गणेशमानलाई बडाकाजी रत्नमानको उपदेश

सुवर्ण शमशेरसँगको एक साँझको सम्झना:

मन्त्री पदमा नियुक्त भएपछि नारायणहिटी दरबारबाट निस्किएर सुवर्ण शमशेरको दरबार ललिता निवासतर्फ लाग्दै गर्दा सिंह सम्झनामा बग्छन्। ती सम्झनामध्ये सुवर्ण शमशेरसँगको एक साँझ उनको मन-मस्तिष्कमा गढेको थियो।

“त्यो दिन म काठमाडौंको इन्द्र जात्रा बमकाण्डको तयारीका लागि कलकत्ताबाट निस्किनुभन्दा अघिल्लो दिन थियो। सुवर्णजीले मलाई खाना खान बोलाउनुभएको थियो।“

गहभरि आँसु पारेर सुवर्ण शमशेरले गणेशमानलाई भनेका थिए:

“गणेशमान जी! तपाईं काठमाडौं जाँदै हुनुहुन्छ, हाम्रो फेरि भेट हुन्छ कि हुँदैन भनेर मैले तपाईंलाई खाना खाने बहानामा बोलाएको हुँ। तपाईंमाथि राणा सरकारले त्यत्ति सांगीन आरोप लगाएको छ। अर्को तपाईं यति ठूलो मिसन लिएर जाँदै हुनुहुन्छ, कदाचित गिरफ्तार हुनुभयो भने तपाईंलाई जिउँदो छाड्दैनन्। हेर्नोस्, मेरो त कुरै छोड्नुस् कोइरालाजी पनि तपाईंलाई पठाउने पक्षमा हुनुहुन्न्थ्यो। तपाईं आफैले त्यत्रो जोखिम मोल्नुभयो। तपाईंको समर्पणका अगाडि हामी नतमस्तक भयौँ। भोलि तपाईं जानलाग्नुभएकाले आज सँगै खान खाउँ भनेर बोलाएको।“

त्यसपछि उनीहरूको भेट सबै नेताहरू काठमाडौं फर्कँदा सानो गौचरनको विमानस्थलमा भएको थियो।

“सुवर्ण शमशेर जन्मजात क्रान्तिकारी होइन सामन्त हुनुहुन्थ्यो”, गणेशमान बताउँछन्। “उहाँ भीम शमशेर जङ्गबहादुर राणाका नाति, र जनरल हिरण्य शमशेरका छोरा हुनुहुन्थ्यो। हिरण्य शमशेरकी आमाको जात नमिलेका कारणले उनीहरूले रोलक्रमबाट निकालिने मात्र होइन, पटकपटक निष्काशनको अपमान र यातना झेल्नुपरेको थियो। पहिलो पटक उहाँलाई चन्द्रशमशेरले रोलक्रमबाट हटाए। जब भीम शमेशेर प्रधानमन्त्री भए त्यसबेला फेरि रोलक्रममा परे पनि जुद्ध शमशेरको पालोमा हिरण्यको सम्पूर्ण परिवारलाई रोलक्रमबाट हटाई उपत्यकाबाट धपाएर धनकुटा र पछि वीरगञ्ज र कलकत्ता धपाइएको थियो।“

“यस्तो अनुभवबाट उत्पन्न प्रतिशोधको भावनाले उहाँहरूलाई विद्रोही तुल्यायो। त्यही भावनामा उहाँले काँग्रेसलाई सहयोग गर्नुभएको थियो।“

ललिता निवासमा अनौपचारिक बैठक:

गणेशमान सिंह नारायणहिटी दरबारबाट ललिता निवास पुगे। जनरल हिरण्य शमशेर पाहुना स्वागत गर्न गेटमै उभिएका थिए। सुवर्ण शमशेरको पछाडि उनकी पत्नी श्वेता प्रभा राज्य लक्ष्मी पनि थिइन्।

“प्रजातन्त्र नेपालमा मात्र होइन ललिता निवासमा पनि प्रवेश भइसकेको रहेछ”, गणेशमान माथवर सिंहलाई ठट्टा गर्दै बताउँछन्। “हामी कैयौँ पटक ललिता निवास पुगेका थियौँ तर कहिल्यै रानी श्वेतालाई कम्पाउण्ड भित्रैको बगैँचामा पनि निक्लेको देखेका थिएनौँ। त्यस दिन उहाँ पनि गेटसम्म आएर हाम्रो स्वागत गर्नुभएको थियो।“

भित्र नेपाली काँग्रेसका सभापति मातृकाप्रसाद कोइरालाबाहेक सबै नेताहरू उपस्थित थिए जो काठमाडौंमै थिए। मातृकाप्रसाद त्यस बैठकमा उपस्थित नहुनुको कारण– त्यो अनौपचारिक बैठक थियो। सभापतिको उपस्थिति भएको भए त्यो औपचारिक हुने थियो।

सिंहका अनुसार आगामी दिनहरूबारे छलफल गर्न त्यस बैठक अनौपचारिक नै हुनुपर्ने आवश्यकता थियो।

“हामीले प्रजातन्त्र नेपालमा ल्याएका थियौँ तर यसलाई कसरी स्थापित गर्ने भन्ने बारेमा अन्योल र अस्पष्टता कायमै थियो“, सिंह बताउँछन्। “त्यति मात्र होइन, मन्त्रीले काम गर्ने के हो? नियम र प्रक्रिया कस्तो हुनुपर्ने हो आदि प्रश्नको जवाफ पनि थिएन।“

“अबका हाम्रा कदम अघि बढाउन जोशले मात्र नपुग्ने भयो, होसले काम गर्नुपर्ने थियो।“

त्यसका अतिरिक्त मन्त्रालय खडा गर्ने ठाउँ खोज्नु उनीहरूको पहिलो काम थियो। सबैजनाले त्यसका निमित्त सिंहदरबार नै सबैभन्दा उपयुक्त हुने मत राखे। सिंहदरबार त्यसबेला प्रधानमन्त्री मोहन शमशेरको निजी निवास थियो र बैठकमा सल्लाह भएअनुसार मन्त्रालय सिंहदरबारमा खडा गर्ने विषय प्रधानमन्त्रीसँग उठाउने उनीहरूले निधो गरे।

बैठक अनौपचारिक भएको कारणले यी प्रमुख मुद्दामा छलफल गरिसकेपछि जम्मा भएका सबै बिस्तारै निस्किन थाले।

गणेशमानलाई बडाकाजी रत्नमानको उपदेश:

बैठकपछि गणेशमान पनि निस्किए। बी.पी. कोइराला र सुवर्ण शमशेरसँग बिदा लिएर उनी आफ्नो गाडीमा चढे।

बाहिर झपक्कै अध्याँरो हुन लागेको थियो। तर काठमाडौंमा तिहार आएझैँ घरहरू धपक्क बलेका थिए।

“सबैजना प्रजातन्त्र आएको खुसियाली मनाउँदै छन्”, गणेशमानले मनमनै सोचे।

त्यस दिनलाई सम्झँदा उनी आफ्नो हजुरबुबा बडाकाजी रत्नमानलाई सम्झन्छन्:

“शपथग्रहण गर्दा मैले राजा त्रिभुवनसामू शिर वा शरीर झुकाइँन, केवल नमस्कार मात्र गरेको थिएँ। बडाकाजी रत्नमानलाई मैले सो गरेको मन नपरेको रहेछ।“

“त्यसैले उहाँले मलाई पछि सम्झाएर भन्नुभयो, “अब तिमी ठूलो मान्छे भइसक्यौ। राणा शासन परिवर्तन गरेर आएको राज्यव्यवस्थामा मन्त्री हुनु सानो कुरो होइन। तिमीले देश र दुनियाँप्रति आफ्नो जिम्मेवारी र दायित्यबोध गरेर आफ्नो व्यवहारलाई शिष्ट र विनम्र बनाउनुपर्छ। विनम्रता र शिष्टाचारले मानिसलाई उठाउँछ, तल झार्दैन। त्यसैले त्यस्ता नियमको पालना हरहालतमा गर्नुपर्छ।”

“त्यसबेला मैले उहाँको सल्लाहको कुनै जवाफ फर्काइँन, हाँसेर टारिदिँए। तर उहाँका शब्दहरू मैले कहिल्यै पनि बिर्सिँन।“

“बडाकाजीको सम्पूर्ण जीवनकालमा उहाँ विनम्र र शिष्ट हुनुहुन्थ्यो। आज, उहाँलाई सबैले सद्भावले सम्झन्छन्। उहाँको उपदेश म जतिपटक सम्झन्छु उहाँको महानताबाट अभिभूत हुने गर्छु।“

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर