गणेशमान सिंह खुकुरी दललाई सम्झन्छन् र नेपाली काँग्रेसद्वारा युद्धविरामको घोषणा

गणेशमान सिंह खुकुरी दललाई सम्झन्छन्

नेपालमा राजनैतिक परिवर्तन हुन लागेको बेलामा प्रतिगामी तत्वहरूको जन्म भइसकेको थियो । नेपाली काँग्रेसले नेपालभर सशस्त्र आन्दोलन सुरू गरेको थियो र धेरै भूभाग कब्जा गर्न पनि सफल भइरहेको थियो।

काठमाडौँमा नेपाली काँग्रेसको विरोधमा राणाका मान्छेहरूले एउटा नयाँ समूह बनाए। आफूलाई खुकुरी दल भन्ने यो समूहले हातमा नाङ्गा खुकुरी बोक्थे र काठमाडौँवासीलाई आतंकित तुल्याउँथे।

“त्यो जुलुस जुन बाटो भएर जान्थ्यो, त्यो बाटोका पसलहरू धमाधम बन्द हुन्थे र मानिसहरूमा भागदौड मच्चिन्थ्यो । नभाग्नेहरूमाथि हात छोडिन्थ्यो”, माथवर सिंहसँगको कुराकानीमा गणेशमान खुकुरी दललाई सम्झन्छन् ।

गणेशमानले आफैँ अनुभव नगरेपनि पनि यी खबर सिंहदरबारभित्र कैद रहेको बेला सिपाहीहरूबाट पाउँथे ।

गणेशमानका अनुसार, मोहन शमशेरका भाइ बबरशमशेर खुकुरी दलका सुत्रधार थिए। मोहन शमशेरपछि प्रधानमन्त्री हुने पालो उनकै थियो र त्यसैले पनि राणाशासन कुनै हालतमा बचाउन उनी कृतसंकल्प थिए।

“उनको दरबार बबरमहल षड्यन्त्रको अखडा थियो र त्यहिँ खुकुरी दलको सम्पूर्ण योजना तयार हुन्थ्यो”, गणेशमान माथवर सिंहलाई बताउँछन्।

गणेशमानको विचारमा नेपाली काँग्रेसका गतिविधिहरूमा पनि सबै जनता खुसी छैनन् र राणाको समर्थन गर्ने पनि धेरै छन् भन्ने देखाउन उनीहरूले खुकुरी दललाई बढावा दिइरहेका थिए।

राणाहरूले राष्ट्रिय काँग्रेसलाई पनि काठमाडौँ झिकाए। राष्ट्रिय काँग्रेसको नेतुत्व गर्ने  डा. डिल्लीरमण रेग्मीले पहिलेदेखि नै सशस्त्र आन्दोलनको विरोध गर्दै आएका थिए।

खुकुरी दलको आतङ्कले एक नयाँ परम्पराको पनि थालनी भयो – टोल रक्षा संघको। टोल-टोलका जागरूक तरूणहरूले आफ्नो टोललाई खुकुरी दलको हमलाबाट जोगाउन सो संघको थालनी गरेका थिए।

अन्त्यमा, माघको दोश्रो सातामा, हजारौँ काठमाडौँवासीले खुकुरी दल विरुद्ध जुलुस निकाले।

नेहरूसँग वी.पी. कोइराला, सुवर्ण शमशेर र मातृका प्रसाद कोइरालाको भेट:

एक दिन नर शमशेर गणेशमानलाई भेट्न आए । उनी सिंहसँग बेलाबेला भेटघाट गरेर क्रान्तिको खबर सुनाउँथे । नर शमशेरले नै सिंहलाई उत्तम विक्रमले आफ्नो छोरा गुमाएको र क्रान्तिकारीहरूले भैरहवा कब्जा गर्न नसकेको बताएका थिए।

नर शमशेरले यसरी आएर खबर सुनाउनु पछाडिको रहस्य केहि होला भन्ने शंका गणेशमानलाई थियो । आखिर ०९७ सालमा प्रजा परिषद्का सदस्यलाई पक्राउ गरेपछि केरकार गर्ने पहलमान नर शमशेर नै थिए। तर कालान्तरका घटनाहरूबाट गणेशमानलाई यो स्पष्ट भयो कि नर शमशेरले स्वच्छ मनले ती समाचारहरू सुनाएका रहेछन्।

भैरहवा कब्जा नहुनाको कारण पनि गणेशमानले नर शमशेरबाटै थाहा पाए।

मोहन शमशेरको घोषणा र राजा त्रिभुवनको सो घोषणाको समर्थनको समयमा मातृका प्रसाद कोइराला नौतनवामा थिए। उनी भैरहवा मोर्चामा उत्पन्न क्रान्तिकारीबीचको झगडा मिलाउन त्यहाँ गएका थिए।

भैरहवा मोर्चामा डा. के. आई. सिंह र गोपाल शमशेरबीच विवाद उत्पन्न भएकाले भैरहवाको क्रान्तिमा असर परेको थियो। गोपालशमशेरले नौतनवामा आफ्नो क्याम्प बनाएका थिए जुन राज्य शक्तिको पहुँचबाहिर पर्थ्यो र उनले राणाका मान्छेलाई कुनै पनि बेला हमला गर्न सक्थे। यता के. आई सिंह भने बिना कुनै पूर्वयोजना लड्न निस्कन्थे। त्यसैले दुईबीच विवाद सृजना भएको थियो र भैरहवा कब्जा हुन सकेको थिएन।

मातृका प्रसाद कोइराला नौतनवाबाट गोरखपुर फर्केपछि उहाँलाई दिल्ली आउने निम्ता आइसकेको थियो। बी.पी. कोइराला र सुवर्ण शमशेरलाई पनि यस्तै निम्ताहरू आएका थिए।

यसरी यी तीन दिल्लीतर्फ लागे र नेहरूलाई भेटे । नेहरू त्यतिबेला मध्यस्तको भूमिका निभाउँदै थिए।

नेपाली काँग्रेसद्वारा युद्धविरामको घोषणा:

सिंहका अनुसार भारतीय प्रधानमन्त्री नेहरू मोहन शमशेरको घोषणा नेपाली काँग्रेसलाई स्वीकार गराउन आतुर थिए। यता चीनको लालसेना नेपालको उत्तरस्थित तिब्बततर्फ लगातार बढिरहेको थियो। नेहरूको मान्यता थियो कि नेपालमा लामो समयसम्म अव्यवस्था कायम रहिरहेमा चीन पनि त्यसमा मुछिनसक्ने सम्भावना हुन्छ र नेपाल साम्यवादको निम्ति मलिलो माटो बन्न जान्छ।

नेपाली काँग्रेससँग धेरै विकल्प थिएन। राजा र राणाहरूबीच भइसकेको सम्झौतालाई नमानी थप वार्ता हुन सम्भव थिएन। सो वार्ता नभइ नेपालमा प्रजातान्त्रिक सुधारको जग कमजोर हुने थियो।

तर अर्कोतर्फ यदि आन्दोलन कायम गरे, भारतको समर्थनबिना चाहिने पूर्वाधार मौजुद थिएन जसकारण क्रान्ति पक्कै रोकिने अवस्थामा पुग्थ्यो।

त्यसैले चाहँदा नचाहँदै २००७ साल माघ १ गते नेपाली काँग्रेसले युद्धविरामको घोषणा गऱ्यो।

मातृका प्रसाद कोइरालाले अल इण्डिया रेडियोद्वारा प्रसारित गरेका वक्तव्यको सारांश यस्तो थियो:

“नेपालका प्रधानमन्त्रीको घोषणा र त्यस सम्बन्धको नेपाल नरेशको वक्तव्यबाट उत्पन्न भएको नवीन परिस्थितिमा भारत सरकारसँग परामर्श गरेपछि भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूको अपील मानी कुराकानीका निमित्त अनुकूल वातावरण बनाउन हामीले चलाएको आन्दोलन रोक्ने निश्चय गरेका छौँ। अत: हामी सबै कार्यकर्ताहरूलाई निर्देश गरिरहेका छौँ कि समस्त विरोधी कारबाहीलाई स्थगित गरियोस्। हामी नेपालका समस्त नागरिकहरूसँग पनि शान्ति स्थापानार्थ सघाउ पुऱ्याइदिन अनुरोध गर्दछौँ।

नेपालका समस्याहरूको समग्रतामा समाधान खोज्ने नेपाली काँग्रेसको प्रयास शान्तिपूर्ण ढङ्गले पूरा हुनेछ भन्ने हामीलाई विश्वास छ। हामी सम्पूर्ण कार्यकर्ताहरूलाई अनुशासित रहेर शान्ति कायम गर्ने काममा लाग्न अपील गर्दछौँ।“

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर