गृह मन्त्रालयमा आक्रमण: दुर्भाग्यपूर्ण घटना जुन अनपेक्षित थिएन

वी.पी. कोइरालाको निवासमा निकै जटिल अवस्था

बाहिरको होहल्ला सुनेर वी.पी. कोइरालाको निवास तथा गृह मन्त्रालयमा अन्योलको वातावरण पैदा भयो। गेटदेखि नै मानिसहरू चिच्याइरहेका, मेचकुर्सीको तोड्फोड्, कसैले गुहारिरहेको आवाजहरू आइरहेका थिए।

माथिल्लो तल्लामा पार्टीका गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामेश्वरप्रसाद सिंह, होराप्रसाद जोशी र बालकृष्ण गुप्ता बाहेक कोइरालाका परिवारका सदस्यहरू पनि सँगै थिए। एउटै तल्लामा भए पनि कोइरालाकी आमा दिव्या कोइराला, श्रीमती सुशीला कोइराला र उनका छोरा प्रकाश अर्को कोठामा थिए।

हावामा एउटा अनौठो किसिमको मौनता छाएको थियो। सबै डराएका थिए – सिवाय वी.पी. कोइराला।

“कोइराला जी शान्त र सचेत हुनुहुन्थ्यो – पटक्कै हड्बडाउनु भएको थिएन”, गणेशमान माथवर सिंहलाई बताउँछन्।

सबैजना मौन भएर बसे। तलबाट आएका आवाजलाई ध्यान दिएर सुनिरहे। भीड झनझन् माथि आउँदै गरेपछि कोइरालाले हतियार राखिएको दराज खोले।

आफूले रिभल्भर लिएर, कोइरालाले अरू हतियार सबैलाई बाँड्न गणेशमानलाई इशारा गरे। सिंहले पनि अवस्था देखेर सबैभन्दा राम्रो बन्दुक रामेश्वरलाई दिए।

“रामेश्वरले राति पनि एक हातले टर्च देखाएर अर्को हातले हावामा उडेको चरा झार्न सक्छन् भन्ने कथन पार्टीभित्र प्रख्यात थियो। सप्तरीको जमिन्दारका छोरा रामेश्वरले सानैबाट शिकार गर्न सिकेका थिए। राणाहरूका दरबारमा पनि उनको निकै सम्मान गरिन्थ्यो। तराईका जंगलमा शिकार खेल्न जाँदा राणाहरूले उनलाई पनि आमन्त्रित गर्थे”, सिंह बताउँछन्।

बन्दुक सबैलाई हातमा दिसकेपछि सबै आ-आफ्नो ठाउँमा बसे। वी.पी. कोइराला आफ्नो रिभल्भरमा गोली लोड गर्दै थिए।

यो सब कोही नबोली, चुपचाप नै भयो।

भीडले कोइरालाको मूलद्वार तोड्यो

कोलाहल झनझन् नजिकिँदै थियो। भीड सिँडीबाट माथि आउँदै गरिएको सुनियो। अचानक मूलद्वारमा भयंकर आवाज आयो।

ड्र्याम्म!

ढोका बलियो भए पनि भीडको आक्रमण धेरैबेर थेग्न सक्ने अवस्था थिएन।

“सबैका नजर ढोकातिर नै थिए। हामी निकै डराएका थियौँ”, सिंह बताउँछन्।

“उनीहरू कसैले हातले, कसैले लातले र अझ कसैले खुकुरीले ढोकामा प्रहार गरिरहेका थिए।”

“कानको जाली फुट्ने आवाज आयो। ढोका खुल्यो। हातले नाङ्गो खुकुरी नचाउँदै चारपाँचजना तीव्र गतिमा भित्र पसे”, सिंह थप्छन्।

बैठकमा रहेका सबैलाई हेरेर आक्रमणकारीको नाइकेले कोइराला र सिंहलाई देखाउँदै भन्यो,”ए, दुवैजना यही रहेछन्। लौ छप्का।“

आदेश सुन्नेबित्तिकै खुकुरी तेर्साउँदै आएर एउटाले बालकृष्ण गुप्तामाथि खुकुरी चलायो र उनलाई घाइते बनायो।

उसले फेरी खुकुरी उजाउँदा तीनवटा सातो जाने आवाज आयो – ढ्वाङ्, ढ्वाङ्, ढ्वाङ्!

आक्रमणकारी गर्लम्मै परेरे ढल्यो।

त्यो देख्ने बित्तिकै आक्रमणकारीहरू खुकुरी फालेर उल्टो खुट्टाले भाग्नथाले। केही बेरमै सारा कम्पाउण्ड खाली भयो। मात्र कोइरालाका साथी र परिवार बाँकी थिए जो सबै भर्खरै घटेको घटनाले अझै बेहोसझैँ थिए।

“हामी सचेत त थियौँ तर अचेत र सचेतको दोसाँधमा। यस्तो लागिरहेको थियो कि त्यो क्षण एक भयानक दु:स्वप्नबाट झल्याँस्स ब्युँझेपछिको हडकम्प चलिरहेको क्षण थियो।“, त्यस दिनको घटनालाई केलाउँदै सिंह बताउँछन्।

“त्यो घटना आज सम्झँदा पनि आङ सिरिङ्ग भएर आउँछ।“

आक्रमणपछिका क्षणहरू

केही बेर लागेपनि सबै फेरी होसमा आए। तल्लो तल्लामा अवस्था के थियो अझै कसैलाई थाहा थिएन।

तल झरेर हेर्दा त्यहाँ अवस्था झन् हृदयविदारक थियो। कर्मचारी कसैको हात, कसैको खुट्टा र कसैको हर भाँचिएको थियो।अफिसका फर्निचर कुनै बचेका थिएनन्। जताततै ढुङ्गै-ढुङ्गा, फुटेका सिसा थिए।

“पूरै भवन एक युद्ध समाप्त भएपछि देखिने विभत्स दृष्यको नमूना बन्न पुगेको थियो”, सिंह बताउँछन्।

उनीहरूले कर्मचारीहरूलाई एक-एक गर्दै मद्दत गरे। आक्रमणकारीहरूले वृद्ध व्यक्तिहरूलाई पनि छाडेका थिएनन् – ७५ वर्ष पार गरिसकेका दीर्घराज कोइराला र सुब्बा कालिचरण गम्भीर घाइते थिए।

माथिल्लो तल्लामा गोली खाएको आक्रमणकारी अझै पीडामा छट्पटिरहेको थियो। रगत निकै बगेकाले उसको बाँच्ने धेरै सम्भावना थिएन। पछि पत्ता लाग्यो कि उसको नाम सुकुलध्वज थियो। ऊ सेनाको पूर्वसुवेदार थियो र वी.पी. कोइरालाको हत्याको अभियानको नेतृत्व गरिरहेको थियो।

वी.पी. कोइरालाको निवास तथा गृहमन्त्रालयमा भएको यस घटना दुर्भाग्यपूर्ण भएपनि अप्रत्याशित भने थिएन। नेपाली काँग्रेसका नेताहरूले यस्तै केही घटना नहोस् भनेर नै गोर्खादललाई नियन्त्रणमा ल्याउने प्रयास बारम्बार गरिरहेका थिए।

तर सरकारले खासै वास्ता नगर्दा यो दुर्घटना हुन पुगेको थियो।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर