सिंहको दोश्रो बयानी, राजा त्रिभुवन दरबारबाट भाग्न सफल, र राजा ज्ञानेन्द्रको राज्याभिषेक:

सिंहको दोश्रो बयानी: 

गणेशमानले थला पर्ने गरि कोर्राको यातना सहनुपरेको तीन दिनपछि उनलाई फेरि बयान लिन बोलाइयो। उनी राम्ररी हिँड्नसक्ने अवस्थामा थिएनन्, शरीर दुखेर कट्कट खाइरहेको थियो, तैपनि बोलाएपछि जानैपर्थ्यो। अझ थप् कति मार पर्ने हो भन्ने कल्पनाले उनको जीउ फत्रक्कै गल्यो।

“बयान लिने स्थान र व्यक्तिहरू उनै थिए तर उनीहरूको व्यवहार भने अप्रत्याशित रूपमा बदलिएको थियो। प्रश्न नौनीभन्दा पनि नरम शब्दमा गरिरहेका थिए भने सम्बोधनमा पनि आदरार्थी शब्दको प्रयोग भइरहेको थियो”, सिंह भन्छन्।

यसरी अचानक व्यवहार परिवर्तन भएको देख्दा गणेशमान अचम्मित थिए। तर उनले पछि थाहा पाए कि त्यो नरम व्यवहारको कारण स्वयं श्री ३ महाराजा मोहन शमशेरको चेतावनी रहेछ। गणेशमानमाथि भएको प्रहारको विवरण मोहन शमशेरलाई जाहेर भएपछि उनले हरि शमशेरलाई हप्काएका रहेछन्।

महाराजाले पनि किन त्यस्तो आदेश दिए भन्ने कारण गणेशमानको लागि पनि रहस्य नै थियो। सायद कांग्रेसको ठूलो प्रतिनिधि भएका कारण सिंहलाई नरम व्यवहारले जित्न सकिन्छ कि भन्ने उनले ठानेका थिए।

सिंह पक्राउ परेका बेला नेपाली कांग्रेसले राणा सरकारविरुद्ध सशस्त्र आन्दोलन घोषणा गरिदियो। त्यसैले सो आन्दोलनबारे सकेसम्म धेरै पत्ता लगाउन सकियोस् भन्ने हेतुले गणेशमानलाई यातना दिनेभन्दा पनि नरम व्यवहार गर्ने निर्णय भएको होला भन्ने सिंहको मान्यता थियो।

“उनीहरूले म काठमाडौंमा कहाँ-कहाँ, क-कसकोमा लुकेर बसेको थिएँ, पार्टीबारे, सदस्यहरूबारे र अरू गतिविधि बारे घुमाइफिराइ सोधिरहे, तर मैले एउटै जवाफ दिइरहेँ”, सिंह सम्झन्छन्।

लुकेर बसेको ठाउँका बारेमा सोध्दा सिंहले जवाफ दिन्थे – “नैतिक दृष्टिले पनि यो कुरा बताउनुहुन्न। म यस सम्बन्धमा केहि पनि बोल्दिँन।”

राणाकालको यातना सम्झिँदा सिंह भन्छन् कि धेरै मानिसले यस समयमा यातना भोग्नुपरेको थियो तर कहिल्यै पनि उनीहरू इच्छाविरुद्ध बयान दिन बाध्य बनाउँदैनथे।

राजा त्रिभुवन दरबारबाट भाग्न सफल:

तस्विर सौजन्य: जोहन्नेस बोर्न्मन: बिल्देर औस नेपाल

गणेशमान पक्राउ परेर सिंहदरबारमा थुनिएका थिए। त्यहिँ हुँदा एक रात उनले एउटा सपना देखे – काठमाडौंका सडक र गल्लीमा घुमिरहेको बेला उनी श्वेतकालीको डबलीमा पुगेछन्। त्यहाँ उनले रातो लुगामा सेतो जामा लगाएकी एक केटी उनीतर्फ फर्किरहेकी देखेछन्। मुहार दिव्य उज्यालो र हँसिलो भएकी उनको बारेमा जान्ने इच्छा सिंहलाई भएछ।

“यी को हुन्, चिन्छौ?” सिंहले सँगै भएका साथीलाई प्रश्न गरेछन्।

“श्वेतकाली हुन्, उनी कहिलेकाहिँ मात्र प्रकट हुन्छिन्। साक्षात भगवतीको दर्शन पाउने तिमी निकै भाग्यमानी रहेछौ गणेशमान”, साथीले जवाफ दिएछन्।

यतिकैमा सिंह झल्यास्स ब्यूझिँए।

ब्यूझिँदा उनका चारैतिर सिपाहीहरू थिए। बाहिर हेर्द पनि सिपाहीहरू हतियारसहित सतर्क उभिएका थिए।

सिपाहीहरूको गम्भीर र कठोर अनुहार देखेर सिंहले मनमनै सोचे –“लौ जिन्दगी आजैसम्मको रहेछ।” पहरा यसरी बढाउने भनेको फाँसी दिने दिन नै हुन्थ्यो।

एकबिहानैदेखि भएको यो खैलाबैला झनझन् ठूलो हुँदै गयो। हेर्दाहेर्दै सिंहदरबारअगाडिको चौर सैनिकहरूले टनाटन भरियो। मोटर र घोडाहरूको गतिविधि पनि अप्रत्याशित रूपमा बढेको थियो।

करिब ९ बजेपछि, एकाएक बिगुल बज्न थाल्यो। कुनै महत्त्वपूर्ण घोषणा हुने जानकारी दिन सबै मान्यलाई टुँडिखेलमा जम्मा हुने उर्दीका लागि बिगुल फुक्ने चलन थियो। बिगुल बज्ने बित्तिकै सिंहदरबारमा जम्मा भएका सबै जसरी आएका थिए, त्यसरी एकाएक जान थाले। उनलाई कुर्ने सिपाही उनले नचिनेका मात्र थिए त्यसैले उनले केहि सोध्नै पाएनन्।

दिउँसो एक बजेतिर उनीसँग परिचित एकजना सिपाही आफ्नो पालो सकेर लुगा फेर्न आएका रहेछन्।

सिंहले उनलाई बोलाएर सोधे – “टुँडिखेलमा के घोषणा भएको हँ?”

पल्याक-पुलुक यताउती हेरेर सिपाहीले भने – “हिजो श्री ५ महाराजधिराज त्रिभुवन आफ्ना परिवारसहित शिकार खेल्न सवारी भएको तर शिकारमा नगएर सोझै हिन्दुस्थानको राजदूतावास, शीतलनिवासमा शरण लिन गइबक्सेकाले त्रिभुवनलाई राजगद्दीबाट हटाउने घोषणा भएको हो। नाति ज्ञानेन्द्रलाई राजा बनाउने रे! ती मामाघर गएकाले त्रिभुवनसँग जान नपाएका रहेछन्।”

गणेशमानले रोमाञ्चित महसुस गरे।

“राजा त्रिभुवनको साहसले देशको क्रान्तिमा पर्नसक्ने प्रभावमा मेरो मन तेज गतिमा दौडिरहेको थियो”, सिंह सम्झन्छन्।

यता सिंहदरबारको हलचल कम भएको थिएन।

राजा ज्ञानेन्द्रको राज्याभिषेक:

तस्विर सौजन्य: नेपाल पिक्चर लाइब्रेरी

बाहिर, काठमाडौं अस्तव्यस्त थियो। त्रिभुवनले दरबार छाडेर भारतीय दूतावासमा शरण लिने निर्णय गरेकाले राणा सरकार आत्तिएको थियो।

मोहन शमशेरले आफ्ना दुई विश्वासपात्रलाई भारतीय दूतावास पठाएर त्रिभुवनलाई शरण नदिन अनुरोध गरे तर त्यो अनुरोध अस्वीकार गरियो। उनीहरूले त्यसपश्चात युवराज वीरेन्द्रलाई मात्र फर्काउने अनुरोध पनि गरे ताकि उनलाई राजा बनाउन सकियोस्। तर त्यो प्रस्ताव पनि अस्वीकार भयो।

अरू कुनै उपाय नभएर, राणाहरूले तीन वर्षका ज्ञानेन्द्रलाई नेपालका नयाँ राजा घोषित गरिदिए। सोहि दिन नै हनुमानढोकाको गद्दी चढाई तोपको सलामी दिएर ज्ञानेन्द्र राजा भए। जनताको आँखामा छारो हाल्न र आफ्नो सत्ता जोगाउन उनीहरूले त्रिभुवनलाई देशद्रोही करार गरे, तर जनताको चित्त भने बुझेन।

राणा सरकारले भारत, अमेरिका र बेलायतबाट आधिकारिक रूपमा ज्ञानेन्द्रलाई राजाको मान्यता दिलाउने प्रयास गरे। तर उनीहरूको प्रयास सफल हुन सकेन।

राजा त्रिभुवनले भाग्ने निर्णय लिनाले राणा सरकारको जग नराम्ररी हल्लियो। यता सशस्त्र आन्दोलनको घोषणा गरिसकेको नेपाली काँग्रेस भने राजा त्रिभुवनको कदमबाट अझै प्रोत्साहित भए।

संयोगले राजा ज्ञानेन्द्रको राज्याभिषेकका दिन लक्ष्मीपूजा थियो। केहि राजनीतिक कार्यकर्ताहरूले बत्ती नबाल्ने आह्वान गरेपनि लक्ष्मीको आराधना गर्ने परम्परा छाड्न काठमाडौंवासी तयार भएनन्। सम्पूर्ण काठमाडौं दीपावलीले धपक्क बलेको थियो।

“राणाहरूलाई लाग्यो होला – हामी जे गर्छौँ, जनताले त्यसको स्वागत गर्छन्। त्यो दीपावली उनीहरूले ज्ञानेन्द्रको राज्यारोहणको खुशियालीमा मनाएको राणाहरूले ठाने। तर जनता खुशी थिएनन्”, गणेशमान सिंह माथवर सिंहलाई बताउँछन्।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर