काठमाडौंमा सम्पर्क बनाउँदै:
गणेशमान सिंह काठमाडौं छ वर्ष पछि आएका थिए। तर, त्यसअघिको चार वर्ष जेल र त्योभन्दा पहिले तीन वर्ष कलकत्तामा बिताएकाले झण्डै तेह्र वर्ष उनी काठमाडौंबाट टाढा भएर बसेका थिए। यस समयबीच, उनका दौंतरीहरू कामधन्दा सम्हालेर जीवनको संघर्षमा जुटिसकेका थिए। उनीहरूसँग सम्पर्क सजिलो थिएन, र सम्पर्क भइहाले पनि उनीहरूलाई राजनीतिक क्रियाकलापमा रूचि पनि थिएन।
त्यसैले सिंहलाई काठमाडौंमा सम्पर्क बनाउन कठिन भयो।
सिंह र सुन्दरराज चालिसे काम गर्न सजिलो होस् भनेर सँगै बसेका थिए। राणा सरकारले दुबैको नाममा पुरस्कार राखेको भएर साथीहरूसँग भेटघाट आयोजना गर्दा गुप्त तरिकाले गर्नुपर्थ्यो।
बागचा, अर्थात पुड्के भनेर चिनिने चालिसे सानो कदका थिए र छिट्टै भेष बदल्न सक्थे र साँझ-बिहान उनी हिँड्दा पुलिसले चिन्ने डर हुँदैनथ्यो। सुरूवाती सम्पर्क गर्ने जिम्मा चालिसेको थियो। सिंह र चालिसे रक्तकालीमा बसेर, खबर आदान-प्रदानका लागि दुईजनालाई घरमा आउनजान लगाउँथे। ती साथीहरू थिए – काठमाडौं गणेशस्थानका माधव जोशी र यटखा टोलका भोलामानसिंह प्रधान।
उनीहरूले नयाँ साथीहरूसँग भेट्ने अनि उपयुक्त भए सुन्दरराज चालिसेलाई पहिले भेट गरेर उनले उचित ठहऱ्याए भने मात्र गणेशमान सिंहले भेट्ने कार्यपद्धति स्थापित भएको थियो। राणाका गुप्तचरहरूबाट बच्नलाई यस्तो सतर्कता अपनाउनु जरूरी थियो।
अर्कोतिर, नरदेवीका राजदास वादेश्रेष्ठको घरमा राखेका हतियारहरू सिंह र चालिसेले ज्ञानेश्वरका कर्णेल प्रतापविक्रम शाहका घरमा पठाइसकेका थिए। कर्णेल प्रतापविक्रम शाह सुवर्णशम्शेरका आफ्नै बहिनी-ज्वाइँ थिए।
प्रतापविक्रमले एक बैठकमा बताए कि नेपाली कांग्रेसले क्रान्तिको घोषणा गर्नु जरूरी छ। उनले नै इन्द्रजात्रामा हनुमानढोकामा बम विस्फोट गराउने प्रस्ताव पनि गरेका थिए। सो गरे अनिवार्य उपस्थित हुने मोहनशम्शेरलगायत अरू उच्च राणाहरू एकै चिहान हुन्थे।
सशस्त्र क्रान्ति गर्ने योजना:
काठमाडौंमा गणेशमान सिंहका दुई मिसन थिए। एक: राजा त्रिभुवनलाई दरबारबाट भगाएर पाल्पा लैजाने; दुई: राणाशासनको विरुद्ध सशस्त्र क्रान्तिको सुरूवात गर्ने। बसन्तपुर दरबार क्षेत्रमा कुमारी रथ यात्राका दिन बम विस्फोट गराएर सशस्त्र क्रान्तिको सुरूवात गर्ने तय भयो।
इन्द्रजात्रा काठमाडौंको प्रमुख चाड हो। वर्षायामको अन्त्यमा सुरू भएर एक सातासम्म चल्ने यस जात्रमा विभिन्न प्रकारका धार्मिक गतिविधि देख्न सकिन्छ। यहि जात्राको अवसर पारेर सन् १७६८ मा पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय हासिल गरेका थिए। त्यसैले, उनले काठमाडौंमा प्रतिवर्ष त्यस दिन विजय जुलुस निकाल्ने चलन बनाएका थिए, जसलाई राणाशासनमा पनि यथावत् कायम राखिएको थियो। कुमारीको दर्शन गरेपछि श्री ३ महाराजलगायतका अरू राणाहरू दरबार क्षेत्रमा हुने जुलुसमा सामेल हुन्थे। सिंह र उनका साथीहरूले यहि मौकामा बम विस्फोट गर्ने योजना बनाएका थिए।
यस योजना सफल पार्न उनीहरूले भारतबाट ल्याएका हतियार र ट्रान्समिटर प्रयोग गर्ने भए। यसका लागि चाहिने प्रशिक्षण दिलमान सिंहले प्रदान गरेका थिए भने तालिमको संगठन र समन्वय प्रतापविक्रम शाहले गरेका थिए।
तर, बम विस्फोट गर्ने योजना सफल हुन सकेन। राणाहरूको कडा सुरक्षा व्यवस्थाका कारण साथीहरू निर्धारित ठाउँसम्म पुग्न सकेनन्। अरू कुनै ठाउँमा बम विस्फोट गराए निर्दोष मानिसहरूको ज्यान जाने भएकाले सिंह र साथीहरूले योजनालाई स्थगित गरे।
“त्यसरी बम प्रहारको योजना कार्यान्वित हुन सकेन। एउटा ठूलो दुर्घटनाबाट राणाहरू बचे”, गणेशमान माथवर सिंहलाई बताउँछन्।
राजा त्रिभुवनलाई भगाउने योजना:
राणा प्रधानमन्त्रीको हत्या गर्ने असफल प्रयासपछि, सिंह र उनका साथीहरू अर्को योजनामा केन्द्रित हुन थाले – राजा त्रिभुवनलाई भगाउने।
यसका लागि सिंह र उनका साथीहरूले राजा र भारतीय दूतावाससँग सम्पर्कमा आउन जरूरी थियो। तर, यी दुबै राणा सरकारको कडा निगरानीमा थिए। राजालाई दरबारभित्रै सीमित राखिएको थियो र राजाको गतिविधिमा निगरानी राख्नलाई उनका अङ्गरक्षकका पदमा श्री ३ महाराजका विश्वासपात्र जर्नेल नियुक्त थिए।
भारतीय दूतावासमा जाने-आउनेहरूमाथि पनि राणा सरकारले यस्तै कडा नजर राखेको थियो।
केहि खोजीनितिपछि सिंह र चालिसेले दूतावास जाने उपाय पत्ता लगाए। इन्द्रचोक नजिकै महाराजजीको मिठाई पसल नामको एक महसुर मिठाई पसलले राणा दरबार र दूतावासमा पनि मिठाई पठाउने गर्थ्यो। पसल साहूका छोराको आवागमनमाथि शंका पैदा हुँदैनथ्यो, त्यसैले उनकै मार्फत सिंहले भारतीय राजदूतलाई आफ्नो सन्देश पठाए। दूतावासबाट जवाफमा आएको सन्देश थियो – सतर्क भएर बस्नुहोस्।
कुरा के रहेछ भने सिंह र टोली काठमाडौं पुगेकै पर्सिपल्ट मोहनशम्शेर र भारतीय राजदूतको भेट भएको रहेछ। इन्द्रजात्राभन्दा अघि भएको यस भेटमा मोहनशम्शेरले गणेशमान सिंह पक्राउ पर्ने वाचा गरेका रहेछन्।
दूतावासको यस सन्देश आदानप्रदानलगत्तै सुवर्णशम्शेर मार्फत सुन्दरराज चालिसे दरबारका डिठ्ठा दयारामभक्त माथेमासँग सम्पर्कमा आए। त्यससमय, राजा त्रिभुवन बाथरोगले ग्रसित भएर बसिरहेका थिए। माथेमाले सन्देशमा आएको योजना बताएपछि, त्रिभुवनले पाल्पा सडकको बाटो हिँड्न असमर्थ भएको बताए। “यदि नेपाली काँग्रेसले भारत सरकारसँग कुरा गरेर एउटा हेलिकप्टर नारायणहिटी दरबारमा बिसाउने गरी ल्याउनसक्छ भने म जान तयार छु”, त्रिभुवनले माथेमालाई बताए।
सिंह यस घटनालाई स्मरण गर्छन्:
“राजा त्रिभुवनलाई बाथरोग भएको कुरा असत्य थिएन तर उहाँको जवाफको दोहोरो अर्थ थियो। यसको अर्थ थियो – भारत सरकारले नेपाली कांग्रेसलाई सघाउँछ कि सघाउँदैन भनेर परीक्षण गर्नु। यदि भारत सरकार हेलिकप्टर प्रदान गर्न तयार भए, क्रान्ति सफल पार्न भारत राजी भएको मान्नुपऱ्यो। अन्यथा, नेपाली कांग्रेस भ्रममा छ भनेर बुझ्नुपऱ्यो।”