नेपालमा पर्चाहरूको वर्षा:
राजा त्रिभुवन दिल्ली प्रस्थान भएको केहि दिनपछि सिंह आफ्नो खोरभित्र बसेर थप समाचारको प्रतिक्षा गरिरहेका थिए। क्रान्ति सुरू भएको खबर पाए पनि, हरेक दिन केहि नयाँ खबर पाउन उनले आफूसँग मिल्ने सिपाहीहरूको पालो कुर्नुपर्थ्यो।
अचानक, काठमाडौंमा हवाईजहाजले पर्चा छर्न थाल्यो। त्यसरी छरिएको पर्चा सिंहदरबारभित्र पनि बर्सियो। एक सिपाहीले एउटा पर्चा गणेशमानका लागि ल्याइदियो र यो के हो भनेर सोध्यो।
पर्चा सरकारको तर्फबाट छरिएको रहेछ। वीरगञ्जबाट काँग्रेसलाई सेनाले भगाएको समाचार देशभरि फैलाउन सो पर्चा छर्न लगाइएको रहेछ।
पछि, सिंहलाई अर्को सिपाहीले बताए कि सो पर्चा मोहनशमशेरले नेपाल सेना र जनतालाई सबै आफ्नो नियन्त्रणमै भएको विश्वास दिलाउन छर्न लगाएका थिए। यता काँग्रेसले पनि नेपालभर पर्चा बाँडिरहेको थियो, जसमा राणाविरुद्ध सशस्त्र आन्दोलनको घोषणा गरिएको थियो। ती पर्चामा काँग्रेसले नेपाली जनतालाई सामेल हुने आह्वान गरिएको थियो।
त्यसबेला नेपाली काँग्रेसलाई हवाईजहाजबाट पर्चा छर्नु कुनै गाह्रो काम थिएन किनभने हिमालयन एयरवेजका मालिक महावीर शमशेर आफैँ काँग्रेसका नेता थिए। तर नेपाल सरकारसँग भने हवाईजहाज थिएन, र भाडामा जहाज ल्याउनु र नेपालभर पर्चा छर्नु त्यति सजिलो थिएन।
यहि बेलातिर, राणाहरूले ब्रिटिस सरकारको मद्दत माग गरिरहेका थिए। भारतले नेपालमा भएको सानो उपद्रोलाई राजनीतिकरण गर्न प्रयास गरिरहेछ भन्ने तर्क प्रस्तुत गरेर राणाहरू नेपालमा एक आयोग भित्र्याउन सफल भए।
यसरी त्रिभुवन दिल्ली प्रस्थान भएको दुई हप्तापछि नेपालमा तीन विशेष अधिकारी आइपुगे जसमा दुई बेलायतबाट थिए र एक अमेरिकाबाट। उनीहरूको आगमनको दिन ठूलो भीड जम्मा भएर नारा लगाइरहेको थियो – “हामी फुच्चे राजा मान्दैनौँ, त्रिभुवन हाम्रा राजा हुन्, ब्रिटिस मिसन फर्की जा।”
‘सी’ क्लासका राणाहरूबाट विरोध, र न्हुछेरत्नको मृत्यु:
एक दिन, ‘सी’ क्लासका राणाहरूको एक समूह राणा शासनको विरुद्ध नारा लगाउँदै सडकमा उत्रियो। राणाहरूका भित्रिनी स्वास्नीबाट जन्मेका सबैलाई ‘सी’ क्लासको राणामा दर्ता गरिने चलन थियो। उनीहरू आफ्नो पदबाट राजीनामा दिएर दरबार हाइ स्कूल अगाडि आएर प्रदर्शन गर्दै थिए।
जुलुसको भीडलाई तितरबितर पार्न प्रहरी लाठी घुमाउँदै दौँडिदैथे जुनबेला अचानक एक प्रहरीले न्हुछेरत्न तुलाधरनाथि लाठी चलाए। न्हुछे त्यस दिन आन्दोलनमा आएका हुन् या होइनन् पनि यकिन साथ भन्न सकिँदैन तर उनमाथि गरिएको प्रहार निकै गम्भीर हुन पुग्यो। एकैचोटमा उनी ह्वालह्वाल रगत छादेर ढले।
६३ वर्ष पुगेका न्हुछे क्षयरोगका दीर्घरोगी थिए। प्रहरीले उनीमाथि गरेको व्यवहार काठमाडौंवासीलाई सह्य भएन।
“न्हुछेरत्न परिचित राजनीतिक कार्यकर्ता वा चर्चित व्यक्तित्व थिएनन् तर उनको शवयात्रामा सारा काठमाडौं उर्लियो। हजारौँ उनको शवयात्रामा सामेल भए र उनको चितालाई आगो दिएपछि पुलिसको ट्रकलाई आगो लगाएर काँग्रेस जिन्दावादका नारा पनि लगाइए। काठमाडौंका जनताले आफ्नो भय र त्रास त्यागेको थियो र यो सबै एक आम मानिसको मृत्युका कारण भएको थियो”, सिंह बताउँछन्।
“त्यस दिन राणा सरकार आफ्नै पाइतालामुनिको जमिन भास्सिएको बोधले झस्किए। त्यसभन्दा अघि उनीहरू जनतालाई डरपोक छ भन्ने ठान्दथे”, सिंह थप्छन्।
“जनताकोआन्दोलनको खबर पाउँदा मभित्र आशा, उत्साह र सुन्दर भविष्यको कल्पना पलाउँथ्यो। जनता सडकमा उत्रन थालेको खबरले कुन क्रान्तिकारीलाई हर्ष र सन्तोष प्राप्त नहोला?” सिंह दरबारभित्र आफ्ना मनमा आएका विचारहरू उनी माथवर सिंहलाई बताउँछन्।
काठमाडौंमा सरकारविरुद्ध आन्दोलन चलिरहेको थियो तर न्हुछे रत्न तुलाधरको मृत्युलले भने बलेको आगोमा घिउ थपेको थियो।
देशव्यापी आन्दोलन:
काठमाडौंमा आन्दोलन चर्किरहेका बेला, नेपालका अरू स्थानहरूमा पनि आन्दोलन भइरहेका थिए। जनक्रान्तिको घोषणा भएदेखि सिंहदरबारको गतिविधि निकै बढेको थियो। चहल-पहल बिहान सबेरैदेखि राती अबेरसम्म हुने गर्थ्यो।
दिउँसो घाप तापेर बस्ने गणेशमान देशभरका घटनाको समाचार सुन्न आतुर रहन्थे। उनले पछि थाहा पाए कि वीरगञ्ज कब्जाको लगत्तै पछाडि मुक्तिसेनाले विराटनगरमाथि आक्रमण गरेको रहेछ। वी.पी कोइरालाको नेतृत्वमा अघि बढेको सो मुक्तिसेनाले माल अड्डा, बजार अड्डा र वन जाँच अड्डामाथि कब्जा गर्न सफल भयो। रंगेलीका केहि क्षेत्रहरू कब्जामा लिए पनि उत्तमविक्रम राणाको नेतृत्वमा रहेको राणा सेनाले अरू क्षेत्रमा निकै अवरोध खडा गरे।
पश्चिम नेपालमा महेन्द्रविक्रम शाह, गणेशकुमार शर्मा, चन्द्रवीर सिंह लगायतका नेताहरूको नेतृत्वमा मुक्तिसेनाले उल्लेखनीय सफलता प्राप्त गऱ्यो। भैरहवामा भने बालचन्द्र शर्मा, सूर्यप्रसाद उपाध्याय, गोपाल शमशेर र डा. इन्द्रजीत सिंह कुँवरबीच नेतृत्वको किचलो परेकाले अपेक्षाकृत सफलता हासिल भएन।
पाल्पामा बडाहाकिम रुद्रशमशेर स्वयं काँग्रेसमा सामेल भएकाले विनाकुनै संघर्ष पाल्पा कब्जा गर्न मुक्तिसेना सफल भयो। पाल्पाको जन-सरकारको सहयोगमा जवानसिंह गुरुङ, धनप्रसाद थकाली, पहलमान सिंह, जयप्रसाद शर्मा, चन्द्रमान शेरचन आदिको नेतृत्वमा स्याङ्जा र बाग्लुङमा पनि जन-सरकार गठन भयो। त्यसैगरि कास्की र तनहुँमा पनि मुक्ति सेना जन-सरकार गठन गर्न सफल भयो।
र यसरी सम्पूर्ण देश काँग्रेसको सशस्त्र आन्दोलनमा सामेल हुन पुग्यो।