सिंह र कोइराला: महान् नेताहरू र घनिष्ठ मित्र

सिंह र कोइराला: महान् नेताहरू र घनिष्ठ मित्र:

गणेशमान सिंह र वी.पी. कोइरालाको मित्रताको बिज प्रजातान्त्रिक नेपालको परिकल्पना थियो भने सम्बन्धको पोषण एक अर्काप्रति भएको विश्वास र सम्मानले गरेको थियो। दुबै एकअर्कालाई निकै मान्थे, र नेपाल र नेपाली जनताबारे कुनै पनि निर्णय लिँदा एकअर्कासँग सुझाव लिन्थे।

यतिसम्म कि, वर्षौँपछि आफ्नो जीवनको कथा माथवर सिंहलाई सुनाउने क्रममा पनि, कोइरालाको राजनीतिक परिकल्पना, उनको मूल्य र मान्यताबारे कुरा गर्न मिल्ने एउटा ठाउँमा पनि गणेशमान उनलाई सम्झन छुटाउँदनथे।

पार्टी एकीकरणको यो उदाहरण नै लिऔँ:

पटनामा एकीकरणको वार्ता भएपछि, सिंहलाई लागेको थियो कि वी.पी. कोइरालाले नै पार्टी को नेतृत्व गर्नुपर्छ।

“राणा शासनलाई निर्मम एवं निर्णायक चोट दिन, सक्षम, गतिशील र प्रभावकारी नेतृत्व हुन आवश्यक थियो। त्यसैले मैले सभापतिका लागि कोइरालाजीको नाम प्रस्तावित गरेको थिएँ। सुवर्ण शम्शेरले पनि अनुमोदन गर्नुभएको थियो”, सिंह सम्झन्छन्।

महावीर शम्शेरले भने विरोध गरे। वी.पी. कोइराला लचिलो छैनन् र एक जिम्मेदार राजनीतिक पार्टीको सभापतिमा त्यो लचिलोपन चाहिन्छ भन्ने उनको धारणा थियो।

एकीकरणको वार्ता गर्न आएका महेन्द्रविक्रम शाह र सूर्यप्रसाद उपाध्यायले पहिल्यै हुन्छ भनिसकेको भएर उनीहरूलाई निकै अप्ठ्यारो पऱ्यो। सहमतिलाई फेर्न नचाहेपनि उनीहरू महावीर शम्शेरलाई चिढाउन पनि चाहँदैनथे।

“वी.पी. कोइराला स्वयंले सभापति बन्न इन्कार गरेर समस्या समाधान गरिदिनुभयो”, सिंह कोइरालाबारे माथवर सिंहलाई सुनाउँछन्।

“कोइरालाजीलाई पदको लोभ थिएन। पार्टी र आफ्नो सिद्दान्त कायम होस् भन्ने मात्र उहाँको मनसाय हुन्थ्यो”, सिंह थप्छन्।

यसरी २००६ साल, चैत १४ गते, दुई पार्टी एक भएको वक्तव्य सार्वजनिक गरियो। नेपालमा राणा शासनको अन्त्य तथा प्रजातान्त्रिक व्यवस्थाको निम्ति दुवै पार्टीको एकता र विलय ऐतिहासिक आवश्यकता भएको वक्तव्य निकालियो। यस वक्तव्यमा सबै नेपाली दाजुभाइ-दिदीबहिनीलाई सघाउन आह्वान गरिएको थियो र दुवै पार्टीको सम्मेलन कलकत्तामा हुने पनि भनिएको थियो।

नेपाली कांग्रेसको पहिलो अधिवेशन र झण्डा विवाद:

एकीकरणको वार्ता हुँदा, सिंह अडिग थिए कि झण्डा नेपाली राष्ट्रिय कांग्रेसकै कायम हुनुपर्छ, र अरूले पनि सहमति जनाएका थिए।
राष्ट्रिय कांग्रेसको झण्डा तीन रङ्गको थियो – सेतो, नीलो, र पहेँलो। झण्डाको माथिल्लो भाग हाम्रो देशको हिमाली प्रदेशको प्रतीक थियो र उदाइरहेको सूर्यको चिन्ह नेपालमा आधुनिकताको प्रवेशको सङ्केत थियो। बीचको भाग नीलो थियो, जसले हाम्रो मध्यपहाडी क्षेत्रको प्रतिनिधित्व गर्थ्यो। झण्डाको तल्लो भाग पहेँलो थियो, जुन तराईको समतल उर्बर भू-भागको प्रतीक थियो। सुवर्ण शम्शेरको प्रजातान्त्रिक कांग्रेसको झण्डामा तलमाथि रातो, बीचमा सेतो र सेतो भागमा चारवटा रातो तारा थियो।

२००६ साल चैत्र २७ गतेबाट नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको सम्मेलन प्रारम्भ भयो। सम्मेलन कलकत्ताको टाइगर सिनेमाहलमा तीन दिन चलेको थियो। यस सम्मेलनको प्रतिक्रिया निकै उत्साहवर्धक थियो र सूर्यबहादुर भारद्वाज, रामलाल ताम्राकार, देवीलाल श्रेष्ठ, बटक शर्मालगायत काठमाडौँका सदस्यहरू सहभागी हुन आएका थिए। त्यसैगरि पटना, बनारस, देहरादुन, रक्सौल र भारतका अरू ठाउँबाट पनि सहभागीहरू उपस्थित थिए।

सम्मेलनमा अचानक ठूलो खल्बली मच्चियो, जब वी.पी. कोइरालाले नेपाल प्रजातन्त्र कांग्रेसको झण्डा नै नेपाली कांग्रेसको झण्डा स्वीकार होस् भन्ने प्रस्ताव राखे। केहिले गणेशमान सिंहलाई विरोध गर्न उक्साउन थाले। सिंह आफैँ अलमल्ल परे पनि, साथीहरूलाई धैर्य राख्न अनुरोध गरे।

“अहिले पख्नुहोस्, पहिले कोइरालाजीलाई भेटेर के कारणले यसो गर्नुभएको हो, बुझौँ”, सिंहले पार्टीका सदस्यहरूलाई सम्झाए।
पछि सिंहले कोइरालालाई सहमति भइसकेको झण्डा फेर्न किन खोज्नुभएको भनी सोध्दा सुवर्ण शम्शेरले हजारौँ झण्डा तयार पारिसकेका र पुरानै झण्डा प्रयोग गरे लाखौँ रूपैयाँको सम्पत्ति नोक्सान हुने कोइरालाले सिंहलाई बताए।

सिंह आफैँ एकदिन अघि मात्र आइपुगेकाले यो कुरा उनीसम्म पुग्न पाएको थिएन।

यसरी नेपाली कांग्रेसको हाल पनि कायम रहेको झण्डा छानियो। सम्मेलनले पार्टीको नाम नेपाली कांग्रेस राख्ने र मातृकाप्रसाद कोइराला यसको सभापति हुने पनि निर्णय गऱ्यो।

आशाको नयाँ किरण:

नेपाली कांग्रेसको संस्थापनाले नेपालमा भएका र निष्कासित भएका नेपाली जनतालाई एक नयाँ आशाको किरण देखायो। सम्मेलनले नेपाली कांग्रेसको घोषणापत्र पनि पारित गऱ्यो, जसमा पहिलोपल्ट नेपालको राजनीतिक परिस्थितिको विश्लेषण वी.पी. कोइरालाले गरेका थिए। एक व्यापक जनआन्दोलनद्वारा राणाशासन समाप्त गरेर आधुनिक युग सुहाउँदो प्रजातान्त्रिक व्यवस्थाको सूत्रपात गर्ने संकल्प पनि यस घोषणापत्रमा गरिएको थियो।

सम्मेलनको केहि दिनपछि सुवर्ण शम्शेरले वी.पी. कोइराला र गणेशमान सिंहलाई भेट्न अनुरोध गरे। भेट सुवर्ण शम्शेरको निवासमा हुने भयो।

“सुवर्ण शम्शेरले आफ्नो अभिजात्यपन त्यागेर जसरी हामीलाई स्वागत गर्नुभयो, त्यसबाट उहाँप्रतिको मेरा पूर्वधारणाहरू गलत साबित भए”, सिंह पछि माथवर सिंहलाई बताउँछन्।

केहि बेरको औपचारिकतापछि, सुवर्ण शम्शेरले बडो सहजताका साथ सोधे – “क्रान्ति गर्न कति पैसा चाहिएला?”

अनपेक्षित प्रश्न सुनेर गणेशमान सिंह र वी.पी. कोइराला अचम्मित भए, तर उत्तर दिए कि पार्टीलाई २५-३० लाख चाहिएला।
बढी भनेर सुवर्ण शम्शेर भड्केलान् भन्ने चिन्ता दुवैलाई लागिरहेको थियो, तर उनको जवाफ उनीहरूले नसोचेको आयो।

“बस् २५-३० लाख! त्यतिले पनि कहिँ क्रान्ति हुन्छ?”, सुवर्ण शम्शेरले सोधे।

“म १ करोड सम्म दिन अहिले नै तयार छु। र मैले जति योगदान गर्छु त्यसमा आधा महावीर शम्शेरले बेहोर्छन्”, उनले थपे। कोइराला र सिंह अवाक् भएर सुनिरहे। यस्तो आर्थिक सहयोगले उनीहरूले सोचेजस्तो क्रान्तिका कार्यक्रमहरू गर्न सक्थे।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर