गणेशमान सिंहको अधैर्यता, सुवर्ण शमशेरकहाँ ब्रेकफास्ट, र कार्यकर्ताहरूको बैठक

गणेशमान सिंहको अधैर्यता

२००७ सालको फाल्गुनको सुरूवाती हप्तामा गणेशमान सिंहनिकै व्यस्त थिए। २ गते उनी जेलबाट रिहा भएपछि काठमाडौंमा विशाल जुलुस निस्किएर जनताले उनलाई आफ्नो नेता घोषित गरे। सबैसँग बिदा लिएर घर पुग्दा मध्यरात भइसकेको थियो। ३ गतेको दिन राजा त्रिभुवन र नेपाली काँग्रेसका नेताहरूको स्वागतको तयारीमा बित्यो। ४ गते राजा त्रिभुवन र नेपाली काँग्रेसका नेताहरू नेपाल आइपुगे र त्यस दिन पनि स्वागतमा ठूलो जुलुस निकालियो।

जेलमै भएका सिंह दिल्लीमा भएको त्रिपक्षीय वार्ताका विवरण बुझ्न निकै इच्छुक थिए तर आफ्ना राजनीतिक मित्रहरूसँग बसेर कुरा गर्ने मौका नै मिलेको थिएन।

“कुन परिस्थितिमा नेपाली काँग्रेसले त्यो सम्झौता गर्नुपरेको हो, त्यो कुरा नेताहरूकै मुखबाट नसुनेसम्म मेरो चित्त बुझेको थिएन। मैले भित्र-भित्रै असन्तोषलाई लुकाए पनि नेताहरूलाई भेटेर आफै कुरा गर्न आतुर थिएँ”, सिंह माथवर सिंहलाई बताउँछन्।

५ गते गणेशमानले पर्खिनै नसकेर बिहानै बी.पी. कोइराला वा मातृकाप्रसाद कोइरालालाई भेटेरै आफ्नो खुल्दुली मेटाउने निर्णय गरे। तर त्यहाँ बिहानै मानिसको घुइँचो लागिसकेको रहेछ। त्यसमाथि बी.पी. कोइरालाले शहीद थिरवम मल्लको घरमा असहज महसुस गरेको बताएका रहेछन्।

कोइराला सबेरै उठेर तातो पानीले नुहाउने, आफ्नो चिया आफै बनाउने अनि त्यो चिया पिएर मात्र भेटघाटको कार्यक्रम सुरू गर्ने रहेछन्। तर त्यो घरमा उहाँको नित्यकर्मको क्रम बिथोलिन पुगेछ। यहि कुरा कोइरालाले सिंहलाई बताइरहँदा एकजना साथीले कोइराला र सिंहलाई सुवर्ण शमशेरले चियानास्ता गर्न बोलाएका छन् भनी बताए।

त्यसपछि आफ्ना साथीहरूलाई बिदा गरेर ती दुई शमशेरको निवास बालुवाटारतिर लागे।

२००७ साल, फाल्गुन ५ गते: सुवर्ण शमशेरकहाँ ब्रेकफास्ट

ललिता निवास पुगिसकेपछि सुवर्ण शमशेरले बी.पी. कोइरालाको असहजता सुन्नेबित्तिकै उनलाई आफ्नै दरबारमा बस्न आमन्त्रित गरे। त्यहाँ ती तीनबाहेक मातृकाप्रसाद कोइराला लगायत अरू थुप्रै साथीहरू जम्मा भएका थिए। सिंहले कोइराला दाजुभाइसँग केही बेर दिल्ली वार्ताबारे कुरा गर्न खोजेतापनि व्यस्तता र साथीहरूको भीडभाडले त्यो सम्भव हुन सकेको थिएन।

त्यसैले यी सबै प्रश्नहरूको जवाफ दिन मातृकाप्रसाद कोइरालाले भोलिपल्ट कार्यकर्ताहरूको बैठक बोलाए। बैठकमा दिल्ली सम्झौताको सम्बन्धमा प्रकाश पार्ने र देशभरिका विभिन्न साथीहरूको असन्तोषको भावनालाई सम्बोधन गर्ने भनियो।

“काठमाडौंमा प्राय: सबै भेग र भागका साथीहरू जुटिसकेका थिए। जनतालाई जनतान्त्रिक हक र अधिकार दिलाउन आ-आफ्नो क्षेत्रमा मोर्चा सम्हालेका योद्धाहरू नै वास्तविक जनप्रतिनिधिहरू थिए। अत: उनीहरूलाई एकै स्थानमा भेला गरेर छलफल गराउने प्रस्ताव स्वागतयोग्य नहुने प्रश्नै थिएन”, सिंह भन्छन्।

त्यस दिन लगभग सम्पूर्ण दिन शिष्टाचारमै बित्यो। साँझ सिंहले खबर पाए कि ७ गते ३:३० बजेको साइतमा अनतरिम मन्त्रिमण्डलको सपथग्रहण हुने निर्धारण गरिएको थियो।

सपथग्रहणको कार्यक्रम पारम्पारिक हनुमानढोका दरबारमा नभइ नारायणहिटी दरबारमा हुने निर्णय गरिएको थियो। यसको मुख्य कारण सुरक्षा थियो। नारायणहिटी दरबारम राजा त्रिभुवन दिल्लीबाट फर्कनुअघि देखि नै कडा सुरक्षाको व्यवस्था मिलाइएको थियो।

२००७ साल फाल्गुन ६ गते: कार्यकर्ताहरूको बैठक

फाल्गुन ६ गते नेपाली काँग्रेसका कार्यकर्ताहरू शहीद थिरवम मल्लको घरमा भेला भए।

“देशको विभिन्न भाग – मेचीदेखि महालीसम्मका तराई-पहाड र भित्री मधेश सबै क्षेत्रलाई प्रतिनिधित्व गर्ने प्रतिनिधिहरू उपस्थित भएका थिए। सबैमा बडो जोश र उत्साह थियो किनकि त्यसभन्दा अघि यस्ता भेलाको कल्पना पनि गर्न सकिँदैनथ्यो”, सिंह बैठकबारे निकै उत्साहित हुँदै बताउँछन्।

“जुन कुराको हिजो कल्पना हुन सक्तैनथ्यो त्यही अहिले वर्तमानको यथार्थ बनेको थियो”, सिंह थप्छन्।

सभापति मातृकाप्रसाद कोइरालाले बैठकको सञ्चालन संसदीय पद्दतिबाट सुरू गरे र सबैलाई लागेका कुराहरू भन्ने मौका दिइयो। साथीहरूले पनि अवसरको पूरा लाभ उठाए र सबै मनका कुरा पोखे। दिल्ली सम्झौताले क्रान्ति अपूर्ण भएको शङ्का धेरैले पोखे भने राणाहरूले अझै धोखा दिनसक्ने भएकाले पार्टीले हतियार समर्पण गर्नहुँदैन भन्ने राय पनि धेरैले व्यक्त गरे।

नेताहरूले आएका जिज्ञासा र प्रश्न सबैको जवाफ दिए जसले शान्तिपूर्ण तरिकाले प्रजातन्त्र ल्याउने कुरा भएकाले सम्झौताको कदर गरेको बताए।

बैठकको अन्त्यमा मातृकाप्रसाद कोइरालाले बोल्नुअघि नै गणेशमानले आफू मन्त्री बन्न अस्वीकार गरेर पत्र लेखेको कुरा उठाए। सरकारमा जानुभन्दा पार्टी संगठनमा लागेर बढी प्रभावकारी भूमिका खेल्ने सकिन्छ भन्ने उनको तर्क थियो।

आफ्नो कुरा टुङ्ग्याउन नपाउँदै बैठकमा ठूलो विरोध हुन थाल्यो। सबैले गणेशमानले मन्त्री पद छोड्न नपाउने भन्न थाले र कोलाहललाई शान्त पार्न मातृकाप्रसादले बीचमा हस्तक्षेप गरेर भने:

“हामीले मन्त्री पदमा गणेशमानजीको चयन चारभञ्ज्याङभित्रका साथीहरूको भावनाको कदर गर्न गरेका हौँ, उहाँलाई खुशी पार्न होइन। गणेशमानजीले पार्टीको निर्णय स्वीकार्नु हुने आशा पार्टीले राखेको छ।“

सिंहले विनम्रपूर्वक स्वीकार गरे।

सिंहले बल्ल त्यस दिन मात्र थाहा पाए कि उनको पत्र सुन्दरराज चालिसेले पठाएकै थिएनन्।

बैठक समाप्त भएपछि अरू सबै छुट्टिए तर सपथग्रहण गर्ने सबै साथीहओरो सुवर्ण शमशेरकहाँ जम्मा भए।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर