तराईबाट बिदा हुँदा:
एउटा क्रान्तिमा जनताले गर्ने अनगिन्ती योगदानबारे सोच्दै सिंह र उनको समूह तराईका जंगलबाट गुज्रिँदै थिए। “हामी कहिले पानी र कहिले पसिनाले रुझ्थ्यौँ”, धेरै दशकअघिको यात्रालाई सिंह सम्झन्छन्।
अर्कोदिन मध्यान्हतिर उनीहरू लखन्ती खोलाको किनारमा पुगे। महाभारत शृङ्खलाको काखमा बसेको लखन्ती खोला मरिनभन्दा दोब्बर ठूलो थियो, तर उनीहरूलाई पारी लैजान न यहाँ हात्ती थियो न त डुङ्गा।
सिंह र उनको समूह दुई दिन बाढी थामिन पर्खिए। “बाढीमा साना-तिना बुट्यान मात्र होइन, ठूल्ठूलो रूख पनि बगेको देखिन्थ्यो। देखेर भन्न सकिन्थ्यो कि लखन्तीले पहाडतर्फ तवाही मच्चाएर आएको छ।”
“तेस्रो दिन, पानी घटेर कम्मरसम्म आउने भयो। जङ्गलको बीचमा त्यसरी अलपत्र परेर बस्दा-बस्दा हामीलाई वाक्क लागिसकेको थियो। उता पारिको पहाडले हाम्रो मन र पेटलाई लोभ्याइरहेको थियो। त्यसैले हामी लखान्तीखोलामा उत्रियौँ।”
“हामीले एकअर्कालाई समातेर लहर लागेर खोला तर्न थाल्यौँ। एक घण्टापछि बल्ल हामी पारि पुग्यौँ।”
खुसी हुँदै सबै अघि बढे। उनीहरूले तराईको गर्मी, खतरनाक खोला र घना जङ्गल पार गरिसकेका थिए।
त्यस रात उनीहरूले फेदीका एक गाउँलेकहाँ बिताए। उसको गरिबीको अवस्थाले सिंहको मनमा राणाशासन समाप्त गर्ने संकल्पमा झन् बढी दृढता जगाएको थियो।
“जबसम्म यस्ता गरिबले आफ्नो जीवनयापनको न्यूनतम आवश्यकता पूरा गर्ने आर्थिक नीति अवलम्बन गर्ने सरकार र व्यवस्थाको स्थापना हुनेछैन, तबसम्म म एकक्षण पनि चुप लागेर बस्नेछैन”, उनले मनमनै सोचेका थिए।
ती किसानले आफूसँग नभएपनि सिंह र उनको समूहलाई भुटेको गहुँ र भटमास खुवाए। उनीहरू त्यसरात उनकै घरको पिँढीमा सुते।
“पहाडको चिसो हावामा थाकेको शरीर निदाउन बेर लागेन, हामी भुसुक्कै निदायौँ”, सिंह त्यस रात सम्झन्छन्
महादेवटारमा पेटभरि खाना:
भोलिपल्ट बिहान करीब पाँच बजे उठेर सिंह र उनको समूह आफ्नो बाटो लागे। बाह्र बजेतिर उनीहरू पाङ्गु महादेवटार पुगे। त्यहाँबाट पारि पलाञ्चोक भगवतीको डाँडो देखिन्थ्यो।
महादेवटारमा सुन्दरराज चालिसेका साथी धर्मलालको पसल थियो। सबैजनाले भक्तपुरका धर्मलालकोमा बस्ने सहमति गरे। सर्लाहीबाट नेपाल छिरेदेखि राम्रोसँग खान नपाएका उनीहरूले त्यहाँ पेटभरि दालभात पकाएर खाने निधो पनि गरे।
“भोकले हाम्रो हालत यस्तो भइसकेको थियो कि दालभात सम्झिँदा पनि मुखभरि पानी आउने भइसकेको थियो।”
धर्मलालका पसलबाट दालभात किनेपछि उनीहरूलाई आराम गर्न धर्मलालले तीनतलामाथिको बुइँगलमा बस्ने प्रबन्ध मिलाइदिए। बुँइगलमा साहुले ठूल्ठूला भाले पालेका रहेछन्। भाले देख्ने बित्तिकै झन् मासु खाने रहर लागेर उनीहरूले दुईवटा भाले किनेर पकाउन लगाए।
“हामी त्यस दिन दशैँमा कंगालीका बच्चाहरूजसरी रमाएका थियौँ”, सिंहले त्यस दिन खान पाउँदा मन खुशी भएको याद गर्छन्।
धेरै दिनपछि टन्न मासु-भात खाँदा सबैको जीउ लट्ठ भयो। बाटोको थकाइ त छँदै थियो, त्यसमाथि भात लागेर सबै पुक्लुक्-पुक्लुक् ढल्न थाले।
उनीहरू साँझ परेपछि ब्युँझिए। यसरी भोक र थकान मेटिएपछि उनीहरू त्यस रात बनेपातर्फ लागे।
बनेपा पुग्दा:
त्यसताका महादेवटारबाट दाप्चा र त्यसपछि बनेपाको बाटो धेरै मानिस आवतजावत गर्ने भएकाले उनीहरूले सावधानी अपनाउनु आवश्यक थियो। त्यसैले गणेशमान र उनको समूहले दिउँसो सुत्ने र राति हिँड्ने सल्लाह गरेका थिए।
दाप्चाबाट सरासर पनौती पुगेपछि उनीहरूले त्यहिँ खाना खाए। पनौतीको खोपासीमा खाना खाएर बनेपा हिँडेका उनीहरूले त्यहाँ पुगेपछि पार्टीका सक्रिय सदस्य राजदास वादेश्रेष्ठलाई भेटे।
राजदास बनेपाका प्रतिष्ठित व्यापारी तथा समाजसेवी भएकाले उनको घरमा आउने-जानेको घुइँचो लागिरहन्थ्यो। त्यहाँ बस्दा उनीहरूको भेद खुल्नसक्ने भएकाले राजदासले उनीहरूलाई साथी हर्षलालकहाँ बस्ने बन्दोबस्त मिलाए।
हर्षलालको घर जाँदै गर्दा सिंहले आफ्नो साथमा भएको हतियारबारे कुरा निकाले। सिंह र उनको समूहले ती हतियार लानुभन्दा अरू कुनै माध्यमबाट त्यसलाई काठमाडौँ पुऱ्याउन पाए उनीहरू फुक्का भएर जान सक्छन् भन्ने तर्क सिंहले राखे। राजदासले हतियार काठमाडौँ पुऱ्याउन मोटर बन्दोवस्त गरौँला भनेर सिंहलाई ढुक्क बनाए।
बनेपाका अनन्त प्रधान राजदासका मित्र थिए र उनकी छोरीको विवाह काठमाडौँका इन्द्रमान जोशीसँग भएको थियो। त्यसबेला इन्द्रमान जोशी माइत आएकी आफ्नी श्रीमतीलाई लिन आएका रहेछन्। जोशी पेशाले ड्राइभर थिए र उनी सेभरोले कारमा बनेपा आएका थिए।
राजदास, अनन्त र इन्द्रामानले आपसी सल्लाह गरेपछि इन्द्रमानले हतियार लैजान मात्र नभएर क्रान्तिकारीलाई सहयोग गर्ने निर्णय लिए। उनी भोलिपल्ट काठमाडौं गएर अर्को साथी पनि लिएर आए। ती साथीले फोर्ड गाडी ल्याएका थिए।
यसरी गणेशमान, उनको समूह, र हतियार काठमाडौं लैजान दुईवटा कार – सेभरोले र फोर्ड तयार गरिए।