गणेशमान सिंह आफ्नो मन्त्रालयका कर्मचारीहरूसँग भेट गर्छन्, कार्यालय खडा गर्दा परेका समस्याहरू बताउँछन्

गणेशमान सिंह आफ्नो मन्त्रालयका कर्मचारीहरूसँग भेट गर्छन्

मन्त्रीहरूले आपसमा सल्लाह गरेर मन्त्रालयको उचित व्यवस्था नभएसम्म मन्त्रीहरूको निजी निवासमै मन्त्रालय खडा गर्ने निर्णय गरे।

यसरी गणेशमान सिंहको किलागलको घर उद्योग तथा वाणिज्य मन्त्रालय हुने भयो।

“एउटा स्थापित व्यवस्थाबाट अर्को नयाँ व्यवस्थामा संक्रमणको समयावधिलाई संक्रमणकाल भनिन्छ। हामी त्यही संक्रमणकालमा प्रवेश गरेका थियौँ। तर उपयुक्त संयन्त्र र साधनको अभावले हाम्रा पाइला पाइलामा अवरोध खडा भइरहेका थिए।“, गणेशमान बताउँछन्।

“विभिन्न मन्तालयका कर्मचारी खटाउने काम पहिले गरिआएका कामको आधारमा भएको थियो, उनीहरूको योग्यता, दक्षता र रुचि अनुसार भएको थिएन।“

“भाग्यवस् मैले अनुभवी कर्मचारीहरू पाएको थिएँ”, उनी थप्छन्।

१९९० सालको महाभूकम्पपछि, त्यसबेलाका प्रधानमन्त्री जुद्ध शमशेर राणाले नेपालमा पुननिर्माणको कामलाई सहयोग पुऱ्याउनका निमित्त उद्योग परिषद् स्थापना गरे। मन्त्रालयहरू छुट्टाइएपछि उद्योग परिषद्लाई उद्योग तथा वाणिज्य मन्त्रालय अन्तर्गत गाभियो। त्यसैकारण गणेशमानले अनुभवी कर्मचारीहरू पाए।

सिंहको मन्त्रालयको सचिवमा भिमबहादुर पाँडे खटिएका थिए। तर गणेशमान सिंह मन्त्री हुँदा उनी बिदामा बसेकाले डेपुटी सेक्रेटरी आनन्दबहादुर श्रेष्ठ र नीरराज राजभण्डारीले नै सिंहलाई गर्नुपर्ने काम कारवाहीका बारेमा आवश्यक जानकारी उपलब्ध गराए।

दुवै डेपुटी सेक्रेटरीहरू मिलेर सिंहलाई बाँकी कर्मचारीहरू र उनीहरूले गर्ने कामसँग परिचय गराए। उनीहरूले सिंहलाई उद्योग वाणिज्य मन्त्रालयको कार्यक्षेत्रको विवरण पनि दिए।

“मैले मन्त्रालय सम्हालेको पहिलो दिन, सबैकुरा बुझ्नका लागि टाउको मात्रै हल्लाइरहेँ। कर्मचारीहरूमा भने म गम्भीर, संयमी र बुझक्कड पनि छु भन्ने छाप परेछ। वास्तवमा त्यस्तो केही थिएन, आफूले नबुझेको विषयमा किन बोल्नु भनेर केही नभनेको मात्र हो।“, आफ्नो पहिलो दिनको सम्झना गर्दै उनी बताउँछन्।

कार्यालयको व्यवस्थापन गर्दा आएका समस्या

मन्त्रालयका कर्मचारीहरूसँग परिचय त भयो। अब उनीहरूलाई बस्न दिने आसनको अभाव हुँदा समस्या पऱ्यो।

“त्यसबेला काठमाडौंमा भन्नासाथ पाइने रेडिमेड फर्निचरका पसल थिएनन्, अर्डर दिएर तयार गर्नुपर्थ्यो।“, सिंह बताउँछन्।

सिंहका अनुसार कार्यालयहरूमा त्यसबेलासम्म राणाहरूले मात्र टेबल, मेच पाउँथे भने अरूले भुइँमा चकटीमा बसेर सानो टेबलमा काम गर्ने चलन थियो।

गणेशमानको घरमा त मन्त्री आफै चकटीमा बसिरहेका थिए, कर्मचारीले टेबल खोज्ने कुरै भएन।

उद्योग परिषद्का सदस्यहरू प्रशासनिक व्यवस्थामा अरूभन्दा अलिक अगाडि बढिसकेका थिए। कर्मचारीका लागि मेच, टेबलको व्यवस्था, सरकारी कागजपत्र सुरक्षित राख्न फाइलको प्रचलन पनि उनीहरूबाटै भएको थियो।

“कर्मचारीहरूको अर्को समस्या थियो, मन्त्रीको घरमा गएर काम गर्दा इज्जत के हुन्छ भन्ने धारणा! हिजोसम्म राणाका भव्य दरबारमा गएर काम गरेका कर्मचारीले गल्लीगल्ली चहारेर मन्त्रीको घर गएर काम गर्ने कुरा आफ्नो प्रतिष्ठा प्रतिकूल ठान्ने गरेका थिए”, सिंह थप्छन्।

“अर्को समस्या टेलिफोन जडानको पनि थियो। सबैभन्दा नजिकको प्वाइन्ट नयाँसडकको जुद्ध बारूणयन्त्रको कार्यालयमा थियो। टेलिफोनको तार जुटाउन पनि हम्मेहम्मे पऱ्यो।“

यस्ता समस्याहरूलाई कर्मचारीले कसरी लिने हुन् भन्ने सिंहलाई चिन्ता परेको थियो।

तर कर्मचारीहरू सहयोगी भएका कारण सिंहलाई मन्त्रालयको थालनी गर्न निकै सहज भयो।

सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक:

मन्त्रीपरिषद्को पहिलो बैठकका लागि गणेशमान सिंह आफ्नो सरकारी गाडीमा सिंहदरबार पुगे। मूलद्वारबाट भित्र छिर्दा सिपाहीले उनलाई स्यालुट गऱ्यो र एकाएक उनी केही महिना अघिसम्म यहाँ कैद भएको क्षणमा पुगे। त्यो यहि ठाउँ थियो जहाँ उनलाई शारीरिक र मानसिक यातना दिइएको थियो।

“सिंहदरबारको मूल ढोकाभित्र प्रवेश गरेपछि मेरो आङ सिरिङ्ग भयो। मेरा आँखाले त्यो कोठा खोजे जसमा चार महिना मैले बडो कष्टसाथ गुजारेको थिएँ।“, सिंह बताउँछन्।

“गाडी रोकिएपछि अफिसरजस्तो देखिने सैनिक आएर इशाराले चोकभित्रबाट बैठक हुने ढोकासम्म पुऱ्यायो। त्यहाँ क्याबिनेट सेक्रेटरी नरेन्द्रमणि दीक्षित स्वागत गर्न बसिरहेका थिए। उनले मलाई आफू बस्ने स्थानसम्म लगिदिए। त्यहाँ पुग्दा प्रधानमन्त्री मोहन शमशेर र गृहमन्त्री कोइरालाजीबाहेक सबै उपस्थित भइसकेका थिए।“

“त्यो कोठामा प्रवेश गरेपछि बबरशमशेरका निम्ति बडो विचित्रको स्थिति उत्पन्न भयो। म भित्र छिर्दा सबै मन्त्रीहरूले उठेर अभिवादन गरे भने बबर शमशेर नउठ्ने एक्लो थिए।“

“सायद उनले आफूभन्दा मुनिका मन्त्री आउँदा उठ्न नचाहेका होलान्। तर उनको रातो अनुहारले उनी अपमानित भएको प्रकट गरिरहेको थियो।“

“बबर शमशेर राणाहरूभित्रै पनि अनुदार तथा कठोर मानिन्थे। यद्यपि उनी रोलक्रममा मोहनशमशेरभन्दा माथि थिए, तथापि राणा शासन जोगाउने अभियानको वास्तविक नेतृत्व उनले नै गरेका थिए। भनिन्छ, रुद्र शमशेरलाई पाल्पा धपाउने, पद्म शमशेरलाई भारत पठाउने सबै उनकै योजना थियो”, गणेशमान माथवरसिंहलाई बताउँछन्।

“तर उनी बोलीका पनि पक्का थिए। शपथग्रहण समारोहमा उनले एउटा बैठकमा सामेल भएपछि मन्त्रीपद त्याग्ने बताएका थिए। र त्यही वचन अनुसार उनी पहिलो बैठकपछि परदेश लागे।“, सिंह थप्छन्।

बैठकमा भने अरू मुद्दाहरूमध्ये एउटा निकै जरुरी मुद्दा उठाउनु थियो – मन्त्रालयका लागि उचित स्थान। त्यसका लागि मोहन शमशेरको निवास सबैभन्दा उपयुक्त थियो।

त्यसैकारण मन्त्रीहरू मिलेर प्रधानमन्त्री मोहनशमशेरलाई सिंहदरबार मागे।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर