गणेशमानका रक्सौलकादिनहरू:
वी.पी. कोइराला जेलबाट रिहा भएपछि पटना लगिए जहाँ डक्टरहरूले कोइरालालाई बम्बईमा गएर उपचार गराउन सुझाव दिए। गणेशमान सिंहले कोइरालालाई शीघ्र स्वास्थ्यलाभको शुभकामना दिएर नेपाल-भारतको रक्सौल सीमातिर लागे। केहि दिनमा कोइराला पनि बम्बईका लागि निस्किए ।
२००४ साल माघमा पद्म शम्शेरले नेपालको पहिलो वैधानिक कानूनको घोषणा गरे। नगरपालिकादेखि केन्द्रीय व्यवस्थापिकासम्म जनप्रतिनिधिलाई देशको राजकाजमा संलग्न गराउने, न्याय व्यवस्थाको निम्ति स्वतन्त्र अदालतको छुट्टै प्रबन्ध गर्ने र निर्वाध मौलिक हक नेपालका नागरिकलाई प्रदान गर्नेजस्ता प्रावधान त्यो कानूनमा थिए।
राष्ट्रिय कांग्रेसलाई त्यस विधानको कानून पालना हुन्छ भन्ने विश्वास थिएन तर देशको इतिहासमै पहिलोपल्ट आएको विधानको राजनीतिक मूल्यांकन गर्नु पार्टीले आवश्यक ठान्यो।
त्यससमय, गोपाल प्रसाद भट्टराई र गणेशमान सिंहलाई काठमाडौं र बारा-पर्साको संगठनको जिम्मा दिइएको थियो। कार्यालय रक्सौलमा थियो। उनीहरू काठमाडौंबाट भारत आउने र फर्कने नेपालीहरूलाई भेटेर पार्टी र प्रजातन्त्रका मान्यताबारे सुनाउँथे।धेरैले सुन्थे, कसैले श्रद्धाको नजरले हेर्थे र कति राणाको डरले अर्कोतर्फ फर्केर हिँड्थे।
रक्सौलका दिनहरूलाई सिंहले अभाव र दरिद्रतामा गुजारेको सम्झन्छन्। कति रात भोकै सुत्नुपर्ने अवस्था थियो। त्यससमय, उनीहरू युगवाणी बेचेर आफ्नो गुजारा गर्थे। युगवाणी राष्ट्रिय कांग्रेसको साप्ताहिक मुखपत्र थियो। कुनै दिन एउटै नबिक्दा उनीहरू एकादशी घोषित गरेर पानी पिएर सुत्थे भने कुनै दिन एक् दुईवटा बिक्दा सातु खान पाउँथे। बासको अवस्था पनि उस्तै गएगुज्रेको थियो। एउटा खाट र एउटा गुन्द्री भएको कोठामा दशजना जति सुत्थे तर त्यहाँ न तकिया थियो न तन्ना।
एक दिन, सिंहकी आमा र बज्यै तीर्थ जानलाई रक्सौलको बाटो भएर आए। उनीहरूलाई पुऱ्याउन मोतीहरिसम्म गएका सिंहलाई बिदा हुन लाग्दा बज्यैले एक सयको एउटा नोट हातमा राखिदिइन्।
“त्यस रात रक्सौलको हाम्रो क्याम्पमा दशैँ आएको थियो। हामीले धेरै दिनपछि दाल, भात र मासुको तरकारी खाएका थियौँ”, गणेशमान माथवरसिंहलाई सुनाउँछन्।
पद्म शम्शेरको सम्झना:
सिंह र उनका सहकर्मीहरू रक्सौलमा आफ्ना दिन बिताउँदै गर्दा, २००४ साल चैत मसान्तको दिन पद्म शम्शेरले आफ्नै विधानविपरीत नेपाली कांग्रेसलाई अवैध घोषणा गरे। दुई सातापछि, पद्म शम्शेरले राजिनामा दिएर आफ्नो जीवनभारतमा बिताउने घोषणा गरे। यसरी मोहनशम्शेर नेपालका प्रधानमन्त्री भए।
मोहन शम्शेर र उनका भाइ बबर शम्शेर सुधारविरोधी विचार राख्थे। राष्ट्रिय कांग्रेसका लागि अब शान्तिपूर्ण आन्दोलनले सुधार आउँछ भन्ने बाटो रहेन।
“पद्मशम्शेरलाई भारदारहरू आपसमा कुरा गर्दा पिन्चे महाराज भन्ने गर्थे”, सिंह बताउँछन्। “उनी बडो संवेदनशील र कोमल हृदयका थिए। उनले आँटेर वीर शम्शेरका छोराहरूको विचारविरुद्ध दृढ कदम चलाएका भए, उनलाई प्रजातन्त्रीकरण गर्ने प्रधानमन्त्रीको श्रेय प्राप्त हुने थियो।” यहि सिलसिलामा गणेशमान पद्म शम्शेरसँगको अघिल्लो भेट सम्झन्छन्।
सिंहका अनुसार, १९९७ सालको प्रजा परिषदसम्बन्धी मुद्दा फैसला सुनाउन भारदारहरू सिंहदरबारको बेलायती बैठकमा जम्मा भएका थिए। भारदारीमा श्री ५ त्रिभुवन लगायत जुद्धशम्शेर, पद्मशम्शेर, मोहनशम्शेर, र अरू राणा तथा उच्च अधिकारीको उपस्थिति थियो। काजी, सरदारलगायतको भीडमा बडाकाजी गणेशमानका बाजे रत्नमान सिंह पनि थिए।
फैसला सुनाउने बेला पद्म शम्शेर रोइरहेका थिए। जुद्ध शम्शेरले भारदारको मत बुझ्न खोज्दा राजा त्रिभुवन र मोहन शम्शेरले कडाई कम गर्ने अनुरोध गरेका थिए, तर पद्म शम्शेरले केहि भनेका थिएनन्।
“पद्म शम्शेर बोल्न त बोले, तर अलि पछि”, सिंह सम्झन्छन्।
फैसला सुनाउने बेला भएपछि मोहनशम्शेरले घोषणा गरे कि बडाकाजी रत्नमानले फैसला सुनाउनेछन। आफ्नो नातिलाई जन्मकैदको सजाय सुनाउन विवश भएका रत्नमानको पिडा बुझेर पद्मशम्शेरले उठेर भने – “होइन, फैसला महेन्द्रबहादुर महतले सुनाउनू।“
गहभरि आँसु बोकेर उठिसकेका रत्नमान बिस्तारै फेरि बसे।
कांग्रेसमा विवाद, र वी.पी. कोइराला दोश्रोपटक गिरफ्तार:
उपचारपछि वी.पी. कोइराला पटना फर्किए। धेरैले सोचेका थिए कि वी.पी. कोइराला फर्केपछि कार्यवाहक सभापति डिल्लीरमण रेग्मीले स्वत: पद छोड्छन्।
तर, रेग्मीले आफू पनि सम्मेलनले छानेको सभापति भएकाले अर्को सम्मेलन नभएसम्म पद नछाड्ने हठ गरे।
अवस्था झन्-झन् नैराश्यजनक बन्दै गयो र पार्टी दुई गुटमा विभाजित भयो। डिल्लीरमण रेग्मीले पार्टीका साथीहरूलाइ केन्द्रित गरेर ‘सत्य के?’ भन्ने पुस्तिका लेखे। जवाफमा गणेशमान सिंहले ‘सत्य यो’ भनेर एक लामो लेख लेखे।
यस विभाजनसँगै यता मोहन शम्शेर सत्तामा आएपछि सुधारको सम्भावनामाथिको विश्वास पातलिँदै गयो। राष्ट्रिय कांग्रेसले नेपाली जनताको सम्मान पनि गुमाइरहेको थियो।
यसैबीच काठमाडौंमा युवाले वैधानिक कानूनको परिधिभित्र रहेर नगरिक चेतना जगाउन तथा नगरपालिकाको चुनाव लड्न नेपाल प्रजापञ्चायत नामको नयाँ पार्टी स्थापना गरेका थिए।
कोइराला, सिंह र कांग्रेसका अरू नेताहरूले बुझे कि राणाहरूले यस विवादको मौका उठाएर राजनीतिक गतिविधिमा बन्देज लगाउँदै थिए। राजनीतिक शक्ति एक गर्नु अपरिहार्य भएको थियो। छलफलपछि, कोइराला कृष्णप्रसाद भट्टराई र केदारमान व्यथितसँग काठमाडौं लागे।
बैठकहरू आयोजना गरेर महिनादिनसम्म काठमाडौं बस्दा कोइराला र साथीहरूको बसाईं गोपनीय रहन सकेन। कोइरालाका साथमा उनलाई सहयोग गरेको आरोपमा त्रिरत्न बज्राचार्य र गौरीभक्तलाई पनि पक्राउ गरियो। किसुनजी (भट्टराई) र व्यथित भाग्न सफल भए।
“कोइरालाको काठमाडौंमा गिरफ्तारीपछि कांग्रेसमा नैराश्य आउनुको बदला उत्साह र जोश देखा पर्न थाल्यो”, गणेशमानले भने। उनीहरूले आन्दोलन फेरि सुरू गर्ने निश्चय गरे। कोइरालाले पनि जेलका कैदीहरूलाई आवश्यक सुविधा उपलब्ध हुनुपर्ने र जेलभित्र रहेका बन्दीहरूप्रति मानवीय व्यवहार हुनुपर्ने माग राखी अनशन प्रारम्भ गरे। उनको अनशनले भारतमा ठूलो हलचल पैदा गऱ्यो र नेपालको राजनीतिक अवस्थाबारे भारतीय समाचारमा चर्चा हुन थाल्यो।
भारतसँग नयाँ सम्बन्ध गाँसिरहेका मोहन शम्शेरका लागि यस्तो नकारात्मक समाचार घातक हुन सक्थ्यो। त्यसैले छिट्टै सुधारको आश्वासन दिएर मोहन शम्शेरले वी.पी. कोइरालालाई रिहा गरे।