गणेशमान सिंहलाई मोहन शमशेरको इरादामाथि शंका
मोहन शमशेरको पौष २४ गतेको विधान सुधारसम्बन्धी घोषणा सुनेपछि प्रथमत: गणेशमान सिंहलाई श्री ३ महाराजको इरादाप्रति शंका लागेको थियो ।
उनको मस्तिष्कमा घुमिरहेको कुरा थियो, “सुधारविरोधी विचार बोक्ने मोहन शमशेरले यति चाँडै कसरी आफ्नो सोच परिवर्तन गरे?”
यहाँ यो सम्झिन जरुरी छ कि मोहन शमशेर उहि प्रधानमन्त्री थिए जसले पद्म शमशेरले २००४ सालमा गरेको सुधारको घोषणा आफू सत्तामा आएपछि रद्द गरेका थिए । यद्दपि मोहन शमशेरले आफ्नो घोषणामा पद्म शमशेरको सोहि घोषणालाई आधार बनाएका थिए।
गणेशमानलाई शंका लाग्नु स्वभाविक थियो।
सिंहदरबारको जेलभित्र कैद गणेशमान सिंहदरबारमा को आउँछ-जान्छ भनी निकै ध्यान दिइरहन्थे। झिनो भएपनि केहि खबर पाइहालिन्छ कि भन्ने आशामा उनी सिपाहीहरूलाई पनि प्रश्न गरिरहन्थे। केशर शमशेर र विजय शमशेर दिल्लीबाट फर्केपछि उनले सिंहदरबारको गतिविधिको झन् धेरै सोधीखोजी गर्न थालेका थिए।
सिंहका अनुसार यो ऐतिहासिक घोषणा गर्नु केहि दिन अघि मात्र मोहन शमशेरले राज्यभर चलिरहेको सशस्त्र आन्दोलनको निन्दा गरेका थिए। “नेपालका केहि कुपुत्रहरू कुबाटोमा लागेको देख्दा मलाइ ठूलो अफसोच लागेको छ । अहिले नेपालमा क्रान्तिको कुनै कारण छैन। नेपाल सरकारको सुप्रबन्धमा दुनियाँ सुख-शान्तिपूर्वक नै थिए। यी लुटेराहरूको चाँडै दमन भइसक्नेछ, तिनीहरू र तिनलाई सहायता गर्नेलाई कडा कारबाही हुनेछ । यस कुरामा सन्देह मान्नुपर्दैन”, मोहन शमशेरले आफ्नो भारदारीमा गर्वसाथ भनेका थिए।
उहाँका ती शब्दलाई भाइभारदारले जोडदार तालीद्वारा समर्थन गरेका थिए। तीमध्ये धेरै श्री ३ महाराज हुने आफ्नो पालो कुरिरहेका जो थिए।
तर अचानकमोहन शमशेरको विचार परिवर्तन भएको थियो।
“एक सय वर्षदेखि वज्रलेप भएको राणाशासनको जग यति छिट्टै हल्लिएर ढल्न लाग्यो होला भन्ने विश्वास गर्न कोहि तयार भएनन्”, गणेशमानले माथवर सिंहलाई बताउँछन्।
राजा त्रिभुवनले मोहन शमशेको घोषणालाई स्वागत गर्छन्:
मोहन शमशेरले आफ्नो घोषणा सार्वजनिक बनाउन नयाँ तरिका प्रयोग गरे। विगतमा त्यस किसिमका घोषणा पर्चामा छापेर बाँड्ने चलन थियो तर यसपालि मोहन शमशेरको पौष २४ गतेको घोषणा गोरखापत्रमार्फत विशेष इस्तिहारका रूपमा जारी गरियो।
हतारमा काम सम्पन्न गर्नपर्ने भएरगोरखापत्रबाट छपाउनुपरेको थियो भन्ने गणेशमानको धारणा थियो।
अर्को दिन, बीबीसी र अल रेडियोले पनि यस समाचार पाए र आफ्ना श्रोतामाझ प्रसारण गरिदिए। त्यसबेला भारत रहेका राजा त्रिभुवनले मोहन शमशेरको घोषणालाई स्वागत गरे भन्ने खबर गणेशमानसम्म आइपुग्यो।
उनको स्वागतको व्यहोरा यसप्रकार थियो।
“२००७ साल पौष २४ गते रोज २ का दिन हाम्रा सरकारले काठमाडौंमा विधान सुधारसम्बन्धी घोषणा गरेकोलाई हामी स्वागत गरिबक्सन्छौँ। हाम्रो प्यारो र पवित्र मुलुकको सरकारलाई प्रजातन्त्र रूपमा ढाल्ने यो पहिलो र महत्त्वपूर्ण कदम हो। यो अदली बदलीलाई पूरा तौरसँग काममा ल्याउन यथासमयमा हामीबाट एक शाही घोषणा गरिबक्सनेछौँ….”,
त्रिभुवनको समर्थनपछि भारत र बेलायत सरकारले पनि मोहन शमशेरको घोषणालाई स्वागत गऱ्यो।
लण्डनमा आयोजित राष्ट्रमण्डलका प्रधानमन्त्रीहरूको सम्मेलनमा भाग लिइरहएका पं. नेहरूले नेपालका जनतालाई बधाइ दिँदै यस घोषणा प्रजातन्त्रको पहिलो कदम भएको वक्तव्य सार्वजनिक गरे।
त्रिभुवनको समर्थनपछि भारतीय र बेलायती सरकरले पनि सो घोषणालाई मान्यता दिनाले अब यो राजनैतिक देखावटी मात्र होइन भन्ने गणेशमान विश्वस्त भए। मोहन शमशेरले आफूले गरेको वाचा पूरा नगरे अन्तराष्ट्रिय दबाब आउने प्रस्ट थियो।
तर, सिंहका लागि अर्को चिन्ता थपियो । सो घोषणा राजा त्रिभुवन र राणा सरकारबीच भएको जस्तो थियो।
अब नेपाली काँग्रेस र सशस्त्र आन्दोलनको के हुन्छ?
“के मोहनशमशेरले नेपाली काँग्रेसलाई यस चालले पराजित गरेका हुन् त?” सिंहको मनमा प्रश्न उठ्यो।
“नेपाली काँग्रेस किन मौन छ?” उनी व्याकुल हुन थाले।
मातृकाप्रसाद कोइरालको प्रतिक्रिया:
“मनभित्र यस्ता कुराहरूले तुल्बुली मच्चिरहँदा भोक र निद्रा दुवै भाग्थे। मोहन शमशेरको घोषणालाई नेपाली काँग्रेसले कस्तो प्रतिक्रिया दिन्छ सुन्न आतुर थिएँ”, गणेशमान सम्झन्छन्।
“नेपालमा सुधारव्यवस्था ल्याउने निर्णयराणाहरू, राजा त्रिभुवन र भारत सरकारको मिलेमतोमा भएको थियो। राज्यभर सशस्त्र आन्दोलन गरिरहेका नेपाली काँग्रेसको भने सुधार प्रक्रियामा कुनै हिस्सा नै थिएन। के नेपाली काँग्रेस ठगिएकै थिए?” सिंहले विचार गरे।
त्यसैबीच एक राणाले गणेशमानलाई खबर दिए कि भारतबाट प्रकाशित हुने दि हिन्दूमा नेपाली काँग्रेसका सभापति तथा क्रान्तिका डिक्टेटर मातृकाप्रसाद कोइरालाको एउटा प्रतिक्रिया प्रकाशित भएको रहेछ।
सिंहले त्यो समाचारपत्र मगाएर पढे। प्रतिक्रियामा मातृका प्रसाद कोइरालाले राणा, राजा त्रिभुवन र भारत सरकार ‘डिसइलुजन्ड अर्थात मोहभंग’ भएका व्यक्त गरेका थिए।
“नेपाली जनताले हाल नेपाली काँग्रेसको ध्वज र नेतृत्वमा रहि गरिरहेको सङ्घर्ष नेपालको सामन्ती शासन उल्टाउन र नेपालमा पूर्णरूपमा प्रजातन्त्र स्थापित गर्नका लागि हो। मोहनशमशेरको घोषणाले नेपाली जनतालाई वास्तविकतामा शक्ति हस्तान्तरण गरेको छैन”, मातृकाप्रसाद कोइरालाले दि हिन्दूको प्रतिनिधिमार्फत पार्टीको प्रतिक्रिया व्यक्त गर्नुभएको थियो।
सिंहले त्यो प्रतिक्रिया दोहोऱ्याई तेहेऱ्याई पढे। आफ्नो र पार्टीको धारणा एउटै भएकोमा उनी निकै खुशी थिए।
“त्यो रात म आनन्दपूर्वक सुतेँ”, सिंह सम्झन्छन्।