शंकरमानको निस्वार्थभाव सम्झँदै

गणेशमान सिंहलाई भाइ शंकरमानको सहयोग

गणेशमान सिंहको मन्त्रालयको हालत पनि देशको अवस्थाभन्दा फरक थिएन।

“यो सबैले बुझ्ने कुरा हो कि उद्योग र वाणिज्य तब फस्टाउँछ, जब देशमा शान्तिसुरक्षा कायम हुन्छ। देशमा संक्रमणकाल थियो, र त्यसको प्रभाव मन्त्रालयको काममा पनि परेको थियो”, गणेशमान माथवरसिंहलाई बताउँछन्।

“उद्योग र वाणिज्य मन्त्रालय, नामैले आधुनिक समाज व्यवस्था स्थापनको औजार हो भन्ने बुझाउँछ। त्यसैले मेरो मन्त्रालयको स्वरूप पनि त्यही अनुरूपको अत्याधुनिक प्रविधि र उपकरणले सुसज्जित हुनुपर्ने थियो”, सिंह थप्छन्।

तर पूर्वाधारको त के कुरा, नयाँ सरकारको मन्त्रालयको आफ्नै कार्यालय पनि थिएनन् – गणेशमानको मन्त्रालय उनको आफ्नै घरबाट चलाउन परिरहेको थियो।

तर जेनतेन गरेर मन्त्रालयमा स्थिरता ल्याउने प्रयास भइरहेको थियो। गणेशमानलाई उनका कर्मचारी र भाइ शंकरमानले सहयोग गरिरहेका थिए।

शंकरमान वनारसमा मेटलर्जी विषयमा एमएको अन्तिम वर्षका छात्र थिए र परीक्षाभन्दा अगाडिको बिदामा घर आएका बेला क्रान्तिमा होमिन पुगेका थिए। त्यही सिलसिलामा उनी जेल परेका थिए र गणेशमान भन्दा केही दिन अघि मात्र छुटेका थिए।

जेलबाट रिहा भएपछि शंकरमानले गणेशमानलाई मन्त्रालय खडा गर्न सहयोग गरे।

“शंकरमानले मलाई घरमा मन्त्रालय खडा गर्ने काममा मात्र सघाएका होइनन्, त्यस बेला पनि सघाएका थिए जुन बेला उनी वनारसमा अध्ययन गरिरहेका थिए। म वनारस पुग्दा एक दुई रात उनकैमा बस्थेँ र परिवारको हालखबर थाहा पाउँथे। घरबाट खर्च बोकेर होस् या सरसापटी गरेर उनी मलाई धेरै आर्थिक सहयोग गर्थे”, सिंह शंकरमानको सहयोग सम्झन्छन्।

“मैले घरबाट मन्त्रालयको काम सम्हाल्नु पर्दा, उनले मलाई मन्त्रालय खडा गर्न मात्र होइन, कर्मचारीका लागि बस्ने बन्दोवस्त, मानिसहरूसँग भेटघाट मिलाउने काममा पनि निकै सहयोग गरे। उनी आनन्दबहादुर श्रेष्ठलाई मन्त्रालय संचालनमा प्रशासनिक सहयोग र हरिकृष्ण र इन्द्रभक्तलाई आपूर्तिको काममा सघाइदिन्थे”, सिंह बताउँछन्।

“उनले मन्त्रालयलाई धेरै सहयोग गरे पनि केही मानिसले उनको उद्देश्यमाथि प्रश्न उठाए। मैले उनलाई प्राइभेट सेक्रेटरी बनाएको भन्ने हल्ला चल्न थाल्यो। त्यो हल्ला उनको कानमा पुग्दा उनलाई निकै चित्त दुखेछ र उनले त्यसको जवाफ दिने निर्णय गरे।“ 

वनारसबाट काठमाडौं गोप्य चिठ्ठी आदानप्रदान

शंकरमानले वनारस छँदा गरेको सहयोगको सम्झना गर्दा गणेशमानले अरू दुई व्यक्तिलाई पनि सम्झन्छन्। ती थिए – उनको काका गुञ्जमानका छोरा भुवनमान र साथी देवशंकर।

भुवनमान पनि शंकरमानजस्तै वनारसमै अध्य्यन गरिरहेका थिए। उनलाई अप्ठेरो नपरोस् भनेर गणेशमान उनलाई भेट गर्ने अवसर छलिरहन्थे। त्यसताका वनारसमा भएका नेपाली विद्यार्थीहरू र तिनका राजनीतिक झुकावमाथि निकै निगरानी गरिन्थ्यो। भुवनमान गणेशमानसँग देखिए भने भुवनमानलाई समस्या पर्न सक्थ्यो।

तर भुवनमान त्यसको वास्ता नगरी गणेशमान जहाँ छन्, खोजेर भेट्न आइपुग्थे। पछिका वर्षहरूमा भुवनमानले वनारस-काठमाडौं पार्टीका चिठ्ठी आदानप्रदान गर्न पनि सहयोग गरे।

“जब क्रान्तिको तयारीको सिलसिलामा म भूमिगत रुपमा काठमाडौं बस्न आएको थिएँ, उनले त्यस्तो विकट परिस्थितिमा भारतमा रहेका नेताहरूका पत्र ओहोरदोहोर गराएर मलाई र पार्टीलाई कहिल्यै तिर्न नसक्ने ऋण लगाएका थिए”, गणेशमान बताउँछन्।

ऋणकै कुरा गर्दा, उनी साथी देवशंकरलाई पनि सम्झन्छन्।

“देवशंकरसँग हाम्रो परिवारको घनिष्ट सम्बन्ध थियो। मलाई पार्टीको कामका लागि पैसा चाहिएको बेला उनले उदारतापूर्वक सहयोग गर्थे। फिर्ता आउने कुनै आशा बाँकी नहुँदा पनि उनी मलाई पैसा दिरहन्थे। देवशंकरले गरेको त्यो सहयोग म कहिल्यै बिर्सिँन्न”, सिंह बताउँछन्।

शंकरमानको निस्वार्थभाव – भरपर्दो सेक्रेटरीको खोजी

शंकरमानलाई गणेशमानले प्राइभेट सेक्रेटरी बनायो भन्ने हल्ला चल्न थालेपछि शंकरमान निकै व्याकुल भए। सुरूमा उनले संकोच मान्दै आफूले सुनेको कुरा गणेशमान र अफिसका कर्मचारीसामू राखे।

सबैले त्यसलाई आधारहीन हल्ला भनेर मजाकमै उडाए।

तर शंकरमानलाई भने त्यस हल्लाले निकै चित्त दुखेको थियो। उनको सहयोगमाथि गरेको आरोप मेटाउन उनले मन्त्रालयलाई अबदेखि सहयोग नगर्ने निर्णय लिए।

आफ्नो अन्तिम योगदानका रूपमा शंकरमानले गणेशमानका लागि प्राइभेट सेक्रेटरी खोजी गर्न थाले।

शंकरमानले एक दिन आएर चुडानन्द वैद्यलाई सो पदका निम्ति प्रस्ताव गरे।

“चुडानन्दजी दरवार स्कूलका म्याथ र साइन्सका नामी शिक्षक थिए। शिक्षक भएका हुनाले उनको ठूलो आदर र सम्मान थियो र उनलाई नयाँ पुस्ताका युवाले पनि चिन्दथे। वास्तवमा म जस्तो व्यक्ति चाहन्थेँ, उनी त्यस्तै थिए”, सिंह बताउँछन्।

मन्त्रालयलाई आफ्नो अन्तिम योगदानका रूपमा चुडानन्द वैद्यजस्ता प्रबुद्ध व्यक्तिको चैन गरिदिएर शंकरमानले आफ्नो निस्वार्थभावको प्रदर्शन गरेका थिए। यो देखेर मन्त्रालयका सबैजनाले उनको प्रशंसा गरे। वी.पी. कोइरालाले यो कुरा सुनेपछि शंकरमानलाई हीरा-मोतीको पारख गर्ने जोहरीको संज्ञा दिए।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर