शहीद भोगेन्द्रमान सिंह:
माथवर सिंहसँग आफ्नो जीवनको सम्झना गरिरहेका गणेशमान सिंह यो खण्डमा आइपुग्दा असहज महसुस गर्छन्।
“आज म बडो असहज महसुस गरिरहेको छु। किनभने म क्रान्तिको त्यो अवस्था वर्णन गर्न लागेको छु, जसमा मेरो आफ्नै परिवारले ठूलो बलिदान गर्नुपरेको थियो”, गणेशमानले भोगेन्द्रमान सिंहको बलिदानको घटनाक्रम सम्झनुअघि भन्दछन्।
भोगेन्द्रमान सिंह गणेशमान सिंहका साख्यै काका गोविन्दमान सिंहका कान्छा छोरा थिए। गणेशमानको गिरफ्तारी अघि जब उनी भोगेन्द्रमान सिंहका घरमा भूमिगत रूपमा बसेका थिए, ती दुई बिहान-बेलुका राजनीतिक चर्चा गरेर बिताउँथे।
स्कूलमा मेधावी विद्यार्थी भोगेन्द्रको इतिहासको अध्ययन गहिरो थियो र उनी गणेशमानलाई नेपाली काँग्रेस र क्रान्तिका बारे निकै जिज्ञासु भएर प्रश्न राख्ने।
“मैले राजनीतिमा लागेर प्रजातान्त्रिक शासन व्यवस्थाको स्थापनाको लागि काम गरेकोमा उनलाई गर्व थियो। उनी हाम्रो परिवारले राणाशासनको पोषणका लागि गरेको सेवाबाट अत्यन्त असन्तुष्ट र रुष्ट थिए। शायद त्यसको अपवादका रूपमा मलाई पाउँदा उनलाई गर्वको अनुभव हुन्थ्यो”, गणेशमान माथवर सिंहलाई बताउँछन्।
एक दिन, २००७ सालको मंसीर १३ गते, काठमाडौंवासी कर्फ्यूको आदेशको उल्लङ्घन गरेर भूगोल पार्कमा प्रदर्शनका लागि जम्मा भए। भोगेन्द्रमान सिंह र अरू केहि साथीहरूको नेतृत्वमा जम्मा भएका प्रदर्शनकर्ताहरू त्रिपुरेश्वरको डिलमा अवस्थित सेन्ट्रल जेलतर्फ प्रस्थान गऱ्यो। पचासौँ हजारको त्यो भीड राणाविरोधी नारा लगाइरहेको थियो।
हरिशमशेरको दरबार कट्नेबेला गोलीको आवाज आयो। मानिसहरू भागाभाग गर्न थाले, र भीड तितरबितर भयो। तीनजनामाथि गोली चलेको थियो र ती तीनमध्ये एक भोगेन्द्रमान सिंह पनि थिए। प्रदर्शनमै भएका व्यक्तिहरू अनुसार गोली लागेका ती तीन जनालाई प्रहरीले घिसारेर लगेको थियो।
त्यसको लगत्तै, सेना परिचालन भयो र कर्फ्यू अझै कडा गराइयो। भोगेन्द्रमान सिंह कहाँ थुनिएका थिए, वा जीवित छन् कि छैनन् भन्ने खबर कसैलाई पनि थिएन।
भोगेन्द्रमान सिंहको परिवार रातभर छटपटीमा जाग्यो।
भोगेन्द्रमान सिंहको खोजी गर्न मंगलादेवी कर्फ्यूको आदेश तोड्छिन्:
भोलिपल्ट बिहान मंगलादेवी र सुमित्रा सिंह कर्फ्यूको आदेश तोडेर भोगेन्द्रमान सिंहको खोजीमा वीर अस्पताल पुगे।
मंगलादेवी गणेशमानकी पत्नी थिइन् र सुमित्रा सिंह उनकी भाइ-बुहारी र भोगेन्द्रमानकी भाउजू थिइन्। मंगलादेवीले कर्प्यू तोडेको यो खबर सुन्दा गणेशमान अचम्मित भएका थिए।
“मैले बिहे गरेको चारै महिनामा उनलाइ छोड्नुपरेको थियो। त्यसबेला उनी लज्जालु र संकोची दुलहीभन्दा केहि अनुभव गरिँन। उनमा पनि राजनीतिक चेतना त्यस हदसम्म विकसित भएको रहेछ भन्ने आभास मैले पाएको थिइनँ”, गणेशमान सम्झन्छन्।
मंगलादेवी आउने वर्षहरूमा निकै प्रशंसनीय राजनीतिक व्यक्तित्व हुने थिइन् जो कैयौँ प्रदर्शनहरूको नेतृत्व गर्ने र राजनीतिमा महिला आवाजको प्रतिनिधि हुने थिइन्। २००४ सालमा उनले साथीहरूसँग मिलेर नेपाल महिला संघको स्थापना गरेकी थिइन्। सो संघले कैदीहरूप्रति गरिने व्यवहारको विरुद्ध प्रदर्शन गरेको थियो र पद्म शमशेरलाई नेपाली महिलाको प्रतिनिधित्व गर्दै एउटा केस पनि प्रस्तुत गरेको थियो।
२००७ सालमा यसरी, मंगलादेवी र सुमित्रा सिंह वीर अस्पताल पुगे। पिडित त्यहाँ थिएनन्। त्यसपछि उनीहरू मिलिटरे अस्पतालतिर लागे। सिपाहीहरूले उनीहरूलाई भित्र जान दिएनन् तर यी दुई दृढ थिए।
बल्लबल्ल भित्र छिरेपछि, उनीहरूले भोगेन्द्रमान र उनका घाइते साथीहरू फेला पारे। भोगेन्द्रमानको अवस्था निकै नाजुक थियो। शरीरबाट निकै रगत बगिसकेको थियो। मंगलादेवीले भोगेन्द्रमानलाई घर लैजान होहल्ला गर्न थालेपछि त्यहाँका डाक्टरहरू निकै विचलित भए। धेरै जिद्दी र सत्याग्रहको धम्कीपछि उनीहरूले भोगेन्द्रलाई घर लैजान अनुमति प्रदान गरे।
घर ल्याएको दोस्रो दिनमा भोगेन्द्रमान सिंह शहीद भए। भोगेन्द्रमान सिंहको मृत्युबाट गहिरोरूपले प्रभावित सुमित्रा सिंहले पनि भोगेन्द्रमान सिंह बितेका १० दिनमा प्राण त्यागिन्।
गणेशमान सिंह जेलबाट निस्किएपछि मंगलादेवीले उनलाई भनेअनुसार सुमित्रा भोगेन्द्रमानसँग जुलुसमा गएकी थिइन् र भोगेन्द्रमानलाई गोली लागेको आफ्नै आँखाले देखेकी थिइन्। त्यसैले पनि अरूको सुझावलाई नसुनी उनी मंगलादेवीसँग भोगेन्द्रमानलाई खोज्न निस्किएकी थिइन्।
देशव्यापी आन्दोलनको लहर, काठमाडौं भने मौन:
भोगेन्द्रमान सिंहको मृत्युपछि काठमाडौं मौन भयो। काठमाडौं जाडो र कर्फ्यूले कठाङ्ग्रिएको शान्त शहरमा रूपान्तरित भयो।
हरेक दिन धरहरामा बिगुल बज्थ्यो। बिगुलपछि, भोलिपल्ट कर्फ्यू लाग्ने घोषणा प्रसारित हुन्थ्यो। त्यस घोषणामा बिहान कति घण्टा पानी भर्न र बजार गर्न छुट मिल्छ पनि उल्लेख हुन्थ्यो। राती त्यसै पनि तोप चलेपछि शहरमा हिँडडुल गर्न बर्जित थियो।
सिंह दरबार पनि शान्त थियो। सिंहलाई खबर पुऱ्याउने सिपाहीहरू पनि आउन छाडे किनकि बताउनलाई खबर केहि हुँदैनथ्यो।
राणाहरू काठमाडौंमा आफ्नो जित भएको ठानेर खुशी मनाइरहेका थिए।
काठमाडौं बाहिर भने, क्रान्तिको ज्वरो चलिरहेको थियो। यता राणाहरू बालक ज्ञानेन्द्रलाई नेपालको राजाका रूपमा मान्यता दिलाउन असफल भइरहेका थिए भने उता मुक्तिसेनाले आफ्नो सशस्त्र आन्दोलन झनझन् चर्काउँदै थियो। क्रान्तिकारीहरू धेरै भू-भाग स्वतन्त्र घोषणा गर्न सफल भइसकेका थिए।
कृष्णप्रसाद भट्टराईको नेतृत्वमा उदयपुर, रुद्रप्रसाद गिरीको नेतृत्वमा जनकपुर, नारदमुनि थुलुङ र रामप्रसाद राईको नेतृत्वमा भोजपुर, सर्वधन राईको नेतृत्वमा खोटाङ र सोलुजस्ता जिल्लाहरू चारतारे झण्डाअन्तर्गत स्वतन्त्र घोषित भए।
आफ्नो सफलताले शशक्त भएको मुक्तिसेना अघि बढिरह्यो।
यसको धेरै समयपछि, सिंहका साथीहरूले सीमित र अपर्याप्त गोलीगट्ठा बोकेको मुक्तिसेनाले नेपाल सेनामाथि कसरी विजय प्राप्त गऱ्यो भनेर उनलाई बताएका थिए।
“मुक्तिसेना जहाँ पुग्थे, उनीहरूलाई जनता मुक्तिदाताका रूपमा स्वागत गर्थे। जनताको आतिथ्य र न्यानो माया नपाएको भए मुक्तिसेनाले निकै अगाडि नै पराजित हुनुपर्ने हुन्थ्यो।“