जेलमुक्त सिंह : दश वर्षपछिको स्वतन्त्रता

भद्रगोलका आखिरी दिनहरू:

माघको महिनाले बिदा लिन लागे पनि जाडोको जोड भने कम भएको थिएन। भद्रगोल जेल होचो र पाखो परेको ठाउँमा भएकाले घामको दर्शन गर्न आधा दिन कुर्नुपर्थ्यो। आधा दिन कुर्दा पनि घाम मिलिक्क गर्न नपाउँदै जान्थ्यो।

गणेशमान र जेलका अरू कैदीहरू फाल्गुनको पर्खाइमा थिए तर माघ महिनाको अन्तिम साता दिन-रात झरी परेर उनीहरूको बिजोक बनायो।

“त्यो वर्षको माघेझरीले काठमाडौं उपत्यकाको शेष भागमा के के गऱ्यो, त्यो त भन्न सक्तिनँ तर जेलभित्र जाडो असह्य थियो। कैयौँ कैदीहरूसँग न सिरक थियो न डसना। माया लागेर मैले आफ्नो सिरक लगेर उनीहरूलाई दिएँ तर त्यस्तो झरीमा मेरो के हाल भयो होला, त्यो कल्पनाबाहिरको कुरा थियो। तै साथीहरूले मेरो दशा देखेर आफ्नो सिरक दिए र मेरो उद्धार गरे”, गणेशमान माथवर सिंहलाई बताउँछन्।

गणेशमान दुईपटक भद्रगोल जेलमा कैद भएका थिए तर दोश्रो पटक भने उनको बसाइँ बिल्कुल फरक थियो।  पहिलो पटक पेटभर खाना खान पाइँदैनथ्यो भने दोश्रो पटक थरिथरिका परिकार पाक्थ्यो। धेरैजसो खानेकुरा बाहिर भएका कैदीका परिवारबाट आउँथे तर गणेशमान जेल बस्दा आफ्नो परिवारलाई दु:ख दिनुहुन्न भनेर कहिल्यै केहि माग्दैनथे।

तर आफै पनि भर्खर जेलबाट रिहा भएका गणेशमानका साख्य भाइ शंकरमान भने कहिले खानेकुरा घरमै तयार पारेर ल्याउँथे र कहिलेकाहिँ तयार पार्नुपर्ने सामान लिएर आउँथे। उनी आफै जेल बसेकाले बुझेर खानेकुरा पठाउँदा अरू कैदीहरूलाई पनि पुग्नेगरि पठाउँथे।

“हाम्रो भान्छामा दुई टाइम चिया पनि बन्थ्यो। बिहान-बेलुका चिया पिउँदै हामी राजनीति र अरू राष्ट्रिय-अन्तराष्ट्रिय मामिलामा छलफल गर्थ्यौँ”, सिंह भद्रगोलको आफ्नो अनुभव सुनाउँछन्।

सिंहदरबारमा एक्लै बस्नुभन्दा भद्रगोलमा उनलाई निकै रमाइलो महसुस हुन्थ्यो। त्यहाँ कैदीहरूलाई बढी स्वतन्त्रता थियो। उनीहरूलाई खाना आफै बनाउन, अरू कैदीहरूलाई भेट्न, कुराकानी गर्न छुट थियो।

उनीहरू छलफलको मुख्य विषय भने दिल्लीमा राणा सरकार, राजा त्रिभुवन र नेपाली काँग्रेसबीच भइरहेको त्रिपक्षीय वार्ता हुन्थ्यो।

जेलमुक्त सिंह(दश वर्षपछिको स्वतन्त्रता):

२००७ साल फाल्गुन २ गते भद्रगोलका कप्तानले सिंहलाई बोलाए।

“म घाम तापेर भर्खर पसेको थिएँ। साथीहरू चिया बनाउने तर्खरमा थिए। कप्तानले बोलाउनुभएको छ भन्ने खबर लिएर नाइकेहरू आएका थिए“, सिंहले भने।

कप्तानको अफिस जेलको मूलढोकाभन्दा माथिको तल्लामा थियो। भऱ्याङ चढ्नु अगावै घन र छिना बोकेर एक कामी उनको नेल काट्न बसेका थिए।

त्यहाँ पुग्नेबित्तिकै सिभिल ड्रेसका अफिसरले गणेशमानको नेलतिर इशारा गरेर फुकाल्ने आदेश कामीलाई दिए। सिंह अच्चमित भएर सोधे – “किन?”

“तपाईं छुट्दै हुनुहुन्छ।“, अफिसरले जवाफ दिए।

त्यो सुन्ने बित्तिकै गणेशमानको आङ सिरिङ्ग भयो। नेलबाट मुक्त भएपछि उनी जुरुक्क उठ्न खोज्दा झण्डै लड्न लागे। उनको पाइला यति हलुका भएको थियो कि उनले चाहेको ठाउँमा टेक्न पनि सकिरहेका थिएनन्। हर्षले उनको गला पनि अवरूद्ध भएको थियो।

कप्तानको अफिसमा छुटकारा पूर्जी तयार थियो। सो पूर्जीमा सही गरेपछि कप्तानले बडो विनम्र भएर उनी वा उनका सिपाहीहरूबाट केहि तलमाथि भएकोमा क्षमा मागे।

कप्तानले आफ्ना कुरा राखिराख्दा सिंहले बीचमै सोधे, “त्यसो भए म घर गए भयो त?”

“अब घर पाल्नुभए हुन्छ”, कप्तानले जवाफ दिए।

टुँडिखेलमा भीड जम्मा:

एक दिन अचानक, गणेशमान भद्रगोल जेलबाट रिहा भए। उनी निर्धक्क नेपालको सडकमा हिँडेको दस वर्ष पुगेको थियो। उनले त्यस समयको चार साल भद्रगोलबाट भाग्नुअघि बिताए। जेलबाट भागेपछि ६ वर्ष उनी भूमिगत बसे, र फेरि पक्राउ परेपछि सात महिना कैद भए। २००७ साल फाल्गुन २ गते उनी एक स्वतन्त्र व्यक्ति भए।

जेलबाट निस्किनु अघि सिंहले कप्तानलाई जेलमा सँगै बसेका साथीहरूलाई बिदा माग्न दिन आग्रह गरे। तर छुटकाराको पूर्जी सही गरिसकेपछि भित्र जान नदिने चलन थियो त्यसैले उनलाई त्यहीँबाटै घर पठाइयो। उनले सो भेट र आफ्ना सरसामानहरू केहि दिनमा मात्र पाउने भए।

सिंहलाई त्यस दिनको स्पष्ट सम्झना छ। “आकाश छ्याङ्गै उघ्रेको थियो र काठमाडौं कविको कल्पनाको अलकापुरी जस्तै देखिएको थियो”, सिंह बताउँछन्।

जेलबाट छुटेर मनमा अनेक कुरा खेलाउँदै एक्लै हिँडिरहेका सिंहलाई हस्याङफस्याङ गर्दै आएका उनका केहि साथीहरूले बाटोमा भेटे।

“गणेशमानजी, एकछिन यतै पर्खनुपऱ्यो”, टोलीमा भएका त्रिपुरवरले भने।

“यता? घरै गएर पर्खे हुन्न?” गणेशमानले प्रश्न गरे।

“घरबाट सबै आउँदै हुनुहुन्छ, सगुन थापेर मात्र जाऔँहोला”, जवाफ आयो।

हिच्किचाउँदै सिंहले उनको अनुरोध स्वीकारे।

केहि छिन कुरेपछि कोहि आइपुगेन त्यसैले त्रिपुरवरले टुँडिखेलको खरीबोटमा गएर पर्खने सल्लाह दिए।

उनीहरू त्यहाँ गएर बस्न पनि पाएका थिएनन्, वरिपरि मानिसहरू उनीहरूलाई घेर्न आइपुगे।

“त्यसबेलाटुँडिखेल हिजोआजको जस्तो खण्डित थिएन। रानीपोखरीदेखि अहिलेको दशरथ रङ्गशालासम्म एकाम्य र एउटै टुँडिखेल थियो। मैले ऊ पर भोटाहिटी, महांकाल, न्यू रोड र सुन्धाराबाट जुलुस आएको दृश्य देखिरहेको थिएँ।”

साँझ ४ बजेसम्म टुँडिखेल खचाखच भरिसकिएको थियो। उनीहरू सबै गणेशमानलाई हेर्न आएका थिए।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर