गोर्खा दलका नेतालाई पक्राउ गरेपछि वी.पी. कोइरालाको निवासमा आक्रमण

भरत शमशेर र रणधीर सुब्बाविरुद्ध पक्राउ आदेश

गोर्खा दलका कार्यकर्ताहरू दिल्ली सम्झौताको न्वारन देखिको बल लगाएर विरोधगरिरहेका थिए। सो सम्झौता नेपालको सार्वभौमिकता विरोधी भएको हल्ला फिजाउँदै हिँडेका उनीहरूलाई अरू केही पार्टीहरूले पनि प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सघाइरहेका थिए।

अरू पार्टीहरूमा डिल्लीरमण रेग्मीको राष्ट्रिय काँग्रेस, टंकप्रसाद आचार्यको प्रजापरिषद् र एकजुट हुन बाँकी कम्युनिष्टका टोली थिए।

“फरक यति थियो कि गोर्खा दल प्रत्यक्ष रूपमै आतंक फैलाउँथे भने अरू पार्टी प्रचारात्मक अभियान चलाएर मनोवैज्ञानिक आतंक फैलाइरहेका थिए”, सिंह बताउँछन्।

“देशमा अस्तव्यस्तता उत्पन्न भइरहेको थियो”, उनी थप्छन्।

“हरेक दिन गोर्खा दलको जुलुस निस्किन्थ्यो, उनीहरू टोल टोलका डबलीमा भेला हुन्थे। जुन दिल्ली सम्झौताले उनीहरूलाई जुलुस गर्ने अधिकार दियो, त्यसैको प्रयोग गरेर प्रजातन्त्रलाई बदनाम गर्ने र काँग्रेसलाई भारतीय दलाल सावित गर्ने प्रयास गरिरहेका थिए”, गणेशमान माथवर सिंहलाई बताउँछन्।

यस्तो अस्तव्यस्ततालाई सम्हाल्ने प्रयासमा काँग्रेसका नेताहरूले बारम्बार प्रधानमन्त्री मोहन शमशेरलाई सहयोगका लागि अनुरोध गरे तर उनले सुनेको नसुनेझैँ गरिदिए।

गोर्खा दलका नेता राणा परिवारकै बबर शमशेर थिए। तर मोहन शमशेरले भनेको बबर शमशेरले टेर्दैन भनेर कुरा टालिदिएपछि नेपाली काँग्रेसले आफै कदम चाल्ने निर्णय लियो।

सो अवस्थाको मूल्यांकनपछि क्रान्तिको रक्षा गर्न र जनतामा शान्तिसुरक्षाको अनुभूति गराउन गोर्खादलका नेता भरत शमशेर र रणधीर सुब्बालाई गिरफ्तार गर्ने आदेश दिइयो। त्यही निर्णयको कार्यन्वयन गर्दै उनीहरू दुवैलाई चैत २९ गते पक्राउ गरियो।

अविश्वासको वातावरण

फाल्गुन ७ को घोषणा अघि राणा शासनको बेला राजबन्दीहरूलाई निकै कठोर किसिमले व्यवहार गरिन्थ्यो। गणेशमान आफैले पनि त्यो कठोरता प्रत्यक्ष रूपमै भोगेका थिए।

नेपालमा प्रजातन्त्रको स्थापना पछि भने राजनीतिक बन्दीहरूलाई कानुन अनुसार व्यवहार गरिनुपर्छ भन्ने मान्यता सरकारको थियो।  त्यसैले उनीहरूले भरत शमशेर र रणधीर सुब्बालाई पक्राउ गरेपछि उदार व्यवहार गरेका थिए।

हामीले भरत शमशेर र रणधीर सुब्बालाई पक्राउ गर्नु सुचिन्तित जोखिम अर्थात calculative risk थियो। पक्राउ राजनीतिक कारणले गरिएकाले गोर्खा दलले सो गिरफ्तारीको विरोध गर्न जुलुस मात्र प्रदर्शन गर्छन् भन्ने हाम्रो अपेक्षा थियो। तर हामीले राजनीतिक अवस्थाको मूल्यांकन गरे पनि प्रशासनको तल्लो तहसम्मको निगरानीमा ध्यान पुऱ्याउन सकेका थिएनौँ – त्यो हाम्रो कमजोरी थियो”, गिरफ्तारीपछि भएको घटना सम्झँदै गणेशमान बताउँछन्।

“हाम्रो अर्को कमजोरी भनेको बन्दीहरूलाई पहरा दिन बसेका पुलिसको वफादारीताको परिक्षण गर्न नस्क्नु थियो। प्रजातन्त्रकोस्थापना भएयता पुलिस र आर्मीलाई राणा शासनमा झैँ दासका रूपमा व्यवहार गरिँदैनथ्यो। हामीले गरेको राम्रो व्यवहारको बदला उनीहरूले आफ्नो कर्तव्य झन् निष्ठावान् भएर निभाउँछन् होला भन्ने हाम्रो मान्यता थियो। तर सो हुन सकेन”, सिंह थप्छन्।

“प्रशासनयन्त्रमाथि अविश्वास गरेर कुनै सरकार चल्न सक्तैन। तर हामीले जुन अपेक्षा राखेका थियौँ, उनीहरूबाट त्यो सहयोग प्राप्त हुन सकेन। तीमध्ये धेरै अझैपनि राणाप्रति नै वफादार थिए”, उनी बताउँछन्।

गिरफ्तारीको भोलिपल्ट, २००७ गते चैत ३० गते गोर्खा दलले बन्दी राखिएका सदर झ्यालखाना र वी.पी. कोइरालको निवासमा आक्रमण गरेर देशलाई निकै गम्भीर अवस्थामा धकेल्यो।

वी.पी कोइरालाको निवास गृह मन्त्रालयमा आक्रमण

जुन दिन गृह मन्त्रालय तथा गृहमन्त्री वी.पी. कोइरालाको निवासमा आक्रमण भयो, त्यस दिन गणेशमान सिंह पनि कामविशेषले त्यहीँ पुगेका थिए।

वी.पी. कोइरालाको निवास अहिले भंसार विभाग रहेको त्रिपुरेश्वरको गेष्ट हाउसमा थियो। भवनको माथ्लो तला उहाँको निवास थियो भने भुइँतलामा गृह मन्त्रालय थियो।

गणेशमान सिंह त्यहाँ पुग्दा कृष्णप्रसाद भट्टराई पनि ठ्याक्कै आइपुगे। उनले गोर्खादलले जुलुस निकाल्न लागेको र त्यसले मन्त्रीहरू र काँग्रेसका नेताहरूमाथि आक्रमण गर्नसक्ने हल्ला बाहिर चलेको बताए। केही बेरपछि त्यस्तो जुलुस निक्लेको र भरत शमशेर र रणधीर सुब्बालाई कैद गरिएको सदर झ्यालखानातर्फ लागेको खबर आयो।

दिनको करीब तीन बजेको थियो जब बाहिर कोलाहल भएको सुनियो। कोइरालाले सावधानी अपनाउँदै गार्डलाई मूलगेट बन्द गर्न अह्राए। तर गार्ड मूलगेट पुग्न नपाउँदै भीड कम्पाउण्ड भित्र पसेर होहल्ला गर्न थालिसकेको थियो।

उनीहरूले गार्डलाई घाइते बनाएर उसको बन्दुकसमेत खोसे।

“ठोक् त्यसलाई!”

“खै त्यो कोइराला?”

“माऱ्यो बाबा, गुहार, गुहार!”

यस्ता आवाजहरू तल्लो तलाबाट नजिक आउँदै थिए। तल्लो तल्लामा फर्निचरको तोडफोडको ड्याङड्याङ र डुङडुङको आवाज पनि आइरहेको थियो।

कोइरालाका परिवारका सदस्यहरू डरले निकै आत्तिसकेका थिए तर कोइरालामा न आवेग थियो न उत्तेजना न आक्रोश।

तलबाट माथि खनिँदै आएको भीडबाट आवाज आयो, “हाम्रो सानुराजालाई पक्रेर थुन्ने कोइराला खोइ? यसलाई मूला काटेजस्तै काट्नुपर्छ!”

स्थिति निकै गम्भीर बन्न पुग्यो।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर