२००७ साल फाल्गुन ७ गते: राजा त्रिभुवनको घोषणा

२००७ साल फाल्गुन ७ गते: नारायणहिटी दरबारमा नेताहरूको आगमन

२००७ साल फाल्गुन ७ गते दिनको ३ बजे नारायणहिटी दरबारमा आयोजित विशेष समारोहमा राजा त्रिभुवनबाट ऐतिहासिक घोषणा हुने थियो। त्यहि कार्यक्रमपछि राणा सरकारको बदला संविधान सभाको चुनाव नभएसम्मका लागि प्रजातान्त्रिक ढङ्गले देशको शासन चलाउन गठन हुने अन्तरिम सरकारका मन्त्रीहरूलाई राजाले सपथग्रहण गराउने कार्यक्रम निर्धारित थियो।

त्यसबेला नारायणहिटी दरबार अहिलेको जस्तो भव्य तथा घरैघरले भरिभराउ थिएन। मूल भवन त्यही थियो, जुन श्री ३ रणोद्वीप सिंह कुँवर राणाले बनाएका थिए। पछि २०१५ सालमा पुरानो भवन भत्काएर शाह परिवारका लागि नयाँ दरबार बनाइएको हो।

दरबारमा उपस्थित हुनुपर्ने सबैको उपस्थिति भइसकेको थियो। मन्त्रीमण्डलका सदस्यहरूलाई बेग्लै सिट छुट्टाइएको थियो। यस ऐतिहासिक क्षणमा केहि उच्च आर्मी अफिसरहरू, बेलायत र भारतीय दूतावासका प्रतिनिधिहरू पनि सामेल भएका थिए। राजा त्रिभुवन आइसकेका थिए भने श्री ३ मोहन शमशेर आउन बाँकी थिए।

कार्यक्रममा सबै मन्त्रीहरूलाई पालैपालो गराउने शपथग्रहण गराउने निर्णय भएको थियो। सबैभन्दा पहिलो मोहन शमशेरको पालो थियो भने दोश्रोमा बी.पी. कोइराला थिए। तर बबरशमशेरले आफ्नो उमेर र अवस्थाको कारणले दोश्रो स्थानको माग गरेपछि बी.पी. कोइरलाले अस्वीकार गरेनन्।

यतिकैमा मोहन शमशेर आइपुगे। उनको वरिपरि उनका सुरक्षा गार्ड ‘बिजुली गारत’ थियो जुन प्रधानमन्त्रीको सुरक्षाका लागि खटाइएको विशेष पल्टन थियो।

“त्यसरी हातहतियार बोकेका बिजुली गारतका जवानहरूले लगभग समारोहस्थल नै घेरेपछि राजा त्रिभुवन निकै व्यग्र भएका थिए”, गणेशमान माथवर सिंहलाई बताउँछन्। “भारतीय राजदूत सी.पी. सिंहले त्रिभुवनलाई मोहन शमशेरले बिजुली गारत आफ्नो अन्तिम सौकत देखाउन ल्याएका हुन् भनेर सम्झाएपछि बल्ल उनी शान्त भए”, सिंह थप्छन्।

राजा त्रिभुवनको घोषणा:

दिनको ३ बजे, राजा त्रिभुवनले नेपालका जनतालाई निम्न घोषणा सुनाए:

आगे हाम्रो मुलुकका भाइ भारदार, सन्त-महन्त, रेती-दुनियाँ, साहू महाजन गैऱ्हके यथोचित,

उप्रान्त सम्वत १९०३ सालमा त्यस समयमा यो राज्यको गद्दीमा राज भएका हाम्रा स्वर्गीय पूज्य जिज्युबुबाज्यू श्री ५ महाराजधिराज सुरेन्द्रवीरविक्रम शाहदेवले धेरैगम्भीर र महत्वपूर्ण कारणले आफ्नो र आफ्ना उत्तराधिकारीहरूका तर्फबाट यो मुलुकको शासनभार श्री ३ महाराज जङ्गबहादुर राणालाई सुम्पिबक्सेको हुनाले,

उपरोक्त श्री ३ महाराज जङ्गबहादुर राणाका उत्तराधिकारीहरूले हाम्रा पूर्वजहरूका तर्फबाट मौसुफहरूका प्राइममिनिष्टरहरूको हैसियतमा यो राज्यको शासन चलाइआएकोले,

औ वर्तमान समयमा श्री ३ महाराज मोहनशमशेर जङ्गबहादुर राणाले हाम्रो तर्फबाट औ हाम्रो नाममा यो राज्यको शासन चलाई आएको हो,

औ हाम्रा प्रजाको शासन अबउप्रान्त निजहरूले निर्वाचन गरेको एक बैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होओस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएकोले,

औ सो विधान तयार नभएसम्म अहिले हामीलाई हाम्रो कार्य-सम्पादन गर्नमा मदद र सल्लाह दिनाका निमित्त दुनियाँको विश्‍वास भएका दुनियाँका प्रतिनिधिहरूसमेत सम्मिलित भएको एक मन्त्रिमण्डलको सङ्गठन होओस् भन्ने हाम्रो इच्छा र निर्णय भएकोले,

