जनताले सिंहलाई ‘वीर गणेशमान – हाम्रो नेता’को उपाधि दिए

काठमाडौंवासीले सिंहलाई आफ्नो नेता बनाए:

गणेशमानले खरीबोटबाट जमलदेखि त्रिपुरेश्वरसम्मबाट हजारौँ मान्छे टुँडिखेलमा ओइरिरहेका हेरिरहेका थिए। साँझ बिस्तारै ओर्लन थालेको थियो।

सिंहका साथीहरू त्यहीँबाट जुलुस निकाल्न हतारिन थाले। अवीर र मालाको भारीले थिचिनै लागेका सिंहलाई पनि अब त्यहाँबाट हिँड्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो। त्यसैले तुरुन्तै एउटा जीप तयार पारेर उनीहरू खरीबोटबाट बिस्तारै निस्किए। जीपमा तोरण शमशेर, गणेशमान र अरू केहि साथीहरू थिए।

सिंहले अगाडि र पछाडिको भीडको सङ्ख्या अन्दाज गर्न खोजे तर सकेनन्। जीप भने अगाडि सर्न निकै मुस्किल परिरहेको थियो। पाइलैपिच्छे मानिसहरू जीपमा झुण्डिएर सिंहलाई अवीर-माला लगाइदिन्थे।

“काठमाडौंमा खुला रूपमा यति निर्धक्क नारा लगाएर जुलुस निकाल्न पाएको यो पहिलो अवसर थियो। दिल्ली सम्झौता भइसकेको र त्यसबाट राणाहरू तल परेको कुरा सर्वत्र फैलिसकेको थियो। मानिसहरू आफ्नो राणाविरोधी भावना सकेसम्म ठूलो स्वरमा पोखिरहेका थिए”, गणेशमान आफ्नो रिहाईको दिन स्मरण गर्दछन्।

महाँकालस्थान नपुग्दै जुलुस मोडियो र न्युरोड तर्फ लाग्यो। त्यहाँ पनि हजारौँ मानिस देख्दा उनी छक्क परे। “जुलुस गुज्रने बाटोको दायाँ-बायाँको पेटी, झ्याल, बार्दली र कौसीसहितको छाना पनि भरिएको थियो”, भीडलाई सम्झँदै उनी भन्छन्।

“त्यसबेला लगभग पुरै काठमाडौं जुलुसमा निस्किएको थियो भन्ने अनुमान गरिन्छ। पार्टीको राम्रो सम्पर्क संगठन र मानिसहरू आवतजावत गर्न खासै साधन पनि नभएको समयमा त्यति मानिस जम्मा हुनु साँच्चै आश्चर्यको विषय थियो।

झ्याल र बार्दलीमा बसेका महिलाहरूको हातमा पूजाको थाली थियो र जीप आफ्नो घरको अगाडि आएपछि उनीहरू अवीर, अक्षता र फूल छर्थे”, सिंह थप्छन्।

काठमाडौंका जनताले सिंहलाई ‘वीर गणेशमान – हाम्रो नेता’को उपाधि दिए:

टुँडिखेलबाट अघि बढ्दै गर्दा भीडले विभिन्न नारा लगाइरहेको थियो जसमा धेरैजसो नाराहरू क्रान्तिका थिए। नाराहरू सारा काठमाडौंभरि गुञ्जिएको छ भन्ने गणेशमानलाई महसुस भइरहेको थियो।

तर न्युरोडबाट जुलुस प्रवेश गर्न लाग्दा गणेशमानको कानमा अर्को नारा पऱ्यो।

“वीर गणेशमान – जिन्दावाद”

उनलाई यो नारा सुन्दा निकै कर्णप्रिय, आनन्ददायी लाग्यो। जति सुन्यो त्यति सुनिरहुँ जस्तो। तर त्यसपछिको नाराले भने उनको आङ सिरिङ भयो।

“हाम्रो नेता – जिन्दावाद”

“जुलुस सुरू भएदेखि म एक प्रकारले लट्ठ परिसकेको थिएँ। तर त्यो नाराले मलाई झसँग तुल्यायो। मैले आत्तिएर साथीहरूलाई त्यो नारा रोक्न लगाउन आग्रह गरेँ, तर उनीहरू मानिरहेका थिएनन्”, सिंह सम्झन्छन्।

“जनताको उत्साह रोक्नुहुन्न दाइ, नारा लगाउन दिनुहोस्”, गणेशमानका साथीहरूले भने।

“मैले कहिल्यै आफूलाई नेता ठानेको थिइनँ। मैले राजनीतिक गतिविधिमा भाग लिनुभन्दा अघि क्षणभर त्यस्ता कुरा गरेको अपवादलाई छाडेर कहिल्यै महत्वाकांक्षा प्रदर्शित हुने काम गरिनँ। मेरो उद्देश्य राणाशासनको अन्त्य र प्रजातान्त्रिक शासन व्यवस्थाको स्थापना थियो। के म नेता बन्न साँच्चै तयार थिएँ?” उनका मनमा धेरै कुरा खेल्न थाले।

पछाडि, गणेशमानको नारा अझै ठूल्ठूला स्वरमा गुञ्जिरहेको थियो।

बल्लबल्ल भएको परिवारसँगको मिलन:

नारा लागिरहेकै थियो। सिंहको जीप वसन्तपुर पुग्दा त्यहाँ पनि मानिस टनाटन थिए। मानिसहरू ठाउँ-ठाउँमा स्थानीय बाजागाजासहित उपस्थित थिए। उनीहरूसँग टोलका भद्र-भलाद्मी तथा वृद्ध महिलाहरू सगुन दिन बसेका थिए। नेवारी समुदायमा कुनै सफलता हासिल गर्न निस्किँदा र फर्कँदा सगुन दिने चलन छ। त्यसरी दिने सगुनमा अण्डा, माछा, भुटेको मासु, अदुवा, सियाबजी र रक्सी समावेश गरिएको हुन्छ।

दायाँ हातमा सगुनस्वरूपको खाद्यपदार्थ र बायाँ हातमा रक्सी राखिन्छ। सगुनको अण्डा टोकेर तीनपटक रक्सीको घुट्को पिउने र तीनैपटक थपिदिने क्रम सकिएपछि सगुनको प्रक्रिया पूरा हुन्छ।

वसन्तपुरबाट शुरू भएको सगुनको क्रम गणेशस्थान, प्याफेल, नरदेवी, टंगाल, क्षेत्रपार्टी, असन, रानीपोखरी, दरबार हाई स्कूल हुँदै फेरि टुँडिखेल पुग्यो।

टुँडिखेल पुग्दा पनि भीडको उत्साह कम भएको थिएन। त्यसैले उनीहरू गणेशमानलाई घर नै छोड्न हिँडे। यसरी भोटाहिटी इन्द्रचोक हुँदै सिंह किलागलको आफ्नो घर पुगे।

दस वर्ष अघि पक्राउ पर्दा सिंह यट्खाको मूलघरमा बस्थे। सिंह फिर्ता आउने बेला उनको परिवार किलागलमा बस्न थालेको थियो। यो घर उनका लागि पूर्णरूपमा नयाँ थियो।

तर उनलाई थाहा थियो कि घरभित्रका मानिस भने नयाँ थिएनन्। यत्रो वर्षपछि आफ्नो घर प्रवेश गर्दा हर्षविभोर भएको उनी सम्झन्छन्।

घर पुग्दा रातिको ११ बजिसकेको थियो। दस वर्षपछि सिंहले आफ्नो परिवार आफ्नै घरभित्र देख्न पाए।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर