सिंहदरबारसँग मोहन शमशेरको मोह
नवनियुक्त मन्त्रीहरू सिंहदरबारमा पहिलो बैठकका लागि भेला भएका थिए।
अरू विषयहरूमध्ये मन्त्रीहरूको कार्यालयको उचित स्थानको व्यवस्थाको मामिला मुख्य विषय थियो। सिंहदरबार नै मन्त्रालयका लागि सबैभन्दा उपयुक्त स्थान भन्ने मत सबै मन्त्रीले राखेपछि काँग्रेसका मन्त्रीहरूले प्रधानमन्त्री मोहन शमशेरलाई सिंहदरबार खालि गर्न आग्रह गरे।
तर मोहन शमशेरले मानेनन्।
“यो घरसित मेरो बुबाको सेन्टिमेन्ट गाँसिएको छ, त्यसैले मैले छाड्न नसकेको हो।“, मोहन शमशेरले मन्त्रीपरिषद्लाई बताए।
सिंहदरबार मोहन शमशेरका बुबा चन्द्रशमशेरले बनाएका थिए। तर उनले सो भवन नेपाल सरकारलाई त्यसबेलाको दुई करोडमा बिक्री पनि गरेका थिए।
कसैले पनि मोहन शमशेरलाई जवाफ फर्काउन नसकेको देखेर गणेशमान अघि सरे:
“सरकारी घर, सरकारका लागि खाँचो परेकाले चाहियो भन्दा सेन्टिमेन्टको कुरा उठाएर वातावरणलाई सेन्टिमेन्टल बनाउन भएन प्रधानमन्त्रीज्यू! हामी तपाईंको सेन्टिमेन्टको कदर गरौँला, तर त्यसले मन्त्रालय राख्ने ठाउँको अभाव पूर्ति हुँदैन। सेन्टिमेन्ट र सेटलमेन्ट भिन्न विषय हुन्। प्रजातान्त्रिक पद्धतिमा जाने सेटलमेन्ट भएको हो कि होइन? मन्त्रालय नै राख्ने ठाउँ नभए मन्त्रीहरूले कहाँ बसेर काम गर्ने? प्रधानमन्त्रीको हैसियतले हाम्रोभन्दा तपाईंको ठूलो दायित्व छ – मन्त्रीहरूप्रति मात्रे होइन, जनताप्रति पनि।“
राणा शासकहरूसँग बोल्न नडराउनेमा गणेशमानको नाम अब्बल स्थानमै पर्थ्यो।
यो त झन् पुरानो नेपाल थिएन – यसपालि सिंहले साँचो बोल्दा सजाय पाउनुपर्दैनथ्यो।
केहि बेरको मौनतापछि वी.पी. कोइरलाले मोहन शमशेरलाई महाराजगंजमा भएको उनको दरबारले नपुग्ला र भन्दै प्रश्न राखे।
त्यस प्रश्नको जवाफ मोहन शमशेरले सोचेर दिए:
“हो, मलाई बस्नका निम्ति कुनै समस्या छैन। मेरो आफ्नै घर छ। तर बुबाले स्वर्गे हुने बेलामा यो सिंहदरबार एउटा तिमीहरूले कसैगरि नछाड्नु, जसरी भएपनि सुरक्षित राख्नु भनिबक्सेको थियो। त्यही कारण यो घरसँग हाम्रो पनि सेन्टिमेन्टल एट्याचमेन्ट गाँसिन पुगेको हो।“
बैठक अनौपचारिक भएका कारणले मन्त्रीहरूले यस विषयमा अझै बढे जोड दिएनन् र अरू मुद्दाहरूमा छलफल गर्न थाले।
सिंहको घरमा साथीहरू:
बैठकबाट मन्त्रालयको टुङ्गो नलागेपछि मन्त्रीहरूले आ-आफ्नै घरबाट मन्त्रालय चलाइरहनै पर्ने भयो। सिंहका समस्या भने बढिरहे। उनको छिंडीमा मन्त्रालय राखिएको थियो, जुन उनको पाहुना कोठा पनि थियो। त्यसमाथि उनकोमा साथीहरू आएर बसिरहेका थिए।
“काठमाडौंमा स्तरीय होटल र लज थिएनन्। त्यसैले उपत्यका बाहिरका साथीहरूले आफन्तकहाँ पाहुना लाग्नुको अर्को विकल्प थिएन“, सिंह बताउँछन्।
“मेरोमा रामहरि जोशी जी र किसुनजी (कृष्णप्रसाद भट्टराई) बस्नुभएको थियो। आफ्नो परिवार, मन्त्रालयका कर्मचारी र पाहुनाले घरमा सधैँ भीडजस्तो हुन्थ्यो। तर बिस्तारै हामी त्यही अव्यवस्थामै रमाउन थालिसकेका थियौँ”, उनी थप्छन्।
“त्यो कोठा दिउँसो कार्यालयको रूपमा प्रयोग हुन्थ्यो भने राति किसुनजी, रामहरि जी र अरू पाहुनाका लागि सुत्ने कोठा हुन्थ्यो”, सिंह हाँस्दै बताउँछन्।
“बिहान भने किसुनजीलाई नुहाउन, पूजापाठ गर्न समस्या हुन थाल्यो। त्यसैकारण किसुनजीले डेरा खोजेर सर्नुपरेको थियो।“
“मेरो मन्त्रालयका कर्मचारीहरूको पनि हाल अस्तव्यस्त थियो। तर उनीहरू पनि उपलब्ध वातावरणमा काम गर्न अभ्यस्त हुन थालेका थिए।“
गणेशमान आफ्नो घरमा मन्त्रालय खडा गरेपछिका सुरूवाती दिनहरूलाई मिठासका साथ सम्झन्छन्।