२००४ सालको देशव्यापी सत्याग्रह र पद्म शम्शेरबाट सुधारको घोषणा

  • २००४ सालको देशव्यापी सत्याग्रह:

विराटनगरको पक्राउपछि, राष्ट्रिय कांग्रेसले राणा सरकारलाई पक्राउ परेका नेताहरूलाई रिहा गर्न एक महिनाको समय दिने निर्णय लियो। यदि एक् महिनाभित्र नेताहरू जेलमुक्त नभए देशव्यापी रूपमा सत्याग्रह गर्ने घोषणा गरियो। सो घोषणामा राणा सरकारलाई राजनीतिक सुधारको प्रक्रिया प्रारम्भ गर्न पनि आह्वान गरिएको थियो।

सरकारले सो मागतर्फ कुनै ठोस कदम नचालेपछि २००४ साल वैशाखदेखि देशव्यापी सत्याग्रह सुरू भयो।

“सत्याग्रहको प्रचार गर्न निकै चुनौतीपूर्वक भएपनि, सत्याग्रहले चाँडै गति लियो”, गणेशमान सिंह सम्झन्छन्।

काठमाडौं देखि जनकपुर, वीरगञ्जदेखि विराटनगर, सत्याग्रहीहरू सरकारविरुद्ध नारा लगाउँदै सडकमा उत्रिए। काठमाडौं, भक्तपुर र ललितपुरमा पार्टीका कार्यकर्ताहरूसँगै सयौँ विधार्थीहरूले राजनीतिक परिवर्तनको माग गर्न थाले। यी आन्दोलनमा मंगला देवी सिॅह, साहाना प्रधान, साधना प्रधान, कनकलता र पुष्पलता जस्ता युवा नारी पनि सहभागी भएका थिए। राजनीतिक चेतनाको देशव्यापी अभियान साँच्चिकै सुरू भएको थियो।

नेपाल महिला संघका सदस्यहरु  (तस्बिर: नेपाल पिक्चर लाइब्रेरी)

आन्दोलन चर्किँदै जाँदा, राणाहरूले यस सत्याग्रहलाई पनि दबाउन कोशिस गरे। देशभरि जेलहरू सत्याग्रहीले भरिएको थियो।

गंगालालका भाइ पुष्पलालले जर्नेल नर शम्शेरका सामुन्ने उभिएर गोली चलाउन माग गरेको घटना २००४ सालको यस आन्दोलनमा प्रख्यात भएको थियो। चार शहिदलाई दिइएको मृत्युदण्डको कार्यन्वयन गर्ने नर शम्शेरलाई चुनौती दिएका पुष्पलालले पछि नेपालमा कम्युनिष्ट पार्टीको संस्थापना गरे।

भारतमा गणेशमान र अरू केहि नेताहरूले सत्याग्रह आन्दोलनको नेतृत्व गरिरहेका थिए। आफूसँग भएको श्रोत परिचालन गर्दै आन्दोलनलाई थप दिशा दिन उनीहरू राजनीतिक बैठक आयोजना गर्दै थिए। कलकत्तामा आर्थिक सहयोगका लागि सिंहले भेटनारायण र सत्यनारायणलाई भेटे, तर, उनीहरूले आर्थिक सहयोगभन्दा पनि नेपाली जनताको सन्देश बोकेको एउटा अंग्रेजी अखबार प्रकाशित गर्नु बढी सामयिक र प्रभावकारी हुने सुझाव दिए। यसरी कलकत्ताबाट नेपाल टुडे साप्ताहिक प्रकाशित हुन थाल्यो।

यता नेपालमा, विशेषगरि काठमाडौं उपत्यकामा, आन्दोलन चर्किरहेको थियो जब २००४ साल जेठमा पद्म शम्शेरले राजनीतिक सुधारको घोषणा गरे।

पद्म शम्शेरबाट सुधारको घोषणा: 

त्यतिबेला टुंडिखेलको बीचमा एउटा खरीको रूख हुने गर्थ्यो। चकला सीमा भनेर चिनिने त्यस रूखमा राज्यका उच्च अधिकृतहरूले आधिकारिक घोषणा गर्ने गरेका थिए।

(तस्विरमा देख्न सकिन्छ: जुद्ध शम्शेर राणा १९९० साल फाल्गुनमा भूकम्प राहत कार्यक्रम घोषणा गर्दै)

त्यसरी नै, २००४ साल जेठमा नेपालका तत्कालीन प्रधानमन्त्री पद्म शम्शेर जंग बहादुर राणाले गोलो मञ्चमाथि उभिएर नेपाली जनतालाई राजनीतिक सुधार हुने घोषणा सुनाए। उनले त्यहाँ उपस्थित सबैलाई देशमा विधानानुसार शासन चल्ने र त्यस्तो विधान विशेषज्ञको राय लिएर मात्र तयार हुने पनि बताए। उनले बालिकाहरूलाई स्कूलमा भर्ना गराउने प्रावधान र स्थानीय तहमा निर्वाचन गराउने वाचा पनि सो घोषणामा गरेका थिए। उनको प्रशासनले स्थानीय तहमा चुनाव गरायो र ५०० बालिकाहरूलाई औपचारिक शिक्षामा भर्ना गरायो, तर उनले गरेका अरू राजनितिक सुधारका वाचामा भने खासै काम भएन।

“पद्म शम्शेरको सुधारको घोषणा यथार्थमा अस्पष्ट थियो। सुधारको स्वरूप कस्तो हुने र त्यसभित्र के के पर्ने, कसरी शासन व्यवस्थालाई व्यवस्थित गर्ने आदि प्रश्नमा घोषणा मौन थियो। यहाँसम्म कि वैधानिक कानुन कहिलेसम्म तयार हुने हो, त्यो पनि निश्चित थिएन”, गणेशमान सिंहले भने।

“तर, यो महत्त्वपूर्ण पहिलो कदम भएकाले हामीले पद्म शम्शेरलाई सुधार ल्याउने मौका दिने निर्णय गऱ्यौँ।”

नेपाल कांग्रेसले फलस्वरूप सत्याग्रह स्थगित गर्ने निर्णय लियो। वी.पी. कोइरालाको अनुपस्थितिमा कार्यकारी सभापतिको रूपमा कार्यरत मातृका प्रसाद कोइरालाले आफ्नो पदबाट अवकाश पाउन अनुरोध गर्नुभयो, र त्यसपश्चात डा. डिल्लीरमण रेग्मीलाई कार्यकारी सभापति मनोनयन गरियो।

यहि बेला, श्रावणमा, पद्म शम्शेरको अनुरोधमा पं जवाहरलाल नेहरूले पठाएका श्री प्रकाश गुप्ताको नेतृत्वमा तीन जनाको विधान मस्यौदा टोली भारतबाट नेपाल आइपुग्यो।

“तर चन्द्रशम्शेरका सुधार विरोधी छोराहरू मोहन शम्शेर र बबर शम्शेरले विधानको सुधारमा हुने कुनै काम् हुन दिएनन्”, गणेशमान सिंह माथवर सिंहलाई बताउँछन्।

तथापि, २००४ सालको सत्याग्रहले नेपाली जनताको मानसमा केहि हदसम्मको राजनीतिक चेतना जागृत गऱ्यो। त्यस सत्याग्रहले राष्ट्रिय कांग्रेसलाई एक शशक्त संस्थाका रूपमा स्थापित गऱ्यो र अरू राज्यहरूको ध्यान पनि अब पार्टीतिर तानिन थाल्यो।

भारतीय नेताहरूसँगको भेट: 

बनारसमा बसेको राष्ट्रिय कांग्रेसको कार्यसमितिको बैठकले नेपाल सरकारलाई तीनवटा माग राख्यो:

१.    नेपाली राष्ट्रिय कांग्रेसलाई सरकारी मान्यता

२.   सम्पूर्ण राजबन्दीको बिना भेदभाव रिहाइ

३.   सुधारको घोषणालाई व्यवहारमा उतार्ने समयावधि तोक्ने

त्यसबेला भारत, अंग्रेज भारतबाट स्वतन्त्र राज्यमा भर्खरै परिवर्तन भएको थियो, र नेताहरू भारतका अन्तरिम सरकारको प्रधानमन्त्री थिए। नेहरूले राष्ट्रिय कांग्रेसलाई आफ्नो सत्याग्रह स्थगित गर्न अनुरोध पनि गरेका थिए। किन नेहरूले सो भने भनेर बुझ्नलाई गणेशमान सिंह र मातृका प्रसाद कोइरालाले नेहरूलाई भेट्ने भए। सिंह कृष्ण बहादुर प्रधानको नाममा उपस्थित हुने भए किनकि उनी अझै पनि नेपाली अपराधी थिए।

यसरी कोइराला र सिंह तीनमूर्तिस्थित आनन्दभवन पुगे जहाँ नेहरूको निवास थियो। यी तीनको नेपालबारे निकै लाभकर छलफल भयो, र नेहरूले विशेषत: १९९७ सालको आन्दोलनका बारे जान्न चाहे। कोइरालाले नेहरूलाई सत्याग्रह तोड्ने अनुरोध गर्नुको कारण सोधे:

“उनले गरेको घोषणा ज्यादै अस्पष्ट छ, त्यसमा कुनै ठोस सुधारको रूपरेखा पटक्कै छैन”, सिंहले जोड गरे, जसको जवाफमा नेहरूले उन्लाई सम्झाए कि नागरिक अधिकार जटिल विषय हो, र राणाहरूलाई पनि यसमा कुनै ज्ञान छैन।

“यी कुराहरूलाई समय लाग्छन्, र सत्याग्रह त्याग्नुहोस् भन्ने मेरो सुझाव अझै पनि छ”, नेहरूले बताए।

कोइराला र सिंहले नेहरूको कुरा बुझे, समय दिएकोमा उनलाई धन्यवाद भने र बिदा लिए। “उहाँ ढोकासम्म आउनुभयो र हामीलाई गाडीमा बिदा नगरेसम्म ढोकामै खडा रहनुभयो”, सिंह नेहरूसँगको भेट सम्झन्छन्।

यतातिर, पहिलेबाटै क्यान्सरले ग्रसित वी.पी. कोइराला गम्भीर रूपले बिरामी परे। उनलाई उपचारको खाँचो थियो र त्यसका लागि जेलबाट रिहा हुनु जरुरी थियो। त्यसैले राष्ट्रिय कांग्रेसले महात्मा गान्धीलाई चिठ्ठी लेखाउन मिले रिहाइको सम्भावना हुने देखे। त्यसबेला गान्धी कलकत्तामा थिए र गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई उनलाई भेट्न जाने भए।

गान्धीसँगको भेट संक्षिप्त थियो। गान्धीले नेपालका समस्याबारे केहि बेर सुने। उनले भट्टराई र सिंहलाई वी.पी. कोइरालाको रिहाइका लागि चिठ्ठी भोलिसम्म तयार हुने बताए। सोहि समय, उनी आफ्ना सचिवतर्फ फर्केर कृष्णप्रसाद भट्टराई उनको चिठ्ठी लिएर काठमाडौँ आउनुहुने जानकारी नेपाल सरकारलाई तार गरिदिन भने।

अर्कोदिन, भट्टराई र सिंह गान्धीकहाँ गए। उनीहरूलाई देखेपछि चिठ्ठी लेख्न भुलेका गान्धीले उनीहरूलाई १० मिनेट पर्खन भने र आफ्ना सचिवलाई कागज र कलम मागे। तर, अब चिठ्ठीको आवश्यकता थिएन।

“हामीले खबर पायौँ कि कोइरालाजी हिजै छुट्नुभएछ, बापू”, सिंहले गान्धीलाई भने। “तपाईंको तार पाउनेबित्तिकै राणा सरकारले उनलाई रिहा गर्देछन्।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर