राजा त्रिभुवनलाई पाल्पा लाने योजना:
हतियार आइसकेपछि, क्रान्तिको अर्को चरणको तयारी गर्नुपर्ने थियो। यसको सबैभन्दा महत्त्वपूर्ण पक्ष राजालाई कसरी क्रान्तिकारीको हितमा प्रयोग गर्न सकिन्थ्यो भन्ने थियो।
जङ्गबहादुर राणाले काठमाडौंमा रचेका १९०३ सालको कोत पर्वपछि शाह राजाहरूको भूमिका गौण बनाइएको थियो:
“आगे नेपाल भरमुलुकका भाइभारदार, साहूमहाजन, रैयत दुनियाँ गैह्र के यथोचित उप्रान्त संवत १९०३ सालदेखि श्री ५ महाराजाधिराजहरूबाट श्री ३ महाराजहरूलाई बक्सेको भर मुलुकको शासनसम्बन्धी अख्त्यारको पञ्जापत्रबमोजिम हामीबाट मुलुकको हाल हुकुम पाई काम चलाईआएका छौँ।”
सुरूमा, क्रान्तिकारीहरूले राजा त्रिभुवनलाई गोर्खा लगेर सन् १९०३ को पञ्जापत्र रद्द गराउने योजना बनाए। राजाले आफूले सम्पूर्ण राजकीय सत्ता सम्हालेको र छिट्टै प्रजातान्त्रिक विधान तयार पार्ने घोषणा गर्ने निधो पनि भयो। तर, काठमाडौं र गोर्खाको त्यसबेलाको अवस्थाका कारण यो योजना लगभग असम्भव थियो।
त्यसैले उनीहरू राजालाई पाल्पा पुऱ्याउने दोश्रो योजना बनाउन थाले।
त्यसबेला पाल्पाका बडाहाकिम जनरल रुद्रशम्शेर थिए। श्री ३ महाराज हुने रोलक्रमबाट हटाएर उनलाई राणाहरूले पाल्पा धपाएका हुनाले उनमा राणाशासनका विरुद्ध विद्रोहको भावना थियो।
यसका लागि वी.पी. कोइराला गुप्त रूपमा पाल्पा गएर रुद्र शम्शेरसँग पहिल्यै भेटिसकेका थिए। राजालाई दरबारबाट भगाएर ल्याएका खण्डमा पाल्पामा राख्ने उचित बन्दोबस्त गर्न उनी तयार थिए।
अब राजालाई दरबारबाट निकालेर पाल्पा लैजाने काम बाँकी रह्यो। त्यसका लागि दरबारसँग प्रत्यक्ष सम्पर्क आवश्यक थियो, र साथै एउटा हेलिकप्टर पनि चाहिएको थियो, जसका लागि क्रान्तिकारीहरूले भारतीय दूतावासको सहयोग माग्ने भए।
उता काठमाडौंमा सैनिक विद्रोह गराउने अर्को योजनामा पनि काम भइरहेको थियो। र, काठमाडौंका गतिविधिको जिम्मा लिएका गणेशमान सबै कुराको चाँजोपाँजो मिलाउन काठमाडौं फर्किने भए।
तराईको घना जङ्गल र रक्सी इनाम:
गणेशमान सिंहलाई काठमाडौं जानु अति जोखिमपूर्ण थियो किनकि अझै पनि जेलबाट भागेको अपराधका लागि उनको खोजी भइरहेको थियो। त्यसैले उनीसँग एक सक्षम टोली जाने र टोलीको नेतृत्व दिलमान सिंहले गर्ने निर्णय भयो।
यसरी सुन्दरराज चालिसे लगायतका १३ जनाको टोली काठमाडौंका लागि निस्किए। उनीहरूले सर्लाहीको बाटो सिन्धुली, दाप्चा हुँदै बनेपा पुग्ने योजना बनाए। धेरैले प्रयोग नगर्ने यो बाटोलाई त्यतिबेला चोर बाटो पनि भनिने गरिन्थ्यो र यसै बाटोबाट भारतबाट नेपाल अवैध रूपमा सामान झिकाइन्थ्यो।
टोली सर्लाहीबाट नेपालको जङ्गल छिरे। त्यसबेला नेपालको सम्पूर्ण दक्षिणी भाग यस्तै घना जङ्गलले भरिएका थिए। अहिले धेरै जङ्गलहरूमा बस्तीहरू बनिसकेका छन्।
“त्यसताकाको मधेशको जङ्गल यति घना थियो कि दिउँसै लालटिन बालेर हिँड्नपर्थ्यो”, सिंह माथवर सिंहलाई सुनाउँछन्।गणेशमानको टोली निस्केको बेला असार थियो, र यसबेला तराई गर्मी हुने र खोलाहरू बढेको हुन्थ्यो। “झमझम एकनासले पानी परिरहेको थियो, र हाम्रा मालमत्ता सबै निथ्रुक्क भिजेको थियो। ठाउँठाउँमा कम्मरसम्म पानी आउने नदी तर्नुपर्थ्यो।”
“यसरी हातहतियार र झोला बोकेर मुसो रुझेझैँ रुझेर हिँड्न कुनै सुखद यात्रा थिएन”, सिंह सम्झन्छन्।
तेस्रो दिन साँझ उनीहरू एक यस्तो खोलामा पुगे जसलाई तर्न डुङ्गा नभइ सम्भव थिएन। माझीहरू सबै घर फर्किसकेका थिए तर उनीहरूले बल्लबल्ल एक माझी फेला पारे। माझी खोला तारिदिन तयार थिएन किनकि उसको सानो डुङ्गा भएकोले ६-७ खेप गर्नुपर्ने हुन्थ्यो।
एकखेप गरिसकेपछि अर्को खेप गर्न माझी मान्दैनथ्यो। तर हरेक खेप गर्नअघि उनीहरूले माझीलाई एक पेग ब्राण्डी दिन्थे। यसरी सात पेग ब्राण्डी सकाएर उनीहरू पारि पुगे।
मरिनखोला तर्न हात्तीमा सवारी:
हिँड्दै जाँदा टोली मरिनखोला आइपुग्यो। खोलाको धार तेज र भयंकर थियो। पानी पर्न नरोकिने असारमा बाढी सेलाउने कुनै नामोनिसान थिएन। केहि घण्टा नदिकिनारमा कुरेपछि पछाडि जङ्गलमा उनीहरूले सऱ्याकसुरुक आवाज सुने।
एक हात्ती र माहुतेको आवाज रहेछ। त्यस हात्ती त्यहिँ तराईको एक जमिन्दारको रहेछ, र हात्ती देख्नेबित्तिकै सिंह र टोलीले माहुतेलाई खोला तारिदिन मनाउन थाले। पैसा दिँदा पनि माहुते मानेन, तर रक्सी देखाउनेबित्तिकै ऊ यो टोलीलाई खोला तारिदिन तयार भयो।
“रक्सीले सधैँ काम बिगार्ने मात्र होइन, कहिलेकाहिँ सपार्न पनि मद्दत गर्छ”, सिंह माथवर सिंहसँग ठट्टा गर्छन्।
सिट नभएको हात्तीमा बस्दा, सबैजनाले एक अर्काको कम्मर, र माहुतेका पछाडि हुनेले माहुतेलाई समाउनुपर्छ। नत्र, सबै खस्न सक्छन्।
सिंहको पहिलेको अनुभव भएकाले उनले सबैलाई सम्झाए। पहिले गणेशमान चढे, अनि अरू पालैपालो गरेर चढे। तर हात्ती आधा मात्र उठ्दा सबैजना गर्ल्याम-गुर्लुम लडे। खासमा गणेशमान आफैँले माहुतेलाई समाउन भुलेका रहेछन्।
दिलमान सिंहले गणेशमानलाई एकै छिन गिज्याउँदा सिंह लाजले भुतुक्क भएका थिए। जेहोस्, सबै टोलीलाई माहुतेले ३ खेपमा पारि लगिदियो। खोलाको पानी यस्तो थियो कि कति ठाउँमा त करेन्टले हात्ती पनि बगाउला जस्तो हुन्थ्यो”, सिंह सम्झन्छन्।
खोला तरेपछि, रेडियो अपरेटर निकै भोकाएका डी.एस. लामा नजिकैको गाउँमा खाना खोज्न हिँडे। गाउँका युवा र तन्नेरीहरू माछा मार्न गएका रहेछन्, र लामालाई दिन कसैसँग अन्नको एक गेडा पनि रहेनछ। धेरै आग्रहपछि लामालाई एउटी मझिनीले अलिकता तामा र बासी भ्याकुर दिइन्। खाएर फर्केका लामा एकैछिनमा बिरामी परे। औलो लाग्ने ठाउँमा ज्वरो आएपछि सबैले उनलाई औलो नै लागेको ठाने।
वरिपरि अस्पताल हुने कुरै थिएन। लामालाई डोकोमा बोकेर लैजान उनीहरूले माझीगाउँमा भरिया खोजे। संयोगले एक्जना माझी डोको बोक्न जन्ने रहेछ र यसरी टोलीको यात्रा अघि बढ्यो।
यहाँ गणेशमान एक निकै महत्त्वपूर्ण टिप्पणी गर्छन्:
“इतिहासले क्रान्तिको तिथि र नायकहरूलाई मात्र स्मरण गर्ने गर्छ। इतिहासको निर्माणमा अनेक अबोध नागरिकले मूल्यवान सेवा अर्पण गरेका हुन्छन्, त्यसको भने मूल्याङ्कन हुँदैन। हामीलाई मरिनखोला तारिदिने माहुते, बिरामी साथीलाई डोकोमा बोक्ने भरिया माझीको सेवा त्यस्तै इतिहासले याद नगर्ने घटना हो। इतिहासले भलै याद नगरोस् तर त्यस्ता लाखौँ निरीह तर निस्वार्थ सपुतहरूको सहयोगबिना इतिहासको निर्माण पूरा हुन सक्दैन।”