गणेशमान वीरगंजतिर लाग्छन्:
वीरगंजका कपडा व्यापारीले सुवर्ण शमशेर, वी.पी. कोइराला र गणेशमान सिंहसँग आफ्ना समस्या व्यक्त गरेपछि नेपालका उद्योग र वाणिज्य मन्त्रीको हैसियतमा गणेशमान वीरगंज जाने निर्णय गरियो।
“वीरगंजको यो समस्याको समाधान मन्त्रीको रूपमा मेरो पहिलो परीक्षा बन्नपुगेको थियो।“, गणेशमान सम्झन्छन्।
त्यहाँको समस्याको अध्ययन गरेर कस्तो समाधान सबैलाई स्वीकार्य हुन्छ, त्यसको सुझाव दिन गणेशमानले इन्द्रभक्त श्रेष्ठलाई पठाएका थिए। इन्द्रभक्तले पनि गणेशमान आफै वीरगंज गएर समस्यालाई सम्बोधन गर्नुपर्ने सुझाव दिए।
त्यसैले गणेशमान त्यही ठाउँमा फर्किए जहाँबाट केही महिना अघि मात्र नेल र हत्कडीसहित उनलाई काठमाडौं ल्याइएको थियो। त्यसमाथि राष्ट्रिय काँग्रेस गठन हुनेबेला देखि नै उनलाई रक्सोलको जिम्मा दिइएको भएर पनि उनको वीरगंजसँग निकै आत्मीय सम्बन्ध थियो।
“तिनताका म रक्सोलमा बस्दा वीरगंज देख्न अत्यन्त लालयीत हुन्थेँ तर आउन सक्दिनथेँ।“, गणेशमान बताउँछन्।
यसरी भोलिपल्ट नेपालका उद्योग र वाणिज्य मन्त्रालयका कर्मचारीहरू वीरगंजतर्फ लागे। भीमफेदी, अमलेखगंज हुँदै वीरगंज जान लागेका उनीहरूले आफ्नो यात्रा सामान्य हुन्छ ठानेका थिए। तर, चित्लाङ पुग्न नपाउँदै आसपासका गाउँबाट समेत मानिस उनीहरूको स्वागतका लागि त्यहाँ आइपुगेका थिए।
त्यसैगरि टिस्टुङ, पालुङ र कुलेखानीमा पनि मानिसहरूको उनीहरूकै प्रतिक्षारत् थिए। सानो टिममा हिँडेका गणेशमान र टोली भीमफेदी पुग्दासम्म जुलुसझैँ भइसकेकाथिए।
निजगढ जंगल हुँदै रेलबाट वीरगंजतिर
भोलिपल्ट बिहान उनीहरू अमलेखगंजका निम्ति निक्लिए। हेटौँडामा केही बेर रोकिएपछि टोली नेपाल सरकारको रेलवेमा वीरगंजतिर लाग्यो।
नेपालको पहिलो रेल्वे सेवाको रूपमा रक्सोलदेखि अमलेखगंजसम्मको रेल्वे सेवाको निर्माण १९८४ सालमा भएको थियो। सो रेल्वे चन्द्र शमशेरको पालामा सुचारु भएको थियो। २०२२ सालमा त्रिभुवन राजमार्ग निर्माण भएपछि सो रेल्वे सेवा बन्द गरिएको थियो।
गणेशमान र टोली खाना खाएर वीरगंजबाट भर्खरै आएको रेलमा गएर बसे। टोली सबै चढिसकेपछि रेलका ड्राइभर आएर सिंहलाई आफ्नो परिचय दिए। परिचय दिँदै उनले एक रोचक कथा पनि सुनाए।
“नमस्ते मन्त्रीज्यू। म यो रेलको ड्राइभर हुँ। हजुरलाई यसअघि वीरगंजबाट पक्राउ गरेर लाँदा पनि मैले नै ल्याएको थिएँ। त्यस बेला भेट्ने अनुमति थिएन। तैपै आज हजुरलाई मन्त्रीका रूपमा सवारी चलाउने मौका पनि मैले नै पाएँ। त्यसैले हजुरको दर्शन गर्न आएको हुँ।“
“मैले दोहोऱ्याएर उनको नाम सोधेको थिएँ तर मैले याद राख्न भने सकिनँ”, गणेशमान माथवर सिंहलाई बताउँछन्।
रेल अमलेखगंजबाट निस्कियो। निजगढ जंगलको बीचमा पुग्दा अध्याँरो भएको गणेशमान सम्झना गर्छन्।
“दिउँसै रात पर्ने र जंगली जनावर लिकको वार र पार गरिरहने हुनाले कहिलेकाहिँ त जंगलका बीचमा रेल आफैँ रोकेर तिनलाई बाटो छोडिदिनुपर्थ्यो,“ सिंह बताउँछन्।
निजगढ कटेपछि हरेक स्टेसनमा रोकिँदै गएको रेल वीरगंज पुग्न लगभग दिनभर लाग्यो। झमक्क साँझ पर्नलाग्दा रेलले उनीहरूलाई वीरगंज स्टेसनमा उतारिदियो। त्यहाँको सानो स्वागत कार्यक्रममा सहभागी भएर गणेशमान सुवर्ण शमशेरको दरबारतिर लागे।
स्थानीय नेताहरू र व्यापारीहरूसँगको बैठक
वीरगंजमा भएको ठाकठुक वीरगंजका व्यापारी, गुजराती व्यापारी र नेपाली काँग्रेसका स्थानीय नेताहरूबीचको मनमुटावका कारण भएको थियो। स्थानीय नेताहरूले पार्टीका लागि चन्दा माग्दा गुजरातीहरूले तस्करी गरेर कपडा बेचिरहेका हुनाले वीरगंजका व्यापारीभन्दा चन्दा धेरै दिनुपर्ने मान्यता वीरगंजका व्यापारीहरूको थियो। तर गुजरातीहरूले चन्दा दिनै अस्वीकार गरिदिएपछि समस्या आएको थियो।
गणेशमानले हरेक पक्षसँग बसेर बैठक गरेर एउटा समाधान निकाल्नुपर्ने थियो। यसमाथि काँग्रेसका स्थानीय नेताहरू आफ्नै पार्टीको सरकारको आदेशमा हिंसा भड्काएको आरोपमा जेल परेका थिए। यसकारण उनीहरू पनि सरकारसँग असन्तुष्ट थिए। आइपुगेकै दिन गणेशमानले व्यापारीहरूलाई भेटेर यसको समाधान निकाल्ने वाचा गरे।
साँझ गणेशमान साथीहरू तेजबहादुर अमात्य, मेघराज, माधवलाल र मथुरामानसँग भेटे। “उनीहरू मेरा पार्टीका साथीमात्र नभइ रक्सोलका मेरा कठिन दिनहरूमा बनेका पुराना मित्रहरू थिए।“ सिंह बताउँछन्। तीमध्ये दुईजना पक्राउ परेका थिए।
यस गिरफ्तारीलाई लिएर केही बेर जोडतोडले भनाभन गरिसकेपछि उनीहरू मुख्य मुद्दा सुल्झाउनतिर लागे।
गुजराती व्यापरीहरूले चन्दा दिन अस्वीकार गरिदिएपछि समस्या आएको हो भन्ने उनीहरूको मान्यता थियो। गुजरातीहरूले नदिए हामी किन दिने भन्ने भनाइ वीरगंजका व्यापारीहरूको थियो। यस समस्या सुल्झाउन लामो छलफल गरेपछि निक्लेको निष्कर्ष विचित्रको थियो।
त्यो जुक्ति थियो – व्यापरीले चन्दा त दिनै पर्ने तर त्यो पार्टीका लागि नभएर अस्पताल निर्माणका निम्ति दिने। अर्थात् कुनै हालतमा चन्दा नदिने व्यापारीको अडान पनि टुट्ने र त्यसरी दिएको चन्दा अस्पताल निर्माणमा लाग्ने भएकाले नेताहरूको नाक पनि जोगिने।
भोलिपल्ट व्यापारीहरूसँगको बैठकमा यहि प्रस्ताव राख्दा सबै व्यापारीहरू सहमत भए। सिंहले व्यापारीहरूले सहयोग गर्नेजति रकम सरकारले पनि हाल्ने वाचा पनि गरे। व्यापारीहरूले मिलेर २,२५,००० रूपैयाँ संकलन गरे र सरकारले सोही रकम थपेपछि नयाँ अस्पतालका लागि साढेँ चार लाख रुपैयाँ जम्मा भयो।