तसर्थ हामीबाट यो घोषणाद्वारा हामीलाई हाम्रो कार्यको सम्पादनमा मदद गर्न हाम्रा अति विश्‍वासपात्र र प्रिय श्री ३ महाराज मोहनशमशेर जंगबहादुर राणा हाम्रो प्राइममिनिष्टर र परराष्ट्र मन्त्री,(२) श्री मिनिष्टर बबरशमशेर जङ्गबहादुर राणा रक्षामन्त्री, (३) श्री विश्‍वेश्वरप्रसाद कोइराला गृहमन्त्री, (४) श्री सुवर्णशमशेर अर्थमन्त्री, (५) श्री चूडाराजशमशेर वनविभागका मन्त्री, (६) श्री गणेशमान सिंह उद्योग-वाणिज्यमन्त्री, (७) श्री नृप जंग राणा शिक्षामन्त्री, (८) श्री भद्रकाली मिश्र यातायातमन्त्री, (९) यज्ञबहादुर बस्न्यात स्वास्थ्य, स्वायत्त-शासनमन्त्री,(१०) श्री भरतमणि शर्मा खाद्य र कृषिमन्त्रीसमेत अरू मन्त्रीहरू सम्मिलित भएको एक मन्त्रिमण्डल गठन र नियुक्त गरिबक्सेका छौँ।

माथि उल्लेख गरिएका मानिसहरू हाम्रो इच्छाअनुसार आफ्नो ओहदामा रहनेछन् औ संयुक्तरूपमा हामीप्रति जिम्मदार रहनेछन्। यो राज्यको शासन-सम्बन्धी विषयहरूमा मन्त्रिमण्डलका सबै निर्णयहरू हामीलाई जाहेर गर्ने हाम्रो प्राइममिनिष्टरको कर्तव्य हुनेछ औ यो राज्यको शासन-सम्बन्धी विषयहरूका बारेमा हामीले खोजिबक्सेका सबै समाचार पनि उनीले हामीलाई जाहेर गर्ने उनको कर्तव्य हुनेछ।

औ हामी यसद्वारा हाम्रा सबै प्रजालाई हामी र हाम्रा उत्तराधिकारी प्रति सच्चा वफादारी धारण गर्नाका निमित्त आमन्त्रण गर्दछौ औ हाम्रा सबै जंगी, निजामती अफिसरहरू र यो राज्यका अरू वासिन्दाहरूलाई आज्ञाकारी भई हाम्रा मन्त्रीहरूलाई निजका कर्तव्यको सम्पादनमा मद्दत र सहायता गर्नालाई आदेश गरिबक्सेका छौं। राजनीतिक अपराधमा परेका सबैलाई निजहरू २००७/१२/२०/२ अघि आफ्ना घर फर्की शान्तिमय कामकाजमा लागे भने निजहरूलाई माफी र विस्मृति दिने, औ त्यस्ता अपराधमा जफत भएका निजहरूका जायदाद तिनीहरूलाई फिर्ता दिने हाम्रा शाही इच्छा छ।

यो हाम्रो आन्तरिक आशा छ कि यो नयाँ व्यवस्थामा सरकार र दुनियाँले मिलिजुली नेपालको उन्नति र समृद्धिका निमित्त प्रयत्‍न गर्नेछन्। परमेश्वरले हामीलाई र हाम्रा अधिकारीवर्गलाई हाम्रा प्रजाको हितका निमित्त उपर्युक्त हाम्रा इच्छाहरू पालन गर्ने शक्ति दिउन् ।

नारायणहिटी दरबार, काठमाडौं।

गणेशमान सिंह उद्योग-वाणिज्यमन्त्री नियुक्त भए:

शपथग्रहण कार्यक्रमको व्यवस्था र प्रक्रिया मिलाउन मोहन शमशेरका छोरा विजय शमशेर खटेका थिए। उनलाई सघाउने अधिकारी नरेन्द्रमणि आचार्य दीक्षित थिए, जो तिन्ताकाको प्रशासनमा वरिष्ण एवं कुशल प्रशासक मानिन्थे।

पालैपालो गरेर मोहन शमशेर, बबर शमशेर, बी.पी.कोइराला, सुवर्ण शमशेर र चूडाराज शमशेरपछि गणेशमान सिंहको पालो आयो।

उनीभन्दा अघि आउने अरूले राजासामू शिर झुकाएर शपथग्रहण गरेका थिए। तर गणेशमानले भने दुवै हात उठाएर अभिवादन मात्र गरे। उनको त्यो व्यवहार उनका जेठा बाजे बडाकाजी रत्नमानलाई मन परेको थिएन तर सिंहका अनुसार उनी त्यहाँ मन्त्री पदको शपथग्रहण गर्न गएका थिए जुन उनले क्रान्ति गर्ने पार्टी नेपाली काँग्रेसको नेताको हैसियतमा पाएका थिए र शिर झुकाउन आवश्यक थिएन।

राजा त्रिभुवनले उनलाई हाँसेर स्वागत गरे। सिंहको शपथग्रहण भएपछि उनी नेपालका उद्योग-वाणिज्यमन्त्री नियुक्त भए। शपथग्रहण कार्यक्रम समाप्त भएपछि उनलाई शपथको एक प्रति कागजमा सहिछाप गराइएको र मन्त्रीपदको लालमोहर लागेको एक प्रति पनि दिइयो। सिंह लगायत सबैलाई आफ्नो कार्यकालका लागि भनेर एक-एकवटा मोटर प्रदान गरियो।

समारोह सकिएर सबैजना बाहिर निस्कँदा नेपालको इतिहासको नयाँ अध्यायको सुरूवात भएको थियो। कैयौँ व्यक्तिहरूको सङ्घर्ष र बलिदानपश्चात राणाहरूको १०४ वर्षको हुकुमको अन्त्य भएको थियो। नेपालमा प्रजातन्त्र आएको थियो र आउने सरकार जनताले छनोट गर्ने थिए।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर