सुधार घोषणामाथि सिंहको अविश्वास, राजबन्दी रिहाई, सिंहलाई फेरि भद्रगोल जेल

मोहन शमशेरको सुधार घोषणामाथि सिंहको अविश्वास

२००७ सालको माघ १ गते मातृका प्रसाद कोइरालाले नेपाली काँग्रेसको क्रान्ति स्थगित गर्ने घोषणा सुनाए। कोइरालाले रेडियो प्रसारणमार्फत पार्टीका सबै सदस्यलाई सशस्त्र आन्दोलन रोक्न आह्वान गरेका थिए।

त्यसबेला सिंहदरबारको जेलमा कैद सिंहलाई भने त्यो खबर सुनेर आफ्नो पार्टीमाथि अविश्वास हुन थाल्यो। कतै राणाहरूले नेपाली काँग्रेसलाई फसाए भन्ने उनलाई भान परेको थियो।

“आखिर २००७ सालको घोषणा गर्ने मोहन शमशेरले नै पद्मशमशेरले २००४ सालमा गरेको सुधार घोषणालाई उल्टाएका थिए”, आफ्नो अविश्वासको कारण गणेशमान माथवर सिंहलाई सुनाउँछन्।

त्यसमाथि, “नेपाली काँग्रेसले अधिराज्यको धेरै भू-भाग कब्जा गरिसकेको थियो। किन क्रान्ति त्यसबेला रोक्नु?”, सिंहका मनमा उठेका प्रश्न उनी सम्झन्छन्।

सिंहको आशंका बढाउने अर्को घटना भयो। राणा सरकारले राजा त्रिभुवनको अपील भनेर एउटा पर्चा देशभरि हवाईजहाजद्वारा छऱ्यो। त्यसमा मुक्तिसेनाका जवानहरूलाई हतियार बुझाउन अपील गरिएको थियो।

“एकजना सिपाहीले मलाई त्यो पर्चा ल्याएर पढ्न दिएको याद छ”, सिंह बताउँछन्।

“त्यो पर्चा पढेपछि झन् मनमा प्रश्न उठ्यो। हाम्रो क्रान्तिको आह्वानमा होमिएर शहीद बनेका, यातना पाएका हजारौँका परिवारलाई के जवाफ दिने?”

“मलाई लाग्यो कि नेपाली काँग्रेसले क्रान्ति स्थगन गरेर जनतालाई, आफ्ना कार्यकर्ताहरूलाई र आफ्नो लक्ष्य तथा उद्देश्यलाई धोखा दिएको थियो। राणा प्रधानमन्त्रीको घोषणामा केहि ठोस आधार नहुँदा-नहुँदै पनि क्रान्ति रोकिने निर्णय कसरी लिइयो?”, काठमाडौँको चिसो खोरमा थुनिएका सिंहलाई बारम्बार यहि चिन्ताले सताइरह्यो।

“नेपाली काँग्रेसले मात्र होइन, स्वयम् राजा त्रिभुवनले पनि अन्तराष्ट्रिय कूटनीतिको कारण यी निर्णय लिनुपरेको भन्ने मलाई त्यसबेला प्रष्ट भएन।“, राजा र काँग्रेससँग मोहन शमशेरको घोषणा स्वागत गर्नबाहेक अरू विकल्प नभएको कुरा उनी बताउँछन्।

राजबन्दी रिहाई

सिंहलाई आशंका भएपनि राणा सरकारले वाचा अनुरूप सुधारको घोषणालाई कार्यान्वयन गर्न थाल्यो।

माघ २ अथवा ३ गते, सिंहलाई एक सिपाहीले दिएको गोरखापत्रमा सरकारको इस्तिहार छापिएको थियो।

पढ्दै जाँदा सिंह छक्क परे। इस्तिहारमा मौलिक हकको कुरा गरिएको थियो जसमा नेपाली जनतालाई वक्तृता दिन, सभा संघ खडा गर्न र प्रकाशन गर्न अनुमति दिइएको थियो जसमा त्यसअघिसम्म प्रतिबन्ध लगाइएको थियो। अर्को कुरा, राणा सरकार पहिलो यस्तो सूचना भित्तामा पर्चा टालेर निकाल्थे अब विज्ञप्तिको नौलो चलन चलाउन थालिएको थियो। सिंहलाई लाग्यो सायद यो पनि राणाको सुधारको पक्ष होला।

दुई दिनपछि त्यहि सिपाहीले अर्को खबर ल्यायो – राजबन्दी रिहाईको।

सरकारले तीनथरि बन्दीहरूलाई रिहा हुने राजबन्दीको सूचीमा राखेका थिएनन्:

  • १९८६ सालको गाथगादी काण्डमा परेकाहरू, जसमध्ये जीवित खड्गमान् सिंह बस्नेत थिए।
  • इन्द्रजात्रा काण्डमा राणा शासकहरूलाई समाप्त पार्ने योजनामा सरिक भएको आरोप लागेकाहरू जसमा सुन्दरराज चालिसे, तोरण शमशेर राणा, दिलमान सिंह, मोहन विक्रम शाह, गणेशमान सिंह, बद्री विक्रम थापा आदि थिए।
  • प्रहरीको मोटर जलाएको आरोप लागेका दमनराज तुलाधरलगायत सातजनाको डफ्फा।

तर, कैयौँ राजबन्दीहरूले खड्गमान सिंह र प्रहरी मोटर जलाएका अरूलाई पनि रिहा नगरी जेलबाट ननिस्किने माग गरे। अन्त्यत: सरकारले उनीहरूको माग स्वीकार गरेर तिनलाई पनि रिहा गऱ्यो।

एक दिन, प्रजापरिषद्का नेता टंकप्रसाद आचार्य लगायत सबै सदस्यहरू पनि छुटे भन्ने खबर सिंहसम्म आइपुग्यो।

“त्यो सुनेपछि मैले शहीद गङ्गालाल, दशरथ चन्द र धर्मभक्तको अनुहार झलक्क सम्झेँ। यदि उनीहरू जीवित हुँदा हुन् त आज उनीहरू पनि रिहा हुन्थे”, प्रजापरिषद्का आफ्ना साथीहरूलाई गणेशमान सिंह भावुक भएर सम्झन्छन्।

फेरि भद्रगोल जेल:

अरू रिहा हुँदै गर्दा, इन्द्रजात्रा काण्डमा सामेल भएकालाई मात्र कैद गरेर राखिएको थियो।

त्यस समयताका मोहन शमशेरले इन्द्रजात्रा काण्डको आरोपमा परेका सबैलाई मृत्यु दण्ड दिन चाहेको तर राजा त्रिभुवनको अनुमति नपाएको हल्ला चलेको थियो। छुट्न बाँकी भएका सबैमा अन्योल छाएको थियो।

एक दिन माघको मध्यतिर सिंह र उनका साथीहरूलाई एकै ठाउँ भेला गरियो। आफ्नो लुगा लगाएर गुण्टा मिलाउने सूचनापछि उनीहरूलाई लागेको थियो कि उनीहरू पनि रिहा हुँदैछन्।

गणेशमान सहित सुन्दरराज चालिसे, दिलमान सिंह, कुलमान सिंह, राजदास श्रेष्ठ, इन्द्रमान जोशी, चेतबहादुर क्षेत्री, चरित्र बहादुर कार्की, होम बहादुर देउजा, माधव र अगम बहादुर थापालाई ट्रकमा हालियो।

“पुलिसको जरी जलाएको आरोप लागेका दमनराज तुलाधरलगायत सात जनाको डफ्फालाई भद्रगोल जेलबाट निकालेर इन्द्रचोकमा पुऱ्याएर प्रहरीले छोडेको थियो। हामीलाई पनि त्यहिँ छोड्लान् भन्ने लागेको थियो।”, सिंह सम्झन्छन्।

ट्रकको बारबाट सिंहले बाहिर सडक देख्न सक्थे। सडक खालि थियो। ट्रक भद्रकाली मन्दिर भएर त्रिपुरेश्वरतिर लाग्यो।

“सायद कालिमाटीमा छाड्ने होलान्”, सिंहले सोचे।

तरट्रक टुँडिखेल कटेर सदर झ्यालखानाको ढोकामा पुगेर रोकियो।

“अनि पो थाहा भयो कि हामी जेल पो चलान भएका रहेछौँ। त्यसरी म फेरि त्यही भद्रगोल जेल पुगेको थिएँ जहाँबाट २००१ सालमा पर्खाल नाघेर भागेको थिएँ।“

“भद्रगोल जेलभित्र पसेपछि मलाई ठूलो राहत मिलेको अनुभव भयो। मलाई आफ्नै पार्टीले क्रान्ति स्थगित गरेको पनि चित्त बुझेको थिएन। त्यस अर्थमा मलाई जेलमुक्त नगरेर राणाहरूले ठूलै गुन लगाए जस्तो लाग्यो।“, सिंह थप्छन्।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर