गणेशमान सिंह ३५ वर्ष पुग्छन्, राजा त्रिभुवन दिल्ली प्रस्थान गर्छन्

गणेशमान सिंह ३५ वर्ष पुग्छन्

ज्ञानेन्द्रको राज्याभिषेकपछि, सिंह विश्वस्त थिए कि काठमाडौं राणाहरूविरुद्ध उठ्ने थियो। बाहिर भएका घटनाको समाचार पाउन उनी निकै आतुर थिए। तर नयाँ पालो पहरामा खटिएका सिपाहीहरू गणेशमानसँग बोल्न पनि रुचाउँदैनथे।

उनी हरेक पटक सिपाहीहरूको पालो फेरिँदा कुनै परिचित अनुहार आइपुग्छ कि भन्ने आशमा  बस्थे – तर, चिनेको कोहि उनका वरिपरि थिएनन्।

दुई दिन बिते, र तेस्रो दिन सिंहको निद्रा अघिपछिभन्दा चाँडै खुल्यो। शरद ऋतुको न्यानो बिहानीमा घामका किरण उनको खोरमा प्रवेश गरिसकेका थिए।

बाहिर बगैँचामा सयपत्री र मखमली फूलहरू टाढासम्म फैलिएका थिए। बिहानको कलिलो घाममा देखिएको दृश्य गणेशमानलाई बडो मनोरम लागिरहेको थियो। संयोगले २००७ सालको २६ कात्तिकको त्यस दिन उनको जन्मदिन पनि थियो।

“त्यसदिन म पैतींस वर्ष पार गरेर ३६ मा प्रवेश गरेको थिएँ, मलाई मखमली र सयपत्री फूल बुट्टामा फुलेको देखेर आफ्नो जन्म दिनको स्मरण भएको हो“, सिंह सम्झन्छन्। “मैले अनायास घर-परिवार सम्झेँ, विशेषगरि तिहारमा परिवारसँग बिताएका पलहरूको सम्झना आयो”, उनी थप्छन्।

“राजनीतिमा प्रवेश गरेदेखि मैले घर-परिवार चटक्कै त्यागेको थिएँ। भारतमा शरणार्थी भएर बसेको बेला गाँस र बासको ठेगान हुँदैनथ्यो तैपनि मलाई परिवारको सम्झना कहिल्यै आएन। प्रवासकालमा म हिँड्डुल गर्न फुक्का थिएँ तर त्यस बेला जब म हथकडी, नेल र गलफन्दीमा जकडिएको थिएँ, मलाई परिवारको स्मरण भइरहेको थियो”, सिंह आफ्नो न्यास्रोपन व्यक्त गर्छन्।

सिंह आफ्नो अतीतलाई फर्केर हेर्न थाले – जीवनमा कहाँसम्म पुगियो, कति उपलब्धी भयो भन्ने कुरा केलाउँदा उनी पीडा अनुभव गरिरहेका थिए। उनलाई आफ्नो जीवनको स्वर्णिमकाल व्यर्थ र निरर्थकमा बितेको जस्तो पनि लाग्न थाल्यो।

उनी सोचमा डुबेर टोलाइरहेका थिए। एकाएक मच्चिएको कोलाहलले उनको एकाग्रता भंग भयो। कौतुहलतावश उनका आँखा कोलाहलतर्फ गयो। हेर्नेबित्तिकै उनले थाहा पाए कि त्यो आवाज मान्छेको हल्ला मात्र नभएर सैनिकका बुटको आवाज पनि रहेछ।

एकैक्षणमा सिंहदरबारको पटांगिनी फेरि सैनिकहरूले खचाखच भरियो। प्रत्येक सैनिक हतियारले सुस्ज्जित थिए र निर्देशनका लागि प्रतिक्षामा थिए”, सिंहले भने।

राजा त्रिभुवन दिल्ली प्रस्थान गर्छन्

सिंह आफ्नो खोरबाट बाहिर हेरिरहेका थिए। आज फेरि के भयो र तिनीहरू किन यसरी भेला भएका हुन् भन्ने प्रश्न गणेशमानको मनमा खेलिरहेको थियो। झण्डै डेढ घण्टाको परेडपछि, सबै सैनिक सिंहदरबारबाट निस्किए। उनीहरू गइसकेपछि बल्ल केहि सिपाहीहरू आएर गणेशमानलाई नित्यकर्मका लागि बाहिर निकाले।

चर्पीतिर पुग्न लाग्दा मौका छोपेर सिंहले एक सिपाहीलाई परेडको कारण सोधे।

“आज देशद्रोही त्रिभुवन दिल्ली जाँदैछन्”, सिपाहीले जवाफ दियो।

सिंह उल्लासले भरिएका थिए। उनको काठमाडौंको दुई मिसनहरू – राजा त्रिभुवनलाई काठमाडौंबाट भगाउने र सशस्त्र आन्दोलनको सुरुवात गर्ने – दुबै मूर्त हुँदै थिए।

त्यसदिन दिउँसो सिंहदरबार झण्डै सुनसानजस्तै थियो। अचानक करीब दिनको साढेबाह्र बज्दा उपत्यका थर्किने गरी काठमाडौंको आकाशमा हवाईजहाज उडेको आवाज आयो।

“तिन्ताका हिजोआजको जस्तो छिनछिनमा हवाईजहाज काठमाडौं आउँदैनथ्यो। कुनै हवाईजहाज उडेको आवाज आयो भने सबै टक्क अडिएर देव्रे हात निधारमा पुऱ्याएर आँखामा पर्ने घाम छेक्दै आकाशतर्फ हेर्न थाल्दथे”, गणेशमान माथवर सिंहलाई बताउँछन्।

खोरमा थुनिएका भएर सिंहले भने हवाईजहाजको आवाज मात्र सुने। त्यसैले उनी त्यहि आवाजकै भरमा जहाजको गति र दिशाको अन्दाज लगाउन खोजिरहेका थिए।

“त्यसबेला गौचरन पनि अहिलेको जस्तो हवाईमैदान घोषित भइसकेको थिएन। हवाईजहाज कि टुँडिखेल, लैनचौर वा गौचरनमा उतार्न सकिन्थ्यो। हवाईजहाज कहाँ उत्रिने हो भनेर म पत्ता लगाउन खोजिरहेको थिएँ”, गणेशमान माथवर सिंहलाई बताउँछन्।

एकैछिनमा हवाईजहाजको आवाज क्रमश: टाढा हुँदै एकैक्षणपछि बन्द भयो। गणेशमानले आवाजको अन्दाज लगाउँदा जहाज गौचरनमा उत्रेको अनुमान लगाए। आधा घण्टा जति बिसाएपछि फेरि आकाशमा जहाजहरू उडेको आवाज आयो।

राजा र उनको परिवार काठमाडौंबाट निस्किन सफल भए कि भएनन् भनेर उनी जान्न आतुर थिए।

उनलाई बाहिरको समाचार भन्दिने कोहि नभएकाले कल्पनामै समय बिताउन उनी बाध्य थिए। यस्तो महत्त्वपूर्ण समयमा जेल परेकोमा उनी आफैँलाई धिक्कार्दै थिए।

नेपाली कांग्रेसको वीरगञ्ज आन्दोलन, त्रिभुवनको उडानका बेला काठमाडौंमा विरोध

सिंहको अनुमान सहि साबित भएको थियो – राजा त्रिभुवन भारत प्रस्थान गरेपछि नेपालमा आन्दोलन चर्किन थाल्यो।

त्रिभुवनको दिल्ली प्रस्थान सोहि दिनमा वीरगञ्जमा भएको आक्रमणसँगै सात सालको क्रान्तिले गति लियो। यस सात सालको क्रान्तिको अन्त्य राणा शासन पल्टिएर अन्त्य हुने थियो।

भोलिपल्ट बिहान खाना खाएर दिउँसो घाम ताप्न निक्लेको ठाउँमा गणेशमान आँखा चिम्लेर बसेका थिए। उनी निदाएका होलान् भन्ने ठानेर सिपाहीहरू एक अर्कासँग कुरा गर्न थाले।

“हिजो कांग्रेसका डाँकाहरूले वीरगञ्ज एकैदिनमा कब्जा गरेछन्। नेपालबाट थप गएको हाम्रो पल्टनले बल्लबल्ल वीरगञ्ज फिर्ता गऱ्यो, नत्र बित्यासै पारिसकेका थिए” पहिलो सिपाहीले भन्यो।

सिंहले निदाएझैँ नै गरेर सुनिरहे, तर उनलाई लागिरहेको थियो कि सायद सिपाहीले उनलाई पनि त्यो खबर सुनाउन खोजिरहेको थियो।

क्रान्ति सुरू भएको खबर सुन्दा गणेशमान रोमाञ्चित भएका थिए। सिंह ठान्दथे कि वीरगञ्ज नेपाल प्रवेश गर्ने मूल ढोका भएकाले नेपाल कांग्रेसले वीरगञ्जबाट सशस्त्र आन्दोलनको सुरूवात गरेको हो। काठमाडौंमा आउने भारतीय सामानहरू वीरगञ्जबाट आउने भएकाले यसको रणनीतिक महत्त्व पनि धेरै थियो।

सिंहले यो पनि थाहा पाए कि वीरगञ्जको हमला राजा त्रिभुवनले नेपाली जमिन छाड्ने अघिल्लो रात भएको थियो। राणा सरकारले एकै दिनमा सो हमला र राजाको बिदाइसँग जुध्नुपरेको थियो।

वीरगञ्जको झडपमा आफ्ना मित्र थीरबाम मल्ल शहिद भएका कुरा उनले पछि मात्र थाहा पाए। गणेशमानसँग कलकत्तादेखि चिनजान भएका मल्लले वीरगञ्जको हमलाको नेतृत्व गरिरहेका थिए।

यता, सिपाही आफ्नो कथा सुनाइरहेको थियो।

सिपाहीका अनुसार राजा त्रिभुवन भारतका लागि उड्ने बेला हजारौँ काठमाडौंवासी बानेश्वर देखि गौचरनसम्म जम्मा भएका थिए। जनता निकै दिक्दार थिए। राणा सरकारले राजा त्रिभुवनलाई फिर्ता ल्याउनुपर्छ भन्दै भीड नारा लाइरहेको थियो।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर