राजा त्रिभुवन र नेपाली काँग्रेसका नेताहरू घर फर्कन्छन्

राजा त्रिभुवन र नेपाली काँग्रेसका नेताहरूको स्वागतमा काठमाडौंवासी गौचरन पुग्छन्

आखिरमा त्यो दिन आइपुग्यो। काठमाडौंका सडकमा उत्सवको माहोल छाएको थियो। काठमाडौंवासीहरूराजा त्रिभुवन र नेपाली काँग्रेसका नेताहरूको स्वागत गर्ने तयारी गरिरहेका थिए।

राजा त्रिभुवनको दरबार त्यागका कारण उनी नेपाली जनतामाझ निकै लोकप्रिय थिए। उनीहरू राजा त्रिभुवनलाई स्वागत गर्न आतुर थिए। नेपालमा प्रजातन्त्र स्थापना गर्न लडिरहेका नेताहरूप्रति पनि काठमाडौंवासीहरूले निकै श्रद्धा महसुस गर्दथे। त्यसैले सबैजना त्यस बिहान स्वागत कार्यक्रममा सहभागी हुन गौचरन (हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल)तर्फ लागेका थिए।

त्यसबेलाको गौचरन अहिलेको जस्तो विमानस्थल बनिसकेको थिएन। पहिलोपल्ट श्री ३ महाराज मोहनशमशेरकी नातिनीको बिहेमा भारतबाट आउने हवाईजहाज रोक्न गौचरनलाई हतार-हतार सम्याएर तयार पारेको ग्राउण्ड नै कालान्तरमा गौचरन एरोड्रम बन्न पुगेको हो। गौचरनमा हवाईजहाज उतार्न सकिने सल्लाह दिने ज्यानबहादुर प्रधान थिए जसलाई त्यसको सर्भे, डिजाइन र एस्टिमेट गर्न जिम्मा पनि दिइएको थियो।

२००७ साल फाल्गुन ४ गते मौसम अत्यन्त राम्रो थियो। खुला आकाश र फाल्गुनको न्यानो घाम लागेको थियो। काठमाडौं, भक्तपुर र ललितपुरबाट हजारौँ मानिस स्वागत कार्यक्रमका लागि ओइरिएका थिए।

राजा त्रिभुवन र नेताहरू एकसाथ आउने कुरा भए पनि बीचमा कार्यक्रम हेरफेर भएर नेताहरू पटनाबाट र राजा त्रिभुवन दिल्लीबाट आउने भएका रहेछन्। बी.पी. कोइराला, सुवर्ण शमशेर राणा र मातृकाप्रसाद कोइरालाले नेपाल फर्कनुअघि एकपटक विराटनगर र कलकत्ता गएर मुक्तिसेनाका जवानहरूसँग भेट्ने मनसाय व्यक्त गरेका रहेछन्।

मुक्तिसेनाका सबैलाई देशभित्र पठाउने बन्दोबस्त गर्नुपर्ने भएकाले कोइरालाहरू विराटनगर र सुवर्ण शमशेर कलकत्ता गएर काठमाडौं आउन पटनामा भेटे।

राजा त्रिभुवन र नेपाली काँग्रेसका नेताहरूको आगमन

दिनको ठीक दुई बजे पहिलो हवाईजहाज गौचरनमा उत्रियो। त्यसबाट राजा त्रिभुवन र उनका परिवारका सदस्यहरू उत्रिए। त्रिभुवनको स्वागतमा उपस्थित मोहनशमशेरलगायत गणेशमान सिंह र भारतीय राजदूत सर चन्द्रेश्वरनारायण सिंहले अघि सरेर उनीहरूलाई स्वागत गरे र फूलमाला पहिऱ्याए।

भारतीय राजदूतले परिचय गराएपछि सिंह र त्रिभुवनबीच अभिवादन साटासाट भयो।

“मेरो राजा त्रिभुवनसँग व्यक्तिगत परिचय भएको थिएन। त्रिभुवनप्रति मेरो मनमा ठूलो श्रद्धा थियो, मैले आदरपूर्वक राजाको अभिवादन गरेँ। मेरो परिचय पाएर राजा त्रिभुवन पनि अत्यन्त खुशी भएका थिए र मलाई उनले हालखबर सोधनी गरेका थिए”, गणेशमान माथवर सिंहलाई बताउँछन्।

भीडको कोलाहल बढेपछि अघि लगाइएका राजा त्रिभुवनले गणेशमानलाई पछि कुरा गर्ने बताए। राजा, श्री ३ महाराज, र भारतीय राजदूत काठमाडौंतर्फ लागे। टाढा सलामी तोप पड्किरहेको थियो।

केहि व्यक्तिहरू राजा त्रिभुवनलाई स्वागत गरिसकेपछि घरतर्फ लागे। ठीक साढेदुई बजे काठमाडौंको दक्षिण आकाशमा हवाईजहाज देखापऱ्यो। त्यो देखेपछि मानिसहरूको जोश झन् द्विगुणित हुनपुग्यो।

हवाईजहाज उत्रिएपछि पालैपालो गरेर बी.पी. कोइराला, मातृकाप्रसाद कोइराला र सुवर्ण शमशेर निक्लिए।

गणेशमानले यी तीनलगायत सँगै यात्रा गरेका अरू नेताहरूलाई स्वागत गरे। भीड भने अनियन्त्रित रूपमा बढिरहेको थियो।

सुवर्ण शमशेरलाई लिन बेग्लै गाडी आएको थियो तर गणेशमानको आग्रहमा उनी पनि बी.पी. कोइराला, मातृकाप्रसाद कोइराला र गणेशमान सिंहसँगै एउटै गाडीमा जाने भए।

नेताहरू काठमाडौंको फन्को लगाउँछन् र न्यानो स्वागत पाउँछन्

गौचरनबाट गाडी अघि बढ्दा जनताले नारा लगाइरहेका थिए। सडकका दुवै किनारमा मानिसहरू नेताहरूको स्वागतमा लाम लगाएर बसेका थिए। गाडी सिनामंगल हुँदै बानेश्वर, डिल्लीबजार, पुतलीसडक, बागबजार, रानीपोखरी, भोटाहिटी, असन, इन्द्रचोक भएर फेरि रानीपोखरी निस्किएर सुवर्ण शमशेरको दरबार ललिता निवास पुग्ने भयो।

हरेक ठाउँमा ठूलठूला स्वागतद्वार राखिएका थिए जसमा चारतारे झण्डा फहराइरहेका थिए। जनताले उनीहरूलाई मोडैपिच्छे जोडजोड आवाजमा नारा लगाउँदै स्वागत गरिरहेका थिए।

घाम ढल्नै लागेको थियो जब गाडी न्यु रोडबाट अघि बढ्यो। सिंह एकैछिन रानीपोखरीमा बार लगाएको देखेर सम्झनामा तल्लिन भए।

“जुगानुजुगदेखि खुला रहेको रानीपोखरीको डिलमा खेलेर मेरो बचपन बितेको थियो। तर मैले बार खडा भएको देखेको थिइँन। जुद्धशमशेरका पालामा जुवा फुक्ने भएकाले धेरै हार्नेहरूको संख्या पनि बढेको थियो। जुवामा हारेर घरखेत गुमाउनेहरूले आत्महत्या गर्न रानीपोखरी रोज्न थालेपछि जुद्धशमशेरले रानीपोखरीको चारैतिर फलामेबार लगाउने निर्णय गरेका रहेछन्”, सिंहका मनमा उठेका कुरा उनी सम्झन्छन्।

बालुवाटार जान हिँडेका नेताहरू शहीद थिरबम मल्लका पिता भरतबम मल्लको नक्सालस्थित घरमा बस्ने भएकाले त्यहिँ उत्रने निर्णय गरे। बी.पी. कोइराला र मातृकाप्रसाद कोइराला केहि दिनका लागि त्यहिँ बस्ने सल्लाह भएको रहेछ। उनीहरू त्यहाँ उत्रिएपछि सुवर्ण शमशेरलाई पुऱ्याउन गाडी अघि बढ्यो।

“ललिता निवासको नामले चिनिने सुवर्णशमशेरको दरबार झण्डै ३०० रोपनीको कम्पाउण्डमा बनेको थियो। २००४ सालमा सुवर्ण शमशेर आफ्नो पिता हिरण्यशमशेरसँग नेपालबाट भाग्नुपर्ने भएपछि त्यो घर राणा सरकारले कब्जा गरेको थियो”, सिंह माथवर सिंहलाई बताउँछन्।

सुवर्णशमशेरसँग बिदा लिएपछि गणेशमान घर लाग्नुअघि महावीर शमशेरलाई भेट्न गए। सँगै भएका कृष्णप्रसाद भट्टराई सिंहकै घरमा बस्ने भए।

साँझ घर फर्कँदा काठमाडौंमा दिपावलीसरि उज्यालो छाएको देखेर गणेशमान निकै खुशी थिए।

“त्यस दिनको दिपावली प्रजातन्त्रको स्वागतमा भएको थियो”, सिंह बताउँछ्न्।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर