अनिदो रात – आफ्नो यात्राको स्मरण

अनिदो रात – १: मेरो रगत नबिर्सिनुहोस् गणेशमान दाइ

बिहानै रिहा भए पनि, गणेशमान घर पुग्दा रातिको ११ बजिसकेको थियो। उनकी आमा, श्रीमती, परिवार र साथीभाइ उनकै प्रतिक्षामा थिए। सगुन थाप्ने सिलसिला चलिरह्यो – हजुरआमा, आमा, र परिवारका अरू अग्रज महिलाहरूबाट उनले सगुन थापेपछि बल्ल उनले साथीभाइसँग गफ गर्ने मौका पाए। सबैसँग राजनीतिको खबर बुझ्दा अझ केहि समय बित्यो।

सबैसँग बिदावारी भइ सुत्न जाँदा रातको करिब २ बजेको थियो। कोठामा उनकी श्रीमती मङ्गलादेवी थिइन्। बिहेको कहि महिनापछि नै पक्राउ परेका गणेशमान र मङ्गलादेवीको चिनजान पनि पूर्ण रूपमा हुन पाएको थिएन। तर आउँदा वर्षहरूमा एकअर्कालाई बुझ्दै उनीहरू एक आदर्श जोडी बन्ने थिए।

मङ्गलादेवीसँगको छोटो कुराकानीपछि सिंह निदाउन खोजे तर निद्रादेवी त्यहाँबाट कोशौँ पर भागेकी थिइन्।

उनलाई विभिन्न भावनाले सतायो – दसवर्षपछिको रिहाइ, त्यस दिनको जुलुस र उनको नाममा लगाइएका नारा, नेपालको भविष्य – सबैले उनलाई अनिदो बनाइरह्यो।

कोल्टो फेर्दाफेर्दै उनको मन एकाएक त्यस दिनतिर गयो। कालकोठरी जेलबाट सिपाहीहरूले गंगालाललाई घिसार्दै थिए। गंगालाल उनका सामू रोकिए।

“मेरो रगत नबिर्सिनुहोस् गणेशमान दाइ”, गंगालालले सिंहलाई भने।

गणेशमानले गंगालाललाई देखेको अन्तिम पटक त्यहिँ थियो। यस स्मृतिले सिंहलाई जिन्दगीभर पिरोल्थ्यो।

यहि भावनामा बग्दै सिंहले आफ्नो प्रजापरिषद्को यात्रा स्मरण गरे र विगतका दस वर्षमा आफूमा आएका परिवर्तनबारे विचार गरे।

अनिदो रात – २: आफ्नो यात्राको स्मरण

दस वर्षअघि सिंह कलकत्ताबाट फर्किँदा उनको राजनीतिक झुकाव देखिँदै थियो। राणा शासन हटाउने चाहना भएपनि उनमा स्पष्ट राजनीतिक दृष्टिकोणको निर्माण भइसकेको थिएन। उनी प्रजापरिषद्को सदस्य बने तर पार्टीले सरकार हल्लाउने केहि ठोस कार्यक्रम गर्न नसक्दै उनीहरू पक्राउ परेका थिए।

राणाहरूले शहीद गंगालाल श्रेष्ठ, दशरथ चन्द, शुक्रराज शास्त्री र धर्मभक्त माथेमालाई मृत्युदण्डको सजाय सुनाएका थिए।

सिंहलाई भने भद्रगोलमा आजीवन कैदको सजाय दिइएको थियो। भद्रगोल पुगेपछि उनले राजनीतिका किताब पढ्न र राजनैतिक छलफल गर्न थाले। सँगसँगै उनले भाग्ने योजना पनि बनाइरहेका थिए, जुन उनले २००१ सालमा पुरा गरे।

जेलबाट भागेपछिको यात्रामा सिंह नुवाकोट, गोरखा, कास्की, स्याङ्जा, तान्सेन, पाल्पा, बुटवल, भैरहवा हुँदै सुनौलीबाट भारत भाग्न सफल भए।

यसै यात्रामा सिंहले सामाजिक असमानता, पिछडिएको जीवन, जातिय विभेद लगायतका समस्याहरूसँग वाकिफ भए। नेपालको यस पाटो देखेर सिंहको राजनीतिक सुधारको संकल्प झन् दृढ हुन पुग्यो।

भारत पुगेपछि उनले आफ्ना राजनीतिक गतिविधि कायम गरिरहे र साथीहरूसँग मिलेर नेपाली काँग्रेसको स्थापना गरे। नेपाली काँग्रेसमार्फत नेपालमा प्रजातन्त्रको व्यवस्था ल्याउने राजनीतिक लक्ष्यतर्फ अघि बढिरहँदा २००७ सालमा उनी फेरि पक्राउ परे।

जेलमा भएकाले उनी दिल्लीमा राणा, भारत सरकार र नेपाली काँग्रेसबीच भएको त्रिपक्षीय वार्तामा उपस्थित हुन पाएनन् तर सोको खबर भने पाइरहे।

फेरि जेलबाट रिहा भएपछि उनलाई काठमाडौंवासीले ‘वीर गणेशमान’ भन्दै उनलाई आफ्नो नेता करार गरे।

“त्यसप्रकार मलाई शहीद गङ्गालालको अन्तिम वाक्य र जनता-जनार्दनको प्रथम उद्घोषणले जीवनभर पछ्याइरहेछ र म तिनै दुई जिम्मेदारीलाई निर्वाह गर्न राजनीतिमा सक्रिय रहेको छु”, सिंहले पछि माथवर सिंहलाई बताउँछन्।

राजा त्रिभुवन र नेपाली काँग्रेसलाई स्वागत गर्न तयारी

आफ्नै विचारमा तल्लिन भएर गणेशमान रिहा भएको रात निदाउनै सकेनन्। अर्को दिन २००७ साल फाल्गुन ३ गते थियो। राजा त्रिभुवन र नेपाली काँग्रेसका नेताहरू नेपाल फर्किने फाल्गुन ४ गतेको लागि तय भएको थियो। काठमाडौंमा धुमधाम तयारी भइरहेको थियो।

सिंह र साथीहरू बिहानैबाट राजा त्रिभुवन र नेताहरूलाई स्वागत गर्ने तयारीमा जुटेका थिए।

सिंहका अनुसार सो स्वागतका लागि दुईवटा समिति गठन भएका थिए। एउटा नेपाली काँग्रेसका सदस्यहरूको संयोजनमा थियो भने अर्को कविशिरोमणि लेखनाथ पौड्यालको।

तयारी निकै भव्य थियो। समितिहरूले सम्पूर्ण काठमाडौंवासीलाई राजा त्रिभुवन र नेताहरूलाई स्वागत गर्न गौचरन जाऊँ भनी अपील गरेका थिए। राजा त्रिभुवन र नेताहरू आउने बाटोमा पनि धेरैवटा स्वागत गेटहरू खडा गरिएका थिए। यस्तो भान भइरहेको थियो कि फाल्गुन ३ गते अरू सबै काम ठप्प गरेर मानिसहरू राजा त्रिभुवन र नेताहरूको आगमनकै चर्चा गरिरहेका थिए।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर