कैदीदेखि मन्त्रीसम्म
शपथग्रहण कार्यक्रम सम्पन्न भएपछि नारायणहिटी दरबारको शान्त बगैँचामा बसेर गणेशमान सिंहले भूत, वर्तमान र भविष्यलाई केलाउने मौका पाए। केही हप्ता अघिसम्म आफू राज्यको कैदी भएको र आज मन्त्री हुन पुगेकोमा उनी रोमाञ्चित महसुस गरिरहेका थिए। रोमाञ्चित हुँदाहुँदै पनि त्यो यात्राको कठिनाई पनि उनी सम्झँदै थिए।
तर जेहोस् नेपाल प्रजातान्त्रिक राज्यमा परिणत भएकोमा उनी खुसी थिए। उनका वरिपरि भएका राणाहरूमा केही उनीसँगै मन्त्री नियुक्त भएका थिए। तर सो कार्यक्रमको समाप्तिबाट औपचारिक रूपमा राणा शासनको विसर्जन हुन पुगेकोमा उनलाई सन्तोष महसुस भइरहेको थियो।
“आखिर प्राजातान्त्रिक व्यवस्था एक प्रक्रिया हो र सबैभन्दा महत्वपूर्ण पक्ष भनेको अब जनताले को शक्तिमा आउँछ भनेर छान्ने बाटो खुलेको थियो। क्रान्तिको उद्देश्य राणाहरूको निरंकुश शासनको अन्त्य थियो, राणाहरूलाई समाप्त पार्ने होइन र हामी त्यही लक्ष्य प्राप्त गर्ने क्रममा थियौँ”, गणेशमान माथवर सिंहलाई बताउँछन्।
“क्याविनेट सिस्टमको स्थापना र मन्त्रीपरिषद् प्रणाली नेपालको प्रजातान्त्रिक सुधारको पहिलो कदम थियो।”
बगैँचामा वरिपरि हेर्दै गर्दा गणेशमानले मन्त्री नियुक्त भएपछि लागेको खुसी पनि सम्झन्छन्। “जब म चारवर्षको कालकठोरीको नरकीय यातनाबाट मुक्त हुन भद्रगोल जेलको पर्खाल नाघेर भागेको थिएँ, मेरा खुटा भुईंमा थिएनन्। फाल्गुन ७ गतेको दिन पनि मेरो अवस्था त्यस्तै थियो।“
उल्लासमय वातावरण भएपनि उनलाई पाएको नयाँ जिम्मेवारीको गहनता पनि बोध भइरहेको थियो।
बी.पी. कोइरालासँग कुराकानी
आफूलाई मन्त्री बन्ने आग्रह गरिँदा फेरि पनि उनलाई त्यही पुराना प्रश्नहरूले सताउँथे –
“मन्त्री भएर के गर्ने त्यही थाहा छैन, कसरी मन्त्री बन्ने? आफूले नजानेको कुरा गर्न खोज्नु आफूलाई मात्र ढाँट्नु होइन, जनतालाई पनि ढाँट्नु हो।“
सिंहले पार्टीका साथीहरूसँग यही प्रश्न पहिला पनि राखेका थिए जब दिल्लीमा भएको त्रिपक्षीय वार्ताबाट बी.पी. कोइरालाले त्यसबेला जेलमै भएका गणेशमानलाई मन्त्री नियुक्त गराउने प्रस्ताव राखेका थिए।
त्यसबेला पार्टीका साथीहरूले यसो भनेर सम्झाएका थिए:
“यो प्रजातान्त्रिक अभ्यास राजा, राणा र काँग्रेस तीनैथरिका लागि नयाँ छ। राजनीतिमा लागेको मानिसले पद सम्हाल्न पहिले नै तालिम लिएर आएको कोही हुँदैन। त्यो त राजनीतिक आदर्श र सिद्दान्तका प्रतिको कटिवद्धताले संचालित हुने विषय हो। तपाईं यो पदका लागि योग्य हुनुहुन्छ र तपाईं मन्त्री नबन्ने हो भने मानिसले नयाँ सरकारलाई विश्वास गर्न सक्नेछैनन्।“
पटकपटक त्यही कुरामा अड्किरहनु उचित नठानेर भोलिपल्ट उनी सोझै बी.पी. कोइरालासँग कुरा गर्ने मनसायले त्यहाँबाट निस्केका थिए। उनले वी.पी. कोइरालासँग एकान्तमा भेटेर दिल्ली सम्झौताप्रतिको असन्तोष र मन्त्री पदका बारेमा भएको आफ्नो विचार राखे।
कोइरालाले सिंहको प्रश्नको उत्तरमा आफू पनि सम्झौताबाट खुसी नभएको कुरा व्यक्त गरे। आफूसँग अरू केही विकल्प नभएकाले सम्झौता गर्नपरेको कुरा पनि उनले खुलेर बताए। उनीहरू सम्झौता नगरेर राणाहरूसँग लड्न सक्थे तर भारतसँग पनि लड्नपर्ने स्थिति खडा भएको भए क्रान्ति रोकिने कारणले बाध्यतामा सो विकल्प रोजेको कुरा कोइरालाले खुलाए।
सिंहको मन्त्री पदको द्विविधालाई छलफल गर्दा कोइरालाले यति मात्र भने:
“गणेशमानजी! तपाईं र सुवर्णजी हुनुभएन भने मैले कसका बलमा सरकार चलाउने? प्रजातन्त्रलाई संस्थागत तुल्याउने यत्रो जिम्मेदारी हाम्रो काँधमा आएको छ, तपाईं हामी मिलेर मात्र त्यो काम पूरा गर्न सक्छौँ। तपाईंविनाको सरकार मैले कल्पनै गरेको छैन।“
गणेशमनले मन्त्री भएपछि पाएको मोटरमा पहिलोपटक सवार
आफ्नो अतीतमा डुबेर बसेका गणेशमानलाई सलामीको धुनले झकझकायो। वास्तवमा समारोह समापन भएकोले राजाको बिदाइका निम्ति त्यो धुन बजेको रहेछ। राजा समरोहस्थलबात प्रस्थान गरेपछि सबैजना नारायणहिटी दरबारबाट बाहिर निस्किए।
मूल ढोकाको सिंढीबाट तल ओर्लँदा मन्त्रीहरूका लागि मोटरकार तयार खडा थिए। मोटर पनि प्रोटोकल अनुसार लहरै राखिएको रहेछ। आफ्नो पालो आएपछि सिंह कारको पछिल्लो सिटमा बसे र एकैछिनमा एकजना सिपाही उनलाई सलाम गरेर गाडीभित्र बस्यो। गणेशमान अचम्म भएर को हो भनी सोधे।
“मन्त्रीज्यूको वडीगार्ड”, सिपाहीले जवाफ दियो।
अनि पो बल्ल उनलाई मन्त्री भएको बोध भयो।
सिंहले ड्राइभरलाई ललिता निवास जाने निर्देशन दिए किनकि नेताहरूको बैठक बस्न अरु उपयुक्त ठाउँ थिएन।
नारायणहिटी दरबारदेखि बालुवाटार, सुवर्णशमशेरको दरबारसम्मको यात्रामा उनले आफ्नो अतीत र वर्तमानमा आएको चमत्कारिक परिवर्तनको समीक्षा गरे।
“मलाई कुनै दिन आजन्म कैदको सजाय तोकिएपछि पुलिसले घेरेको सरकारी लरीमा हालेर सिंहदरबारबाट सदर झ्यालखाना लगिएको थियो। आज पनि पुलिस अफिसर अघि लगाएर सरकारी गाडीमा सवार भएको छु। फरक कति भने उसबेला कैदी थिएँ, अहिले मन्त्री छु।“
छन त गाडीमा हामी तीनजना थियौँ तर हामी एकअर्कासँग त्यति घुलमिल नभएको भएर खासै हामीबीच त्यसदिन कुराकानी पनि भएन।