काठमाडौंबाट फेरि भाग्दा

सिंहका साथीहरू गिरफ्तार:

सिंह र उनका साथीहरूले राजा त्रिभुवनलाई पाल्पा लैजाने योजना बनाउँदै गर्दा राणा सरकारले उनीहरूको खोजी तीव्ररूपले गर्न थालिसकेको थियो। बम विस्फोट गरेर राणाहरूलाई सिध्याउने योजना विफल भएपछि, पुलिसले त्यस योजनामा संलग्न हुनेलाई मात्र नभई सामान्य राजनीतिक गतिविधिमा संलग्न हुनेलाई पनि पक्राउ गर्न थालेको थियो।

तिन्ताकाको परिस्थिति यस्तो थियो कि सिंहलाई देख्ने बित्तिकै मानिसहरू जिब्रो टोक्न थाल्थे। कोहि उनलाई भेट्नै खोज्दैनथे भने कोहिले डराई-डराई आफ्नो घरमा राख्न तयार हुन्थे। तर बसेको ठाउँमा केहि दिनमै प्रहरी गुप्तचरको निगरानी बढ्ने भएकाले उनले ठाउँ फेरिरहनुपर्थ्यो।

गिरफ्तारी इन्द्रमान सिंहबाट सुरू भयो। सिंहलाई रक्तकालीमा बास दिने इन्द्रमानको घर खानतलासीमा परेर उनीलगायत परिवारका अरू सदस्य पनि गिरफ्तार भए। गणेशमान सिंह त्यस घरबाट निस्किसकेका भएपनि पुलिसले कसैलाई पक्राउ गर्न बाँकि राखेन। पक्राउ पर्नेमा भोलामान सिंह र माधवराज जोशी पनि थिए।

केहि दिनमा सुन्दरराज चालिसे पनि पक्राउ परे। सँगै नेपाल छिरेर सबैतिर सम्पर्कमा सहयोग गरिरहेका चालिसे पनि नभएपछि सिंहलाई निकै ठूलो धक्का पऱ्यो। परिस्थिति यति नाजुक भइसकेको थियो कि सिंह दिनभरि श्लेशमान्तक जङ्गल चाहर्थे र राति परिचितहरूको घरमा बास बस्दथे।

(पशुपतिनाथ र गुह्येश्वरीबीचको जङ्गललाई श्लेशमान्तक वन भनिन्छ।)

“त्यही जङ्गलमा म यताउता घुमिरहन्थे ताकि दिन सुरतले बितोस् र रात परोस्। रात परेपछि म काठमाडौं छिर्थेँ, यो आशामा कि कुनै यस्तो साथी भेटियोस् जसले मलाई बस्ने ठाउँ प्रदान गरोस्।” सिंह सम्झन्छन्।

“दिनभरि भोकै-प्यासै जङ्गमलमा हिँड्दा थाकेर म पल्टिन पुग्थेँ तर निदाउन भने सक्दिनथेँ। भुसुक्क निदाएको बेला पुलिसले देख्यो भने! एकदिन त्यस्तै छहारीमा पल्टेको बेला भुसुक्क निदाएछु। पानी परेर निथ्रुक्क भिजेपछि मात्र झल्याँस्स ब्युँझिएँ।”

गिरफ्तारी बढेपछि सिंह काठमाडौंबाट निस्किने योजना बनाउँछन्:

सिंह जङ्गलमा लुकेर बस्दा सिंहसँगै काठमाडौं आएका दिलमान सिंह, कुलमान सिंह, भैरे श्रेष्ठ, पूर्ण खवास, मकरबहादुर सबै पक्राउ परे। बनेपामा सहयोग गर्ने राजदास श्रेष्ठ पनि पक्राउ परे।

“पक्राउ परेका साथीहरूमाथि अमानवीय यातना भएको र मेरोबारे सुराक दिन उनीहरूमाथि ठूलो दबाब भएको समाचार काठमाडौंमा फैलिरहेको थियो”, गणेशमान माथवर सिंहलाई बताउँछन्।

यहि सिलसिलामा हातहतियारसहित जुटाएर बमकाण्ड गराउने तथा सेना भड्काएर अराष्ट्रिय तत्त्वलाई सहयोग पुऱ्याउने योजनामा सामेल भएको आरोपमा कर्णेल प्रतापविक्रम शाह, मोहनविक्रम शाह, तोरणशम्शेर राणा, नोदविक्रम शाह र कृष्णविक्रम शाहलाई पनि गिरफ्तार गरेर मुद्दा चलाइएको थियो।

पक्राउ नपरेका केहि साथीहरूले सिंहलाई तुरुन्तै काठमाडौंबाट निस्किने सुझाव दिए। खतरा यस्तो थियो कि काठमाडौंबाट निस्किनु बस्नुभन्दा मुश्किल काम थियो।

पहिले सजिलो बाटो ठम्याउन आवश्यक थियो:

“काठमाडौं सँगै आएका साथीहरू पक्राउ पर्नुको अर्थ थियो – बनेपाको बाटोमा निगरानी बढ्नु। त्यसकारण त्यो बाटो जाने प्रश्नै उठेन। थानकोट र भीमफेदीको बाटो मूल बाटो भएकाले त्यताबाट जान त झन् सोच्नै सकिन्नथ्यो। त्यसैले त्रिशूलीको बाटो सबैभन्दा सुरक्षित ठहरियो। त्यो बाटो अप्रचलित र कम आवतजावत हुने भएकाले प्रहरीको निगरानी कम थियो।”

दोश्रो, सिंहलाई यात्राको बहाना पनि बनाउन जरूरी थियो:

नेपालको पश्चिमसँग जोडिने त्रिशूलीको बाटो भैंसी व्यापारीहरूले धेरै प्रयोग गर्थे। त्यसैले साथीहरूसँग छलफल गर्दा भैंसी खेप गर्न जाने बहाना सबैभन्दा उपयुक्त हुने देखियो। उनी भैंसी व्यापारी भएर केहि गोठालाहरूसँग काठमाडौंबाट निस्किने भए।

र, अन्त्यमा सिंह व्यापारीजस्तो देखिन आवश्यक थियो:

“बाक्लो घरबुना कपडाको दौरा-शुरुवाल, कालो इस्टकोट, ढाकाको टोपी, पलाञ्चोके जुत्ता र कम्मरमा खाँडीको पटुका पहिरिँदा म सक्कली भैंसी व्यापारी देखिन थालेँ”, सिंह बताउँछन्।

काठमाडौं छोड्दा:

साँझ परेपछि गणेशमान सहित चारजना बालाजुको बाटो नुवाकोटतर्फ लागे।

रातको करिब १२ बजे उनीहरू पाँचमानेको फेदीमा पुगे। त्यहाँ उनीहरूले इन्द्रमान सिंहको ससुरालीमा रात बिताए। सिंह र साथीहरूले मीठो खाना खाएर आनन्दको निद्रा सुते। भालेको पहिलो डाँकमै उठेर उनीहरू बाटो लागे।

मिर्मिर उज्यालो हुँदा उनीहरूले पाँचमानेको डाँडो लगभग छिचोलिसकेका थिए। दशैँको ताका थियो, र आफूले त्यसबेला देखेको सुन्दर दृश्यको वर्णन सिंह यसरी दिन्छन्:

“त्यो डाँडाबाट तल हेर्दा पहेँलो धानको फाँट देखिन्थ्यो भने उत्तरतर्फको हिमाली शृङ्खलामा अरूणोदयको लालिमा भर्खर पोखिएको थियो। सूर्य उदाई नसकेको बेला हिमालको दृश्य अद्भूतको देखिन्छ। हिमाल, हिमाल नभएर त्यसबेला अवीरको थुप्रो हो जस्तो लाग्छ। आँखा त्यहाँबाट हट्न मान्दैन – आँखा नझिम्क्याइ हेरिरहुँ जस्तो लाग्छ।”

अद्भूत सूर्योदयको आनन्द लिएर, सिंह र साथीहरू अघि बढे।

पाँचमाने डाँडाको भन्ज्याङ काठमाडौं प्रवेश गर्ने चार भन्ज्याङमध्ये एक थियो। चेकपोस्ट भएको भन्ज्याङका सिपाहीहरू उठ्ने बेला नभएपनि त्यो बाटो छलेर जानू नै उपयुक्त थियो। त्यहि बाटो छल्न घुमाउरो लाग्दा उनीहरू एक-डेड घण्टा बढी उकालो चढ्नुपऱ्यो।
डाँडा चढेर ओरालो लाग्दा उनीहरू थकित भइसकेका थिए। डाँडामा केहिबेर आराम गरेपछि उनीहरू फेरि ओरालो लागे।

उबडखाबड बाटो हिँड्ने क्रममा एक ठाउँमा लामो फड्को मार्दा सिंहको खुट्टामा खट्याक्क आवाज आयो। त्यसपछि उनको खुट्टा बेस्सरी दुख्न थाल्यो। दुखेर हिँड्नै नसक्ने अवस्था भएपनि उनीहरू रोकिने कुरै थिएन, त्यसैले जसोतसो गर्दै उनीहरू हिँडिरहे। साथीहरूले बोकेर लैजाने प्रस्ताव गरेका थिए तर सिंहले स्वीकारेनन्।

“खुट्टा दुखाइको अचम्मको पक्ष के थियो भने उकालो चढ्दा केहि नभएको जस्तो हुन्थ्यो भने ओरालो लाग्दा मरणान्त पीडा हुन्थ्यो। अहिले म ७७ वर्षको उमेर हुँदा आर्थाइटिस रोगले च्यापेको छ। मेरो खुट्टाको हाड खिइने यो रोगको सुरूवात त्यहि दिनबाट भएको हो”, गणेशमान माथवर सिंहलाई बताउँछन्।

(गणेशमान सिंहले माथवर सिंहलाई आफ्नो जीवनकथा सुनाउँदा उनी ७७ वर्षका थिए।)

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर