सिंहको भारततर्फको यात्रा चलिरहँदा ठोरीमा पक्राउ परे

सिंहको भारततर्फको यात्रा चलिरहँदा:

सिंह र उनका साथीहरू भारत उम्किने यात्रामा लागे – तर, गणेशमानको खुट्टाको चोटका कारण उनीहरूको गति निकै मन्द भयो। आधा दिनपछि उनीहरू बल्ल-बल्ल तादी खोला पुगे।

तादी खोला गहिरो र फैलिएको थियो, त्यसैले पार गर्न या त एक मात्र झोलुङ्गे पुलबाट जानुपर्थ्यो या डुङ्गाबाट तर्नुपर्थ्यो। पुलबाट जाँदा कसैले चिनिहाल्ने खतरा भएकाले, उनीहरू डुङ्गाबाट जान खोजे, तर डुङ्गा पाएनन्। साँझसम्म त्रिशुली पुग्नुपर्ने भएकाले माझी खोजेर डुङ्गामा जानभन्दा उनीहरूले पुल नै तर्ने निधो गरे।

धन्न उनीहरूले कोहि परिचितलाई भेटेनन् र पुल तरेपछि उनीहरू सरासर आफ्नो गन्तव्य त्रिशुलीतिर लागे।

सिंह र साथीहरू त्यो साँझ त्रिशुली पुगेपछि बल्ल गणेशमानले आफ्ना खुट्टालाई चाहिएको आराम दिन पाए।

बास बसेर भोलिपल्ट बाटो लाग्दा उनीहरूसामू प्रश्न उत्पन्न भयो – कुन बाटो जाने? गोर्खा, पोखरा, स्याङ्जा, पाल्पा, बुटवल हुँदै भारत प्रवेश गर्ने बाटो एउटा विकल्प थियो जसको प्रयोग गणेशमानले २००१ सालमा जेलबाट भाग्दा गरेका थिए। समयको अभाव भएकाले यो घुमाउरो र धेरै दिन लाग्ने बाटो लिनु उचित थिएन।

भाग्यबस्, त्यहाँ सिंहको भेट आफ्ना एक पुराना मित्र हरिकुमार श्रेष्ठसँग भयो। बन्दीपुरका यी व्यापारीले साथीहरूलाई चितवनाबाट चारकोसे झाडी पार गर्ने बाटो बताइदिए।

उनले भनेको बाटो धेरै अपरिचित भएकाले गणेशमानले बुझेनन्। त्यसैले, श्रेष्ठले कलम झिकेर एक टुक्रा कागजमा हिँड्नुपर्ने बाटोको नक्सा कोरिदिए।

बिदा हुनुअघि, श्रेष्ठले सिंहलाई ठोरी बजारभन्दा अलि वर भएको झुवानी चौकी जसरी पनि छल्नुहोला भनेर चेतावनी दिए। उनले साथीहरूलाई बजारभित्र पनि नपसी छेउबाट खोला तरेर पारि भारत जाने सुझाव पनि दिए।

यसरी उनको सुझाव र नक्सा लिएर गणेशमान र साथीहरू तराईतिर ओरालो लागे। यो बाटो मुग्लिनबाट जाने रहेछ, तर त्यसबेला मुग्लिनतिरको सडक अझै बनिसकेको थिएन र त्यसकारण त्यहाँ अहिलेजस्तो बस्ती पनि थिएन।

ठोरीको जङ्गल र बैरगनियाँ सम्मेलन:

चितवनको बाटोबाट भारत लाग्दा, सिंहले त्यहाँको भूगोल र बाटो-घाटोमा विशेष ध्यान दिन थाले। बारा, पर्सा र काठमाडौंको कमाण्ड गणेशमानको जिम्मामा भएकाले क्रान्तिको परिचालन सही ढङ्गले गर्न त्यस क्षेत्रको ज्ञान हुनु उनको लागि आवश्यक थियो।

यता, नेपाली कांग्रेसले सशस्त्र क्रान्ति गर्ने घोषणा गरिसकेको थियो। यस घोषणा २००७ साल आश्विन ९ र १० गते बैरगनियाँ सम्मेलनमा भएको थियो। सो सम्मेलन देशभित्र गर्न नमिल्ने भएकाले बिहारको उत्तरतर्फ नेपालसँग सिमाना जोडिएको यस बैरगनियाँको एक गोदामघरमा गरिएको थियो। यस गोदाम यति थोत्रो थियो कि त्यहाँ धानका बोरा राख्न पनि नहुने भएको थियो।

यस सम्मेलनमा, नेपालमा १०४ वर्षदेखि निरंकुश पारिवारिक शासन चलाइरहेको राणातन्त्रको अन्त्य गरेर संवैधानिक राजतन्त्रअन्तर्गत प्रजातान्त्रिक प्रणाली प्रारम्भ गर्न नेपाली काँग्रेसले शसस्त्र क्रान्ति गर्ने घोषणा गऱ्यो।

गणेशमान सिंह यस सम्मेलनमा सहभागी हुन पाएनन् तर क्रान्ति सुरू भइहालेको खण्डमा उनी आफ्ना साथीहरूलाई सकेसम्म सहयोग गर्न चाहन्थे। त्यसैले उनका जिम्मामा भएका पर्सा र बाराको क्षेत्रमा क्रान्ति आरम्भ गर्ने तयारीका लागि उनी यस क्षेत्रको अध्ययन गर्दैथिए।

चितवनको बाटोबाट जाँदा ठोरीको जङ्गलबाट भएर जानुपर्थ्यो। दिउँसै बत्ती बाल्नुपर्ला जस्तो हुने यस घनाजङ्गलमा माथि आकाश पनि देख्न सकिन्नथ्यो। यस जङ्गल जङ्गली जनावर र विशेषगरि बाघ लागि पनि प्रसिद्ध थियो।

यस जङ्गलमा राणाहरू शिकारका लागि पनि जाने गर्थे। सन् १८९३ को मार्चमा अष्ट्रियाका राजकुमार आर्कड्युक फ्रान्ज फर्डिन्यान्ड पनि वीर शम्शेरको निम्तोमा शिकार खेल्न यहिँ आएका थिए। सन् १९१४ मा उहि युवराज र उनकी पत्नीलाई पर्सियामा विद्रोहीले गोली हानेर हत्या गरेका थिए। यसकै प्रतिक्रियामा प्रथम विश्वयुद्धको प्रारम्भ भयो, जुन सन् १९१४ देखि १९१८ सम्म चल्यो।

यसैगरि, सन् १९२१ को डिसेम्बरमा ब्रिटिस युवराज प्रिन्स अफ वेल्सले पनि श्री ३ चन्द्र शम्शेरसँग ठोरीको यस जङ्गलमा शिकार गरेका थिए।

सिंह ठोरीमा पक्राउ परे:

सिंह र साथीहरूले ठोरीको जङ्गल खाना र आरामबिना तीन दिन लगाएर पार गरे।

“जङ्गलमा हिंस्रक जनावर आउँछन् कि भनी चनाखो हुनु जरूरी थियो। कहिँ बास बस्ने कुरै भएन। खानेकुरा भेट्ने त झन् सम्भावना नै थिएन। भोक र भयले निद्रा पनि हराउँदो रहेछ”, सिंह सम्झन्छन्।

तीन दिनको हिँडाईंपछि जङ्गल पातलिन थाल्यो। जङ्गलको किनारबाट निस्किएपछि उनीहरू ठोरी बजार आइपुगे।

बाटोमा साथी हरिकुमार श्रेष्ठले ठोरी बजार पस्दै नपस्नू भनी दिएको चेतावनी भुसुक्कै बिर्सेर उनीहरू एक भट्टीमा खाना खान पसे।

“भट्टीभित्र पस्दापस्दै भुटेको मासु, तारेको आलु र पाकेको जाँडको मिश्रित बास्ना हररर चल्यो। बास्नाले खुत्रुक्कै भएका हामीले खाना र जाँड मगायौँ। नअघाएसम्म हामीले केके मगायौँ, पत्तै भएन। एक घण्टासम्म भट्टीवाल खाना ल्याएको ल्याई भयो”, सिंह ठोरी बजारको खाना सम्झन्छन्।

पेट अघाएपछि बल्ल सिंह र उनीसँग गएका साथीहरूको होश खुल्यो, र उनीहरूलाई हरिकुमार श्रेष्ठले त्रिशुलीमा दिएको चेतावनी याद आयो। उनीहरू त्यहाँबाट निस्किहाल्ने निधो गरेर भट्टीवाललाई हिसाब मागे। ठीक त्यसैबेला कतैबाट आवाज आयो:

“ओ हो, गणेशमानजी! तपाईं कताबाट यहाँ?”

सिंह झसँग भए तर भय लुकाउँदै उनले आफ्नो अनभिज्ञता प्रकट गरेर आफू गणेशमान नभएको बताए।

तर त्यस मान्छेले गणेशमानलाई रक्सौल हुँदादेखि निगरानी गरेकोले चिनेको बताए।

“तर म त भरिया हुँ”, सिंहले आफ्नो कथा छोडेनन्।

गणेशमानलाई चिन्ने यी मान्छे हवल्दार विष्णुसिंह थिए भनेर सिंहले पछि ठम्याए। तर विष्णुसिंहले त्यसबेला आर्मीलाई खबर गरिसकेका रहेछन्।

केहिबेरमै अरू जवानहरू आए र गणेशमान र साथीहरूलाई पक्राउ गरे।

यो दिन २००७ सालको २३ आश्विन थियो। पक्राउ गरेर उनलाई ठोरीको आर्मी ब्यारेकमा लगियो। त्यहाँ दुई दिन राखेर उनलाई वीरगञ्ज पठाइयो।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर