सिंहले राजनीतिक दमनमा पर्दा जनता मौन हुनुको कारण खुलाउँछन्

गणेशमान सिंहकी आमाका खुशीका आँसु:

बालुवाटारको बैठक सकिएर गणेशमानको गाडी शहरभित्र पस्दा, मानिसहरूले झ्याल, ढोका र बार्दलीमा बत्ती बालेको देखिन्थ्यो। मानिसहरू दीपावली गरेर प्रजातन्त्रको स्वागत गरिरहेका थिए।

गणेशमानको गाडी रानीपोखरीको उत्तरपश्चिम कुनाबाट असन पस्ने कमलाक्षीको बाटोमा प्रवेश गरेपछि उनले देखे कि त्यहाँ उनको स्वागतमा भीड जम्मा भएको थियो।

भीड उनको गाडीसँगै उनको घरसम्मै हिँड्यो। बाटोभरि उनीहरूले नारा लगाए – “वीर गणेशमान – जिन्दावाद, नेपाली काँग्रेस जिन्दावाद”।

कमलाक्षीदेखि किलागलको घरसम्म पुग्न उनलाई डेढ घन्टा लाग्यो। बल्लबल्ल गरेर घर पुग्दा घरमा पनि भीड उस्तै थियो। ढोकामा गणेशमानकी आमा र बज्यै उनलाई टीका र माला लगाएर स्वागत गर्न प्रतीक्षारत थिए। टीका-माला लगाएपछि गणेशमानले उहाँहरूको खुट्टा ढोग्न निहुरिँदा उनकी आमाले दुवै हातले उनलाई उठाइन् र स्नेहपूर्वक टाउकामा हात राखेर आशीर्वाद दिइन्।

“मेरा कारण अवर्णनीय दु:ख र कष्ट उठाउनुभएकी आमाले मलाई मन्त्री पदको शपथग्रहण गरेर आएको देख्दा आँसु थाम्न सक्नुभएन। खुशीका आँसु भए पनि भावुकताले उहाँ बोल्न नसक्ने हुनुभएको थियो”, गणेशमान माथवर सिंहलाई बताउँछन्।

“मेरा फुपूहरूले उहाँहरूलाई दुईतिरबाट सहारा दिएर भित्र लगे। बाहिर कोलाहल बढिरहेको थियो। भाई शंकरमान र साथीहरू व्यवस्था मिलाउन लागेका थिए“, गणेशमान थप्छन्।

घरका फुपूहरूलगायतका अरू परिवारका सदस्यहरू गणेशमानलाई सगुन दिन पर्खिरहेका थिए। सिंहले सबैबाट सगुन लिएर सक्काउँदा मध्यरात भयो अनि बल्ल उनले सुस्ताउने मौका पाए।

जनताको मौनताको कारण:

“मैले पहिल्यै भनेझैँ ऐतिहासिक रूपमा काठमाडौंलाई नेपाल भनिने चलन थियो”, काठमाडौंको इतिहास केलाउने क्रम सुरू गर्दा गणेशमान भन्छन्।

“काठमाडौंको इतिहासमा यहाँका जनताले धेरै उतारचढाव देखेका र प्रत्यक्ष भोगेका थिए – मल्लवंशको पराजय, पृथ्वीनारायण शाहको आगमन, थापा र पाँडे परिवारको झगडा, रानी लक्ष्मीदेवी र युवराज सुरेन्द्रबीचको कलह, कोतपर्व र जङ्गबहादुरको उदय, रणोद्वीपको हत्यादेखि पद्मशम्शेरको बहिर्गमन। यति धेरै परिवर्तनमा काठमाडौंका जनता मौन साक्षी मात्र थिए। प्रतिकार गर्न आवश्यक पनि ठानिएन किनकि उनीहरू त्यसलाई वेहोर्ने रैती मात्र थिए”, गणेशमान बताउँछन्।

“एक किसिमले काठमाडौंका जनतालाई परिवर्तनको आदत भइसकेको थियो। उनीहरूलाई लाग्थ्यो कि राजनीतिक परिवर्तन उनीहरूको हातमा थिएन र त्यसैले चुपचाप सहेर अघि बढ्नुपर्ने बाध्यता हुन्थ्यो। राज्यको मामिलामा उनीहरूको भूमिका नभएकाले त्यस्ता कुराकानीबाट परै रहन उनीहरू मुनासिव ठान्थे।“

“त्यसको प्रमुख कारण थियो – चेतनाको कमी। विश्वमा आधुनिक शिक्षाको प्रचारप्रसार जसरी भइरहेको थियो त्यसबाट नेपाल विल्कुलै बेखबर थियो।“, उनी थप्छन्।

“राणाहरूले शिक्षा प्राप्त गर्ने माध्यमलाई रोकेर राखेका थिए त्यसैले शिक्षाको कमी थियो।“

“सरकारले विद्यालय खोल्ने त कता हो कता, अरुले खोल्न खोज्दा पनि रोक लगाउने र त्यस्ता क्रियाकलापमा लाग्नेहरूलाई कठोर कारवाही गर्ने गरेको थियो।“

“शिक्षित जनता सचेत हुने थियो, र सचेत जनता विद्रोहको बीज हो भन्ने राणा सरकारले बुझेको थियो।“, गणेशमान बताउँछन्।

राणाहरूको शिक्षामाथिको निग्रह:

नेपालको पहिलो स्कूल दरवार स्कूलको स्थापना जङ्गबहादुर कुँवरको बेलायतको भ्रमणपछि भएको हो। तर स्कूलमा राणाका आफ्ना छोरा र भतिजाहरू र केही भारदारका छोराहरूलाई मात्र पढ्ने अनुमति थियो। राणा सरकारले अरु कुनै स्कूल खोल्ने दु:ख गरेनन्।

धेरै वर्षपछि चन्द्र शमशेरले त्रिचन्द्र कलेज स्थापना गरे। काठमाडौंमा कथन छ कि उनले कलेजको उद्घाटन गर्ने दिनमा भनेका थिए – “मैले आज आफ्नै हातले आफ्ना सन्ततिको विनाशको खाल्डो खनेँ।“

कलेज खुले पनि हाई स्कूलहरूको अभावमा त्यसमा भर्ना भएर उच्च शिक्षा हासिल गर्ने अवसर पाउनेको संख्या सीमित थियो। त्यसको अन्दाज यसैबाट पनि लगाउन सकिन्छ कि नेपालको दोश्रो हाई स्कूल जुद्धोदय पब्लिक स्कूल दरवार स्कूल खोलेको ८० वर्षपछि खोलियो।

“तिनताका नेपालको जनसंख्या गन्ने चलन चलेको थिएन, र अनुमानित संख्या थियो – चालीस लाख। त्यत्रो जनसंख्यामा एक सय वर्षसम्म एउटा मात्र स्कूल थियो।“

“निश्चय नै तीनधारा पाकशालामा भएको संस्कृत पाठशाला जस्तै केही त्यस्ता पाठशाला थिए तर त्यसमा बाहुनका छोराहरू मात्र पढ्न पाउँथे र त्यहाँबाट सामाजिक चेतनाको अभिवृद्धिमा खासै केही योगदान हुँदैनथ्यो।“, गणेशमान बताउँछन्।

नेपाली परिवारमा अधिकांश मानिसले आफ्ना छोराहरूलाई पढ्न बनारस पठाउँथे। बिस्तारै नेपालमा राजनीतिक जागरूकता भएका मानिसको संख्या बढ्दै गयो जसले घरछिमेकमा अरूलाई पनि सिकाउन थाले। यहि चेतनाका कारण नै नेपाली काँग्रेसको क्रान्ति सफल हुन सकेको हो।

“विश्वको इतिहास साक्षी छ, जहाँ जनताको राजनीतिक चेतना उन्नत छ, त्यहीँ क्रान्ति सफल भएको छ। यो पनि सत्य हो कि हतियार आधुनिक र पर्याप्त हुने जत्थाले बलपूर्वक सत्ताकब्जा गरेका घटनालाई पनि क्रान्तिको नाम दिइएको छ, तर त्यो क्रान्ति नभएर सत्ता उलटफेर मात्र हो। त्यसका पछाडि समाज परिवर्तनको दर्शन हुँदैन र त्यसले जनतालाई अधिकारसम्पन्न पनि तुल्याएको हुँदैन“, सिंह आफ्नो विचार टुङ्गाउँछन्।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर