२००८ सालको नेपालको उद्योग र वाणिज्य

पूर्वाधारहरूको कमी नेपालको उद्योग र वाणिज्यका लागि एक चुनौती

“नेपाल शिक्षाको क्षेत्रमा मात्र पिछ्डिएको थिएन, आर्थिक र सामाजिक दृष्टिले पनि नितान्त पिछडिएको थियो।“, आफू प्रधानमन्त्री भएको समयताकाको विश्लेषण गर्दै गणेशमान बताउँछन्।

सिंहका अनुसार शिक्षाका अतिरिक्त मानिसको चेतना जगाउन यातायातको सुगमता, संचारको विकास र शहरीकरणले अत्यन्त ठूलो भूमिका खेलेको हुन्छ ।

“राणाकालमा यी कुनैमा पनि खासै विकास भएन”, सिंह थप्छन्।

“चारभञ्ज्याङभित्र काठमाडौं, पाटन र भक्तपुर शहरको विकास राणाकाल अघि नै भइसकेको थियो। पहाडमा धनकुटा, बन्दीपुर, पोखरा, तानसेन, चैनपुर, ओखलढुंगा र डोटी र तराईमा जनकपुर, विराटनगर, खस्यौली, नेपालगंज र धनगढीका बजार राणाहरूको उत्थान हुनुअघिदेखि विकास र विस्तार भइरहेका थिए। सरकारका नितीका कारण नभइ अर्थशास्त्रका सिद्दान्तका अनुसार स्वभाविक विकास तिनमा भएको थियो”, शहरीकरणका बारे सिंह आफ्नो मत व्यक्त गर्छन्।

यातायातको सुगमता बारे कुरा गर्दा उनी सडक र राजमार्गको अभावतिर इंकित गर्छन्:

“राणाकालमा काठमाडौं उपत्यकालाई तराई र पहाडसँग जोड्ने कुनै चौडा राजमार्ग थिएन। झन् मोटर चल्ने बाटो हुने त कुरै भएन।“

“टेलिफोनबारे भन्नुपर्दा केही जडान त भएका थिए तर ती सर्वसाधारणको प्रयोगका लागि थिएनन्, सरकारको उपयोगका निम्ति सीमित गरिएको थियो। पत्रपत्रिकाका नाममा सातामा दुई पटक प्रकाशित हुने गोरखापत्र थियो, जसमा श्री ३ महाराजको स्तुतिगान र सरकारी उर्दीबाहेक केही छापिँदैनथ्यो। रेडियो थिएन, चिठी ओहोरदोहोर पनि हुलाकमा मानिसले नै गर्ने भएकाले एउटा चिठी पुग्न महिनौँ लाग्न सक्थ्यो।“

नेपाली उद्योग र वाणिज्यको पृष्ठभूमि:

गणेशमानले शिक्षा, यातायात, संचार र शहरीकरणबारे चिन्तन गर्नुको कारण यो थियो कि तिनमा विकासका कमीका कारणले उनको उद्योग र वाणिज्यको मन्त्रीको कामहरूमा चुनौती आउने थियो।

कुनै पनि राज्यको सञ्चालन सहज हुन यातायातको सुगमता, भरपर्दो संचारमाध्यम र शहरीकरण आवश्यक हुन्छन्। तर नेपालमा यी सबै कुरामा कमी थियो।

“तिनताका मानिसका निमित्त सरकारी जागिरबाहेक अरू विकल्प थिएन। अधिकांश नेपालीको जन्मजात पेशा खेतीपाति तथा पशुपालन थियो। तर पर्याप्त जमिनका अभावमा कृषिमा आधारित मजदूर दुई तीन महिना काम गरेर नौ महिना बेरोजगार हुन्थे। शहरमा त उद्योग थिएन, गाउँमा हुने सवालै भएन।“, सिंह बताउँछन्।

“धेरै कठिनाइ पछि, विराटनगरमा केही उद्योगको स्थापना भयो। तर नेपाली मजदूरमा मेसिन चलाउने सीप नभएकाले त्यहाँ काम गर्ने अधिकांश भारतीय हुन्थे।“, सिंह थप्छन्।

“काठमाडौंमा नेवार र मारवाडीहरू कारोवार गर्थे तर त्यसले पनि धेरै जागिर दिन सक्दैनथ्यो।“

यिनै कारणले गर्दा मानिसहरू सरकारी जागिरमा नै निर्भर थिए। बाँकीको संसार औद्योगिकरणको लाभ उठाइरहेको थियो भने नेपालमा त्यो लहर आएकै थिएन।

नेपालका नयाँ मन्त्रीहरूका लागि मन्त्रालयको आवश्यकता:

नयाँ मन्त्रीहरूका लागि तुरुन्तै मन्त्रालयको आवश्यकता परिसकेको थियो। धेरैजसोले सिंहदरबारलाई नै मन्त्रालय बनाउन उचित ठहर गरेका थिए।

सिंहदरबार वि.सं. १९६० मा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासका निम्ति बनाएका थिए। पछि चन्द्रशमशेरले अब उप्रान्त जो श्री ३ महाराज हुन्छ उसको सरकारी निवासका रूपमा प्रयोग गर्न भनेर सरकारलाई २ करोडको मूल्यमा सिंहदरबार बेचिदिए।

मोहनशमशेरले दरबार छाड्नुपर्ने सबैको मत भएपनि मोहनशमशेरको उमेर र पदको मर्यादा राखिदिन कसैले मुख फोरेर बोल्न सकेनन्। अन्त्यमा मन्त्रालयको उचित समाधान नआएसम्मका लागि मन्त्रीहरूकै निवासमा मन्त्रालय खडा गरेर जनताको काम प्रारम्भ गर्ने निर्णय भयो।

राणा मन्त्रीहरूका लागि यो उपायले खासै समस्या खडा गर्दैनथ्यो। तर सुवर्ण शमशेर बाहेक काँग्रेसका मन्त्रीहरू भने अप्ठेरोमा परे।

“हामी येट्खाबाट सरेर किलागलमा बस्न थालेका थियौँ। घरमा हजुरआमा, आमा, मंगलादेवी, शंकरमान र बुहारी थियौँ। एउटा बैठक कोठा बाँकी थियो, त्यसमै मन्त्रालय राख्ने विपत्ति ममाथि आइलाग्यो।“

“अर्को समस्या थियो – झण्डाको। मन्त्री निवासका अगाडि राष्ट्रिय झण्डा गाड्नुपर्ने रहेछ तर मेरो घर बाटोमै भएकाले अगाडि आँगन थिएन। छानामा राख्न पनि सहज भएन किनकि हरेक रात छानाबाट झण्डा निकालेर सुरक्षित राख्नुपर्ने थियो। तै घरको पश्चिममा एउटा ढोका थियो र त्यहाँ झण्डा राख्ने र त्यसैलाई मूल ढोका बनाएर मन्त्रालय खडा गर्ने निर्णय भयो।“, गणेशमान बताउँछन्।

“झण्डाको समस्या त येनकेन समाधान भयो तर गार्डहरूलाई सुत्ने ठाउँ दिने कहाँ? गार्डहरूका लागि सुत्ने ठाउँ मन्त्रीले नै मिलाइदिनुपर्ने नियम रहेछ। बल्लतल्ल छिमेकीको घरमा एउटा कोठा बन्दोबस्त गरेर अस्थायी रूपमा त्यस समस्याको पनि समाधान भयो।“

यसरी गणेशमान सिंहको किलागलको घर नेपालको उद्योग तथा वाणिज्य मन्त्रालयका लागि प्रयोग हुन सुरु भयो।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर