सशस्त्र आन्दोलन कि शान्तिपूर्ण सत्याग्रह?

थिरवम मल्लसँग एक साँझ:

एक दिन, सुवर्ण शम्शेरका भानिज थिरवम मल्लले गणेशमानलाई ग्रान्ड होटल जाउँ भनेर प्रस्ताव राखे। सिंहका अनुसार मल्ललाई सुखसयलको रहनसहनमा हुन कुनै आर्थिक कठिनाइले रोक्दैनथ्यो। उनी यति सम्पन्न थिए कि त्यतिबेलाको कलकत्ताको उच्चघरानासँग घुलमिल गर्दथे।

अहिले ओबरोइ ग्राण्ड नाम भएको ग्राण्ड होटल नामजस्तै भव्य थियो। सिंह त्यस साँझ फुर्सदमा भएकाले प्रस्ताव स्वीकारेका थिए। तर, एउटा समस्या थियो – होटलमा जे पायो त्यहि कपडा लगाएर छिर्न दिँदनथ्यो, र एक रातको पार्टीका लागि गणेशमान नयाँ कपडा किन्न सक्ने अवस्थामा थिएनन्।

जाँन्न भन्दा पनि मल्लले कर गरेर सिंहलाई टेलरकोमा गएर नयाँ सर्ट र प्यान्ट उनको नापअनुसार छाँट्न लगाए। मल्लले सिंहका लागि एक जोर जुत्ता पनि किनिदिए।

“यसरी हामी बेलुका ग्राण्ड होटल गयौँ। हामीसँग सुवर्ण शम्शेरका अरू भानिजहरू पनि थिए। एक-से-एक ठाँटिएका। म पनि नयाँ लुगामा सजिएर चटक्क परेको थिएँ”, सिंह सम्झन्छन्।

रात रमाइलो भएपनि, एक घटना सिंह जीवनको पछिसम्म सम्झन्थे।

रात बढ्दै गएपछि, थिरवम मल्ल उनीहरू बसेको टेबलभन्दा अलि पर एक्लै बसिरहेकी युवतीकहाँ पुगे। मल्लले युवतीलाई नाच्न आग्रह गरे, तर, युवतीले नम्ररूपमा अस्वीकार गरिन्।

घन्टौँसम्म मल्ल निराश भएपछि, सिंहले उनलाई सोधे:

“किन अँध्यारो मुख लगाएको? उसलाई इच्छा लागेन नाचिन, त्यसमा खिन्न हुने कुरा के छ?”

मल्लले भने: “गणेशमानजी! नाचमा महिलाको इन्कार अपशगुन हुन्छ। यो राम्रो भएन।”

यस्तो धारणा सम्भ्रान्त वर्गको नयाँ संस्कृतिको एक भाग थियो। “म जस्तो राजनीतिको लामो र अनिश्चित यात्रामा हिँडेको व्यक्तिका लागि यो बुझ्न निकै कठिन भएको थियो। तर, थिरवम मल्ल वीरगञ्जमा शहिद भएपछि, म यस घटना बारम्बार सम्झने गर्थेँ”, सिंहले थपे।

थिरवाम मल्ल सात सालको क्रान्तिमा वीरगञ्जमा सशस्त्र आन्दोलनको नेतृत्व गर्दा मारिएका थिए।

सशस्त्र आन्दोलन कि शान्तिपूर्ण सत्याग्रह?

केन्द्रीय समितिको बैठकले काम विभाजन गर्दा पूर्वाञ्चलको संगठन वी.पी. कोइरालाले, मध्यमाञ्चल सुवर्ण शम्शेरले, काठमाडौं उपत्यका, बारा र पर्सा गणेशमान सिंहले र पश्चिमाञ्चल महेन्द्रविक्रम शाह र बालचन्द्र शर्माले हेर्ने निर्णय गऱ्यो।

त्यहाँ सदस्यहरूबीच क्रान्तिको भावी कार्यक्रम र रणनीति कुन दिशातिर जाने भनेर छलफल हुँदै थियो – शान्तिपूर्ण सत्याग्रह कि सशस्त्र आन्दोलन? मातृकाप्रसाद कोइराला शान्तिपूर्ण आन्दोलन चाहन्थे भने सुवर्ण शम्शेरलाई विश्वास थियो कि राणाशासन शान्तिपूर्ण आन्दोलनले हल्लिँदैन।

यहि मुद्दाको छलफल गर्न सुवर्ण शम्शेरले सिंह र कोइरालालाई बैठक बोलाए।

क्रान्तिको तयारीमा प्रजातन्त्र कांग्रेस र राष्ट्रिय कांग्रेस एक हुनुभन्दा अघि नै सुवर्ण शम्शेरले हातहतियारको तालिम दिएर सेना तयार पार्न थालिसकेका थिए। नाम मुक्ति सेना राखिएको थियो।

सुवर्ण शम्शेरले त्यहिताका राजा त्रिभुवनलाई पनि भेटेर राणाका विरुद्ध शशक्त आन्दोलन गर्ने वाचा गरेका रहेछन्।

