाले त्यो उपकारको बदला यस्तो अपमानजनक पत्रबाट चुकाएका हौला। तिमीले मलाइ जुन चिठ्ठी लेख्यौ, त्यो वी.पी कोइरालालाई लेख्नुपर्थ्यो र उन्लाई सल्लाह दिनुपर्थ्यो कि गणेशमान यस्तो महान् क्रान्तिकारी फलाना ठाउँमा बसेको छ, अरूसँग सितिमिति भेट्दैन, तपाईंसँग भेट दिलाइदिन सक्छु भनेर लेख्नु र भेट्न यहाँ पठाउनुपर्ने थियो। मलाई कोइरालासँग भेट्न जाऊ भन्नु तिम्रो हेपाहा प्रवृत्ति हो।”
सिंहको चिठ्ठीको जवाफ पनि छिट्टै आयो। देवशंकरले लेखेका थिए कि सिंहको गिदी हुनुपर्ने ठाउँमा गोबर छ। यदि अलिकति गिदी छ भने सोझै कलकत्ता गएर कोइरालालाई भेट्नू भनेर पनि लेखिएको थियो।
सिंह झोकमा बनारस चाहिँ पुगे – देवशंकरलाई सम्झाउन।
भेट भएपछि, देवशंकरले सिंहलाई सम्झाए कि राजनीतिमा घमण्ड र अहं जस्ता भावना त्याग्नुपर्छ।
सिंहले सुनेपनि झट्टै स्वीकार गर्न सकेनन्।
ठाकठुक चलिरह्यो तर आखिर देवशंकरलालले सिंहलाई सम्झाए।
त्यसपछि, केहि दिनमा सिंह वी.पी. कोइरालालाई भेट्न कलकत्तातिर लागे।