प्रजापरिषद्:
प्रजापरिषद्को परिकल्पना दशरथ चन्द र टंकप्रसाद आचार्यको छलफलमा पहिलोपल्ट भएको थियो। धर्मभक्त माथेमा, पुष्करनाथ उप्रेती, गोविन्दप्रसाद उपाध्याय र बलबहादुर पाँडे लगायतका अरू सदस्यहरूको समर्थन पाएपछि सन् १९३९ मा प्रजापरिषद् गठन भयो। गणेशमान सिंह र गंगालाल श्रेष्ठ पार्टीको सदस्य भएपछि, दुईले हरिकृष्ण श्रेष्ठलाई पनि पार्टीमा प्रवेश गराए।
प्रजापरिषद्ले दमन र प्रजातन्त्रसम्बन्धी विचार बोकेका पर्चा छाप्ने र बाँड्ने गर्थ्यो। अरू गतिविधि भनेको भारतीय पत्रिकाहरूमा राणाहरूबारे लेख प्रकाशित गर्नमा सीमित थियो।
पार्टी अझ ठूला योजना बनाउँदै थियो, र राजा त्रिभुवनलाई पनि पार्टीका गतिविधिहरूबारे जानकारी थियो। राजा त्रिभुवनलाई कसरत र कुस्ती सिकाउने धर्मभक्त उनीसँग प्रजापरिषद् र भविष्यका गतिविधि बारे कुराकानी गर्थे। सुरूमा हिच्किचाए पनि, राजाले पछि चासो देखाए, र पार्टी कस्तो छ भनेर हेर्न चाहे।
राणाहरूले शंका नगर्ने गरि राजाले लैनचौरमा एक शिकार खेलको बहानामा उनीहरूलाई भेला हुन लगाए ताकि उन्ले पार्टीलाई जाँच्न सकून्।
धर्मभक्तले सकेजति मान्छे भेला पारे, तर राजा त्रिभुवनलाई पार्टी देखेर चित्त बुझेन, र तसर्थ उन्ले पार्टीको क्षमतामा पनि विश्वास गर्न सकेनन्।
मंगलादेवीसँगको विवाह:
गणेशमान सिंह कलकत्ताबाट फर्केपछि उन्की आमाले सधैँ उन्लाई बिहे गर्न अनुरोध गरिरहन्थिन्। गणेशमानलाई भने खासै चासो थिएन। एक दिन सिंह घरपरिवारमा एउटा चिना भित्रियो, र त्यसपछि त्यस घरका सबै काम कुरा सुल्झिँदै आयो। त्यस चिना गणेशमान सिंहकी हुनेवाला जीवनसाथी मंगलादेवीको थियो।
केटी बडो लक्षिणकी छ भन्ने परेकाले, बडाकाजी रत्नमानले गणेशमान सिंहको बिहे मंगलादेवीसँग गराउने चाँजो मिलाए। गणेशमान सिंह प्रजापरिषद्को सदस्य भएको केहि दिनभित्रै उनको बिहे तय भएको थियो।
गणेशमान र उनका भाइ शंकरमानको बिहे एकैदिन गराउने तयारी भयो। १९९७ असारमा भएको बिहेमा बडाकाजी रत्नमानले केहि कमी हुन दिएका थिएनन्। सम्पूर्ण कार्यक्रम निकै भव्य थियो र भोजमा श्री ३ महाराज जुद्ध शम्सेर पनि सहभागी भएका थिए। राणा परिवारका अरू ठूला सदस्यहरू र बेलायती राजदूत पनि भोजमा सहभागी भएका थिए।
धर्मभक्त पनि बिहेमा आएका थिए, र उन्ले सिंहलाई प्रजापरिषदमा दाखिला गरेर गल्ती गरेको महसुस गर्दैछन् कि भन्ने सिंहलाई लागेको थियो। त्यसबेला, सिंह राणाहरूको गुप्तचर हुन सक्ने शंका पार्टीमा धेरैलाई लागेको थियो। भोजको आडम्बर देखेर धर्मभक्तले त्यस शंकालाई साँचो ठाने कि भन्ने सिंहलाई चिन्ता लागिरहेको थियो।
त्यहिबेला, सिंहलाई उकुसमुकुस भइरहेको थियो, र मौका मिल्ने बित्तिकै उनी त्यहाँबाट निस्किहाले। आफ्नो एक साथीको घर गएर पार्टी नसकुन्जेल उनी फर्केनन्।
सिंह गायब भएकोमा बडाकाजी रत्नमान चिढिएका थिए किनकि उनी यस मौकामा गणेशमानको प्रगति होस् भन्ने आशामा सिंहलाई राणाहरूसँग परिचय गराउन चाहन्थे।