सिंह पक्राउ परे र काठमाडौं लगिए

सिंह सोम शमशेरसँग रिसाए:

गणेशमान पक्राउ परेपछि ठोरीमा दुई दिन राखिए। तेस्रो दिनको बिहानै थप प्रहरी आइपुगे र उनीहरूलाई वीरगञ्ज चलानी गर्ने तयारी हुन थाल्यो। हवल्दार ब्रह्मदेव सिंहको नेतृत्वमा ६ अरू प्रहरीले सिंह र उनका दुई साथीहरूलाई वीरगञ्ज हिँडाए।

जङ्गलको बाटो भएऱ गएको हुनाले पहिलो साँझ उनीहरू पाँडेपुर मात्र पुगे। त्यहाँको स्थानीय प्रहरी चौकीमा बास बसेर, भोलिपल्ट बिहान उनीहरू वीरगञ्ज पुगे।

वीरगञ्ज पुग्नेबित्तिकै उनीहरूलाई सरासर बडाहाकिम सोम शमशेरको निवासमा लगियो।

सिंह आफ्नो दैलोमा आइपुगेको खबर पाएपछि सोम शमशेरले झ्यालबाट तल हेरे। पक्राउ गरेर ल्याइएका तीनैजनालाई राम्रोसँग नियालेपछि उनले हप्काएको स्वरमा भने – “धत् मोरा हो, के गरेको तिमीहरूले? यो कहाँ गणेशमान हुन्थ्यो। गणेशमान भनेर बाटो हिँड्ने कुन नेवारलाई पक्रेर ल्यायौ?”

हवल्दारले हात जोरेर उच्च स्वरमा भन्यो, “सरकार, यो गणेशमान नै हो। सरकारबाट चिनिबक्सेन, सायद पहिरनले होला।”

सोमशमशेरले अझै पत्याएनन्, तर उनकोमा काम गर्ने बखतमान र तिलकमान सुब्बाहरूले चिन्छन् भनेर हवल्दारले दाबी गरेपछि बल्ल उनले विश्वास गरे।

सोमशमशेरले ठोरीबाट ल्याएको थाहा पाएपछि कुन बाटो आएको भनी सोधे।

“जङ्गलको बाटो सरकार”, हवल्दारले भन्यो।

“कसो बाघ-भालुले खाएन यो गणेशमानलाई”, सोमशमशेरले ठट्टा गरे।

आफूलाई लक्ष्य गरेको देखेर सिंहको कन्सिरीका रौं ताते।

“सम्पूर्ण राणाहरूको टाउको खानुपर्ने मलाई बाघ-भालुले खाने आँट किन गर्थ्यो। कस्तो सोमत नभएको मानिस रहेछ। कुरा गर्ने भए तल ओर्ली”, सिंहले रिसाउँदै जवाफ दिए।

सोमशमशेर रातोपिरो भए, र पक्राउ परेका तीनलाई खोरमा राख्ने आदेश दिए।

भीमफेदीदेखि थानकोट तामदानमा: 

सोम शमशेरसँगको मुखामुख करिब ९ बजे भएको थियो। केहि निर्णय लिनुअघि काठमाडौंको आदेश आउनुपर्ने भएकाले उनले महाराजको हजुरिया जर्नेललाई फोनबाट सम्पर्क गर्ने प्रयास गरे। १० बजे हजुरिया जर्नेलसँग कुरा हुँदा उनले बताए कि महाराज अझै सुतेर बिउँझिनुभएको छैन। मोहनशमशेरसँग सम्पर्क हुँदासम्म ११ बजिसकेको थियो।

करिब १२ बजे सिंहदरबारबाट गणेशमानलाई तुरुन्तै नेपाल पठाउनू भनी आदेश आयो, र १२ बजे सिंह अम्लेखगञ्ज जाने रेलमा पुऱ्याइए। अम्लेखग्ञ्जबाट उनी ट्रकमा भीमफेदी लगिए।

त्यो रात प्रहरीहरू र सिंहले भीमफेदीमै बिताए।

भोलिपल्ट बिहान भीमफेदीबाट थानकोट पैदल हिँडाएर लैजाने उनीहरूको मनसाय बुझेर गणेशमानले हिँड्न अस्वीकार गरिदिए।

“लाने हो भने तामदान तयार पार । तामदानबिना म हिँडेर जान्नँ”, गणेशमानले भने।

दिनरात गरेर यथाशीघ्र काठमाडौं पठाउनु भन्ने हुकुमको तामेल गर्न तत्पर कर्मचारीले तामदान मिलाउनबाहेक केहि उपाय देखेनन्। एकैछिनपछि आठजना डोलेहरूसहितको तामदान आइपुग्यो, र सिंहलाई त्यहि रात भीमफेदीबाट काठमाडौं ल्याइपुऱ्याइयो।

थानकोट आइपुगेपछि सिंहलाई सैनिक अफिसरहरूको जिम्मा लगाइयो। यतिबेला साँझको करिब ७ बजेको थियो।

सैनिक कमाण्डरले जिम्मा लिएपछि गणेशमानलाई एउटा ट्रकमा बसाल्यो र दुईवटा अर्को ट्रकले घेरेर चलान गर्ने आदेश दियो। फलस्वरूप उनी बसेको ट्रकभन्दा अगाडि एउटा र पछाडि अर्को ट्रकको घेराबन्दी तयार गरियो।

ट्रकहरू हिँड्नुअघि सैनिक कमाण्डरले आदेश दियो – “अघिलाग्ने ट्रकले कहीँ जुलुस आएर बाटो छेक्यो भने त्यसलाई पेलेर जो-जो ट्रक रोक्न आउँछ, किचेर अघि बढ्नू।”

सिंहदरबारमा पहिले बसेकै जेलमा थुनिए सिंह:

काँग्रेसी कार्यकर्ताहरू बाटो छेक्न आउँछन् भन्ने आशङ्का भएकाले गणेशमानलाई थानकोटबाट सिंहदरबार लैजाने क्रममा कडा तयारी गरिएको रहेछ। बाटोमा कुनै प्रकारको अवरोध नभएपनि उनलाई सिंहदरबार पुऱ्याइएको खबर पाएर उनको मुख हेर्न आउनेहरूको भने भीड थियो।

उनीहरू काँग्रेसको नेताको दर्शन गर्न आएको थिए तर उनीहरूको सोचभन्दा गणेशमान निकै भिन्न थिए। सिंह ट्रकबाट निस्किँदा भीड जिल्ल पऱ्यो।

“ठोरीमा काँग्रेसको माउ नै पक्राउ पऱ्यो भन्थे, कहाँको कालो ज्यापू पो रहेछ। यो के खाएर काँग्रेसको नेता हुन्थ्यो”, भीडमा कसैले ठूलो स्वरमा भन्यो।

“हो, हो। यो अनुहार नपरेको कालो ज्यापू कहाँको नेता हुनु, विचरालाई बेकार दु:ख दिँदैछन्”, अर्कोले थप्यो।

भीडमा सबैको धारणा यस्तै नै थियो।

“म त्यो मूल्यांकन सुनेर छक्क परेँ। नेपाली जनताको सोच्ने तरिका र स्तर यस्तै भएकाले राणाहरू आफ्नो हुकुमी शासन चलाउन सकेका हुन् भन्ने लाग्यो। भेष-भूषा र अनुहार हेरेर मानिसको मूल्यांकन गर्ने प्रवृत्ति पुरानो र सामन्त प्रवृत्ति हो”, सिंह टिप्पणी गर्छन्।

भीडलाई पन्छाएर भित्र पुगेपछि, दश वर्षअघि गणेशमानलाई प्रजापरिषद्मा हुँदा पक्राउ गरेर जुन जेलमा राखिएको थियो, उनलाई फेरि त्यहिँ राखियो। उनलाई सिक्रीले बाँधेर अध्याँरो कोठामा राखिएको थियो, र सिंह सम्झन्छन् कि प्रत्यक्षमा यातनाजस्तो नदेखिएपनि उनलाई निकै कष्ट भइरहेको थियो।

उनका पाउ नबाँधिएको दश वर्ष जो भइसकेको थियो।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर