राजा त्रिभुवन, राणाहरू र नेपाली काँग्रेसबीच त्रिपक्षीय वार्ता, गणेशमानद्वारा मन्त्रीको पद अस्वीकार

राजा त्रिभुवन, राणाहरू र नेपाली काँग्रेसबीच त्रिपक्षीय वार्ता

मोहन शमशेरको घोषणापछि, राजा त्रिभुवन, राणा सरकार र नेपाली काँग्रेसबीच त्रिपक्षीय वार्ता आरम्भ हुन लागेको थियो।

नेपाली काँग्रेस, र विशेषगरि बी.पी. कोइरालाले सो वार्ता नेपालभित्रै अर्थात विराटनगरमा हुनुपर्छ भनेर प्रस्ताव राखे। तर राजा त्रिभुवन लगायत वार्तामा भाग लिने अरू नेताहरूको आवासको असुविधा र सुरक्षाको कारण देखाएर भारत सरकारले त्यो प्रस्ताव अस्वीकार गऱ्यो।

आउने कैयौँ वर्षसम्म बी.पी. कोइरालाले भनिरहन्थे कि यदि सो वार्ता नेपालमा भइदिएको भए नेपालको राजनैतिक अवस्था बिल्कुल फरक दिशामा मोडिने थियो।

यसरी वार्तामा राजा त्रिभुवनलाई तत्कालीन युवराज महेन्द्र, अधिराजकुरमार हिमालय र वसुन्धाराले साथ दिए। राणा सरकारलाई मेजर जर्नेल विजय शमशेर र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले प्रतिनिधित्व गरे। नेपाली काँग्रेसका तर्फबाट मातृकाप्रसाद कोइराला, बी.पी. कोइराला, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई, महेन्द्र विक्रम शाह, महावीर शमशेर, विश्वबन्धु थापा र भरतमणि शर्मा वार्तामा सम्मिलित भए।

भारतको भूमिका मध्यस्थको थियो। तैपनि भारतले आफ्नो स्वीकृतिबिना एक पक्षले अर्कोसँग भेट्न समेत नसक्ने स्थिति खडा गरेको थियो। वार्तामा भाग लिइरहेका सबैसँग भारतले छुट्टै सम्बन्ध कायम राखिरह्यो।

त्यसको बाबाजुद त्रिपक्षीय वार्ता सफल भयो किनकि त्यहाँ उपस्थित तीनै पक्ष राजा त्रिभुवनलाई संवैधानिक शासकका रूपमा खडा गराउने विचारमा सहमत थिए।

नेपाली काँग्रेसले अरू मागहरू पनि राखे। पार्टीले मन्त्रीमण्डलमा आफ्नो पनि स्थान हुनुपर्ने माग गऱ्यो। मन्त्रीहरू प्रधानमन्त्रीको नभइ राजाको अन्तर्गत हुनपर्ने र बन्ने मन्त्रीमण्डलमा नेपाली काँग्रेसको बाहुल्यता हुनुपर्ने माग पनि राखियो। अन्त्यमा पार्टीले राजनैतिक सुधारका घोषणा राणा प्रधानमन्त्री मोहन शमशेरले नभई राजाले सुनाउनुपर्ने माग राख्यो।

गणेशमानले मन्त्रीको पद अस्वीकार गरे:

अरू साथीहरूसँग भद्रगोल जेलमा कैद गणेशमान सिंहलाई नेपाली काँग्रेसले क्रान्ति स्थगित गरेर त्रिपक्षीय वार्तामा गएको चित्त बुझेको थिएन। यस्तो महत्वपूर्ण घडिमा आफू जेलभित्रै भएकोमा पनि उनलाई निकै खेद थियो।

“म आफ्नो विचार र दृष्टिकोणलाई साथीहरूबीच राखेर छलफल गर्न असमर्थ थिएँ”, गणेशमान माथवर सिंहलाई बताउँछन्। “आफू कुँजो भएर ती सबै टुलुटुलु हेर्न विवश बनेको थिएँ।“

यस्तैमा सिंहले खबर पाए कि बी.पी. कोइरालाले नयाँ मन्त्रीमण्डलको एउटा पदमा गणेशमानको नाम पनि प्रस्ताव गरेका रहेछन्।

“राणा-काँग्रेसबाट पाँच-पाँचजना सामेल गरेर दसजनाको मन्त्रीमण्डल बनाउने निर्णय सम्झौता वार्तामा भएको रहेछ। बी.पी. कोइरलाले मलाई जेल बस्दाबस्दै मन्त्री भएको प्रचार गराउन चाहनुहुँदोरहेछ।“

सिंह अन्योलमा परे । उनले सो प्रस्ताव अस्वीकार गरेको सार्वजनिक वक्त्तव्य दिनुपर्ने थियो र त्यसले वार्तामा कस्तो असर पर्ने हो भन्ने भन्न सकिन्नथ्यो।

यता जेलमा सँगै भएका सुन्दरराज चालिसेले भने गणेशमानलाई मन्त्री पद ग्रहण गर्ने जोड दिन थाले।

“तपाईं हाम्रो नेता हुनुहुन्छ, तपाईंले त्यो पद स्वीकार गर्नैपर्छ”, चालिसेले सिंहलाई भने।

“जुन मोहनशमशेरको शासन उल्टाउन हामीले क्रान्ति गरेका हौँ, त्यहि मोहन शमशेरलाई प्रधानमन्त्री मानेर मैले मन्त्री पद कसरी स्वीकार गर्ने? के जवाफ दिने शहीदहरूलाई?” सिंहले भने।

“सम्झौतामा भाग लिने निर्णय पार्टीले परिस्थितिको मूल्यांकन गरेरै लिएका होलान्। तपाईंलाई मन्त्री बनाउने निर्णय पनि पार्टीले नै गरेको हो। पार्टीको निर्णय तपाईं हामी सबैले मान्नैपर्छ”, चालिसेले जवाफ दिए।

“तपाईंले मन्त्री बन्न अस्वीकार गर्नुभयो भने काठमाडौँका जनता ठगिनेछन्”, चालिसेले थपे।

तर सिंह भने मानेनन्। उनले मन्त्री पद अस्वीकार गर्दै मातृकाप्रसाद कोइरालालाई पत्र लेखे।

सिंहले मातृकाप्रसाद कोइरालालाई पत्र लेखे:

सुन्दरराज चालिसेसँग छलफल गरेपछि सिंह आफ्नो पत्र लेख्न बसे। सो पत्रमा उनले मन्त्रीपद अस्वीकार गर्ने निष्कर्षमा पुगेको कारणको जानकारी गराए र आफ्नो बदला सुन्दरराज चालिसेलाई मन्त्री पदमा नियुक्त गर्न सिफारिस दिए।

पत्र बडो जतनसाथ गोप्य रूपमा पास गर्नुपर्थ्यो। सिंहले पत्र सुन्दरराज चालिसेलाई सुम्पिए र त्यो पत्र अर्को विश्वासीला साथी त्रिपुरवरलाई दिन लगाए।

तर त्यो पत्र मातृकाप्रसाद कोइरालासम्म पुग्नै पाएन। सिंहले पछि मात्र थाहा पाए कि सुन्दरराज चालिसेले सो पत्र पठाउँदै पठाएनेछन्।

“मलाई पछि थाहा भयो कि मैले पत्र जसलाई सुम्पिएको थिएँ उनीहरूले सामूहिक रूपमा पत्र नपठाउने निर्णय लिएका रहेछन्। इन्द्रजात्रा काण्डको आरोपमा मसँगै कैद सुन्दरराज चालिसे लगायतका अरू साथीहरूलाई डर थियो कि मैले मन्त्री पद अस्वीकार गरेमा पार्टीबाट कुनै किसिमको समर्थन आउने थिएन”, गणेशमान माथवर सिंहलाई बताउँछन्।

यसरी मातृकाप्रसाद कोइरालाकहाँ पत्र पुगेन।

यता, बी.पी. कोइरालाले गणेशमान सिंहको नाम मन्त्रीको पदका लागि प्रस्ताव गरेको राणाहरूलाई चित्त बुझेको थिएन। उनीहरूलाई जेलमै भएका सिंहलाई मन्त्री बनाउँदा अरू थप समस्याहरू आउन सक्ने चिन्ता पनि थियो।

त्यसैले बी.पी. कोइराला गणेशमानलाई मन्त्री बनाउने विचारबाट पछि हट्न बाध्य भए। तर यता सिंहको रिहाईको तयारी भइरहेको थियो।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर