बल्ल काठमाडौं पुगियो

काठमाडौँ उपत्यकामा हतियार भित्राउँदा:

दुईवटा कारको बन्दोवस्त मिलिसकेपछि एउटा प्रश्न आयो – साँगा चौकी कसरी पार गर्ने? गणेशमान सिंह र सुन्दरराज चालिसेका नाममा वारेन्ट भएकाले उनीहरू अरू साथीहरूसँग कारमा नजाने निर्णय भयो। यसरी हतियार र बाँकी साथीहरू मात्र ती कारमा काठमाडौँ जाने भए।

इन्द्रमानकी श्रीमती गंगादेवीले आफ्नो कम्मरमा पिस्तोल र गोलीहरू पेट बोकेकी महिलाले पटुका बाँधेझैँ बाँधेकी थिइन्। अरू हतियार गुण्टाजस्तो पारेर कपडाले बेरेर राखियो। पुलिसले सोधे छोरी-ज्वाइँलाई दाइजो आएको उपहार भन्ने कुरा भयो।

इन्द्रमान, गंगादेवी, डिल्लीमान सिंह, कुलमान सिंह लामा, र पूर्णबहादुर ३१२ नम्बरको सेभरोले कारमा चढे। फोर्ड कारमा अरू चारजना बसे।

राजदासले सबै साथीहरू र हतियार राख्ने व्यवस्था गरिसकेका थिए। यसरी, सिंह र चालिसेले दुईवटा कारलाई बिदाई गरे। काठमाडौंमा सबै पुगेको खबर आउँदासम्म उनीहरू बनेपा नै बसे।

सिंह र चालिसेले त्यस दिन बनेपाका प्रतिष्ठित व्यापारी राजदास वादेश्रेष्ठसँग बिताए।

राजदासबारे सिंहको विचार यस्तो थियो:

“शुरूमा मलाई आफ्नो घरमा राख्न डराएका राजदास डरछेरुवा रहेछन् भन्ने लागेको थियो। तर व्यवहारिक कारणले उनले त्यसो गरेको भन्ने पछि थाहा भयो। उनको व्यापारीहरूसँगको चिनजानलाई उनले राजनीतिक काममा पनि प्रयोग गर्थे, र भूमिगत राजनीतिको काम कसरी मिलाउनुपर्छ भन्ने कलामा उनी पोख्त थिए। भिन्नभिन्नै पेशा र वर्गका मानिसबाट काम गराउने र तिनलाई एकसूत्रमा बाँधिराख्ने अद्भूत गुण र क्षमता उनमा थियो। संगठन गर्ने त्यहि सीप र क्षमताले गर्दा कालान्तरमा उनी हाम्रो पार्टीका ठूला नेता भए।”

राजदासको सम्पर्क सूत्र यस्तो थियो कि कुनै पनि मोटरका ड्राइभरले रात बिहान नभनी उनको समाचार घरमा ल्याइदिन्थे। त्यहि राती काठमाडौँमा साथीहरू र हतियार सकुशल पुगेको खबर लिएर एउटा गाडी आइपुग्यो।

भक्तपुरमा गाइजात्रा:

यसरी साथीहरू पुगिसकेको खबर आएपछि ढिला नगरी सिंह र चालिसे काठमाडौँ लाग्ने निधो गरे। त्यसैले त्यहाँका साथीहरूसँग बिदा मागेर उनीहरू नालाको बाटो भक्तपुरतर्फ निस्किए।

उनीहरूलाई बाटो देखाउन राजदासले एकजना साथी पनि सँगै पठाइदिए। कुनै विघ्न-बाधा बिना उनीहरू भक्तपुर पुगे। साँझ परिसकेपछि भक्तपुर पुगेका उनीहरूलाई ठाउँठाउँमा जम्म भएका मानिसहरू देखेर आश्चर्य लाग्यो।

एक स्थानीयबाट उनीहरूले थाहा पाए कि त्यस दिन गाइजात्रा पर्वको नाचको तयारी भइरहेको रहेछ।

आफ्नो आत्मकथामा उनले यस साँझलाई सम्झिएका छन्:

“शहरका अनेक ठाउँमा मानिसहरू जम्मा भएको र मैनटोलहरू बालेको दृश्य देखिएको थियो। टोलटोलमा मानिस नाचिरहेका थिए”।

गाईजात्रा नेपालका नेवार समुदायले मनाउने पर्व हो र यस पर्व विशेषगरि काठमाडौं उपत्याकामा मनाइने गरिन्छ। जनैपूर्णिमाको भोलिपल्टदेखि शुरु हुने यस पर्वको पहिलो दिनलाई सापारू भनिन्छ। सापारूको दिनमा नेवारजातिको परिवारमा एकवर्षभित्र बितेका आफन्तको नाउँमा साना केटाहरूलाई गाई बनाएर शहर घुमाइन्छ। त्यसो गर्दा मृतकको आत्माले शान्ति र मुक्ति पाउने विश्वास गरिन्छ।

सिंहले भक्तपुरको यस पर्वमा सामाजिक-सांस्कृतिक टिप्पणी गरेका छन् – “सापारूको भोलिपल्टदेखि अरू नाच र ख्याली एक सातासम्म देखाइन्छ। कालान्तरमा, यी नाचहरूको स्वरूप बदलियो र सांस्कृतिक कार्यक्रम गर्न टोलटोलबीच प्रतिस्पर्धा हुन थाल्यो। ती कार्यक्रममा आधुनिक सिनेमाको प्रभाव पर्न थाल्यो। वर्षायामको खेतीपातीको काम सकेका किसानहरूलाई मनोरञ्जन प्रदान गर्न यस्ता सांस्कृतिक पर्वको ठूलो महत्त्व हुने गर्छ।”

भक्तपुरको चहलपहल हेर्दै सिंह, चालिसे र बाटो देखाउने साथी काठमाडौंतिर लागे। रात पर्न लागे पनि दूधपाटीमा ट्रक पाउनसक्ने सम्भावना भएकाले उनीहरूले भक्तपुर नबस्ने निधो गरेका थिए।

धेरैबेरको प्रतिक्षापछि काठमाडौं जाने एउटा ट्रक आइपुग्यो। टुँडिखेलसम्म जाने ट्रकमा सिंह र चालिसे चढे।

बल्ल काठमाडौं पुगियो:

गणेशमान सिंहका शब्दमा:

६ वर्षपछि काठमाडौंमा खुट्टा टेक्नेबित्तिकै मेरो आङ सिरिङ भयो, छाती ढक्क फुल्यो। मेरो छाती फुलेको राणा सरकारको डरले थिएन, न म यहाँ मिसनमा हात-हतियार लिएर आएको छु भनेर थियो। मेरो छाती त काठमाडौंको स्पर्शले, आफ्नो बचपन बितेको, आफू हुर्केको र खेलेको ठाउँ आइपुगेको गर्वले फुलेको थियो। त्यसबेला मैले आफूलाई लुकेर आएको एक विद्रोही होइन, विजेता ठानेको थिएँ।

टुँडिखेल पार गर्दा साँझ झमक्क परिसकेकाले कसैले चिन्नसक्ने सम्भावना थिएन। भदौको महिना, चिसो हावा मन्द-मन्द चलिरहेको थियो। वीर अस्पताल, मिलटरी अस्पताल, महांकालस्थान र भद्रकालीमा पिल्पिलाउँदो बत्ती बलेको देखिन्थ्यो। नेपालको इतिहासको धेरै उथल-पुथलको साक्षी बनेको खरीको रूख ठिङ्ग उभिएको थियो। म भने दङ्ग थिएँ। प्रत्येक पाइला विजयतर्फ बढिरहेकोजस्तो लाग्न थालेको थियो।

यहि टुँडिखेलमा सैनिक परेड गरेर राणाहरू सबैलाई भयभीत तुल्याउँथे। म त्यो टुँडिखेलको छातीमा विद्रोहको बिगुल बोकेर हिँडिरहेको थिएँ – बिगुल फुक्ने उपयुक्त समयको प्रतिक्षामा।

त्यसरी टुँडिखेल पार गरेर महांकालस्थान र महांकालस्थानबाट भोसिको हुँदै सुन्दरराज चालिसे र म रक्तकालीतर्फ लाग्यौँ। रक्तकालीमा सुब्बा गोविन्दमान सिंहको घर थियो। हामीले उहाँकै घरमा बस्ने निश्चय गऱ्यौँ।

त्यस दिनको मेरा भावनालाई म शब्दले अभिव्यक्त गर्न सक्दिन। म भर्खर काठमाडौं आइपुगेको थिएँ, र धेरै कामहरू बाँकी थिए। तर पनि मलाई विजेताको भाव भइरहेको थियो। मानिसको स्वभाव बडो विचित्रको हुन्छ – स-साना सफलता, मामूली उपलब्धी र नगण्य प्रगतिमै ऊ खुसीले रमाउन सक्छ।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर