वी.पी. कोइराला नारायणहिटी दरबारमा सर्छन्, गणेशमानले मोहन शमशेरको राजीनामाको माग गर्छन्

वी.पी. कोइराला नारायणहिटी दरबारमा सर्छन्

वी.पी. कोइरालाको निवास तथा गृह मन्त्रालयमा पुलिस र मुक्तिसेनाका सुरक्षा गुट आएर भएको क्षतिको गणना गर्न थालिसकेको थियो। यो सम्पूर्ण काम आइजीपी तोरण शमशेर आफै बसेर गरिरहेका थिए।

एकैछिनमा राजदरबारबाट राजा त्रिभुवनका एडीसी कर्णेल योगविक्रम शाह पनि आइपुगे। उनलाई राजाले हालचाल बुझ्न पठाएका थिए। उनले सबै निरीक्षण गरेर गएको आधा घण्टापछि दरबारबाट फोन आयो।

राजा त्रिभुवनले गृह मन्त्रालयमा भएको आक्रमण र क्षतिको खबर सुनेपछि अर्को बन्दोवस्त नभएसम्म कोइरालालाई राजदरबारमै बस्ने निर्देश दिए। त्यसपछि कोइराला नारायणहिटी दरबारमा सर्ने तयारी गर्न थाले। सामानहरू मिलाउनुपर्ने भएकाले परिवार बाहेक सबै काँग्रेसका सदस्यहरू बिदा मागेर निस्किए।

त्यसरी कोइराला त्यो घटनापछि नारायणहिटी दरबारमा डेरा सरे र झण्डै एक महिना त्यहाँ बिताए। त्यसपछि उनलाई केशरमहलको कम्पाउण्डभित्रको रंगमहलमा बस्ने बन्दोवस्त गरियो। केशर शमशेर आफैले यसका लागि पहल गरेका थिए। तर यो एक महिना पछिको कुरा भयो।

घटनाको भोलिपल्ट बिहानै नारायणहिटी दरबारमा मन्त्रीपरिषद्को आपतकालीन बैठक बस्यो। बैठक राजा त्रिभुवनको उपस्थितिमा गरिएको थियो।

मन्त्रीपरिषद्को आपतकालीन बैठक

सिंह र अरू मन्त्रीहरू दरबारको आँगनमा बिहान ८ बजे पुगिसकेका थिए। प्रधानमन्त्री मोहन शमशेर ८:१५ मा आइपुगे र बैठक सुरू गर्दा ८:३० भयो। आपतकालीन बैठक भएकाले पूर्व एजेन्डा केही पनि स्थापित गरिएको थिएन। तर बैठक किन राखिएको सबैलाई थाहा थियो।

सुरूमा वी.पी. कोइराला बोले। राजा त्रिभुवनलाई बैठकमा उपस्थित भइदिएका लागि धन्यवाद व्यक्त गर्दै कोइरालाले राज्य क्रान्तिको मोडबाट भर्खरै निस्किएकोले शान्तिसुरक्षा कायम गर्नु अत्यावश्यक हुने बताए। उनले पुलिस फोर्सको पुन:संरचना, मुक्तिसेनाको एकीकरण र क्रान्ति विरोधी तत्वहरूलाई शक्तिमा आउन दिन नहुने जस्ता मुद्दा उठाए।

त्यसपछि उनले गृहमन्त्रालय तथा आफ्नो निवासमा भएको आक्रमणका बारे बताए। गोर्खादलले मन्त्रालयमा पसेर सम्पत्ति र सम्पूर्ण कर्मचारीहरूलाई पुऱ्याएको चोटपटकका बारे विस्तृत रूपमा चर्चा गरे।

तर यो सब उनले घुमाइफिराइ भनिरहँदा गणेशमानलाई भने निकै औडाहा भइरहेको थियो। उनी कोइरालाले ठाडै मोहन शमशेरलाई औँल्याएको हेर्न चाहन्थे।

यस्तो घटनाको घोर विरोध गर्दै मोहन शमशेरमाथि खनिनुपर्छ भन्ने सिंहको विचार थियो।

तर कोइराला न आवेशमा आए, न त प्रधानमन्त्री मोहन शमशेरलाई प्रत्यक्ष रूपमा त्यस घटनाका लागि जिम्मेवार ठहराए।

गणेशमानले मोहन शमशेरको राजीनामाको माग गर्छन्

बैठकमा गणेशमान बोल्न जमजमाएको देखेर सुवर्ण शमशेरले उनलाई पालो पर्खिन संकेत गरे। वी.पी. कोइरालाले आफ्ना कुरा राखिसकेपछि गणेशमानले बोल्ने अनुमति लिएर राजालाई सम्बोधन गरेर आफ्नो कुरा राख्न थाले।

“अब यसमा दायाँबायाँ कुरै छैन। हिजोको आक्रमणको मूल उद्देश्य नवजात प्रजातन्त्रको उन्मूलन गरेर राणा शासनको पुनर्स्थापना गर्नु थियो भन्नेमा कुनै शंका छैन, किनभने गोर्खा दलले त्यसलाई लुकाएको छैन। प्रधानमन्त्रीज्यूलाई हामीले गोर्खादल र भरतशमशेरका गतिविधि रोक्न पहिले पनि आग्रह गरेका थियौँ। गोर्खादलको प्रेरणा र आन्तरिक नेतृत्व प्रधानमन्त्रीज्यूले गर्नुभएकाले हिजोको आक्रमण र सेना भड्काउन खोज्ने घटनाको सम्पूर्ण जिम्मेवारी उहाँले लिनुपर्छ। कोइरालाजीले हिजो झण्डै ज्यान दिनुपरेको थियो। तर प्रधानमन्त्रीज्यूले ज्यान दिन पर्दैन, राजीनामा दिए पुग्छ”, सिंहले बैठकमा सिधै भने।

राजा त्रिभुवनले मोहन शमशेरको यसबारे के भनाई छ भनेर सोध्दा मोहनशमशेरले बडो अदवसाथ भने, “हजुरको जो हुकुम सरकार!”

त्यस विषयमा राजाले केही बोल्नु भनेको हस्तक्षेप गरेको ठहरिने हुनसक्थ्यो। त्यसैले उनले केही भनेनन्।

एकैछिन दुवै पक्षका मन्त्रीहरूसँग वार्ता गरेपछि मोहन शमशेरले राजीनामा दिनुपर्ने ठहर गरियो। तुरुन्तै राजीनामाको मस्यौदा तयार पारियो जसमा मोहन शमशेरको स्वास्थ्यको कारण देखाइयो।

मोहन शमशेरले हस्ताक्षर गर्नै लागेका थिए जब राजाका एडीसी आएर त्रिभुवनको कानमा साउति गरे। यो सुनेपछि त्रिभुवन तुरुन्तै उठेर मेरो जरूरी फोन आएको छ, म एकै क्षणमा आउँछु भनेर निस्किए।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर