वी.पी. कोइरालाको निवास तथा गृहमन्त्रालयमा भएको आक्रमणको घटनापछिका क्षणहरू सम्झँदै गणेशमान सिंहले माथवर सिंहलाई बताए अनुसार लेखिएको:
मैले आफ्नो जीवनका धेरै महत्वपूर्ण घटनालाई कालान्तरसम्म याद राख्न सकिँन। तर त्यो घटनाको छाप मभित्र अमिट रूपमा छापिएर रहेको छ। त्यो घटना सम्झ्यो कि आङ सिरिङ्ग हुन्छ।
साँच्चै भन्ने हो भने त्यो घटनाले कोइरालाजी र मेरो सम्बन्धलाई थप प्रगाढ बनायो। उहाँप्रति मेरो सम्मान झन् बढ्न पुग्यो।
मैले उनलाई आफ्नो नेता त सधैँ मानेकै थिएँ, तर विशेषगरि उहाँको बौद्धिकताको लागि। उहाँ हरेक विषयलाई प्रष्ट र सटिक रूपमा राख्न सक्नुहुन्थ्यो। तर त्यस दिन मैले उहाँको अर्को पक्षको साक्षात्कर पनि गर्न पाएँ।
मलाई लाग्थ्यो उहाँ र मेरोबीच २० र १८ को अन्तर छ। ममा भएको कमीलाई मेरो साहसले पूरा गर्छ। साहसमा म उहाँभन्दा अगाडि छु किनभने उहाँ बुद्धि लडाउनुहुन्थ्यो, साहस देखाउनै पर्दैनथ्यो। तर त्यो घटनामा उहाँले देखाउनुभएको साहस र धीरताले मेरो सम्पूर्ण पूर्व अनुमान टुट्न पुगेको थियो, र उहाँप्रतिको मेरो दृष्टिकोण बदलियो।
नेताको परीक्षण नै संकटको क्षणमा उसले लिने निर्णय र त्यसको परिणामबाट हुन्छ। त्यस दिन उहाँले जसरी त्यो घटनासँग सामना गर्नुभयो, त्यसपछि मैले राजनीति, बुद्धि र साहस तीनै क्षेत्रमा नेतृत्व दिन सक्ने योग्य र सक्षम नेता उहाँलाई नै मानेँ।
प्रधानमन्त्रीको निवासबाट टेलिफोन
कोठामा सबैजना बिस्तारै आफ्नो होसमा आउँदै गर्दा, तिखो आवाज कोठाभरि गुञ्जियो।
टेलिफोन बजेको रहेछ।
कोइरालाले टेलिफोन उठाए । टेलिफोन प्रधानमन्त्री मोहनशमशेरको निवासबाट उनका छोरा विजयशमशेरले गरेका थिए।
आक्रमण भएको घटनाप्रति दु:ख व्यक्त गर्दै त्यसबाट बचाउन विजुली गारत पठाउनु पर्छ कि भन्ने सोध्न मोहन शमशेरले फोन गर्न लगाएका रहेछन्।
अघि निकै शान्त र अविचलित कोइराला अचानक फोनमा रिसाएर जवाफ दिन थाले।
“कसैलाई पठाउनु पर्दैन। म आफ्नो सुरक्षा आफै गर्न सक्छु”, कोइरालाले रिसाएर भने।
“मलाई थाहा छ यो कसले गरायो। उसले त्यसको मूल्य अवश्य तिर्नुपर्ने छ”, यति भनेर उनले फोनको रिसिभर राखिदिए।
गणेशमानले कोइरालालाई शान्त बनाउन कुराकानी गर्न थाले:
“क्रान्तिको इतिहासमा प्रतिक्रान्ति भएको त पढेको हो। अहिले झण्डै प्रत्यक्ष देख्न परेको थियो”, सिंहले भने।
“हो, प्रतिक्रान्तिको असफल प्रयास नै हो यो!”, कोइरालाले छोटो जवाफ दिए।
“अघि झण्डै सफल भइसकेका थिए, भोलि सफल नहोलान् भनेर कसरी मान्ने?”, सिंहले सोधे।
“यो हतास मनस्थितिको मेनिफेस्टेशन हो। योजना नगरिएका क्रान्ति सफल हुँदैनन्”, कोइरालाले जवाफ दिए।
त्यसैबेला मुक्तिसेनाको एउटा डफ्फा कोइरालाको सुरक्षाका निम्ति उनको निवासमा आइपुग्यो।
भरत शमशेरलाई टुँडिखेल लगियो
एक अफिसरले आएर कोइरालालाई रिपोर्टिङ गरे र बताए कि उनीहरू सुरक्षाका निम्ति आएका थिए। उनैले सूचना दिए, गोर्खादलको जुलुसले जेलमा आक्रमण गरेर भरत शमशेरलाई त्यहाँबाट छुटाएर टुँडिखेलमा लिएर आएका थिए।
“जुन भीडले कोइरालाजीको निवासमा आक्रमण गरेको थियो, त्यो त जेलमा हमला गरेर भरत शमशेरलाई छुटाउने जुलुसको एक सानो टुकडी मात्र थियो”, गणेशमान सिंह बताउँछन्।
बबरमहलबाट निस्केको जुलुस सोझै जेलमा पुगेर उनलाई छुटाएको थियो। आफ्ना सानुराजालाई जेलमुक्त गरेको विजयको विजयोत्सव मनाउने क्रममा भरतशमशेरलाई बग्गीमा राखेर टुँडिखेल लगिएको थियो। त्यसैबेला जुलुसको एक टुकडी सुकुलध्वजको नेतृत्वमा गृहमन्त्रीमाथि आक्रमण गरेर बदला चुकाउन गृहमन्त्रालय आएको थियो।
यता भीड टुँडिखेल पुग्यो। ५ बज्न लागेको थियो र टुँडिखेलमा साँझ पर्नै लागेको थियो। सैनिकहरू बेलुकाको परेड गर्दै थिए, मानिसहरू आफ्ना साथीभाइसँग गफगाफ गर्दै थिए वा सैनिकको परेड हेर्दै थिए। अचानक एक हुल मानिसहरू खुकुरी हातमा हल्लाउँदै उनीहरूको दिशातर्फ दौँडिदै आइपुगे। आसपासमा भएका मानिसहरू भयभीत भए।
त्यहाँ झडप हुन सक्ने सम्भावना निकै उच्च थियो – जनताहरू के भइरहेको छ भनेर अन्योलमा थिए।
भाग्यवस् त्यही बेला एसपी नकुल शमशेर आइपुगे र गोर्खादलका कार्यकर्ताहरूलाई बताए कि भरत शमशेरलाई जेल फिर्ता लैजानुपर्छ।
गोर्खादलका कार्यकर्ताहरू बादविवाद गरेर उनलाई रोक्न खोजिरहेका थिए तर अन्त्यमा भरत शमशेरलाई फेरि गिरफ्तार गरियो।