सशस्त्र क्रान्ति कि शान्तिपूर्ण आन्दोलन भन्ने विषयमा सिंह, कोइराला र राणाको छलफलबाट तय भयो कि प्रकट रूपमा अंहिसात्मक आन्दोलनको कुरा गरे पनि सशस्त्र क्रान्तिअको तयारी पनि समानान्तर रूपमा गर्नुपर्छ। तर, सबै कामहरू भारतमा भइरहेको हुनाले, भारतीय सरकारबाट समस्या नआओस् भनेर त्यहाँको सरकारलाई खबर नदिने निधो पनि भयो।

क्रान्तिको तयारीको मुख्य उपलब्धि मुक्ति सेनाको गठन पनि थियो। मुक्ति सेनामा ब्रिटिश फौजमा काम गरेका, राणा शासनसँग रिसीवी भएका, र पहिले नेपाल आर्मीका मान्छेहरू थिए। उनीहरूमध्ये केहि सुवासचन्द्र बोसले अङ्ग्रेजलाई भारतबाट हटाउन जापान र जर्मन सरकारको सहयोगले गठन भएको ‘आजाद हिन्दफौज’मा पनि काम गरिसकेका थिए।

सिंहका अनुसार, “यी लडाकुहरूमा यथेष्ठ राजनीतिक चेतना थियो। उनीहरूले स्वतन्त्रताको महत्व पनि प्रशस्त मात्रामा बुझेका थिए। राजनीतिक चेतना र सैनिक अनुशासनको अपूर्व मेल उनीहरूको विशेषता थियो।”

वर्माबाट हतियार जम्मा:

भारत र पाकिस्तानको विभाजनसँगै सुरू भएको साम्प्रदायिक दङ्गापछि, भारतले आफ्ना नागरिकलाई हतियार साथमा राख्नबाट रोक लगाएको थियो। यस प्रतिबन्धका कारण, नेपाली कांग्रेसलाई हतियार प्राप्त गर्न निकै कठिन भइरहेको थियो।

त्यसपछि पार्टीबाट उनीहरूले भारतीय समाजवादी नेताहरू डा. राममनोहर लोहिया र जयप्रकाश नारायणबाट सहयोग माग्दा, उनीहरूले म्यानमार(वर्मा)मा सहयोग माग्न सुझाव दिए। अंग्रेज उपनिवेशबाट बल्लबल्ल मुक्त भएका वर्माका समाजवादी नेताहरूलाई अरूको स्वतन्त्रता र मुक्तिप्रति पनि आदर र सम्मान थियो।

यसरी वी.पी. कोइराला वर्मा पुगे। वर्मामा उनको भेट वर्मेली समाजवादी पार्टीका अध्यक्ष यू को कोगी, रक्षामन्त्री उ बास्वे र कमाण्डर इन-चिफ ने बिनसँग भयो। उनीहरू सहयोग गर्न निकै उत्साहित थिए, तर, उनीहरूको शर्त थियो – ढुवानी भाडा र निकासीको स्थान आफैँले बन्दोबस्त गर्नुपर्ने। वर्मेलीहरूले अर्को भेटमा हतियार बुझेको मान्छे पनि आउन आग्रह गरे, र छलफलपछि निर्णय भयो कि थिरवम मल्ल र भोला च्याटर्जी हतियारमा पोख्त भएकाले उनीहरू वर्मा जानेछन्।

अमिश राज मुल्मीले लेखेका एक लेखमा उनले एक ऐतिहासिक तारको तस्विर र सो तारको अर्थ पनि खुलाएका छन्:

“Reference yours 18th stop purchase six ivory statues and six ivory tusks more stop Willing pay price as quoted stop Sending brother as soon as passport arranged stop Await wire.’

मुल्मीका अनुसार, यस तारमा सिक्स आइभोरी स्ट्याचुज भन्नले ६ ब्रेन गन हुन्, र आइभोरी टस्क भन्नाले मेसिन गन। रङ्गुनबाट यी हतियारहरू अघिल्ला हतियारहरूसँगै हवाइजहाजमा पठाइएका थिए। तारमा हवाइजहाजलाई ब्रदर भनिएको छ।

ढुवानीका लागि महावीर शम्शेरले आफ्नो निजी हवाई कम्पनी, हिमालयन एभिएसनबाट जहाज दिने भए। जहाज वर्मा गएर, हतियार लिएर, पटनानजिकै बेहतामा उत्रने भयो।

“एकदिन, बेहताको प्रयोगहीन मैदानमा एउटा हवाइजहाज उत्रियो। हवाइजहाजको ढोका खुल्नु अघि नै चारवटा जीप जहाज वरिपरि घेर्न पुगिसकेका थिए। विद्युत गतिमा हवाइजहाजबाट हतियारहरू निकालिए र जीपहरूमा राखिए। आधा घण्टाभित्रै त्यो जहाज त्यहाँबाट उड्यो”, गणेशमान माथवरलाई गर्वसाथ सुनाउँछन्।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर