साइकल घटना:
सत्र वर्षको उमेरमा, गणेशमान सिंहका बाजेले उनलाई रुद्र शम्सेरको दरबारमा लगे र मुलुकी अड्डामा बहीदारको पदमा नियुक्त गराइदिए। मुलुकी अड्डा राज्य प्रशासनको केन्द्रीय कार्यालय थियो र त्यसबेला प्रधान सेनापति रुद्र शम्सेरको मातहतमा पर्थ्यो, जसलाई पछि श्री ३ महाराज जुद्ध शम्सेरले पाल्पा खेदाएका थिए।
गणेशमान सिंह काममा साइकल चढेर जान्थे। त्यतिबेला साइकल धन र इज्जतको प्रतीक थियो। खासै ट्राफिक नियम थिएन, तर साइकल चालकहरूले साइकलमा घन्टी र बत्ती राख्नुपर्ने नियम थियो, तर गणेशमान सिंह पनि धेरैमा पर्थे जसले त्यस नियमलाई खासै मतलब गर्दैनथे।
एकदिन अफिस जाँदा बाटोमा, एक आर्मी अफिसरले सिंहलाई रोक्यो।
हेपेर, आर्मी अफिसरले सुकिलो लुगा लगाएको र घण्टी र बत्ती नभएको साइकल चढेको भनेर सिंहलाई ‘सुकुलगुण्डा न्यार’ भन्दै गाली दियो।
सिंहले उसलाई नम्र भएर सम्झाए कि साइकल चालकहरूले नियम तोडेमा सजाय दिनु सेना होइन प्रहरीको काम हो। तर अफिसर रोकिएन।
यतिसम्म कि सिंहले सहनै सकेनन्। धैर्यको बाँध टुटेपछि सिंह त्यसमाथि जाइलागे, र पछारेरै कुटे।
यस मामलालाई रुद्र शम्सेरकहाँ लगियो। सिंहले अफिसरलाई चार पटक हिर्काएको भएर, शम्सेरले एक सिपाहीलाई सिंहको कान समातेर चार पटक उचाल्न लगाए।
रुद्र शम्सेरको दरबारमा घटेको घटनाबाट गणेशमान सिंह लाई राणाहरु प्रति झन् नकारात्मक धारणा आयो।
ढुकुटी फोडेपछि:
अफिसमा काम गर्दा उनी निकै जुवा पनि खेल्थे। उनले टन्नै पैसा हारेर ऋण धेरैसँग भइसकेको थियो, जुन उनको तलबले तिर्न पुग्दैनथ्यो। उनले आफ्नी हजुरआमालाई फकाएर सुनका बालाहरू लिएर बन्धक राखेर अझै जुवा पनि खेले। यसले उनलाई आत्मपीडा हुन थालेको थियो।
एक दिन, उनका हजुरबाजे हेटौँडा हुँदा, उनले ढुकुटी फोडेर २५-३0 हजार रुपैयाँ जति चोरे, जुन त्यसबेलाका लागि निकै ठूलो रकम थियो।
तिर्नुपर्ने सबैलाई तिरेर, बाँकी भएको रकम लिएर सिंह कलकत्ता हिँडे। पहिलो पन्ध्र दिनमा, सिंह शहरको रमझममा भुले। नयाँ ठाउँ घुमे, र सिनेमा हेरे। तेस्रो हप्तामा उनलाई उनको बाजेकहाँ लगियो जहाँ उनलाई चोरेको कारण सोधियो।
उनलाई थोरै सम्झाएपछि अब उनी कलकत्ता नै फर्कने निर्णय भयो। कलकत्तामा सिंहले आफ्नो पढाइलाई निरन्तरता दिए र म्याट्रिक पास गरे।
विद्यासागर कलेजमा भर्ना:
म्याट्रिक पास गरेपछि, सिंह विद्यासागर कलेजमा भर्ना भए। विद्यासागरमा उनी राजनीतिक गतिविधितर्फ आकर्षित हुन थाले। उनी जुलुसमा जान्थे, विश्व र नेपाली राजनीतिबारे पढ्थे। उनलाई पत्रिका पढ्ने पनि रुचि बढेको थियो। उनी यति चासोले पत्रिका पढ्थे कि
नेपालको राजनीतिक अवस्था बारे भारतीय पत्रिकाहरूमा लेखिएका अंशहरू काटेर आफ्ना साथीहरूलाई नेपाल पठाउँथे
प्रजातान्त्रिक नेपाल बनाउने अभियान सुरु गर्ने उनको झुकाव यहिँ पहिलो चोटि देखियो।