गणेशमान सिंह १९७२ सालमा भाइटीकाको भोलिपल्ट येट्खामा जन्मिएका थिए जुन ऐतिहासिक हनुमानढोका दरबारको करिब दुई-तीनसय मिटरजति मात्र टाढा छ। उनको जन्म हुँदा नेपालमा राणाले नेपालमा हुकुम जमाएर राखेका थिए र चन्द्र शमशेर प्रधानमन्त्री थिए।
हामीले यस प्रजातन्त्र शृङ्खलामा विगतका ४१ हप्तामा देख्यौँ कि बचपनमा केही चिजको पर्वाह नगर्ने गणेशमानले बिस्तारै नेपालको राजनीतिक संरचनामा रूचि राख्न थाले। राणाहरूसँगको केही अनुभवहरूले उनमा असन्तोष पैदा गरेपनि उनको राजनीतिक संलग्नता भने प्रजापरिषद्का सदस्यहरूसँगको भेटपछि मात्र सुरूवात भयो। धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीसँगको भेटपछि राजनीतिमा होम्मिएका गणेशमान जेल परे, यातना भोगे तर उनको संकल्प दृढ रहिरह्यो। जेलबाट भाग्न सफल भएपछि उनले आफ्नो राजनीतिक यात्रा जारि राखे। उनको यात्रामा उनले नेपालका पहाडदेखि मधेशका विभिन्न ठाउँका परिवेश बुझ्ने मौका पाए। नेपालबाट भारत छिरेपछि उनले अरू साथीहरूसँग नेपाली काँग्रेसको स्थापनामा केन्द्रीय भूमिका निभाए।नेपाली काँग्रेसले क्रान्ति गर्ने सोच बनाएपछि उनी साहसी रूपमा फेरि नेपाल फर्किए तर पक्राउ परे।
उनको राजनीतिक संघर्षले २००७ साल फाल्गुन ७ गते आएर परिणाम दिने थियो। यस दिन राजा त्रिभुवनले नेपाल राज्यमा राणाहरूको १०४ वर्षको शासन अन्त्य भएको ऐतिहासिक घोषणा गर्दै थिए।
“२००७ साल फाल्गुन ७ गतेको बिहान साधारण बिहान थिएन। त्यो बिहानले राणा शासनरूपी कालरात्रीलाई समाप्त पार्ने उज्यालो ल्याएको थियो। त्यही कारण पनि होला, बिहान सबेरै देखिएको कुहिरो नेपालको आकाशमा धेरै बेर टिक्न सकेन। दिन छिप्पिँदै गएपछि आकाश छ्याङ्गै उघ्रियो। उज्यालो घाममा काठमाडौं उपत्यका मुसुक्क हाँसेजस्तो देखियो”, गणेशमान त्यस दिनको बिहानलाई सम्झन्छन्।
गणेशमान सिंह राणा शासनलाई फर्केर हेर्छन्
यस प्रजातन्त्र शृङ्खलाका धेरै भागहरू गणेशमान सिंहको आत्मकथा ‘मेरो कथाको पानाहरू’बाट उद्धृत गरिएका हुन् जुन गणेशमानले माथवर सिंहलाई बताएअनुसार लेखिएको थियो।
सिंहले नेपालमा प्रजातन्त्र आउने यस मोडमा राणाहरूको उदय र प्रलयबारे आफ्नो गहन राजनीतिक विचार माथवर सिंहसँगको कुराकानीमा राख्छन्।
जङ्गबहादुरले विक्रम सम्वत् १९०३ सालको कोतपर्वभन्दा धेरै अघि नैआफ्नै काका माथवरसिंह थापाको हत्यागरेर राजनीतिक प्रख्याती कमाइसकेका थिए। कोतपर्वले उनलाई नेपालको प्रधानमन्त्री बनाएपनिनेपालमा वंशजअनुसार राणाहरूबाटै प्रधानमन्त्री बन्ने चलन स्थापना गर्न सफल हुनुमा नेपालको आफ्नै राजनीतिक अव्यवस्था र विश्वराजनीतिमा आइरहेको उथलपुथल थियो जसको पूर्ण लाभ जङ्गबहादुरले उठाए।
चीन आफ्नै आन्तरिक संकटमा डुबेका कारण नेपालको राजनीतिमा चासो राख्ने मौका पाएन र त्यसैबेला जङ्गबहादुरले बेलायतलाई गरेको सहयोगपछि नेपाल बेलायतको मित्रराष्ट्र बन्न पुग्यो। नेपालको राजदरबार भने राजनीतिक षड्यन्त्रको केन्द्र भएको थियो। यस्तै एक षड्यन्त्रहरूद्वारा जङ्गबहादुरले राजा राजेन्द्र वीर विक्रम शाहलाई भारत निर्वासन गर्न बाध्य बनाइदिए र सुरेन्द्रविक्रम शाहलाई राजा बनाउन सघाए। सुरेन्द्रकै मार्फत जङ्गबहादुरले पञ्जापत्र स्थापना गरे जसबाट जङ्गबहादुरका सन्तानहरू प्रधानमन्त्री हुन पाउने व्यवस्था बन्यो।
सत्ता हस्तान्तरणका लागि राजा त्रिभुवनले सो पञ्जापत्र आफूले ग्रहण गरेको घोषणा गर्नु आवश्यक थियो। त्यसपछि मात्र राणा शासनको अन्त्य भएको मान्न सकिन्थ्यो।
गणेशमान सिंह राणाशासनलाई फर्केर हेर्छन् (भाग २)
जङ्गबहादुरको मृत्युपछि रणोद्वीप सिंह कुँवर नेपालका प्रधानमन्त्री बने। तर षड्यन्त्रको केन्द्र बनेको दरबारमा जङ्गबहादुरको मृत्यु पर्खेर बसेका धेरै थिए।रणोद्वीपको हत्या गरेर भतिजा वीरशमशेर नेपालको प्रधानमन्त्री बने। वीरशमशेरले बसालेको रोलक्रम उल्टाएर नयाँ रोलक्रम चालू गरे हसमा आफ्ना सत्र भाइलाई मात्र समावेश गरिएको थियो। जङ्गबहादुरको खलको विनाश गरे पनि उनीहरूले आफ्नो नामका पछाडि जङ्गबहादुरको नाम राख्न भने छोडेनन्। त्यसैबेलादेखि उनीहरूको नामको पछाडि जबराको पुच्छर जोडियो।
त्यसपछि देवशमशेर प्रधानमन्त्री भए जसलाई भारत निर्वासन गर्न बाध्य बनाएर चन्द्रशमशेरले सत्ता हत्याए। चन्द्रशमशेरको शासनकाललाई राणाशासनको चरमोत्कर्ष मानिएको छ। उनको शासनमा गोरखापत्र स्थापना भयो र उनले त्रिचन्द्र कलेजको पनि स्थापना गराए।
त्यसपछि भीमशमशेर अनि जुद्धशमशेर आए। जुद्धशमशेरले नेपालमा औद्योगिक विकासको शिलान्यास गरे। १९९० सालको महाभूकम्पपछि उनले काठमाडौँलाई योजनाबद्ध तरिकाले विकास गर्ने चेष्टा गरे।
जुद्धशमशेरपछि पद्मशमशेर शक्तिमा आए तर उनी अत्यन्त कमलो मनका र कमजोर प्रधानमन्त्री ठानिन्थे। त्यसैकारण उनलाई सत्ताबाट हटाएर नेपालका अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरले सत्ता सम्हाले।
राणा वंशको कुरा गर्दा गणेशमानले फ्रान्सेली र रूसी क्रान्तिको उदाहरण दिएर शान्तिपूर्ण शक्ति हस्तान्तरण हुनुको महत्त्व पनि बताए।
“राणाहरूले जनताको इच्छाबमोजिम होइन तरवारको प्रयोगले सत्ता हत्याएका थिए। त्यसैले सो कायम राख्न पनि सधैँ तरवार चलाउन बाध्य भए। तर आखिरमा जनताको इच्छाको विजय हुन्छ। फ्रान्सको राज्यक्रान्तिमा राजाले शान्तिपूर्ण सत्ता हस्तान्तरणको बाटो रोकिदिएकोले क्रान्तिकारीहरूले बलजफ्ती त्यो ढोका खोल्नपरेको थियो। रूसी क्रान्ति पनि आखिरमा अन्त्य भयो किनकि लेनिनले रूसमा प्रजातान्त्रिक सुधार ल्याउन चाहेनन्”, प्रजातन्त्रको दीगोपनका लागि शान्तिपूर्ण हस्तान्तरण कति महत्त्वपूर्ण हुन्छ भन्ने बताउँछन्।