सिंहको बयानी र कोर्रा

गणेशमान सिंहको बयानी: भाग १: कोर्रा पऱ्यो  

सिंहदरबार ल्याएर राखिएपछि, भीमफेदीदेखि काठमाडौंसम्म एक कप चिया मात्र खाएका गणेशमान सिंह भोकाएका थिए। खाना नल्याइदिएपछि उनले एक सिपाहीलाई दश रूपैयाँ दिएर आलु तरकारी र एक माना चिउरा मगाए। सिंहका अनुसार “त्यो दिनको चिउरा तरकारीको स्वाद बिर्सनै नसकिने थियो” ।

अर्को दिन, सिंहलाई आफ्नो बयान दिन बोलाइयो।

बयान दिने कोठा सिंहदरबारको पूर्वतर्फको लङमा थियो। भित्र मीर सुब्बा र महेन्द्रबहादुर महत एक ठाउँ बसेका थिए, र सिंहले नचिन्ने एक व्यक्ति छुट्टै सोफामा बसिरहेका थिए।

संयोगबस्, महेन्द्रबहादुर महतले नै १९९७ सालको प्रजा परिषद्को मुद्दामा सिंहको बयान लिएका थिए।

महतले सिंहलाई बडाकाजी रत्नमान सिंहको नातिका रूपमा पनि नजिकबाटै चिन्थे। सायद त्यसैले बयान लिन सुरू गर्दा उनले आत्मीय तरिकाले सोधे, “नानीको नाम के?”

सिंहलाई त्यो बनावटीपन देखेर रिस उठ्यो र उनले भने, “के कुरा गर्नुभएको तपाईंले? ०९७ सालमा मेरो बयान लिने तपाईं नै होइन? नाम थाहा थिएन भने किन पक्रेर ल्याएको?”

महतलाई लाज लाग्यो तर केहि भनेनन्। फेरि नसोधी बयान कागजमा गणेशमान सिंहको नाम लेखे।

“पता?” महतले सोधे।

रिसाइरहेका सिंहले महतलाई त्यसको जवाफ पनि थाहा भएको बताए।

महतले फेरि सोधेपछि सिंहले जवाफ दिए, “नेपाल अधिराज्य मेरो आफ्नो घर हो। जहाँको ठेगाना लेख्नुपर्छ, लेख्नुस्।”

गणेशमान सिंहको जवाफ सुनेर सोफामा बसिरहेको तेस्रो व्यक्ति रिसले तिलमिलाउन थाल्यो।

सिंह र उनको परिवारलाई तथानाम भन्दै, सो व्यक्तिले उनलाई कोर्रा हान्ने आदेश दियो।

दुई सिपाहीले सिंहको पिडुँलामा कोर्रा हान्न थाले।

“ममाथि प्रहार हुनुभन्दा अघि कोर्रालाई पानीमा भिजाएर राखेको रहेछ। पिडुँलामा जब कोर्राको मार पर्थ्यो, खुट्टामा बेरिएर छालामा च्याप्प टाँसिन्थ्यो। जति लाग्दा दुख्थ्यो, त्यसलाई तान्दा त्योभन्दा बढी पीडा हुन्थ्यो। मैले दुवै हातका औँलाहरू मुठीमा कसेर सकेसम्म नलड्न प्रयास गरेँ।”

“कोर्रा रोकिएनन्, र पीडा झेल्न नसकेपछि म ढलेँ र मेरो होस पनि गुम्यो”, वर्षौँपछि माथवर सिंहसँगको भेटमा गणेशमान बताउँछन्।

गणेशमानको बयानी: भाग २: सिंह घिसारिँदै लगिए

सिंह लडेपछि, कोर्रा हान्न आदेश दिएको व्यक्तिले सिपाहीहरूलाई भने, “उठा यसलाई।” सिपाहीहरूले उठाउने खोजे तर सिंह खुट्टा टेक्न सकिरहेका थिएनन्।

उनी भुईंमै भएपनि कोर्रा पर्न भने बन्द भएको थिएन।

“म जतिपटक बेहोशीबाट ब्यूझिएँ, त्यतिपटक मैले पाएँ – ममाथि एकनासले कोर्रा बर्सिरहेछ। त्यो गति न धिमा थियो न त तेज नै।”

कोर्रा हान्ने आदेश दिने व्यक्ति खास जर्नेल हरिशमशेर रहेछन्, जो रिसले चिच्याइरहेका थिए। गणेशमानको अवस्था यस्तो भयो कि, महतले सिंहको ज्यान जाला भन्ने डरले जर्नेललाई रोक्न बिन्ती चढाए।

अन्त्यमा, कोर्रा पर्न बन्द भयो।

उनका शरीरभरि घाउ र चोट थिए। कहाँ दुखेको छ उनलाई पत्तै भएन। मुख सुकेर निल्न पनि अप्ठेरो भएपछि, उनको मुखबाट अनायास आवाज निक्ल्यो – “पानी।”

आफ्नो अपमानको ज्वालामा सल्किरहेका हरि शमशेर फेरि कराउन थाले।

“तिमीहरूमध्ये कसैलाई पिसाब लागेको छ? यसको मुखमा पिसाब फेरिदेओ, यसलाई तिर्खा लाग्यो रे!”, उनले सिपाहीहरूलाई भने।

एकैछिनमा जर्नेल हरि शमशेरले सिंहलाई लैजाने आदेश दिए, “मरेको कुकुर घिसारेझैँ घिसारेर लैजा यसलाई।”

दुई सिपाहीले उनलाई घिसार्दै ढोकासम्म लगे। हरि शमशेरको दृष्टिबाट ओझेल भएपछि, सिपाहीहरूले उनलाई उठाएर खोरसम्म लगे।

“राणाहरूको हुकुम तामेल गरेको देखाउन उनीहरूले जे गरे पनि आखिर उनीहरू मानिस नै थिए। उनीहरूमा स्वभाविक संवेदनशीलताको अभाव थिएन, र खुट्टा नटेकिएपछि उनीहरूले मलाई दुईतिर काखीमा हात घुसारेर खोरसम्म पुऱ्याइदिए”, गणेशमान माथवर सिंहलाई बताउँछन्।

सिंहको जातिमाथि प्रश्न:

खोरमा ल्याएपछि सिपाहीहरूले उनलाई पिउन पानी ल्याइदिए। रात परिसकेकाले उनी निदाउन खोजे, तर सकेनन्।

उनले त्यस रात असह्य पीडामा बिताए र हरेक चोटको सम्झनामा उनको घृणा बढ्दै गयो।

अर्को दिन, खाना खाने समयमा सिंहले खाने इच्छा देखाएनन् किनकि उनी चिन्तित थिए कि दिसापिसाब गर्न उनी टाढा भएको चर्पीसम्म जान सक्दैनथे। तर साँझ उनलाई कुरिरहेको सिपाहीले खाना खान अनुरोध गऱ्यो।

“मेरो अवस्था यस्तो छ, खुट्टा टेक्नै सक्तिँन, भान्छासम्म कसरी जानु? खाना खाएपछि पेट चल्छ, दिसा जानुपर्छ। त्यो झनझट मोल्न मैले उचित ठानिँन”, सिंहले सिपाहीलाई बताए।

सिपाहीहरूले उनीप्रति सहानुभूति प्रकट गर्दै भने, “खाना खान बोकेर पुऱ्याइदिउँला। दिसापिसाब लाग्यो भने पनि हामी पुऱ्याइदिन्छौँ, धन्ना मार्नुपर्दैन।”

सिंहले उनीहरूको आग्रह स्वीकारे र कालो मासको दाल र भात अनि रायोको सागको तरकारीको खाना स्वाद लिएर खाए।

भोलिपल्ट दिउँसो घाम ताप्न बाहिर लगिएका सिंहलाई एक सिपाहीले साउती गरेर सोध्यो, “ए गनेसे। नढाँटी भन त, तिम्रो बाबु र आमामध्ये नेवार कुन चाहिँ हो?”

“दुवैजना नेवार हुन्”, सिंहले हाँसेर जवाफ दिए।

उसले अविश्वास व्यक्त गर्दै भन्यो, “नचाहिने कुरा गर्छ। तेरो या त आमा क्षेत्रिनी हो या बाबु क्षेत्री।”

“होइन। आमाबाब्य् दुवै नेवार हुन्”, सिंहले सिपाहीलाई विश्वास दिलाए।

“बाफ रे! नेवारनीको कोखबाट पनि यस्तो सपुत जन्मँदो रहेछ”, सिपाहीले भन्यो।

“यदि तैँले भनेको सत्य हो भने त्यो नेवारनी आमा धन्य हो। तैँले उसको दूधको धारा तिरिस्। हिजो तलाईं केरकार गर्न लैजानेमा म पनि थिएँ। छ सय तीन कोर्रा खाएपछि तँ ढलिस्। त्यसपछि मैले गनि सकिनँ”, उसले थप्यो।

सिपाहीको कुरा सुनिरहेका गणेशमानलाई झलझली गंगालालको सम्झना आयो – उनले पनि यसरी नै कोर्रा खाएका थिए। त्यो सम्झनाले उनका आँखा रसाए।

सिंहका आँखामा आँसु देखेर सिपाही रोकियो। “धत्तेरी यसरी रुनुहुन्छ? कोर्रा खाँदा ऐय्यासम्म पनि नभन्ने बहादुरले ऐले रुन सुहाउँछ?”

“म आफ्नो कारणले रोएको होइन। मैले तपाईंको कुरा सुनेर शहीद बनेका साथी गङ्गालाललाई सम्झेँ, त्यसैले मेरो आँखा रसाएको हो”, सिंहले सिपाहीलाई जवाफ दिए।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर