कपडा व्यापारी संगठनको समस्याले वीरगंजमा हड्ताल
२००७ सालको परिवर्तनको समयतिर नेपालले भारतबाट आयात गर्ने दैनन्दिनका उपभोगका सामानहरूमालत्ताकपडाका अतिरिक्त नून, मट्टितेल, जीरामरिच, औषधी थिए। केही औद्योगिक कच्चा पदार्थ पनि आयात हुन्थ्यो तर त्यसको कोटा निर्धारित हुन्थ्यो। लत्ताकपडा, तेल र औषधीमा भने कोटा राखिएको थिएन।
यसै समयमा बेलायती शासनबाट स्वतन्त्र भएको भारतमा स्वदेशी अभियान निकै शशक्त रूपमा चलिरहेको थियो। त्यस अभियानमा महात्मा गान्धीले चर्खामा सुती धागो उत्पादन गर्ने चर्खा अभियानलाई अघि बढाइरहेका थिए, जसअन्तर्गत आयात गरिने विदेशी कपडालाई बहिस्कार गरिने योजना थियो।
तर सुतिका कपडाको माग यति बढी थियो कि आपूर्ति हुन नसकेर पोलिस्टर र टेरिकटन मिसिएको कपडा भारतमा लगिन्थ्यो।
उच्च माग तर कपडामा लागेको प्रतिबन्धका कारण गुजराती कपडा व्यापारीहरूले सीमापारि वीरगंजमा आएर गोदामभरि टनाटन सामान राख्न थाले।
नेपालमा कपडाको आयातमा कोटा नभएका कारण वीरगंजबाट बिहार र उत्तरप्रदेशका सीमावर्ति शहरमा कपडा तस्करी सुरु भयो।
क्लोथ मर्चेन्ट एशोसिएसन
संगठन बनाउने चलन नयाँ थिएन। गुजराती व्यापारीहरूले आफ्नो हितका लागि क्लोथ मर्चेन्ट एशोसिएसन नामको संगठन स्थापना गरेका थिए।
प्रजातन्त्र आएदेखि नेपाली व्यापारीहरू र गुजराती व्यापारीहरूबीच चन्दाको विषयमा समस्या हुन थाल्यो। काँग्रेसले पार्टीका लागि चन्दा उठाउन खोज्दा तस्करी गरिरहेका गुजराती व्यापारीहरूको पोल खोलेर नेपाली व्यापारीहरूले गुजरातीहरूसँग धेरै चन्दा उठाउन माग गर्थे। गुजरातीहरूले चन्दा दिन नमानेपछि नेताहरू र दुई पक्षका व्यापारीहरूबीच समस्या चर्कियो।
सरकारले तमासे बसेर हेर्न नमिल्ने भएकाले कपडाका ठूला व्यापारीका गोदाममा छापा मार्ने आदेश दियो। गोदाममा छापा मार्न थालेपछि क्लोथ मर्चेन्ट एशोसिएसन हड्तालमा उत्रियो। उनीहरूले कपडा मात्र नभई अन्य आवश्यक सामाग्रीको पनि आपूर्ति बन्द गरिदिए।
“वीरगंजलाई रुघा लाग्यो भने काठमाडौंलाई हाछिउँ आउँछ भन्ने गरिन्थ्यो“, गणेशमान भन्छन्। यसको अर्थ यो थियो कि वीरगंजमा भएका घटनाले सोझै काठमाडौंमा असर पर्छ। र यो हड्ताल पनि जति लम्बियो त्यति काठमाडौंमा अत्यावश्यक सामाग्रीहरूको आपूर्ति घट्थ्यो। त्यसैले यो समस्यालाई तुरुन्तै हल गर्नु निकै महत्त्वपूर्ण थियो।
वीरगंजमा अनिकाल
त्यस वर्ष तराईमा कम वर्षा भएकाले सुख्खा र अनिकाल परेको थियो। त्यसबाट पीडित गाउँलेहरूलाई राहत उपलब्ध गराउन व्यापारीहरूले घडिअर्वास्थित पोखरी ठूलो पार्न लगाएर दैनिक ज्याला प्रदान गर्न थाले।
“त्यो रकम दैनिक ज्यालाभन्दा केही कम थियो तर भोकमरीको समस्या समाधान गर्न त्यसले ठूलो सहयोग गरेको थियो”, गणेशमान बताउँछन्। “तर मजदूर र व्यापारीहरूका बीच भएको मेल कम्युनिष्टहरूका आँखामा कसिंगर झैँ बिझाउँनथाल्यो।“, उनी थप्छन्।
व्यापारीहरूले गरिब श्रमिकहरूलाई शोषण गरेको भन्दै कम्युनिष्टहरूले गाउँलेहरूलाई विद्रोहका निम्ति उकासे। उकासिएका गाउँलेहरू व्यापारीहरूको पसल र गोदाम नै लुट्न थाले।
स्थानीय काँग्रेसका नेताहरू आत्तिएर सरकारलाई कदम चाल्न आग्रह गर्न थाले। सरकारले लुटपाट रोक्न कर्फ्यु लगायो तर गाउँलेहरूले कर्फ्यु तोडेर जुलुस निकाले।
जुलुस भनेर निस्किएको भीडले पनि लुटपाट गर्न थालेपछि पुलिसले स्थिति नियन्त्रण गर्न गोली चलायो र केही व्यक्ति घाइते भए। पुलिसको गोली, लाठीचार्ज र कर्फ्युको विरोधमा भने काँग्रेसका नेताहरू पनि सामेल भए। कर्फ्यु तोडेर नारा लगाएको आरोपमा काँग्रेसका नेता तेजबहादुर अमात्य, मेघराज उपाध्याय, मथुरामान सिंह र कम्युनिष्टका महेशमणि दीक्षित र धनुषचन्द्र गौतम पक्राउ परे।
समस्या झनझन् ठूलो हुँदै गएपछि वीरगंजका स्थानीय व्यापारीहरूले सुवर्ण शमशेरलाई गुहारे। सुवर्ण शमशेरको बाबु वीरगंजमा बडाहाकिम रहेकाले उनको वीरगंजका स्थानीयहरूसँग आत्मीय सम्बन्ध थियो।
सुवर्ण शमशेरले समस्याको अध्ययन गरेर वी.पी. कोइराला र गणेशमान सिंहलाई पनि सो परिस्थितिको गम्भीरताबारे बताए। एकआपसमा सल्लाह गरेर यो समस्या हल गर्न गणेशमान उद्योग र वाणिज्यमन्त्रीको हैसियतमा वीरगंज जाने निर्णय भयो।
यसरी यो समस्या समाधान, मन्त्री गणेशमानका लागि पहिलो परीक्षा बन्न पुग्यो।