गोर्खा दलका गतिविधिहरू राष्ट्रिय समस्या बन्छन्

गोर्खा दलको राजनीतिक विचार

“क्रान्ति र परिवर्तनका क्रममा जनतालाई जगाउन जे भनिएको हुन्छ, त्यसले जनताका आकांक्षा आकाशिएको हुन्छ। जब आकांक्षाहरू बढ्छन्, तब जनता नयाँ परिवर्तनका लागि आतुर हुन्छन्।यस्ता परिवर्तनहरू छिट्टै मूर्त नहुँदा अरू पार्टीहरूले त्यसको फाइदा उठाउन सक्छन् र जनता त्यसकै लहैलहैमा लाग्न सक्छन्”, गोर्खादलको परिचय दिनुअघि गणेशमान माथवर सिंहलाई जनताको निराशाबारे बताउँछन्।

फाल्गुन ७ गते राजा त्रिभुवनले प्रजातन्त्र घोषणा गर्नुअघि राणाहरूको समर्थन गर्दै प्रजातन्त्रको आगमनमा तगारो हाल्ने खुकुरी दल प्रजातन्त्रको स्थापनापछि गोर्खा दल बनेको थियो। अझै पनि यो पार्टी राणा समर्थककै जमात थियो, र नेपाली काँग्रेस भारतका कठपुतली हुन् र यसका सदस्य बाह्य गुप्तचर हुन् भन्ने दाबी गरेर जनताको समर्थन जित्न खोज्दैथ्यो। दिल्ली सम्झौता एकतर्फी भएको र नेपाली काँग्रेसले देशको चाबी भारतको हातमा गरिदिएको आरोप उनीहरू लगाउँदैथे।

“अर्कोतर्फ, कम्यूनिष्टहरू पनि यहि कहानी बनाइरहेका थिए। कम्यूनिष्ट र गोर्खा दल दुबैले नेपाली काँग्रेस अराष्ट्रिय छन् भनिरहेका थिए”, सिंह सम्झाउँछन्।

“नेपाली काँग्रेस विरुद्ध बोल्नबाहेक यी दुई पार्टीका अरू सबै विचारहरूमा उत्तर र दक्षिण थिए”, उनी थप्छन्।

“कम्यूनिष्टहरू घुसघुसे तरिकाले प्रचार गर्थे भने गोर्खा दल खुला रूपमा भ्रम र आतंक सिर्जना गर्थ्यो।“

खुकुरी दल बबर शमशेरका नाति, भरत शमशेरको नेतृत्वमा सुरू भएको थियो। सिंहका अनुसार प्रजातन्त्रको स्थापना पछि गोर्खा दलमा परिवर्तन भएको यस पार्टीलेराणा प्रधानमन्त्री मोहन शमशेर, रक्षामन्त्री बबर शमशेर र प्रजातन्त्रमा आफ्नो शक्ति गुमाएका अरू केही राणाहरूको समर्थन र सहयोग पाइरहेको थियो।

प्रजातन्त्र अघि जनतामा आतंक फैलाउने काम गर्ने दलले प्रजातन्त्रपछि पनि सोही गर्नु निकै आपत्तिजनक थियो।

गोर्खा दलका गतिविधिहरू राष्ट्रिय समस्या बन्छन्

गोर्खा दललाई प्रधानमन्त्री मोहन शमशेरको संरक्षण, र पूर्व सैनिकहरूको सहयोग प्राप्त भएकाले उनीहरू जताततै उत्पात मच्चाइरहेका थिए। कुटपिट र लुटपाट उनीहरूको लागि सामान्य घटना हुन थाल्यो। यस्ता आतंकका घटना काठमाडौं उपत्यकामा मात्र सीमित थिएनन्। उपत्यका बाहिरका नेताहरू जब आफ्नो जिल्लामा भएका घटनाको गुनासो पोख्न काठमाडौं आउँथे, तब थाहा पाउँथे, काठमाडौंको स्थिति आफ्नो जिल्लाको भन्दा नाजुक छ।

कतिपय ठाउँमा स्थानीय युवाले रक्षासंघ पनि खडा गरेका थिए। उनीहरू विभिन्न टोलबाट जम्मा भएर साँझ देखि रातभरि आ-आफ्नो टोलका हरेक गल्लीको पहरा दिँदै हिँड्थे। यसरी गोर्खा दल र रक्षासंघको झडप पर्दा अझ धेरै आतंक मच्चिने भएकाले यो गृहमन्त्रालयका लागि ठूलो समस्या बन्न पुगेको थियो।

बबर शमशेरको हतियारमा पहुँच भएकाले गोर्खादल धेरै भयानक थियो, र दिनानुदिन अवस्था झन्झन् नाजुक हुँदै थियो।

वी.पी. कोइराला गृहमन्त्री भएकाले देशको शान्तिसुरक्षाको जिम्मेवारी सबैभन्दा उनीमाथि परेको थियो। शान्तिसुरक्षाका लागि नेपाल प्रहरीको पुनर्गठन अत्यन्त आवश्यक थियो। त्यही काम अघि बढाउन कोइरालाले तोरण शमशेरलाई इन्स्पेक्टर जनरलको पदमा नियुक्त गरेर प्रक्रिया थाल्न निर्देश गरे।

मोहन शमशेरसँगको कुराकानी

नेपाल प्रहरी पुनर्गठन भएर मात्र गोर्खा दलको आतंकलाई सम्हाल्न सक्ने स्थिति थिएन। वार्ता र छलफलद्वारा राजनीतिक दबाब पनि चाहिएको थियो। यसका लागि नेपाली काँग्रेसका नेताहरूले मोहन शमशेरसँग कुरा गर्ने निर्णय गरे।

यहि विषयमा कुरा गर्न वी.पी. कोइराला, सुवर्ण शमशेर र गणेशमान सिंह मोहन शमशेरको दरबार पुगे।

“प्रधानमन्त्री ज्यू, गोर्खा दलले मच्चाइरहेको आतंकबारे हजुर अवगत नै हुनुहुन्छ होला। यस्तो आतंककारी गतिविधिले हाम्रो वर्तमान मात्र नभइ भविष्यलाई पनि संकटमा ल्याउन सक्छ। गोर्खा दलका यी गतिविधिमाथि रोक लगाइदिनुहुन हामी आग्रह गर्दछौँ”, वी.पी. कोइरालाले मोहन शमशेर सामू आफ्नो आग्रह व्यक्त गरे।

मोहनशमशेरले सो आग्रहलाई खासै मतलब गरेनन्। “सायद उनलाई त्यो आग्रह हामी कमजोर बन्दै गएको प्रमाण हो भन्ने लागेछ। त्यति मात्र होइन, गोर्खादलले खडा गरेको परिस्थितिलाई उनले आफ्नो गुमेको स्वर्ग फर्काउने उपयुक्त अवसरका रूपमा ग्रहण गरेका रहेछन्“, गणेशमान बताउँछन्।

“तर उनी गलत थिए”, उनी थप्छन्।

वी.पी. कोइरालाले बोलुन्जेल नबोली बसेका गणेशमानले बोली फुटाए:

“अब प्रधानमन्त्रीज्यूले सरकारको साख, प्रजातन्त्रको मान र जनताको ज्यान रक्षा गर्न गोर्खादल र भरतशमशेरलाई कन्ट्रोल गर्नुपऱ्यो, होइन भने तपाईंहामी सवार भएको डुंगामा अहिले त प्वाल मात्र परेको छ, बेलैमा टालिएन भने पानी भरिएर डुब्नेछ।“

तर मोहन शमशेरले गणेशमानले भनेका कुरालाई पनि वास्ता गरेनन्। न त उनले गोर्खादलका गतिविधि रोक्न कुनै कदम चाले। परिणाम यो भयो कि झन् यो कुराकानीपछि गोर्खादल उन्मत्त हान्ने साँढेजस्तो भएर निस्कियो।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर